+
+

बाँके प्रशासनको चेतावनी : सामाजिक सञ्जालमा सद्भाव खलल हुने काम नगर्नू  

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १२:५१

१७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ ।

बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन चेतावनी दिएको हो ।

‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता संचार सामग्रीहरु प्रचार-प्रचार नगर्न नगराउन पुन: अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ,’ वक्तव्यमा उल्लेख छ ।

साथै प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको छ ।

बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को ६ (क)मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।

कर्फ्युको बेला आवत-जावत गर्न, भेला हुन र तोकेको अरु कुनै काम गर्न पाइँदैन । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुन्छ ।

गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय दिन सक्छ ।

कर्फ्युपछि भने नेपालगञ्ज शान्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?