+
+

साउदीका अमेजन र म्याकडोनाल्डमा नेपालीको दर्दनाक शोषण

केटी म्याकी प्रमोद आचार्य केटी म्याकी, प्रमोद आचार्य
२०८० असोज २३ गते २०:२४

साउदीमा धेरै स्टल खोलेबापत विश्वकै शक्तिशाली फुड चेन म्याकडोनाल्डले त्यहाँ गोल्डेन आर्क अवार्ड पाएको छ। राजकुमार मिसल बिन खालिद अल सुदले २०० वटा चेन चलाउँछन्। सन् २०१८ मा सिईओ म्यागेजिनलाई अन्तर्वार्ता दिंदै उनले भनेका थिए- ‘कर्मचारीलाई उपयुक्त र सकारात्मक वातावरण सुनिश्चित गरेकै कारण हामी आज यो स्थानमा आएका हौं।’

साउदीको म्याकडोनाल्डका काम गर्ने दुई कामदार म्याक्री ली र बुद्धिमान सुनारको अनुभव भने निकै दर्दनाक छ। राजकुमारले सञ्चालन गरेका ती स्टोरमा निकै कठोर र खराब वातावरण रहेको उनीहरुले बताएका छन्।

फिलिपिन्सका लीले स्टोरले आफूलाई २२ घण्टासम्म काम लगाएर अतिरिक्त समयको भुक्तानी नदिएको बताए। बिरामी हुँदा पनि बिदा नपाएको र काम छोड्न खोज्दा त्यहाँका व्यवस्थापकले अन्यत्र काम गर्न नमिल्ने गरी कागजी प्रक्रिया अघि बढाउँदा आफूले लामो समय साउदीमा काम नपाएको उनले बताए।

म्याकडोनाल्डमा काम पाउने भएपछि नेपालस्थित एजेन्सीलाई मोटो रकम तिरेर सुनार साउदी गएका थिए। रियादमा उनले १३ देखि १४ घण्टा विश्राम विनै काम गरे। त्यहाँका व्यवस्थापक कामदारलाई जनावर झैं व्यवहार गर्ने उनले बताए। सन् २०२२ मा म्याकडोनाल्डको काम छोडेका सुनारले दर्दनाक स्थिति सुनाउँदै भने- ‘मलाई त त्यहाँ जेलमा रहेको झैं भान हुन्थ्यो। धेरै समय म त्यहाँ फसें।’

ली र सुनार झैं सयौंले आफूहरुमाथि अमेरिकी तथा बेलायती ब्रान्ड अमेजन, चक इ चीज र इन्टरकन्टिनेन्टल होटल ग्रुपले श्रमशोषण गरेको बताएका छन्। स्वदेशमा रहेका कम्पनीले आकर्षक कामको प्रलोभनमा मोटो रकम लिएर पठाए पनि साउदीमा आफूहरुको शोषण भएको बताए। साउदीस्थित ठेकेदारले आफूहरुको राहदानी जफतसँगै काम छोड्न पाउने आफूहरुको स्वतन्त्रताको उपयोग गर्न नदिएको उनीहरुको भनाइ छ।

यस्ता घटना श्रमिक तस्करीको एउटा संकेत हो भने राष्ट्रसंघले पनि यसरी श्रमिकको शोषण गर्न नपाइने भनेको छ। आईसीआईजे, गार्डियन तथा अन्य सञ्चारमाध्यमले कामदारहरुसँग अन्तर्वार्ता गर्दा उनीहरुले शोषणका दर्दनाक कथ सुनाउँथे।

प्रतिष्ठित फ्रेन्चाइज कम्पनीहरुमा कामदार विभिन्न एजेन्टले पठाउँथे। नेपालबाट अमेजनमा काम गर्न आएकाहरुका अनुसार उनीहरुलाई साउदीका ठेकेदारले त्यहाँ काममा पठाउँथे। कम्पनीमा ठेकेदार मार्फत नियुक्त हुँदा निकै शोषण व्यहोर्नुपरेको उनीहरुको भनाइ थियो।

ह्युमन राइट्स वाचका मध्यपूर्व तथा उत्तर अफ्रिकी क्षेत्रका कार्यकारी निर्देशक मिशेल पेज भन्छन्- ‘विश्वका विभिन्न मुलुकमा सञ्चालित ठूला स्टोरले राष्ट्रसंघीय मानवअधिकारका प्रावधानको पालना गर्नैपर्छ। आफ्नो फ्रेन्चाइजमा समेत उनीहरुले ती प्रावधानको कार्यान्वयन गराउनैपर्छ। विश्वकै ठूलो कर्पोरेट ब्रान्ड म्याकडोनल्ड तथा अन्यले आफूले सञ्चालन गरेको वा फ्रेन्चाइजमा आप्रवासी कामदारहरुको अवस्थितिबारे निरन्तर निगरानी गर्नैपर्छ’, उनले भने।

म्याकडोनाल्डलाई यस विषयमा जिज्ञासा राख्दा उसले वक्तव्य मार्फत आफ्नो फ्रेन्चाइज स्टोरको यो हविगत निकै कष्टप्रद रहेको बताएको छ। यस्ता गतिविधि निरुत्साहित गर्नका लागि गत वर्ष कम्पनीले कामदारको भर्तीका क्रममा सबै नैतिक पक्षको ख्याल राख्ने मापदण्ड बनाएको कम्पनीले बताएको छ ।

सबैतिर समान अभ्यासका लागि जारी गरिएको मापदण्डमा आप्रवासी कामदारले जागिर सुरक्षितका लागि कुनै पनि शुल्क तिर्नुनपर्ने उल्लेख रहेको म्याकडोनाल्ड कर्पोरेशनले वक्तव्यमा भनेको छ।

श्रमशोषणका सवालमा साउदीमा म्याकडोनाल्डको फ्रेन्चाइज पाएको आरआईसीसीसँग जिज्ञासा राख्दा उसले कुनै उत्तर दिएको थिएन। पछि उसले वक्तव्य जारी गर्दै भर्तीको प्रक्रियामा सुधार ल्याउने उल्लेख गरेको छ। ‘कामदारको सुरक्षा र सम्मानको अलावा अन्य कुरा महत्वपूर्ण छैन। हाम्रो स्टोर सञ्चालनमा योगदान गर्ने कामदारको सुरक्षा र सम्मान हामी सुनिश्चित गर्छौं’, आरआईसीसीले भनेको छ।

यता अमेजनले पनि वक्तव्य मार्फत घटनाप्रति गम्भीर चासो रहेको बताएको छ। करारनामामा आएका कामदारको आत्मसम्मानमा कुनै चोट नपुर्‍याउने उसले एजेन्सीलाई सचेत गराएको छ। यस्तै अन्य अन्तर्राष्ट्रिय चेनले पनि घटनालाई गम्भीरतापूर्वक लिइएको बताएका छन्।

खतरनाक अभ्यास

यस अनुसन्धानका लागि छनोट भएका कामदारमध्ये ९७ जनाले आफ्नो नाम खुलाए पनि हुने स्वीकृति दिए। अन्यले भने आफ्नो पहिचान नखुलाउन अनुरोध गरे। कम्पनीप्रतिको अभियोग प्रमाणित गर्नका लागि उनीहरुले आईसीआईजेलाई विभिन्न दस्तावेज, भुक्तानीका कागजात लगायत उपलब्ध गराएका थिए। गल्फमा आएका कामदारहरुमा अनुसन्धान गर्दा चारवटा घातक श्रम अभ्यास पाइएको छ।

ठूलो शुल्क असुली

अन्तर्वार्तामा सहभागीमध्ये ८२ जनाले स्वदेशमा आकर्षक कम्पनीमा जागिरको प्रलोभन देखाएर आफूहरुसँग मोटो रकम लिइएको बताए। म्याकडोनाल्डमा आएका २१ मध्ये १८ जनाले मोटो रकम तिरेका थिए। यस्तै अमेजनमा काम गर्न आएका ५४ जनाले पनि मोटो रकम तिर्न बाध्य भएका थिए।

म्याकडोनाल्डमा काम गर्न गएका सुनारले ६० हजार बुझाएका थिए। यस्तै अमेजनमा काम गर्न पुगेका नेपाली आप्रवासी कामदारले ८० हजारदेखि २ लाख ३० हजारसम्म तिरेर आएका थिए। गरिबीको रेखामा रहेका नेपाली श्रमिकका लागि यो रकम निकै ठूलो हो। कामदारहरु ऋणको चपेटामा रहेको देखिने भएकाले उनीहरुमाथि झनै शोषण हुने गर्छ।

म्याकडोनाल्ड र अमेजनमा झैं इन्टरकन्टिनेन्टल होटलमा आएका कामदारले पनि धेरै पैसा खर्चिएका थिए। अमेजनमा काम गर्न आएका ५४ मध्ये ४८ जनाले आफूहरु अमेजनकै कामदार हुने भन्दै रकम असुलेको बताए। वास्तविक रुपमा उनीहरु अमेजनको नभएर एजेन्सीको कामदार हुन्थे। एजेन्सी मातहतको कामदार हुने भएकाले पनि थप शोषित हुनुपरेको कामदारहरुले बताए। राष्ट्रसंघको नियम अनुसार कर्मचारी नियुक्तिका बखत ज्याला, कामका शर्त र रोजगारदाताको पहिचान लुकाउन पाइँदैन।

राहदानी जफत

चक इ चीज तथा इन्टरकन्टिनेन्टल होटलमा कामका लागि पुगेका कामदारहरुको राहदानी नै जफत गरिएको पाइएको थियो। चक इ चीजका एक व्यवस्थापकले राहदानी तथा अन्य कागजात जफत कम्पनीको नीति नै रहेको बताए।

कामदारहरु नभागून् भन्ने उद्देश्यले आफूहरुले यस्तो गरेको ती व्यवस्थापकको भनाइ थियो। इन्टरकन्टिनेन्टल होटलमा कामका लागि पुगेकाहरुले व्यवस्थापकले ओमान, कुवेत र साउदीमा रहेकाहरुको कागजात जफत गरेको बताए।

राहदानी जफत हुँदा आप्रवासी कामदारको हिंडडुलको स्वतन्त्रता हननका साथै काम छनोटको अधिकार हनन् हुन्छ। त्यसैले यसलाई श्रमिक बेचबिखनको सूचकमा राखिएको छ। यस्ता गतिविधि युएई तथा साउदी अरेबियामा अवैध छ तथापि यस्ता अभ्यास भइरहेको छ।

इन्टरकन्टिनेन्टल होटलले भने आफूहरुले व्यक्तिको हिंडडुलको स्वतन्त्रताको हनन् नगरेको जिकिर गरेको छ। आईसीआईजेको सूचनाप्रति आफूले अनुसन्धान गरिरहेको उसले बताएको छ।

जागिर छोड्ने स्वतन्त्रतामा अंकुश

चक इ चीज र अमेजन जस्ता ठूला ब्रान्डले कर्मचारी नियुक्तिमा जोडिएका अरबी एजेन्सीले कामदारलाई राजीनामा दिन कठिन गराउने बताएका छन्। स्थानीय व्यवस्थापकले कतिपय अवस्थामा आवश्यक कागजात जारी नगरिदिने कामदारहरुको भनाइ छ। कामदारले अर्को जागिर खोज्नुअघि काम गरिरहेको कम्पनीबाट रिलिज लिनुपर्ने हुन्छ। अमेजनका गोदाममा काम गर्न गएका २० नेपालीका अनुसार एजेन्सीलाई मोटो रकम नबुझाएसम्म उनीहरुले रिलिज नै रोकिदिन्थे।

श्रम सम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन ठूला कम्पनीहरुले गरेकाले पीडितको अधिकार रक्षाका लागि कम्पनीहरु कानुनी कारबाहीको भागीदार हुने कानुनविद्हरुले बताए। अमेरिकी कानुन मामिला जानकार एनेजेस्का फ्रिस्जम्यान भन्छन्- ‘अमेरिकामा मानव बेचबिखन पीडित संरक्षण ऐनले कसैलाई पनि जबरजस्ती काममा लगाउन निषेध मात्रै गरेको छैन यो कुरा कम्पनीलाई थाहा हुनुपर्ने मान्यता पनि राख्छ। फ्रेन्चाइज एक उद्यम रहेकाले यस नीतिबारे जानकार रहनैपर्छ।’

गल्फमा फ्रेन्चाइज सञ्चालन गर्ने कम्पनीले त्यहाँको कामदारको अवस्थाबारे अनुगमन गर्नुपर्ने विज्ञहरु बताउँछन्। साउदीमा काफला प्रणालीको केही अंश अझै जीवित छ। यसले रोजगारदाता नै सर्वेसर्वा हुने मान्यता राख्छ। जसले गर्दा कामदारहरु शोषणमा पर्छन्।

श्रम कानुन परिमार्जन गर्ने प्रतिबद्धता जनाए पनि गल्फका अधिकांश राष्ट्रले पुरानै कानुन विद्यमान राखेका छन्। ह्युमन राइट्स वाच भन्छ- ‘आप्रवासी कामदारहरुले अझै पनि शोषणको अवस्था खेपिरेहका छन्। कामदारहरुले अझै पनि शोषण सहेरै काम गर्न विवश छन्। उनीहरुलाई काम परिवर्तन गर्न दिइएको छैन।’

फिलिपिनो ली सन् २०१८ मा साउदी पुगेका थिए। त्यहाँबाट पैसा आर्जन गरेर घर पठाउने उनको धोको थियो। फिलिपिन्सको एजेन्सीले उनलाई मासिक ४५० डलर हुने प्रलोभन देखायो। जब उनी आरआईसीसी आए कम्पनीले उनलाई मासिक ३२५ डलर दिने बतायो। ‘मेरो तलबको विषयमा मैले प्रश्न गर्दा म्याकडोनाल्डले एजेन्सीलाई सोध्न भन्यो र एजेन्सीले म्याकडोनाल्डलाई प्रश्न गर्न सुझायो’, उनले भने।

एक वर्ष काम गरेपछि उनले अन्यत्र जाने सोच बनाए। तर स्टोरका व्यवस्थापकले उनलाई रिलिज दिन अस्वीकार गरे। रिलिज माग्दा उनलाई चार महिनासम्म काममा बोलाइएन। चार महिना उनले निकै कष्टप्रद रुपमा गुजारे। त्यहाँको स्टोरले गरिब मुलुकबाट कामदार झिकाउँछन्। जागिर जाने त्रासले उनीहरु बोल्न सक्दैनन्। नाम खुलाउन नचाहेका एक कामदारका अनुसार उनी अहिले त्यहाँ आफ्नो इच्छा विपरीत काम गर्न विवश छन्।

श्रमशोषण गर्ने कम्पनी आरआईसीसीले आफ्नो वक्तव्यमा भनेको छ— ‘आरआईसीसी स्थानीय समुदायलाई उत्तरदायी र अर्थपूर्ण रुपमा सेवा दिने कम्पनी हो। कामदारका समस्या सम्बोधनका लागि हटलाइनका साथै नियमित रुपमा मानव संसाधन टोलीको अनुगमन व्यवस्था गरिएको छ।’

श्रम आपूर्ति

सन् २०२१ मा सुरेन्द्रकुमार लामा साउदी पुगेका थिए। त्यहाँ उनले अमेजनका प्रतिनिधि भेट्ने अपेक्षा राखेका थिए। तर उनले सोचे जस्तो भएन। लामासँगै आएका दर्जनौं नेपालीले साउदी उत्रिएपछि मात्रै आफुहरु अमेजनको नभएर एजेन्सीको कामदार रहेको पत्तो पाए। नेपालमा भने उनीहरुले अमेजनको कामदार हुने भन्दै मोटो रकम बुझाएका थिए।

चाहना विपरीत उनीहरु काम गर्न विवश भए। एजेन्सी मार्फत अमेजनको गोदाममा काम गर्नेले मासिक ३५० डलर पाउँछन् भने सीधै अमेजनमा काम गर्नेहरुले ८०० देखि १३०० डलरसम्म पाउँछन्। नेपाली कामदारहरु बारम्बार हटाइन्छन् भने पाकिस्तान तथा स्थानीय अरबीहरु भने त्यहाँ लामो समयसम्म काम गर्छन्।

‘अमेजनका व्यवस्थापकले हामी एजेन्सीबाट नियुक्त भएका कामदार भएकाले राम्रोसँग काम नगरेको अवस्थामा सम्झौता रद्द हुने चेतावनी दिएका थिए’, लामा सम्झिन्छन्।

कम्पनी छोड्नुपरेमा आफूहरुसँग निकै मोटो रकम असुल गर्ने उनीहरुले बताए। रिलिजका लागि मोटो रकम तिर्न आफूहरु विवश भएको उनीहरुको भनाइ थियो। व्यवस्थापकले यतिसम्म निर्दयी काम गर्थे कि घरमा अप्ठ्यारो परेर जान खोज्दा समेत सहकर्मीलाई ग्यारेन्टर राख्नुपर्थ्यो। त्यो साथी काममा नफर्किएमा ग्यारेन्टरले जरिवाना भर्नुपर्थ्यो।

कतिपय अवस्थामा जेलमा बसेको झैं भान भएको कामदारहरु बताउँछन्। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीमा काम गर्दा पनि चरम शोषण भोग्न उनीहरु विवश छन्।

आईसीआईजेको रिपोर्टमा आधारित

लेखकको बारेमा
केटी म्याकी

केटी म्याक्यु,संयुक्त राज्य अमेरिका,ब्रुकलिन,न्यूयोर्कमा रहेरका काम गर्ने एक खोज पत्रकार हुन् ।

प्रमोद आचार्य

प्रमोद आचार्य टेक्सासमा रहेका नेपाली स्वतन्त्र खोज पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?