+
+

५ लिटर पेट्रोल भर्दा २० मिलिलिटरसम्म कम

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० कात्तिक १ गते १९:५६

१ कात्तिक, काठमाडौं । काठमाडौं गैरीगाउँको भ्याली बाबा सप्लायर्स पेट्रोल पम्पमा मंगलबार प्रधानमन्त्री कार्यालयले छड्के गर्दा परिमाण घटाएर पेट्रोलियम पदार्थ बिक्री गरेको पाइयो ।

पटक पटक गुनासो आए पनि नेपाल आयल निगम र नेपाल गुणस्तर तथा नाप तौल विभागले अटेर गरिरहेका थिए । तर, मंगलबार ती कार्यालयका अधिकारीसहित प्रधानमन्त्री कार्यालय र सर्तकता केन्द्रका अधिकारी पम्पमा पुगेका थिए ।

पम्पमा पेट्रोल भर्ने एउटा नोजलबाट सुरुमा नाप तौलका अधिकारीहरुले ५ लिटर पेट्रोल भरे । पहिलो पटकमा केही मात्रामा पेट्रोल कम देखियो, दोस्रो पटक पुनः ५ लिटर तेल भरियो त्यसमा पनि तेल कम आयो । तेस्रो पटक भर्दा पनि पेट्रोल तोकिएको मात्रामा आएन ।

अनुगमनमा खटिएका गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंमा अधिकृत निराजन पुडासैनीका अनुसार पम्पले बिक्री गर्ने प्रत्येक लिटर पेट्रोलमा मापदण्डमा तोकिएको भन्दा कम्तीमा ४ एमएलका दरले कम दिने गरेको भेटियो ।

‘अनुगमन टोलीले ५ लिटर पेट्रोल ३ पटक आफूले नापतौल गर्ने भाँडोमा खन्याउँदा २० एमएल कम तेल देखियो’, पुडासैनीले भने, ‘प्रत्येक लिटरमा ४ एमएल कम तेल उपभोक्तालाई बिक्री गरिरहेको अनुगमनमा पाइयो ।’

हरेक दिन कम्तीमा २० हजार लिटर पट्रोल बिक्री गर्दा पप्पबाट ८० लिटर पेट्रोल कम हुने देखिएको अनुगमनमा संलग्न अधिकारीहरुले बताएका छन् । काठमाडौंकै पम्पमा कम परिमाणमा पेट्रोल बिक्री गरेको पाइएपछि बुधबार संयुक्त अनुगमन टोलीले थप २ वटा पप्पमा पनि यस्तै प्रकृतिको अनुगमन गर्‍यो ।

सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वाम्भूको हलचोक फ्यूल सेन्टर र कलंकीको श्यामा पेट्रोल पम्पमा गरेको अनुगमनमा पनि यस्तै तरिकाबाट डिजेलमा उपभोक्ता ठगी गरेको देखियो ।

लामो समयदेखि अनुगमन नभएका काठमाडौंका पम्पहरुमा केन्द्रीय अनुगमन कार्यालयबाट अनुगमन भएसंगै पम्पहरुको ठगीधन्दा खुलेको हो ।

पम्पमा रहेको ४ वटा नोजल (पेट्रोल भर्ने मेसिनसहितको वस्तु) मध्ये मंगलबार अनुगमन टोलीलले सिल गरेको नोजल ३ वर्षदेखि सञ्चालनमा रहेको पाइएको छ । नेपाल आयल निगमका अनुसार काठमाडौंको व्यस्त ठाउँमा रहेको उक्त पम्पले प्रत्येक दिन औसत २० हजार लिटर हाराहारीमा पेट्रोल बिक्री गरिरहेको थियो ।

यही अनुपातको बिक्री हेर्दा उपभोक्ताले परिमाणमा ४ एमलएका दरले तेल कम प्राप्त गरेको र सो बापत भने पम्पले ठूलो लाभ आर्जन गरेको अनुगमन टोलीको अनुमान छ ।

‘२० हजार लिटर बिक्री गर्दा ८० लिटर पेट्रोल बिक्री नगरी उपभोक्ताबाट पैसा असुल गरिनेरहेछ’, ती अधिकारीले भने, ‘८० लिटर पेट्रोलको रकम १३ हजार ७६० रुपैयाँ हुन्छ ।’

अनुगमनमा खटिएका अधिकारीहरुका अनुसार यदि यो नोजलले जडान गरेको अवधिदेखि नै कम मात्रामा पेट्रोल दिइरहेको हो भने पम्पले लाखौं रुपैयाँ उपभोक्ताबाट असुल गरेको हुनसक्छ ।

सशस्त्र प्रहरी बलको पम्पमा पनि त्यस्तै

हलचोकको सशस्त्र प्रहरी बलको पम्पले डिजेलमा प्रतिलिटरमा २५ एमएल र कलंकीको श्यामा आयल स्टोरले २० एमएलसम्म कम मात्रामा डिजेल बिक्री गर्ने गरेको भेटिएको छ । हरेक दिन हजारौं लिटर डिजल बिक्री गर्ने मूल सडकको श्यामा र सरकारको सुरक्षा निकायबाटै सञ्चालन गरिएको हलचोक पम्पले यो प्रकारको ठगी गरेपछि अनुगमनमा संलग्न अधिकारीहरु नै अचम्ममा परेका छन् ।

एक अधिकारीका अनुसार २० हजार लिटर डिजेल बिक्री गर्दा मात्रै हलचोकको पम्पले १०० लिटर डिजेल जोगाउँछ । यस्तै श्यामाको ८० लिटर जोगिन्छ । जसको आजको बजार मूल्य क्रमशः १६ हजार ५५० रुपैयाँ र १३ हजार २४० रुपैयाँ हाराहारी पर्छ ।

‘कम मात्रामा डिजेल बिक्री गर्दा बच्ने डिजेल पुनः बिक्री गर्दा पम्पलाई दोब्बर नाफा हुने देखिएको छ’, एक अनुगमन अघिकृतले भने, ‘कम परिमाणमा डिजेल बिक्री गरेबापत २० हजार लिटरमा करिब ३३ हजार ३ सय रुपैयाँ अतिरिक्त नाफा सशस्त्रको पम्पले नाफा राख्न सक्छ भने श्यामाले २६ हजार ४८० रुपैयाँसम्म राख्न सकने देखियो ।’

सुविधाको विन्दु पार भएकाले ठगीको आशंका

नेपाल आयल निगमको बिक्रेता नियमावलीअनुसार हरेक ५ लिटरमा बिक्रेताले तोकिएको परिमाण भन्दा बढीमा १५ एमएल र घटीमा १५ एमएलसम्म परिमाणमा फरक पर्न गए यसलाई मापदण्डअनुसार नै मानिन्छ । कसैले ५ लिटर पेट्रोल बिक्री गर्दा १५ एमएल बढी हुनु वा १५ एमएल कम हुनुलाई कानुनले सुविधाको रुपमा स्वीकार गरेको छ ।

तर, मंगलबार र बुधबार अनुगमनमा परेको भ्याली, हलचोक र श्यामा पम्पले उक्त सुविधाको सीमा नाघेर कम मात्रामा पेट्रोल बिक्री गरेको पाइएको थियो ।

यसअनुसार १७२ रुपैयाँ तिर्दा उपभोक्ताले एब हजार एमएल (एक लिटर) पेट्रोल पाउनुपर्नेमा ९९६ एमएल मात्रै पेट्रोल तथा १९५ एमएल मात्रै डिजेल पाइरहेका थिए । अनुगमन टोलीका अनुसार पम्पले सुविधामा पाउने १५ एमएल कमका अतिरिक्त थप ४ र ५ एमएल कम गरेर तेल बिक्री गरेको थियो ।

आयल निगमले अनुगमन गर्दैन ?

नेपाल आयल निगममा इन्धनको गुणस्तर निर्धारणका लागि निर्देशकको नेतृत्वमा छुट्टै विभाग छ । सो विभागको नेतृत्व निर्देशक बिनी श्रेष्ठले गर्छिन् । बजार अनुगमन र गुणस्तरका लागि निगमको आफ्नै संरचनाका बाबजुद नेपाल गुणस्तर तथा नापतौल विभागले पनि पेट्रोल पम्पको अनुगमन गर्छ ।

तर, काठमाडौंमै कम परिमाणमा इन्धन बिक्री गरेको खुलेपछि उी निकायको भूमिकामा प्रश्न उठेको छ । ती निकायले गैरी गाउँ, हलचोक र श्यामाको पम्पमा अनुगमन गरे नगरेको अझै खुलेको छैन ।

अर्को शंकास्पद तथ्य के छ भने गैरीगाउँसहित देशभर प्रयोग भएको १६ सय पेट्रोल पम्पहरुको गुणस्तर पास नेपाल गुणस्तर तथा नापतौल विभागले गर्छ । विभागबाटै जाँचपास भएको तेल भर्ने नोजलबाट कम मात्रामा तेल बिक्री भएको पाइएपछि विभागको भूमिकामाथि पनि प्रश्न उब्जिएको अनुगमनमा खटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरुको भनाइ छ ।

तर, अहिले देखिएको इन्धनको चोरी जानीजानी हो वा मेसिनको समस्या हो भन्ने अझै नछुट्टिएका कारण यहिले थप प्रतिक्रिया नदिने गुणस्तर तथा नापतौल विभागको दाबी छ ।

‘पहिला पहिले मेसिनमा बदमासी गरेरै इन्धन चोरी गरिन्थ्यो, त्यो चोरी ठूलो परिमाणको थियो,’ विभागका महानिर्देशक दिनानाथ मिश्रले भने, ‘अहिलेको ५ देखि १० एमएलको गडबडी के कारणले हो यो हेर्न बाँकी छ ।’ महानिर्देश्क मिश्रले ५ देखि १० एमएल इन्धन कसैले नचोर्ने पनि दाबी गरे ।

मंगलबार अनुगमनमा परेर सिल लागेको गैरीगाउँको भ्याली पेट्रोल पम्पका सञ्चालक राजकुमार साहले भने आफूहरुले चोरी नगरेको दाबी गरे । गुणस्तर विभागबाट प्रमाणीकरण गरेको नोजलबाटै तेल दिइरहेको भन्दै उनले आफूहरुको बदनाम गर्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?