+
+
'काज'मा विकृति :

दशैंमा गाडी र भ्रमण भत्ता लिएर घर हिँड्छन् कर्मचारी

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० कात्तिक १ गते २३:५९

१ कात्तिक, काठमाडौं । दशैंको सार्वजनिक विदा सुरु नहुँदै सिंहदरबार र विभिन्न सरकारी कार्यालयहरुका कर्मचारी धमाधम काज विदा लिएर घर हिँडेका छन् ।

गत शुक्रबारदेखि नै धेरै कर्मचारीले काज विदाको भ्रमण आदेश स्वीकृत गरेर हिँड्दा कतिपय कार्यालयमा दैनिक कामकाज र सेवा प्रवाह नै अवरुद्ध हुन पुगेको छ । दशैंको सार्वजनिक बिदा ४ कात्तिकबाट मात्र सुरु हुँदैछ ।

राष्ट्रिय सतर्कता केन्द्रले बुधबार गरेको अनुगमनमा काठमाडौंका विभिन्न सरकारी निकाय र कार्यालयका ३२८ कर्मचारीले काज विदा स्वीकृत गराएर हिँडेको भेटिएको छ ।

सतर्कता केन्द्रका प्रवक्ता राजेन्द्र पौडेल सरकारका ३१ वटा मन्त्रालय/आयोग/विभागहरु र प्राधिकरण/सार्वजनिक संस्थानमा अनुगमन गर्दा दशैंको विदा सुरु हुनुभन्दा एक हप्ताअघि र विदा सकिने दिनभन्दा एक हप्तापछि सम्मको काज स्वीकृत गरेको भेटिएको बताउँछन् ।

‘त्यस्ता निकायहरुबाट जम्मा ३२८ जना कर्मचारीहरुको काज स्वीकृत भएको विवरण प्राप्त भएको छ’, उनले भने, ‘काजमा खटिएका कर्मचारीहरु अत्यावश्यक सेवाको अनुगमन गर्ने लगायतको कार्यमा समेत खटिएको पाइएको छ ।’

अनुगमनमा संलग्न सतर्कता केन्द्रका अधिकारीहरु धेरै कर्मचारीले काज स्वीकृत गर्दा सरकारी कार्यालयहरुका कार्यकक्षहरु नै सुनसान देखिएको बताउँछन् । दशैंमा धेरै कर्मचारीले काजका लागि भ्रमण आदेश स्वीकृत गराउने विकृति छ । यसो गर्दा उनीहरुले काज अवधिभर कार्यालयको सवारीसाधन प्रयोग गर्न पाउँछन् ।

काजको क्रममा कर्मचारीको श्रेणीअनुसार भ्रमण भत्ता समेत बुझ्न पाउँछन् । गाडी र विमानबाट यात्रा गर्दा सोको खर्च पनि सरकारी कोषबाटै व्यहोरिने भएकाले पहुँचवाला कर्मचारीहरुले सकेसम्म दशैंमा काज स्वीकृत गराएर हिँड्ने गरेका छन् ।

विशेष गरी दुर्गम क्षेत्रमा जाने कर्मचारीको लामो समय बाटोमै बित्ने भएकाले उनीहरुलाई यस्तो काज लिनु कर्मचारीतन्त्रमा सामान्य मानिन्छ । तर, अहिले काठमाडौं आसपासका सुगम र तराईका जिल्लाका कर्मचारीहरुले समेत काज सुविधा लिएर हिँडिरहेको सतर्कता केन्द्रले फेला परेको छ ।

सचिवको काज भने मुख्यसचिवले काज स्वीकृत गर्छन् भने सम्बन्धित मन्त्रालय र निकायका सचिव तथा महाशाखा प्रमुख (सहसचिव) तथा अन्य कार्यालयमा कार्यालय प्रमुखबाट भ्रमण आदेश स्वीकृत गराइन्छ ।

नियमअनुसार भ्रमण आदेश स्वीकृत भएपनि कर्मचारी काममा हुनुपर्ने हो । तर, धेरैले अनुगमन लगायतका नाममा भ्रमण आदेशबाट आफ्नो कार्यालयको कामकाज मात्रै छल्दैनन्, सरकारी ढुकुटी दोहन समेत गर्ने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

पूर्वसचिव विमल वाग्ले दशैं विदामा घर जाँदा पनि सरकारी खर्चकै प्रयोग गर्न यस्तो काज लिने विकृति झन् मौलाएको बताउँछन् ।

‘दशैंमा घर जानु छ, आफ्नो खर्चमा किन जाने भन्ने मानसिकताले यस्तो भएको हो,’ उनी भन्छन्,‘दशैंका बेला बन्द भएका कार्यालय र र काम नभएका आयोजनाहरुको अनुगमन गर्नुपर्ने हुन्छ र ?’

साँच्चिकै काजकै लागि जाने हो भने पनि त्यसको औचित्य र सयम अनुसारको वितरण मिलेको हुुनपर्ने उनको भनाइ छ । ‘दशैंको समयमै ठ्याक्कै काज पार्दा कर्मचारीलाई अतिरिक्त लाभ छ, सरकारी सवारी र दैनिक भ्रमण भत्ता दुबै पाइन्छ,’ उनी भन्छन्,‘आफ्नो गाउँघरमा सरकारी गाडी लगेर शानका साथ जान पाइने भएकाले नै दशैंमा काज बढेको छ ।’

विगतमा आफूले पनि यस्तै काजको सुविधा लिएको हुनाले कार्यालय प्रमुखहरुले पनि कर्मचारीले मागेको काज नरोकी धामधम स्वीकृत गर्ने गरेको उनको भनाइ छ । ‘पहिले पनि यो विकृति नभएको हैन, अलि बढी सतर्क हुन्थे,’ उनी भन्छन्,‘अहिले त यो सामान्य बन्न पुग्यो ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?