+
+

चक्रपथको दोस्रो खण्डको विस्तार थाल्न कम्तीमा एक वर्ष लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते ६:३०

५ कात्तिक, काठमाडौं । चक्रपथको कलंकी-बालाजु-बसुन्धरा खण्डको मुख्य ट्रयाकको निर्माण सुरु हुन अझै एक वर्ष लाग्ने भएको छ । विस्तारको डिजाइन कार्य नसकिएको र चीनले प्रक्रिया पूरा गरेर ठेकेदार पठाउन समय लाग्ने बताएकाले तत्कालै निर्माणको काम अघि नबढ्ने अवस्था आएको हो ।

सडक विभागको विकास सहायता महाशाखाका प्रमुख तथा उपमहानिर्देशक डा. विजयकुमार जैसी चीनले यो खण्डको विस्तारका लागि परामर्शदाता छनोट गर्न बाँकी नै रहेको बताउँछन् । परामर्शदाता छनोटपछि उनीहरू नेपाल आएर चक्रपथमा सर्भे गरेर डिजाइन तयार गर्ने र त्यसपछि मात्रै चीनले ठेकेदार छनोट गरेर निर्माणको काममा पठाउने उनले बताए ।

‘चिनियाँहरू आएर काम सुरु हुन कम्तीमा एक वर्ष लाग्छ’ उनले भने, ‘हामी छिटो काम सुरु होस् भन्नेमा छौं, तर चीनमा परामर्शदाता र ठेकेदार छनोटको काम नै सकिएको छैन भन्ने जानकारी आएको छ ।’

यो खण्डको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने योजना छ भने नेपाल सरकारले सर्भिस ट्रयाक बनाउने र अन्य सहजीकरणको काम गर्नेछ । नेपाल सकारले सर्भिस ट्रयाकको कामका लागि ठेक्का लगाइसकेको छ । चीन यो सडकखण्डका बीचमा ‘ग्रीन बेल्ट’ (हरियाली क्षेत्र) बनाएर डिजाइन गर्न तयार भइसकेको छ ।

चीनले नेपाल सरकारले साइट उपलब्ध गराउन पूर्वतयारी नसकेको भन्दै ५ वर्ष वर्षदेखि चक्रपथ विस्तारको परियोजना अलमलमा छाडेको छ । चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो । सरकारले २०७६ पुस १८ गते यो खण्डको सडक सीमा ३१-३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो ।

अहिले प्रस्तावित खण्डको साइट क्लियरेन्सको काम सकिएको चक्रपथ विस्तार आयोजना प्रमुख कृष्णनाथ ओझाले बताए । ‘हामीले गर्नुपर्ने काम सकाइसक्यौं, सर्भिस ट्रयाकको पनि धमाधम निर्माण अघि बढेको छ’ उनले भने, ‘अब हामी मुख्य ट्रयाकहरूमा काम गर्न आउने चिनियाँ पक्षलाई पर्खिरहेका छौं ।’ लामो समयदेखि अल्झिएको यो खण्ड ८ लेनमा विस्तार गर्न चीन सरकारले नै ठेकेदार छनोट गरेर पठाउनुपर्छ ।

सरकारले चक्रपथ विस्तारको कलंकीदेखि धोबिखोला (गोपीकृष्ण) सम्मै गरिदिन चीनलाई आग्रह गर्दै आएको छ । महाराजगञ्जको नारायणगोपाल चोक क्षेत्रमा घरमा मुआब्जा विवाद भएकाले समस्या भएकाले चिनियाँ पक्ष यसमा तयार भएको छैन ।

चक्रपथको यो खण्डको डिजाइन कस्तो बन्छ भन्नेमा सडक सुरक्षा विज्ञ, साइकल अभियन्ता, नागरिक समाज र सर्वसाधारणले चिन्ता व्यक्त गर्दै आएका छन् ।

विस्तारको काम सुरु हुनुअघि छलफलका लागि सडकको डिजाइन सार्वजनिक गरिनुपर्ने र त्यसमाथि खुला छलफल हुुनुपर्ने माग गर्दै आएका छन् ।

चक्रपथको कलंकी-सातदोबाटो-कोटेश्वर खण्ड जस्तै चीनको डिजाइनलाई जस्ताको तस्तै स्वीकारेर त्रुटिपूर्ण र अव्यावहारिक रूपमा दोस्रो खण्ड विस्तार गरिने आशंका उनीहरूलाई छ ।

सडक विभागले चीनलाई चक्रपथलाई व्यावहारिक, वैज्ञानिक र सवारी तथा पैदलयात्रुमैत्री बनाउन विभिन्न सुझाव भने दिइसकेको बताएको छ । चीनका तर्फबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आएपछि त्यसबारे सुझाव लिएर परिमार्जन सहित निर्माणको काम अघि बढाउने विभागको योजना छ ।

मुख्य रूपमा क्रसिङ र चोकहरूमा सहजै सवारी वारपार गर्न सक्ने गरी व्यवस्थित गर्न डिजाइनमै ध्यान दिइने विभागले बताउँदै आएको छ । मुख्य गरी बालाजु-बसपार्क क्षेत्रमा सवारीको ‘ओभरपास’ बनाउनुपर्ने र ठाउँ-ठाउँमा आकाशेपुल सहितका अन्य पूर्वाधार बनाउनुपर्ने पक्षमा सरकार छ । चीनले गर्ने डिजाइनमा नै त्यसलाई राख्न सरकारले चीनलाई प्रस्ताव गरेको छ । तर, चीनले कहिलेसम्म कस्तो डिजाइन तयार गरेर दिन्छ भन्नेमा अधिकारीहरू अलमलमा छन् ।

‘अनुदानको परियोजना भएकाले निश्चित आर्थिक सीमाभित्र बसेर चिनियाँ अधिकारीहरूले डिजाइन गर्नुपर्ने अवस्था छ’ विभागका एक अधिकारीले भने, ‘सबै हामीले माग गरे जस्तै हुन्छ भन्ने सुनिश्चित छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?