
News Summary
Generated by OK AI. Editorially reviewed.- हरिया रङ्गका नगर बस कालो धुवाँको मुस्लो निकाल्दै गुड्दा पोखरावासी हैरान छन् ।
- सार्वजनिक यातायातको नियम उल्लंघन, कमजोर नियमन लगायत कारण पोखरामा वायु प्रदूषण र ट्राफिक जामको समस्या थपिएको छ।
- २०८१ साल माघ ३० गते बिहान पोखरा नेपालको सबैभन्दा बढी प्रदूषित शहरको सूचीमा परेको थियो ।
४ असार, पोखरा । पोखराको लेकसाइडबाट जिरो किलोमिटरतिर जाँदै गरेको ग १ ख ७७८९ बसले यसरी कालो धुवाँ पुत्याउँछ, त्यसको पछि मोटरसाइकल, स्कुटरमा हिँडेकाहरु मुस्लोमै हराउँछन् । त्यो बसको पछिपछि साना सवारीमा यात्रा गरिरहेकाहरु र पैदल हिँडिरहेकाहरुलाई सास फेर्नै अप्ठेरो पार्छ । केही दिनअघि यसरी धुँवाको मुस्लो फाल्दै कुदेको पोखराको नगर बसको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पर्यटकीय नगरी पोखराको यो अवस्था नयाँ भने होइन । हरिया रङका नगर बसले धुँवाको मुस्लो फाल्दै कुद्ने यस्तो दृश्य सडकमा दिनहुँ देखिने गरेको छ । पोखराका नगर बसको आतंकले नागरिक हैरानै बन्ने गरेका छन् ।
एकातिर सडकमा ठेलमठेल गर्दै एक–अर्कालाई ओभरटेक गर्ने प्रतिस्पर्धा, अर्कोतिर कालो मुस्लो धुँवा फाल्दै कुद्ने बसले नागरिकमाथि अत्याचारै गरेको छ । ‘पोखरालाई सबैभन्दा बढी प्रदूषित गर्ने, ट्राफिक व्यवस्थापन अस्तव्यस्त पार्ने काम यी सवारी साधनले गरिरहेका छन्,’ पोखराका कला, संस्कृति, संगीतका अभियन्ता मनकुमार श्रेष्ठ भन्छन्, ‘रङमात्रै हरियो पोतेर के गर्नु ?’
पोखराका नगर बसले कालो मुस्लो उडाउँदै कुद्दा पोखराको बद्नाम मात्र गराएको छैन, सहरलाई नै प्रदूषितसमेत गराइरहेको छ । तर, नियमन, व्यवस्थापन र व्यवस्थित गर्ने एकल अधिकार पाएको प्रदेश सरकारले भने यस्ता बसलाई कारबाही गर्न सकेको छैन ।
पोखराको सडकमा हिँड्ने तथा साना सवारी साधनमा कुद्नेहरुले अनलाइनखबरसँग तितो अनुभव पोखेका छन् । ‘दुई दिन अगाडि लेकसाइडको हलनचोक अगाडि फेवा ताल जाने बाटोमा म र मेरा दुई छोरीहरुलाई ग १ ख ४०४८ नम्बरको नगर बसको धुँवाको मुस्लोले हानेर ध्वाँसोले छोप्यो, हामीलाई कपडा फेर्न घर फर्किन बाध्य गरायो,’ पोखराका व्यवसायी मीन गुरुङले तितो अनुभव सुनाए, ‘नगर बसको यो आतंक कहिलेसम्म ?’
नियमन गर्ने, समन्वय र सहजीकरण गर्ने सरकारी निकायको भूमिकामाथि नागरिकहरुले प्रश्नमात्रै उठाएका छैनन्, व्यवस्थापनमा निकम्मा बनेको भन्दै आक्रोशसमेत पोखिरहेका छन् । पोखराका नगर बसले सहरमा आतंक मच्चाउँदा पनि ट्राफिक प्रहरी, पोखरा महानगर र प्रदेश सरकार सबै मौन रहेको अर्का व्यवसायी जीवन गुरुङको भनाइ छ ।
‘ट्राफिकले देख्दैन कि हेर्दैन, बसको पछाडि परियो भने कुहिरोभित्र पसेजस्तो बनाउँछन्, यस्ताको समितिले फेरि पठाओ–इनड्राइभ जस्ता राइडसेयरिङको विरोध गर्छन्,’ गुरुङको आक्रोश छ ।
पोखराका समीर रामदाम नगर बसले जहाँ मन लाग्यो त्यहीँ रोक्ने, पछि के आउँदैछ, बाटो ब्लक हुन्छ हुन्न मतलबै नगर्दा नागरिकले धेरै सास्ती खेप्नुपरेको दुखेसो पोखे । ‘पोखराका नगर बसको मनलागी छ । जथाभावी लेन चेन्ज गरेर हिँडेको छ । साइडमा रोकेको बस पछि कोही आउँदैछ कि छैन नहेरी फस्ट लेन (बीचको लेन) मा आउँछन्,’ रामदामले हैरानी व्यक्त गर्छन् ।
गण्डकी प्रदेश सरकारले इनड्राइभ तथा सेल्फ ड्राइभलाई नियमन तथा व्यवस्थापन गर्न नियमावली ल्याएपछि व्यवसायीले पोखरामात्रै होइन, गण्डकी प्रदेश हुँदै देशैभरि सार्वजनिक यातायात ठप्प पारेका थिए । आफ्नो सेवा र गुणस्तर नसुधार्ने तर अर्काको विरोध तथा निषेध गर्ने नैतिकता व्यवसायीमा नभएको नागरिकको गुनासो छ ।
प्रत्येक सार्वजनिक सवारी साधन ६/६ महिनामा र निजी सवारी साधन प्रत्येक वर्षमा जाँच पास गर्नुपर्ने नियम छ । तर प्रदूषण जाँच नै नगरी हरियो स्टिकर दिने गरिएको आरोप नागरिकको छ ।
‘यातायात व्यवस्था कार्यालयले यस्ता गाडीलाई प्रदूषण जाँच गरेर कसरी हरियो स्टिकर दिन्छ, त्यो गम्भीर प्रश्न छ भने नियमन गर्ने निकायको नियतमाथि नै शंका उत्पन्न हुन्छ,’ पोखराका नागरिक राजेश केसीले भने, ‘नियमन र कारबाही नै नहुँदा पोखराका नगर बसको आतंक झनै बढ्दै गएको छ ।’
ट्राफिक प्रहरी नै पीडित
ट्राफिक प्रहरीले पोखरामा धुँवा उत्ताउँदै गुड्ने सवारी साधनलाई समातेर यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा पठाउने गरेको छ । तर, सर्भिसिङ गर भनेर छोडिदिँदा समस्या ज्यूँकात्यूँ रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
पछिल्लो समय निरन्तर जाँच गरेर यस्ता बसलाई यातायात व्यवस्था कार्यालयमा बुझाउने गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शोभा पाण्डेले बताइन् ।
अत्यधिक कालो धुँवा निकाली वायु प्रदूषण गराउने पोखरा नगरक्षेत्र भित्र सञ्चालित ३ वटा सवारी सार्वजनिक सवारी साधन (बस) लाई नियन्त्रणमा लिई आवश्यक चेकजाँच तथा कारबाहीको लागि यातायात व्यवस्था कार्यालय सवारी शाखा, गण्डकीमा पठाइएको उनले जानकारी दिइन् ।
ट्राफिक प्रहरीले अत्यधिक धुँवा फाल्ने ग १ ख ७७८०, ग २ ख १००० र ग १ ख ६०९२ नम्बरका बस नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालय पठाइएको पाण्डेको भनाइ छ ।
यस्ता बसबाट सबैभन्दा बढी सधैं सडकमा रहने ट्राफिक प्रहरी नै प्रभावित हुने गरेको गुनासो पाण्डेको छ । ‘जाँचपासको कागजपत्र उनीहरुसँग हुन्छ । तर पनि नियन्त्रणमा लिएर यस्ता बसलाई कारबाहीका लागि पठाउँछौं,’ पाण्डेले भनिन्, ‘नागरिकले ट्राफिक प्रहरीले के हेरेको छ भन्छन् तर हामी नै पीडित छौं । सडकमा बसेर सय जना ट्राफिक प्रहरी दिनमा ८ घन्टा सेवा गर्छ भने ऊ कति पीडित होला ?’
मेसिन बिग्रिँदा पछिल्लो समय हुँदैनथ्यो जाँच
यातायात व्यवस्था कार्यालयले पर्याप्त जनशक्तिसँगै जाँचपासको उपकरण नहुँदा यो समस्या समाधान गर्न नसकेको बताएको छ । हालै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले प्रदूषण जाँच गर्ने २ वटा मेसिन ल्याएर हस्तान्तरण गरिसकेकाले अब सडकमै पुगेर जाँच गरिने शर्माको भनाइ छ ।
‘प्रदूषण जाँच गर्ने मेसिन पहिले थियो, त्यो बिग्रियो । भर्खरै मन्त्रालयले २ वटा मेसिन खरिद गरेर ल्याएको छ । मेसिन अभावले बीचमा रोकिएको थियो । अब भने नियमित जाँच हुन्छ,’ शर्माले भने, ‘बीचमा यस्ता सवारी साधनलाई कागजात लिएर मर्मत गरेर चलाउन दिइएको थियो ।’
अहिले पोखरामा डिजेल र पेट्रोलबाट चल्ने दुबै खाले गाडीको प्रदूषण मापन गर्ने २ वटा मेसिन खरिद भएको हो । प्रदूषण मापन मेसिनले ३० भन्दा कम देखायो भने पास हुने र त्योमाथि बढी देखिए फेल हुने उनको भनाइ छ ।
पोखरामा कालो धुँवा फाल्ने गाडीको प्रदूषण मापन ‘स्मोक डेनसिटी’ ८०/९० सम्म देखिएको यातायात कार्यालयले जनाएको छ । गत साल वैशाखमा एकै दिन ३५ वटा गाडीको प्रदूषण मापन गर्दा ३० वटा फेल भएका थिए ।
प्रदूषण जाँचमा फेल हुने गाडीलाई मर्मत गरेर चलाउन आग्रह गर्नेबाहेक कारबाहीको अर्को विकल्प आफूसँग नभएको उनको भनाइ छ । उनले मर्मत गरेर नल्याउँदासम्म कागजात राख्ने र फेरि पनि मर्मत नगरे रुट इजाजतसमेत खारेज गर्नेसम्म हुन सक्ने बताए । तर, पछिल्लो समय मेसिन र जनशक्तिको अभावले समस्या भएको उनको भनाइ थियो ।
२०५५ सालदेखि नियमित प्रदूषण जाँच गरी सरकारले ‘वातावरणमैत्री’ भन्दै हरियो स्टिकर वितरण गर्न थालेको हो । तर, यसको प्रभावकारिता कम हुँदा वायुप्रदूषण र नागरिकले हैरानी खेप्ने गरेका छन् ।
पोखरामा बढ्दै छ, सवारी चाप
देशकै दोस्रो ठूलो सहर मानिएको पोखरामा पछिल्लो समय सवारी चाप बढ्दो छ । एकातिर बढ्दो सवारी चाप र प्रतिस्पर्धा, अर्कोतिर प्रदूषणका कारण पोखरा अव्यवस्थित सहर बन्दै गइरहेको छ ।
पोखरा बस व्यवसायीका मात्रै ३ सय ५२ वटा नगर बस छन् । लेखनाथ सिटी बससहित अन्य कम्पनीकासमेत गर्दा पोखरा नगरभित्रमा चल्ने सार्वजनिक बस करिब ४ सय हाराहारीमा पुगिसकेका छन् । यीबाहेक पोखरा हुँदै ३ लाख सवारी साधन गुड्ने यातायात व्यवस्था कार्यालयको तथ्यांक छ ।
पोखराको पृथ्वीचोक, चिप्लेढुंगा, पालिखेचोक, सभागृहजस्ता चोक र बसस्टपहरुमा यी गाडीका कारण दैनिक जाम हुने, बीच बाटोमै रोक्ने गर्दा सहर नै अव्यवस्थित देखिने गरेको छ भने अन्य साना सवारी साधन चालक तथा पैदल यात्रुलेसमेत दुःख पाउने गरेका छन् ।
गण्डकी प्रदेशभित्र चल्ने निजी र सार्वजनिक गरेर ३ लाख ५२ हजार गाडी दर्ता भइसकेका छन् । पोखरा र लेखनाथका सिटी बसले अत्याधिक कालो धुँवा फाल्ने र पटक–पटक सर्भिसिङ गरेर ठिक गर्न चेतावनी दिँदा पनि व्यवसायीले अटेरी गर्ने गरेका छन् ।
डिजेल–पेट्रेलबाट चल्ने सवारी साधनबाट निस्किने धुँवा वायुप्रदूषणको प्रमुख स्रोत हो । यसबाट निस्किने क्लोरोफ्लोरो कार्बन वायुमण्डलमा मिसिँदा मानव स्वास्थ्य र पर्यावरणमा गम्भिर असर पुर्याउने जानकारहरु बताउँछन् । २०८१ साल माघ ३० गते बिहान पोखरा नेपालको सबैभन्दा बढी प्रदूषित शहरको सूचीमा परेको थियो ।
नेपालीको मृत्यु र अपांगताको पहिलो कारण नै वायु प्रदूषणलाई ठानिएको छ । वायु प्रदूषणले नेपालमा वार्षिक करिब २६ हजार जनाको अकालमा मृत्यु भइरहेको र नेपालीको आयु सरदर ३ वर्ष ४ महिनाले घटाइरहेको विश्व बैंकले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया 4