+
+

वाउ कर्णाली ! घुम्ने हैन त यसपालि ?

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक ८ गते ८:०७
रारा ताल

८ कातिक, सुर्खेत । कर्णालीसँग प्राकृतिक साधन स्रोत र सम्पन्नता छ भन्ने त सबैलाई थाहै छ । तर, सभ्यता, लिपि, भाषा, संस्कृतिको प्राचीनताका कारण नेपाली सभ्यताको मुहानमध्ये कर्णाली एक हो भन्ने कतिपयलाई थाहा नहुन सक्छ ।

प्राकृतिक स्रोतको धनी कर्णालीसँग मानवीय सभ्यताको ढुकुटी पनि छ भन्ने थाहा पाउन एकपटक कर्णाली घुम्नै पर्छ । कर्णाली उपेक्षा र बहिष्करणको सुस्केरा मात्रै हैन, भाषा, साहित्य, संस्कृतिक एवं प्राकृतिक हिसाबले निकै धनी छ । सम्पन्नशाली छ ।

कर्णालीलाई पर्यटकीय हिसाबले ‘भर्जिन ल्यान्ड’का रुपमा हेरिन्छ । भन्ने गरिन्छ, ‘कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल बुझ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको विविधता झल्किन्छ ।’

नेपाली भाषाको उद्गमथलो सिँजा, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख, रारा ताल, रमणीय से–फोकसुण्डो, उच्चस्थानमा फल्ने मार्सी धानका साथै विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानव वस्ती पनि यही प्रदेशमा पर्छन् ।

सुर्खेतको काँक्रेविहार मन्दिर, दैलेखको ज्वाला र पञ्चकोशी, थामहरू, मालिका, ऐतिहासिक गुम्बा, कीर्तिखम्ब र पञ्चदेवल, सिंजा र दुल्लु जस्ता गृष्मकालीन र शीतकालीन ऐतिहासिक धरोहरले कर्णालीको सभ्यता र इतिहास झल्काइरहेका छन् ।

भगवान शिवको बासस्थान रहेको भनेर विश्वास गरिने कैलाश मानसरोवरको दर्शनसमेत कर्णालीबाटै गर्न सकिन्छ । जीवनमा एकपटक कैलाश मानसरोवरको दर्शन गरे सबै प्रकारका पापबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । बर्सेनि हजारौँको संख्यामा नेपाल, भारत तथा तेस्रो मुलुकबाट तिर्थयात्रीहरू यहाँ पुग्ने गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर

सुर्खेतको देउती बज्यै, बुलबुले, दैलेखको महावु, दक्षिण एसियाको दोस्रो अग्लो भनिने कालीकोटको पचाल झरना, जुम्लाको चन्दननाथ, मुगुको छाँयानाथ, हुम्लाको लिमी भ्याली, उपल्लो डोल्पा र त्रिपुरा सुन्दरी, जगदुल्ला ताल, सल्यानको कुभिण्डे दह, रुकुमको स्यार्पु ताल, जाजरकोटको खलंगा दरवार र चित्रीपाटन लगायतका प्रमुख पर्यटकीय गन्तव्यले कर्णालीको विविधतालाई देखाउँछन् ।

यिनै अथाह सौन्दर्य र इतिहास बोकेको कर्णालीलाई नजिकबाट नियाल्न बिदाको सदुपयोग गर्न सकिन्छ । रमणीय दृश्य, मौलिक संस्कृति, ऐतिहासिक धरोहरको अवलोकनका लागि तपाईंको अबको गन्तव्य कर्णाली बन्न सक्छ । यी ठाउँमा पुग्ने जो कोहीलाई लाग्ने छ, वाउ कर्णाली π

प्राकृतिक सुन्दरताको अवलोकन, तीर्थयात्राका लागि मात्र नभई सांस्कृतिक विविधताको अध्ययनका लागि पनि कर्णाली उपयुक्त गन्तव्य भएको पर्यटन व्यवसायी राजु कार्की बताउँछन् । ‘कर्णाली सबै हिसाबले सुन्दर छ, नेपालमा अन्त कतै नभएका विशेषता यहाँ भेटन सकिन्छ,’ उनले भने, ‘प्रचारप्रसारसँगै पूर्वाधारको विकास गरेमा पर्यटकको पहिलो रोजाइ कर्णाली बन्न सक्छ ।’ हुम्ला–डोल्पामा पदयात्रा, भेरी र कर्णालीमा जलयात्राको आनन्द लिन सकिने उनले बताए ।

काँक्रेविहार र बुलबुले तल

कर्णाली आउने पर्यटकका लागि सुर्खेतको वीरेन्द्रनर ‘ट्रान्जिट प्वाइन्ट’ हो । कर्णालीको यात्रामा निस्किँदा बाँकेको कोहलपुरबाट झण्डै तीन घण्टाको यात्रापश्चात् वीरेन्द्रनगर, सुर्खेत पुगिन्छ । काठमाडौंबाट सिधै हवाईजहाज वा बस चढेर पनि सुर्खेत पुग्न सकिन्छ ।

सुर्खेत पुगेपछि कर्णालीका सबै जिल्लामा यात्रा तय गर्न सकिन्छ । यहाँ बास बस्नका लागि सुविधा सम्पन्न होटेलहरूको व्यवस्था छ । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमै छन् ऐतिहासिक काँक्रेविहार, देउतीबज्यै मन्दिर, बुलबुले ताल, घण्टाघर, शहीद पार्क, गढी बयलकाँडा । यी सुर्खेतका प्रमुख पर्यटकीय स्थल हुन् । यी ठाउँहरु विरेन्द्रनगर उपत्यका भित्रै पर्ने भएकाले २०–३० मिनेटको समयमा पुग्न सकिन्छ ।

बिहानीपख देउती बज्यै मन्दिरमा दर्शनार्थीको भीड लाग्दछ । देउती बज्यै प्रदेशकै मुख्य धार्मिक शक्तिपीठमध्ये एक हो । दोस्रो लुम्बिनीका नामले चिनिने काँक्रेविहारको अनौठो कलात्मक शैलीले पर्यटकलाई मुग्ध पार्दछ । सुर्खेतमै रहेका जाजुरा दह, गुप्तीपुर गुफा र शिव गुफा नयाँ पर्यटकीय स्थल हुन् । दैलेख, कालीकोट, जुम्ला हुँदै रारा र हुम्ला, डोल्पा जाने जाने पर्यटकका लागि सुर्खेतका यी स्थान रोजाइँमा पर्दछन् ।

सुर्खेतमा निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनाले पनि विकास पर्यटनको सम्भावनालाई उजागर गरिदिएको छ । नेपालमै पहिलोपटक मेसिनबाट सुरुङ खनेर एउटा नदीको पानी अर्कोमा खसाल्ने बहुउद्देश्यीय आयोजना यहाँ निर्माण भइरहेको छ । भेरी–बबई डाइभर्सन आयोजना हेर्नकै लागि मुलुकका विभिन्न स्थानबाट शैक्षिक एवं अध्ययन भ्रमणका लागि आउने गरेका छन् ।

स्वर्गकी अप्सरा रारा 

नौलो विषयवस्तुको अध्ययन/अवलोकनमा आममानिसको रुचि हुन्छ । कर्णालीमा यस्तै नौलो दृश्य देख्न पाइन्छ । मुगुमा नेपालकै ठूलो राराताल छ, जहाँ पाइने स्नोट्राउट प्रजातिको माछा अन्यत्र कहीँ पाइँदैन । मौसम खुलेमा तालको पानीमा देखिने सप्तरङ्गले आगुन्तकलाई मोहित पार्दछ ।

मुर्माटपबाट देखिएको रारा ताल

 

सुर्खेतदेखि करिब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधै मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ । यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ ।

राराको अपार सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्रले २०२० सालमा ‘स्वर्गकी अप्सरा’को उपमा दिएका थिए । रारामा घोडसवार र डुङ्गा सयरको आनन्द लिन सकिन्छ । मुर्माटपलाई राराको भ्युटावर भनिन्छ । त्यहाँबाट राराको पूरै स्वरुप क्यामरामा कैद गर्न सकिन्छ ।

आन्तरिक र बाह्य पर्यटकको प्रमुख रोजाइमा परेको राराताल ५ किलोमिटर लम्बाइ, ३ किलोमिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ । यसको क्षेत्रफल ११ वर्गकिलोमिटर छ । हिँडेर एक फन्को मार्न मात्रै ५ घण्टा लाग्छ । समुद्री सतहबाट २ हजार ९९० मिटर उचाइमा रहेको रारा तालको विशेषता भनेकै छिनछिनमा पानीको रङ्ग परिवर्तन हुनु हो ।

सिंजा उपत्यका

जुम्लाको सिंजा उपत्यका नेपालकै एक ऐतिहासिक र महत्वपूर्ण पर्यटकीय स्थल हो । सिंजा सभ्यता नेपाली भाषाको उद्गमस्थल र सिंजा राज्यले समेत परिचित छ । बाइसे र चौबिसे राज्यको समयमा सिंजा एक बलियो राज्यका रूपमा रहेको थियो ।

सिंजा उपत्यका

विश्वभर छरिएर रहेका खस नेपाली भाषीहरुलाई प्रदेश सरकारले कम्तीमा एकपटक सिंजा पुग्न आमन्त्रण नै गरेको छ । सदरमुकाम खलङ्गादेखि करिब दुई घण्टाको यात्रा पश्चात सिञ्जा क्षेत्र पुग्न सकिन्छ । सिंजा उपत्यका हुँदै रारा पुग्न सकिन्छ ।

सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रुप फेला परेको पाइन्छ । सिंजा उपत्यकामा रहेको सिंजा कनकासुन्दरी मन्दिर, पान्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्याङ्ग्रा देवता मन्दिर, बातामालीका महादेव मन्दिरलगायत सिंजा भेगमा रहेका तीन दर्जन बढी साना–ठूला देवी देउताका मन्दिरहरू वर्तमान अवस्थामा जीर्ण भएका छन् ।

जुम्लामा कान्जीरोवा, पातारासी हिमाल छन् । यहाँको तातोपानीमा नुहाए स्वास्थ्य लाभ हुने विश्वास बोकेर मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन् । सदरमुकाम खलंगामा रहेको चन्दननाथ मन्दिर पश्चिम नेपालकै प्रख्यात मन्दिर हो । विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ ।

ज्वाला र पञ्चकोशी

शीरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र दैलेख आउने पर्यटकका लागि पहिलो रोजाइमा पर्दछ । पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीयहरु पनि आउँछन् ।

शीरस्थानको ज्वाला क्षेत्र अन्तर्गत १०८ शक्तिपीठ पर्दछन् । भैरवी, मालिका, स्वामी कार्तिक्य, बिन्ध्यावासीनी, लामाद्वाला आदि चर्चित छन् । पञ्चकोशी ज्वाला क्षेत्र हिन्दू धर्मावलम्वीको लागि मात्र नभएर बौद्ध धर्मावलम्बीको लागि पनि उत्तिकै महत्वपूर्ण मनिन्छ ।

पञ्चकोशी दर्शनले पितृ उद्धार, मनोकांक्षा पूरा हुनुका साथै आत्मीय आनन्द र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । श्रीस्वस्थानी व्रत कथासँग जोडिएका पाँचवटा पवित्र तीर्थ दैलेखमै छन् । यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ भण्डार रहे/नरहेको अनुसन्धान गर्दैछ ।

दुल्लु क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ । पुरातात्विक धारा, मठमन्दिर, देवल प्रशस्त देख्न सकिन्छ । कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुराँसे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन् ।

दक्षिण एसियाकै लोपोन्मुख फिरन्ते जाति राउटे हेर्न पनि दैलेख आउनै पर्दछ । त्यस्तै, विभिन्न ३६ जातजातिको उद्गम थलोका रुपमा चिनिन्छ कर्णाली क्षेत्र । आफ्नो पुर्ख्यौली थलो हेर्न दुलाल, नेपाल, खनाल, दाहाल, लम्साल, कोइराला, पराजुली, रुपाखेती, बस्याल लगायत थरका मानिसहरु दैलेखका गाउँबस्ती पुग्ने गर्दछन् ।

सुन्दर शे–फोक्सुण्डो

देशको सबैभन्दा गहिरो ताल हो, शे–फोक्सुण्डो । डोल्पाको शे–फोक्सुण्डोलाई कर्णालीकै प्रदेशकै दोस्रो महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ । समुद्री सतहबाट ११ हजार ८०० फिट उचाइमा रहेको शे–फोक्सुण्डोको गहिराइ ६५० मिटर छ । काञ्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुण्डो ताल मौसम अनुसार फरक–फरक रंगमा सजिन्छ । वर्षैभरि फोक्सुण्डो यात्रा गर्न सकिन्छ । फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म घुम्ने उत्तम सिजन मानिन्छ ।

डोल्पाको सुलिगाडबाट पदयात्रा गरेपछि मात्र तालमा पुगिन्छ । तालबाट अढाइ घन्टा पदयात्रा गरेर भ्यू पोइन्ट पुगेमा फोक्सुण्डोको बेग्लै स्वरूप देखिन्छ । ताल किनाराको रिग्म गाउँ पदयात्रीहरूको बासस्थान हो । डोल्पा लोअर सर्किट, अपर डोल्पो र फोक्सुण्डो पदयात्रा गर्नेहरू रिग्ममा बास बस्छन् । गाउँको उत्तरपश्चिममा काञ्जिरोवा हिमाल छ भने दक्षिणमा काङ ताईका तोङ हिमाल । गाउँमा गुम्बा, चैत्य र मानेहरू छन् ।

त्यहाँ भोटे जीवनशैलीको सौन्दर्य पाइन्छ । उनीहरूको पृथक संस्कृति र रितिथिति छ । फोक्सुण्डो ताल किनारमा पन्ध्रौं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले बनाएको थासुङ छोलिङ गुम्बा छ । बोन धर्मालम्बीहरुको बाक्लो बसोबास रहेकोे डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ ।

डोल्पा जिल्ला बाह्रै महिना घुम्नका लागि उपयुक्त स्थान हो । डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा पाइन्छ । तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ । माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ । त्यस्तै, शे–फोक्सुण्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो ।

लिमी उपत्यका

अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको जिल्ला हो, हुम्ला । नेपालगञ्जबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमिकोटबाट करिब एक हप्ताको पदमार्गपछि लिमी उपत्यका पुग्न सकिन्छ । ११ औँ शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना–ठूला गुम्बा यहाँका मुख्य आकर्षणका केन्द्र हुन् ।

खस साम्राज्यको आधार खण्ड र तिब्बती संस्कृति यहाँका अन्य आकर्षण हुन् । महँगा मूर्ति, पौराणिक वास्तुकला लिमीका थप विशेषता हुन् । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृति लगायतका वस्तु अति नै लोभलाग्दा छन् ।

यसबाहेक लिमी उपत्यका प्राकृतिक र भौगोलिक दृश्यावलोकनका लागि पनि अलौकिक छ । प्राकृतिक सौन्दर्य, पर्यावरण जैविक विविधता र मानव सभ्यताको हिसाबले महत्वपूर्ण मानियको यो उपत्यका समुद्री सहतबाट १७ हजार फिट उचाइमा अवस्थित छ । नाम्खा गाउँपालिका–६, मा पर्ने लिमी रैथाने तिब्बती संस्कृति बोकेको बस्ती हो । प्राचीन समयमा तिब्बतबाट आएका शासकहरूले यही ठाउँबाट राजकाज चलाउने गरेको किंवदन्ती छ ।

लिमी उपत्यकाको लाप्चा नाकाबाट तिब्बतको कैलाश मानसरोवर दर्शन गर्न सकिन्छ । जाङ, हल्जी र तिल गाउँबाट कैलाश मानसरोवर पैदल पनि हिँडेर जान सकिन्छ । लाप्चा नाकासम्म गाडी आवतजावत गर्ने हुँदा गाडीबाट लाप्चासम्म सवार गर्न सकिन्छ ।

१९४५ सालमा निर्मित माना–पाथी, ढक–तराजुलगायतका सामग्री अझै यहाँ संरक्षण गरी राखिएको छ । स्थानीयस्तरमा नापतौलमा प्रयोग हुने सामग्री, पूजाआजा र अन्य बन्दोबस्तीमा प्रयोग हुने पुराना सामग्री यहाँ हेर्न सकिन्छ । करोडौं मूल्य बराबरको कोइचिनको बख्खु यहाँको अर्काे विशेषता हो । यो बख्खु (महिला र पुरुषको वस्त्र) हाल संरक्षणका लागि मात्र राखिएको छ ।

लिमी उपत्यकामै वनचौंरी, वनघोडा, वनबिरालो, बाघ, हिउँचितुवा र ध्वाँसे चितुवा, मृग, भालु लगायतका दुर्लभ वन्यजन्तु पाइन्छ । सन् २०१३ मा यहाँ राखिएका केही स्वचालित क्यामेरामा कैद तस्बिर हेर्दा अनौठा र दुर्लभ जनावर रहेको प्रमाणित भएको छ ।

मुगु र हुम्लाको सिमानामा पर्छ, चंखेली हिमाल । यस हिमालको चित्र एक रुपैयाँको नोटमा राखिएको छ । हिन्दु र बौद्ध दुबैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ । बर्सेनि सयौंको संख्यामा भारतीय पर्यटक यहाँबाटै मानसरोवर पुग्छन् । नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट । यो समुद्री सतहबाट २ हजार ९०० मिटरको उचाइमा छ । हुम्ला विश्व तीर्थयात्री र मानसरोवरका लागि प्रवेशद्वार पनि हो ।

नयाँ गन्तव्य ‘पचाल झरना’

नेपालकै सबैभन्दा अग्लो झरना हो, कालिकोटको पचाल झरना । नेपालको मात्र नभएर यो झरना एसियाकै सबैभन्दा अग्लो भएको दाबी समेत गरिएको छ । ३८१ मिटर उचाइ रहेको पचाल झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ ।

जिल्लाको सदरमुकाम मान्मादेखि १८ कोस उत्तर–पूर्वमा यो झरना रहेको छ । घना जंगलको बीचमा पर्ने पचाल झरना कर्णाली प्रदेशको चर्चित धार्मिकस्थल पुग्न मालिकाबाट बग्ने पानीको मूल एकै ठाउँमा मिसिएपछि बनेको छ ।

यसका अलवा खाडाचक्र पञ्चदेवल, पिलीमा रहेको युद्ध स्मारकको अवलोकन गर्न सकिन्छ । यहाँका देवल तथा मष्टका थानहरूका धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण छन् ।

जिल्लाकै ऐतिहासिक रमणीय पर्यटकीय स्थल भएपनि गुमनाम रहेको पचाल झरना पछिल्लो समय पर्यटकहरुका लागि नयाँ गन्तव्य बनेको छ ।

ऐतिहासिक जाजरकोट दरबार

जाजरकोट प्राकृतिक स्रोत–साधनले धनी जिल्ला हो । प्राकृतिक विविधता मात्र नभएर कला–संस्कृतिको जीवन्त क्षेत्र हो, जाजरकोट । ऐतिहासिक दरबारले जाजरकोटको परिचय थेगिरहेको छ ।

२५० वर्ष पहिले बनेको जाजरकोट दरबार निकै कलात्मक एवम् ऐतिहासिक महत्वको छ । कला, संस्कृति तथा ऐतिहासिक दृष्टिकोणले यो दरबार महत्वपूर्ण मानिन्छ । विसं १४०० मा रजौटा राज्यको अस्तित्वमा आएको दरबार तत्कालीन राजा गजेन्द्रनारायण शाहले निर्माण गरेका थिए । जिल्ला सदरमुकाम खलंगाको आडैमा जाजरकोट दरबार क्षेत्र अवस्थित छ ।

भेरी नदीको किनारै किनार भएर यसको नागबेली चाल हेरेर गाडीमा रमाउँदै जाजरकोट पुग्न सकिन्छ । खलंगाकै कालेगाउँको शिवालय मन्दिर, बाहुनथानको साङट गुफा, वारेकोटको ठाकुरजी दह, थाप्लेका चारनाल दरवारहरु, रिम्नाको शहीद पार्क, जगतिपुर दरवार, बारेकोट रामीडाडाको सिर्पाचौर उपत्यका, च्याखुरे पाटन र पजारु डाँडागाउँमा १३ औं शताब्दीमा निर्माण भएका चैत्य गुम्बा क्षेत्र रहेका छन् । त्यस्तै भेरी नदी हुँदै कर्णाली चिसापानी पुलसम्मको साहसिक जलयात्रा निकै रोमाञ्चकारी हुने गरेको छ ।

स्यार्पुताल र कुपिन्डे दह

रुकुम पश्चिमको सदरमुकाम खलंगादेखि २ घण्टाको गाडिमा यात्रा गरेपछि भेटिन्छ स्यार्पुताल । बाँफिकोट गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने यो ताल २.६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । स्यार्पु तालको आकार भने हिउँदको तुलनामा वर्षामा झन्डै दोब्बर बढी हुन्छ ।

बजारको कोलाहल, हिलो, धुलो र धुवाँको सामना गरिरहेकालाई घुमघाम तथा रिफ्रेसका लागि यो ठाउँ उपयुक्त मानिन्छ । तालको सुन्दरता अवलोकन गरेर दुःख भुलाउन सकिन्छ भने आफैंले बोटिङ गरेर मजा लिन सकिन्छ । खान र बस्नका लागि होमस्टेहरू सञ्चालन गरिएको छ ।

स्यार्पुताल

रुकुमको स्यार्पुतालसँगै कमल दह पनि पर्यटकीय हिसाबले निकै प्रख्यात छन् । त्यस्तै साईकुमारी भगवती र कालिका मन्दिर, बराह मन्दिर रुकुमका चर्चित धार्मिकस्थलहरू हुन् । रुकुमको सिस्ने हिमाल पनि एक प्रमुख आकर्षण हो ।

पूर्वी रुकुम मगर बाहुल्यको क्षेत्र भएकाले मगर संस्कृति र जीवनशैली अवलोकनका लागि यो जिल्ला जीवन्त छ । रुकुममा जिगरे मन्दिर, पुपाल लेक स्थानिय पर्यटकीयस्थल हुन् । यहाँ बहुमूल्य जडिबुटी यार्चागुम्बा पाइन्छ । सिस्ने हिमाल, ढोरपाटन आरक्षण क्षेत्रको ६० प्रतिशत भाग रुकुममा पर्छ ।

यस्तै सल्यानको पश्चिम क्षेत्रमा कुपिन्डे दह छ । प्रदेश राजधानी सुर्खेतसँग जोडिएको यो दहमा सुर्खेतदेखि करिब तीन घन्टा गाडीको यात्रापछि पुग्न सकिन्छ । छोटो दुरी, प्रकृतिको अनुपम सुन्दरता र कम खर्चिलो भएका कारण कुपिन्डे दह धेरैको पहिलो रोजाइ बन्ने गरेको छ ।

सिस्ने हिमाल र गुप्त दह

जिल्ला सदरमुकाम खलंगादेखि करिब २४ किलोमिटर पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ । पहाडले घेरिएको र बीचमा सङ्लो पानीले भरिभराउ कुपिन्डे दहले सबैलाई मोहित पार्दछ । २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको दहको लम्बाइ ८३४, चौडाइ ५०३ र गहिराइ ३४ मिटर छ । समुद्री सतहबाट १ हजार १२० मिटर उचाइमा अवस्थित दहमा ५४ लाख ८२ हजार ५७४ घनमिटर पानी छ ।

सल्यान नेपालकै उत्कृष्ट खुकुरी निर्माणका रुपले प्रख्यात रहेको छ । यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन् ।

प्राकृतिक सुन्दरता मात्र होइन, हिमाली जनजीवन, कलासंस्कृति, वेशभूषाले आगन्तुकको मन लोभ्याउँछ । कर्णालीकै अल्पसंख्यक थारु, राजी समुदायको सुर्खेतमा बसोबास छ । वीरेन्द्रनगर उपत्यकामै थारु संस्कृतिको अवलोकन गर्न सकिन्छ । त्यसका लागि थारु समुदायबाट होमस्टे सञ्चालन हुँदै आएको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?