+
+

१९ वर्षमा ५ युद्ध खेपेकी गाजाकी तस्नीम भन्छिन्: भवनसँगै सपनाहरू ध्वस्त भए 

एजेन्सी एजेन्सी
२०८० कात्तिक ९ गते १९:३५

९ कात्तिक, काठमाडौं । ‘१४ अक्टोबर २०२३ को ११ बजे । मलाई लाग्यो कि म मरिसकेकी छु तर श्वास भने चलिरहेकै थियो ।’

गाजा क्षेत्रमा बस्ने तस्नीम इस्माइल अहेल केवल १९ वर्षकी भइन्, तर यति सानै उमेरमा उनले ५ वटा युद्ध देखिसकेकी छन् । उनले दुई हप्तासम्म गाजा क्षेत्रमा जे जे भए त्यसलाई दैनिक अडियो रेकर्ड गरेर न्युयोर्क टाइम्सलाई ह्वाट्सएपमा पठाएकी छन् । उनले आफ्नो घर र शहर वरपरको इलाका कसरी इजरायली आक्रमणले तबाह भयो भनेर व्याख्या गरेकी छन् ।  

गाजामा बसोबास गर्ने धेरै प्यालेस्टिनीहरूका लागि, ह्वाट्सएप र अन्य सामाजिक सञ्जाल साइटहरू एकमात्र माध्यम हो जसको माध्यमबाट उनीहरूले आफ्नो अवस्था संसारलाई देखाउन सक्छन्। तस्नीमका अडियो सन्देशहरूले युद्धले उनको जीवनलाई पारेको असर बारे व्याख्या गर्दछ । 

तस्नीमले युद्धको बीचमा आफ्नी बहिनी मलाकको जन्मदिन, आफ्ना एक साथीको मृत्यु र बम विष्फोटको बीचमा आश्रय भेटेको सम्पूर्ण कथा अडियोमा सुनाएकी छन् ।

अक्टोबर १४ मा तस्नीमले पठाएकी सन्देश-

‘म मेरो पुरानो जीवन असाध्यै मिस गरिरहेकी छु । म पहिले धेरै सफा रहन मन पराउँथे, तर अब यहाँ त्यस्तो हुन सक्दैन। मेरो जीवनमा सबै सामान्य थियो। म त्यस्तै रहन चाहन्छु। म सधैं जस्तै नुहाएर तयार हुन चाहन्छु, तर यहाँ सबै गडबडी भइरहेको छ । अब यस्तो सहनै सकिंदैन ।’ 

यसपछि तस्नीमले राति करिब ९ बजे अर्को सन्देश पठाइन् । न्युयोर्क टाइम्सका अनुसार तस्नीमले एकै साथ धेरै सन्देश पठाउँथिन् । कहिले १६ वटा त कहिले २४ वटासम्म । कहिलेकाहीँ ५ मेसेज मात्रै आउँथे । वास्तवमा, कमजोर नेटवर्कका कारण यी फाइलहरू ढिलो पुग्थे। इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गरेकोले संचार सेवामा निकै असर परेको छ ।

‘रातको करिब ९:३० बजेको छ। यहाँ म, मेरी भतिजी रीमा र कान्छी बहिनी युम्ना मात्र छौँ । अरु सबै सुतिरहेका छन् । उनीहरुलाई जोगाउन हामी जागा छौं । आज हाम्रो जागा बस्ने पालो हो। हामी धेरै थाकेका छौं। केही बेर सुत्न मन लाग्छ तर यो सम्भव छैन । हामी सुत्न सक्दैनौं किनभने हामीलाई थाहा छैन कि अर्को बम कहिले, कहाँ र कसरी खस्छ । त्यसैले म यो सन्देश रेकर्ड गर्दैछु। यो मेरो अन्तिम सन्देश हुन सक्छ र यो पनि सम्भव छ कि मैले फेरि त्यस्ता सन्देशहरू पठाउन सक्छु।’

गाजा बाहिर कहिल्यै पाइला नटेकेकी तस्नीम

तस्नीमको जीवनको यो पहिलो वा दोस्रो होइन, पाँचौं युद्ध हो । यसपटक उनलाई मर्छु कि भन्ने भय छ । 

तस्निम इजरायली कब्जाको बीचमा जन्मेको पुस्तामध्ये एक हो। यी सबै कारणले गर्दा उनी, उनका आमाबुवा, उनका ५ साना भाइबहिनी र करिब २० लाख प्यालेस्टिनी गाजा पट्टीमा फसेका छन् । तस्नीम आजसम्म गाजाबाट बाहिर निस्कन सकेकी छैनन् र अब कहिल्यै बाहिर पाइला टेक्न पाइन्न कि भन्ने भय छ । 

‘मलाई थाहा छैन किन तिनीहरूले मेरो मनपर्ने अल-रिमाल रेस्टुरेन्टमा आक्रमण गरे। यसो गरेर उनीहरूले मबाट मेरा धेरै राम्रा सम्झनाहरू पनि खोसेका छन्। तिनीहरूले मेरो रात, मेरो दैनिक दिनचर्या, मेरो चित्रकला र पेन्टिङहरू खोसेका छन्। उनीहरूले म बसेर आफ्नै बारेमा कथा लेख्ने र आफ्नो भविष्यबारे योजना बनाउने समय पनि खोसेका छन् ।’  

तस्नीम गाजाको अल-रिमाल क्षेत्रमा हुर्किइन्। उनी गाजाको उत्कृष्ट क्याम्पस मध्येको एक अल-अजहर विश्वविद्यालयमा पढ्दै थिइन्। तर, युद्ध सुरु भएदेखि उनी कलेज जान पाएकी छैनन् । धेरै प्रतिबन्धहरूको बावजुद, तस्निमले सधैं गाजा वरपरको बार र कंक्रीट सीमाहरू बाहिर आफ्नो जीवनको कल्पना गर्दै आएकी थिइन् ।

‘आज १३ अक्टोबर । रातको ९ बजेको छ । गाजामा आक्रमणको यो सातौं दिन हो। हाम्रो छिमेकमा नै आक्रमण गरेका छन् । धेरै मानिसहरू विना चेतावनी मारिए । एउटा भवन पनि ध्वस्त भएको छ । अहिले भग्नावशेषमा रहेका मानिसहरुको खोजी भइरहेको छ । यो सबै धेरै डरलाग्दो छ किनभने तिनीहरू हाम्रो छेउका घरमा थिए। त्यतिबेला मेरो बुवा काकासँग बाहिर गएका थिए। म मेरो परिवारबाट कसैलाई गुमाउन चाहन्नँ। म एनाटोमी, फिजियोलोजी र अन्य विषयहरू पढेका पल मिस गरिरहेको छु । मसँग धेरै सपना र आशा थिए। यी सबै विगत ७ दिनमा मबाट खोसिएका छन् ।’

पेन्टिङ र लेखनमा रमाउने तस्नीमको दन्तचिकित्सक बन्ने सपना 

तस्नीमको भविष्यको लागि उनको सपनामा विज्ञान र कलाको लागि दोहोरो उत्साह (जुनुन) समावेश छ। उनी विदेशमा दन्तचिकित्सा पढ्न चाहन्छिन्। यससँगै उनी चित्रकला, गायन र लेखनमा पनि अगाडि बढ्न चाहन्छिन् । तस्नीम अमेरिकाको आइभी लिग कलेजहरूको लागि उत्कृष्ट उम्मेद्वार हुन सक्थिन्, तर गाजामा हरेक युद्धको साथ, मानिसहरूका सपनाहरू पनि भवनहरू जस्तै भग्नावशेषमा परिणत भइरहेका छन्।

पछिल्ला दुई हप्तामा, तस्नीम र उनको परिवार आफ्नो अपार्टमेन्ट छोडेर एकजना काकाको घरमा सरेका छन्। सन् २०२१ को लडाइमा तस्नीमको घर वरपरको क्षेत्र ध्वस्त भएको थियो। उनको विश्वविद्यालय पनि अहिले बन्द छ । गाजा सहर अहिले भूत शहरमा परिणत भएको छ ।

तस्वीरः युद्ध सुरु हुनु अघि अल-अजहर विश्वविद्यालयमा दन्तचिकित्सा पढ्दै तस्नीम ।

‘हामी उत्तरबाट गाजाको दक्षिणतिर सर्नुपर्ने कुरा सुनिरहहेका छौं । म र मेरो परिवार कतै जाँदैछैनौं। यो युद्धको सातौं दिन हो र मेरो हृदय टुक्रिइसकेको छ । म मेरो पुरानो घर र यसका चोटाकोठा लगायतलाई धेरै सम्झन्छु । म मेरो ओछ्यानमा आरामसँग सुत्न, बैठक कोठामा केही नगरी बसेको पनि सम्झिरहेको छु । म यी मिसाइलहरू अघि मेरो जीवन सम्झन्छु। यो एक त्रासदी हो, एक नरसंहार हो।’

कतै जान तस्नीमको परिवारसँग खर्च छैन

इजरायलले गाजाका मानिसहरूलाई क्षेत्र खाली गर्न आग्रह गरेको छ र नजानेलाई आतङ्ककारी मानिने घोषणा गरिएको छ । यद्यपि तस्नीमको परिवारले त्यहीँ बस्ने निर्णय गरेको छ । वास्तवमा, तस्नीमको परिवारले इलाका छोडेर अर्को ठाउँमा बस्न सक्दैन।

हाल तस्नीमका काकाको घरमा १६ जना आफन्त शरण लिएका छन् । त्यहाँबाट निस्किएमा यति धेरै मानिसलाई अर्को ठाउँमा बस्ने व्यवस्था गर्न नसकिएला भन्ने भय  उनीहरूलाई छ । 

बुधबार तस्नीमले आफ्नो अपार्टमेन्ट बाहिर बम विष्फोट भएको बताएकी थिइन् । यसले प्यालेस्टिनी परिवारहरू विस्फोटमा कति नजिक बाँचिरहेका छन् भन्ने कुरा प्रस्ट पार्दछ । तर, यसपटक उनले अडियो सन्देश पठाएकी छैनन् । बरु उनले अरबीमा केही सन्देशहरू पठाएकी छन् ।

साँझ ५:२३ – ‘हामी अहिले निरन्तर आक्रमणमा छौं। एकपछि अर्को हवाई हमला भइरहेका छन् ।’

साँझ ५:२४ – ‘हामीलाई अझै थाहा छैन के भइरहेको छ। हामी अहिले दोस्रो तलामा छौं। यो सबै धेरै डरलाग्दो छ।’

न्यूयोर्क टाइम्सबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?