१२ कात्तिक, काठमाडौं । चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनको भव्य स्वागत गरिएको छ ।
उनीसहितको तेक्वान्दो टोलीलाई विमानस्थलबाट त्रिपुरेश्वरस्थित राखेपमा लगिएको थियो ।
उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, संघका महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै सफलताका लागि बधाइ दिए ।
पलेशा सांघाईबाटै एसियाली पारा खेलकुदमा सहभागी हुन हान्झाउ गएकी थिइन् । कात्तिक ७ गते भएको महिला के– ४४ क्याटगोरीको ५७ केजीमुनि क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा काजाकिस्तानकी कमिल्यासँग पराजित भए पनि रिपेचेजमा वाइ पाएपछि पलेशाको कांस्य पदक पक्का भएको थियो ।
पलेशाले जितेको पदक पारा एसियाली खेलकुदमै नेपालले जितेको पहिलो पदक हो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली पारा खेलकुदमा सहभागिता जनाए पनि तेक्वान्दो भने चौथो संस्करणदेखि मात्र समावेश गरिएको हो ।
ऐतिहासिक पदक विजेता पलेशाले आफ्नो अनुभव सुनाउदै भनिन्, ‘म पढ्न चाइना जाँदा पढाईं र ट्रेनिङलाई सँगै लाने सोचेको थिए । सोचे भन्दा गाह्रो भयो । यहाँ (नेपाल) हुँदा परिवार, गुरु सबैले सहयोग गर्नु हुन्थ्यो । त्यही भएर सजिलो पनि भएको थियो । त्यहाँ (चीन) सबै आफैले गर्नु पर्ने थियो, गाह्रै भएको थियो । तर, मैले हार मानिन । जसरी पनि पढाईंसँगै ट्रेनिङको लागि पनि समय मिलाए । गेमको दिन नर्भस पनि थिए । किनकी धेरै समयपछि रिङमा खेल्न गएको थिए । तर, जसरी भएपनि जित्न पर्छ भन्नै चाहि थियो । किनकी एसियन पारा गेम्समा अहिलेसम्म नेपाले पदक जितेको थिएन । पहिलो पदक जितेकोमा खुशी थिएँ । तर, मेरो टार्गेट चाहि गोल्ड मेडल नै थियो । सिल्भर मेडल फाइटमा पनि थोरैले पराजित भए । दुःख पनि लागेको थियो । तर, पदक तालिकमा राष्ट्रलाई शुन्यको अवस्था हुनबाट जोगाएकोमा एकदमै खुशी छु ।’
पलेशाका पिता प्रदिपले छोरीले पदक जितेकोमा गर्वको अनुभूति भएको बताउँदै फरक क्षमका आफ्नो सन्तानलाई समाजबाट लुकाउन नहुने धारणा व्यक्त गरे ।
‘छोरीले पदक जितेकोमा गर्व लागेको छ । फरक क्षमता भएकाले पनि अवसर पाए केहि गर्न सक्छन् । यो मेरो छोरीले मात्रै हैन खेलकुदका साथै अन्य क्षेत्रका अन्य फरक क्षमता भएकाले प्रमाणित गरिसकेको कुरा हो,’ प्रदिपले भने, ‘फरक क्षमता भएका सन्तानलाई पनि समाजसँग घुल्मिल गराउन जरुरी छ । त्यसो भयो भने मात्र उनीहरुको मनोबल बृद्धि हुन्छ । आज मेरो छोरीले सफलता हासिल गरिन् । भोलि अवसर पाए थ्रुप्रै फरक क्षमता भएकाले राष्ट्रलाई योगदान दिन सक्छन् ।’
प्रशिक्षक लामाले एसियाली पारा खेलकुदमा नेपाललका लागि पलेशाले ऐतिहासिक पदक जितेकोमा खुशी व्यक्त गर्दै राष्ट्रिय खेलकुद परिषद्, नेपाल तेक्वान्दो संघ, नेपाल पारालिम्पिक कमिटीसँगै सम्बन्धित सबैलाई धन्यवाद दिए ।
‘चुचुरो चढ्न बाँकी छ’
सदस्य सचिव घिसिङले पलेशालाई नेपाललाई ऐतिहासिक पदक दिलाएकोमा बधाइ दिदै पलेशाबाट राष्ट्रले अझ धेरै आशा गरेको बताए ।
‘पलेशा सम्भावना बोकेकी खेलाडी हुन् । सफलताका लागि पलेशासँगै तपाईंहरुलाई पनि बधाइ छ’, पलेशाको उपस्थितिमा उनका बुवा आमासँग कुराकानी गर्ने क्रममा सदस्य–सचिव घिसिङले भने, ‘पलेशाबाट हामी र राष्ट्रले अझ धेरै आशा गरेका छौं । अहिले पदक जितेर पलेशाले खुड्कीलो मात्र उक्लेको हो । चुचोरोमा पुग्नु अझै बाँकी छ । पारा ओलम्पिकमा पदक जितेर अर्को इतिहास रच्न बाँकी नै छ । त्यसको तयारी लागि राष्ट्रिय खेलकुद परिषद्ले कुनै कसर बाँकी राख्ने छैन । यो मेरो प्रतिबद्धता हो ।’
पलेशाले केहि दिनका लागि चीनकै सांघाइबाट नेपाल आएकी हुन् । पलेशा सांघाईस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङको स्नातक तहमा अध्ययनरत छिन् । पलेशा नोभेम्बर ७ तारिखमा सांघाई फर्किदै छिन् ।
 
                    










 २०८० कात्तिक  १२ गते २०:०६
                        २०८० कात्तिक  १२ गते २०:०६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4