+
+

पालिकामै थुप्रियो राहत, खुला आकाशमुनि रात काट्छन् पीडित

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक २० गते २०:३६

२० कात्तिक, जाजरकोट । नलगाड नगरपालिका–२ माझगाउँ टोलका राजकुमार विकको परिवारले दुई रात खुला आकाशमुनि वितायो । शुक्रबार मध्यरातमा आएको भूकम्पले घर भत्कियो । उनीहरुले जसोतसो ज्यान जोगाए ।

७ जनाको परिवार शनिबारदेखि बारीको पाटोमा छ । राजकुमारलाई सुत्केरी पत्नी र नवजात शिशुलाई चिसोबाट जोगाउन हम्मेहम्म परेको छ । ‘म आरनको काम गर्छु, हँसिया कुटो कोदालो बनाउँछु, एक मानो उनीहरुले दिएको खाएर जीविका चलाउने मान्छे हुँ’ उनले भने, ‘त्रिपाल किन्ने अवस्था मेरो छैन ।’

लगातार दुई रात बारीको पाटामा सुत्दा चिसोले घाँटी दुखेर बोल्न समेत गाह्रो भएको छ । सोमबार राहत पाइन्छ भन्ने सुनेपछि राहत बाँड्ने भनिएको ठाउँमा पुगे । ‘ट्याक्टर बिग्रेर राहत आएनछ, आउँछ आउँछ भन्थे’, उनले भने ।

उनी मात्र होइन, जाजरकोटको नलगाड नगरपालिकाका धेरै भूकम्पपीडितले राहत पाउन सकेका छैनन् । शुक्रबार राति मध्यरातमा भूकम्प गएदेखि घरबाहिर रहेका उनीहरुले ओतका लागि गतिलो त्रिपाल समेत पाएका छैनन् ।

घर भत्किएकाहरुको अन्नपात, लत्ता कपडासमेत पुरिएको छ । घर पूर्ण रुपमा नभत्किएकाहरु पनि भित्र बस्ने अवस्था छैन । भूकम्पले चिराचिरा परेको घर कतिबेला भत्किन्छ भन्ने त्रासका करण भूकम्पपीडित बाहिरै बसेका छन् ।

भूकम्प गएको भोलिपल्ट बिहानदेखि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले राहत घोषणा गरेका छन् । कतिपयले ट्रकमा राहत सामग्री लिएर वितरण गर्न जाजरकोट पुगेका छन् । तर धेरै गाउँलेले राहत पाएका छैनन् ।

केही राहत जिल्ला सदरमुकाम खलंगामै थुप्रिएको छ, भने पालिकासम्म आइपुगेको राहत पनि वितरण हुन सकेको छैन ।

नलगाड नगरपालिका–२ का वडा सदस्य टीकाराम जैसीले राहत वितरण समयमा हुन नसकेको बताए । ‘हिजो अस्तिदेखि गर्नुपथ्र्यो, एकद्वार प्रणाली भनेकाले ढिलो भयो’ जैसीले अनलाइनखबरसँग भने, ‘नगरपालिकाले आजदेखि सुरु गर्‍यो ।’

हाल सरकारले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने नीति बनाएको छ । राहत लिएर जाने संघसंस्थाले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा जानकारी गराउनुपर्छ ।

त्यही एकद्वार प्रणालीका कारण पनि भूकम्प प्रभावितलाई राहत दिन ढिलो भएको वडासदस्य जैसीले बताए । ‘गाउँभरि घर चर्केका छन्, मान्छेहरु पाल हालेर सडकमा बसेका छन् । खानमा समस्या भइरहेको छ’ उनले भने, ‘बेलैमा दिन पाए राहत हुन्थ्यो ।’

उनका अनुसार अहिले गाउँका भूकम्प पीडितले सबभन्दा धेरै त्रिपाल खोजेका छन्, तर दिन सकिएको छैन । ‘अरुभन्दा पनि पाल चाहियो भन्दैछन् । सुत्केरी महिला छन्, घाइते अपांग छन्, सबै एउटै हालतमा बसेका छन्’, उनले भने ।

नलगाड नगरपालिका–२ डाँसोरा टोलका रंगवीर पुनको ७ जनाको परिवार पनि खुला आकाशमुनि नै बसेको छ ।

भूकम्पका कारण उनको घर चर्किएको छ, घरभित्र राखेको अन्न निकाल्न पनि उनले सकेका छैनन् । ‘पालको व्यवस्था छैन, पराल राखेर बसेका छौं, राहत बाँड्ने टोली आएको छैन’, उनले भने ।

नलगाड नगरपालिका–२ का कुशबहादुर ओलीले भूकम्प पीडितका लागि भनेर आएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा थुप्रिएको गुनासो गर्छन् ।

‘एकद्वार प्रणाली गर्ने भनेर नगरपालिकामा राहत थन्क्याएको छ, मान्छेले राहत ल्याएर बाँड्न पाएका छैनन् । एकद्वार भनेको छ, के भनेको छ जिगज्याग बनाइदिएको छ’, उनले भने । आकाशमा बादल देखिएको र पानी पर्ने सम्भावना भएकाले भएका राहत सामग्री छिटो भन्दा छिटो बाँड्नुपर्ने उनले बताए ।

मेयर रावत भन्छन् : ढिला गरेका छैनौं

नलगाडका मेयर डम्बरबहादुर रावतले भने राहत वितरणमा ढिलाइ नगरेको दाबी गरेका छन् ।

नगरभित्रका मृतक परिवारलाई चामल, नुन, तेल र ब्ल्यांकेट तथा सबभन्दा धेरै क्षति भएको वडा नं १ चिउरीगाउँमा त्रिपाल पठाएको उनले बताए । मेयर रावतले भने, ‘यहाँबाट बाटो लागिसक्यो, घरमा पुगेको छ कि छैन थाहा छैन ।’

वडा नं २ मा सोमबार आफैं गएर राहत बाँडेको भन्दै उनले एकद्वारको नाममा ढिलाइ नगरेको बताए । ‘जिल्ला प्रशासनले इन्ट्री गरेर हामीलाई पठाउँछ, हामीले इन्ट्री गरेर गाउँमा पठाइहाल्छौं’ उनले भने, ‘विहान आएको छ भने दिउँसो पठाइहाल्छौं र साँझमा आयो भने भोलिपल्टै पठाउँछौं ।’

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?