
२१ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार मन्त्री डा. महतले त्रिवि शिक्षण अस्पतालको मंगलादेवी बर्थिङ सेन्टरको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा भएको भन्दै उनले नेपाल–भारत सहयोगको स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
मन्त्री महतले भने, ‘साना परियोजनाको प्रवाह बढी छ, कार्यान्वयन अवधि छोटो छ । सिधै स्थानीय तहका जनताले प्रत्यक्ष लाभ यसबाट प्राप्त गर्दछन् । भारतीय सरकार, भारतीय दूतावास काठमाडौं र महामहिम राजदूत धन्यवादका पात्र हुनुहुन्छ ।’
आफू अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको प्रसँग उल्लेख गर्दै उनले कोभिड–१९ को प्रभावले आर्थिक गतिविधिमा शिथिलता आएको बताए । अहिले भने अर्थतन्त्रले गति लिने क्रममा रहेको उनले बताए ।
मन्त्री महतले भने, ‘अनुत्पादक क्षेत्रमा लगानी, कोभिडका बेला अत्याधिक पूँजी प्रवाह भयो, प्रतिफल आएन । घरजग्गा व्यवसायमा पनि एकदमै पूँजी प्रवाह भयो, त्यसले पनि केही समस्या प¥यो । सामाजिक सञ्जालमा पोस्ट भएको सामग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको छ ।’
अहिले रेमिटेन्स वृद्धि भइरहेको र पर्यटन व्यवसायमा उत्साह छाएको उनले बताए । अर्थतन्त्रले गति लिएको भन्दै उनले निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
प्रतिक्रिया 4