+

दाल, भात, तरकारीमा कुन पोषक तत्व पाइन्छ ?

२०८० कात्तिक  २२ गते १६:४२ २०८० कात्तिक २२ गते १६:४२
दाल, भात, तरकारीमा कुन पोषक तत्व पाइन्छ ?

शरीरका लागि खानाको आवश्यकता भनेको गाडी चल्नका लागि इन्जिन जस्तै हो । खानाले नै शरीरलाई बनाउँछ । शरीरलाई तन्दुरुस्त राख्न, चलायमान राख्न, ऊर्जावान बनाउन र समग्र शरीरलाई स्वस्थ बनाउन खानाकै भूमिका हुन्छ ।

शरीर बन्नका लागि क्याल्सियम, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, खनिज, भिटामिन आवश्यक पर्छ । यी तत्व हामीले खाएको खानेकुराबाट प्राप्त गर्छौं । हाम्रा वरपर पाउने हरेक खानेकुरामा भिन्नाभिन्नै पोषक तत्व हुन्छ । यी फरक पोषक तत्व मिलाएर खानु नै शरीरलाई स्वस्थ्य बनाउनु हो ।

सामान्यतया हामीले दैनिक खाने दालभात, तरकारी, मासु र अचारबाट यसको पूर्ति गरिरहेका हुन्छौं । शरीरलाई बनाउनमा त यसले भूमिका खेल्नेमा कुनै शंका छैन । तर के तपाइलाई थाहा छ, खानाले नै शरीरलाई बिगार्न पनि सक्छ ?  खानाको अभाव र आवश्यकता भन्दा बढीको दबाबले शरीरलाई विभिन्न रोगले ग्रस्त बनाउँछ ।

त्यसैले शरीरले आवश्यक तत्व प्राप्त गर्न सबैभन्दा पहिला कुन खानेकुरामा के पोषण पाइन्छ  ? मनन् गर्न जरुरी छ ।

उमा कोइराला, पोषणविद्

कुन खानेकुरामा के पाइन्छ ?

भात, रोटी, आलु र ढिडो

नेपालीहरुले दिनमा दुई छाक खानामा भात खाने गर्छन् । र, चामल नपाउने पहाडी भेगमा आलु, ढिंडो र तराई भेगमा एक छाक भातको सट्टामा खाने गरिन्छ ।यो भौगोलिक उपलब्धताको हिसाबले खान्की भिन्नै हुन्छ तर यी तीनवटै खानेकुरामा प्रचूर मात्रामा कार्बोहाइड्रेट हो । कार्बोहाइड्रेटले शरीरमा ऊर्जा दिन्छ, जसकारण हामी हिंड्न, दैनिक काम गर्न सक्छौं शारीरिक श्रम धेरै गर्नलाई त यो अति आवश्यक तत्व हो। त्यसैले नै  अन्य खानेकुरा भन्दा बढी जोड यी खानेकुरामा दिनुपर्छ ।

होल ग्रेन

हामीले खानामा छुटाउन नहुने तत्व होल ग्रेन हो । होल ग्रेन भनेको विभिन्न थरीका गेडागुडी र दाल हुन् । होल ग्रेनबाट हामीले प्रोटिन प्रचूर मात्रामा पाउँछौं । प्रोटिनले शरीरको निर्माण र मर्मत सम्भारको काम गर्छ । मर्मत भन्नाले कुनै पनि शरीरमा लागेको चोटपटकले बनाएको घाउलाई पुर्न तथा निको बनाउनु हो । हाड, मांसपेशी, छालाको विकासमा पनि यसको ठूलो भूमिका हुन्छ ।

तरकारी

हरियो सागपात तथा मौसमी तरकारी पनि शरीरका लागि महत्वपूर्ण पोषण हो । यसमा सूक्ष्म किसिमका पोषक तत्वहरु शरीरले प्राप्त गर्छ । जस्तो, विभिन्न भिटामिन, जिंक, आयोडिन, क्याल्सियम, खनिज, आइरन, म्याग्नेसियम जस्ता शरीरका लागि नभई नहुने तत्व तरकारीमा पाइन्छ ।

यस्ता सूक्ष्म किसिमका पोषक तत्वले रोगसँग लड्ने क्षमतालाई बढाउन, मर्मत सम्भार गर्न, छालालाई चम्काउन मद्दत गर्छ ।

अचार

दालभात तरकारीसँग अचार पनि खाने गरिन्छ । अचारलाई स्वादको दृष्टिकोणले मात्र हेर्ने गरिन्छ । तर होइन, अचारबाट पनि हामीले पौष्टिक तत्व प्राप्त गरिरहेका हुन्छौं । ताजा अचार जस्तै, गोलभेंडा, मुला र कागतीको अचार खानासँगै खाने हो भने हामीले भिटामिन सी पाउन सक्छौं ।

मासु र अण्डा

खाना पचाउने, शक्ति प्रदान गर्ने, रगत जम्ने प्रक्रियादेखि मांसपेशी संकुचनसम्ममा प्रोटिनले काम गरिरहेको हुन्छ । प्रोटिन हार्मोन पनि हो, जसले कोषमा, अंगहरुमा सञ्चारको रुपमा लिने, शरीर वनावटका लागि पनि प्रोटिनले सहयोग गरेको हुन्छ ।

आइरन, भिटामिन बी १२, भिटामिन बी, ए, के, पोटासियम, फोस्फोसको पनि राम्रो स्रोत हो मासु । त्यस्तै, अण्डामा पानी, प्रोटिन, फ्याट, मिनरल्समा पनि फोस्फोरस, क्याल्सियम जस्ता धेरै भिटामिन ए, डी, ई र  बी कम्प्लेक्स, बी १२ जस्ता तत्वहरु हुन्छन् । यसले शारीरिक अंगको विकास, मानसिक विकासमा जोड दिनुका साथै शरीरमा ऊर्जा पनि दिने गर्छ ।

माछा

माछाको कुरा गर्ने हो भने माछामा ओमेगा फ्याटी एसिड पाइन्छ । यो अधिक प्रोटिन र केही पोषक तत्वले भरपुर हुन्छ । यसमा भिटामिन, मिनरल्स र अन्य पोषक तत्व पनि पाइन्छ । माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले मुटु र मांसपेशीलाई बलियो बनाउनुका साथै शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसमा चिल्लोपन पनि अन्य जनावरको मासु भन्दा कम हुने भएकाले अन्यको तुलनामा स्वास्थ्यवर्द्धक मानिन्छ ।

गुन्द्रुक

गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र तीन प्रतिशत चिल्लो पदार्थ हुने गर्छ । यो छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो ।

पोषक तत्व बढी खाँदा पनि छैन शरीर स्वस्थ

शरीरलाई महत्वपूर्ण भनिएको पोषक तत्व प्रशस्त खाँदा पनि शरीर स्वस्थ छैन । अनेकौं समस्या किन भइरहन्छन् ? धेरैको जिज्ञासा हो यो ।

शरीरलाई पोषक तत्व चाहिने भन्दा बढी हुनु पनि विषसरह नै हो । टन्न खाने तर शारीरिक श्रम नगर्ने बानीले शरीरले बढी भएका तत्व खर्च गर्न सक्दैन । त्यो शरीरमै जम्मा भएर बस्छ । यसले शरीरमा अनावश्यक बोसो बढाउँछ । दिनहुँ शरीरलाई भार पर्ने गरी खाँदा शरीरमा मोटोपन हुनुका साथै अन्य स्वास्थ्य समस्या गराउन सक्छ । त्यसैले खानेकुराको मात्रा कति हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

त्यसो भए खानेकुराको सही मात्रा कति हो ?

शरीरका लागि कति पोषक तत्व चाहिन्छ भन्ने कुरा व्यक्तिको शरीरको उचाइ, तौल, उसले दैनिक गर्ने शारीरिक गतिविधि र नसर्ने रोग के छन् त्यसमा भर पर्छ । जुन मानिसअनुसार फरक-फरक हुन्छ ।

यद्यपि, स्वस्थ व्यक्तिको कुरा गर्ने हो भने एक छाकमा मझौला कचौराको एक कचौरा भात, जसमा सानो कचौराको एक कचौरा दाल (दाल धेरै पातलो र धेरै बाक्लो हुनु हुँदैन ) वा गेडागुडी, मासु तीन-चार पिस, मझौला एक डाडु तरकारी, एक चम्चा घिउ, थोरै अचार र सानो कपको एक कप दही खाँदा आवश्यक पोषण शरीरले पाउँछ । र, शारीरिक गतिविधिमा पनि सक्रिय रहे शरीर स्वस्थ्य रहन्छ ।

बिहान खाना, दिउँसो फलफूल तथा ड्राइ फुट्स र बेलुकी खानामा भात र रोटीमा कुनै एक त्यससँगै तरकारी र सलाद हल्का खानु उपयुक्त हुन्छ ।

(पोषणविद कोइरालासँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

उमा कोइराला दाल भात तरकारी नेपाली खाना
लेखक
उमा कोइराला, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय