+
+
विचार :

काम गर्ने होइन नाम चलाउनेको बिगबिगी

नेपाली समाजमा ‘काम गर्नेभन्दा नाम चलाउने’ को बिगबिगी छ । ‘काम गरे नाम आफैं चल्छ’ भन्नेमा सायद उनीहरूमा विश्वास नभएको देखिन्छ । राजनीतिक नेताहरूमा यो झन् धेरै लागू हुन्छ ।

रामचन्द्र उप्रेती रामचन्द्र उप्रेती
२०८० कात्तिक २७ गते १४:३९

नेपाली समाजमा ‘काम गर्नेभन्दा नाम चलाउने’को बिगबिगी छ भन्दा अत्युक्ति हुँदैन । ‘काम गरे नाम आफैं चल्छ’ भन्नेमा विश्वास नभएको जस्तो लाग्छ ।

हुन त डा. सन्दुक रुइत, अनुराधा कोइराला,  महावीर पुन, डा. भगवान कोइराला, कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य देश-विदेशका नेपालीमाझ पपुलर र सेलिब्रेटी छन् । उनीहरू कहिल्यै नाम कमाउने गरी प्रचारमा लागेनन् । कर्म गरे अर्थात् निःस्वार्थ काम गरे र कामले उनीहरूलाई चिनाउँदै लग्यो ।

विशेषगरी राजनीतिमा लोकप्रिय हुन चाहनेहरू काममा भन्दा प्रचारमा बढी ध्यान दिन्छन् । त्यसैले उनीहरूको जति प्रचार हुन्छ त्योभन्दा धेरै आलोचना हुने गर्छ ।

जाजरकोटको नलगाडलाई केन्द्रविन्दु बनाएर १९ कात्तिक शुक्रबार राति भूकम्प गयो र व्यापक जनधनको क्षति भयो । २० गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसतर्फ पुग्नुभयो ।

देशको कार्यकारी प्रमुख पीडामा भएका जनताको मनोबल उठाउन र ‘हाम्रा लागि सरकार छ’ भनेर अनुभूति दिलाउन पुगेको कुरा धेरैलाई अन्यथा नलाग्ला । यद्यपि भूकम्पले पु र्‍याएको क्षति हेर्न, बुझ्न र मृतक एवं घाइतेको अवस्था थाहा पाउन घटनास्थलमा नै पुग्नुपर्छ भन्ने छैन ।

पुगेर पनि सबै विवरण थाहा पाइन्छ भन्ने हुँदैन । अहिलेको सञ्चार र डिजिटल युगमा यस्ता घटनाका सबै कुरा चासो राख्ने सबैले थाहा पाउने अवस्था छ ।

भूकम्पपछि सबै तहका सरकार र सरोकारवालाको पहिलो काम भनेको उद्धार, घाइतेको उपचार, अस्थायी बास र राहत वितरण हो । त्यसपछि स्थायी बसोबासको भरपर्दो व्यवस्था हो । यसमा स्रोत जुटाउने, आवश्यक जनशक्तिको परिचालन र आवश्यक सामग्रीको बन्दोबस्त गर्ने काम पर्दछन् ।

यस्तो समयमा स्थानीय जनप्रतिनिधि, समाजसेवी र सरकारका स्थानीय प्रतिनिधिले धेरैभन्दा धेरै समय काम गर्नुपर्छ । पीडितहरूलाई सकेसम्म छिटो सामान्य अवस्थामा फर्काउन सबैले सहयोग गर्नुपर्छ ।

पीडितहरू मृत्यु भएका आफन्तको अन्तिम संस्कार, घाइतेको उपचार, भत्केका घरको व्यवस्थापन, अस्थायी घर (पाल, टहरो) को व्यवस्था, खानेपिउने कुराको जोहो आदि गर्न असमर्थ हुन्छन् । कति घरपरिवारमा त अपाङ्गता भएका, घाइते, बुढाबुढी, रोगी, नाबालक मात्रै पनि हुनसक्छन् ।

यस्तो बेलामा राज्यको सङ्गठित फोर्स प्रहरी, सेना, कर्मचारीले पीडित जनतालाई सम्भव भएसम्म हरतरहको सहयोगमा जुट्नुपर्छ । जुटेकै पनि छन् । यस्तो अवस्थामा प्रत्येक घण्टाको ठूलो महत्त्व हुन्छ ।

एकएक जनशक्तिको महत्त्व हुन्छ । घाइतेले समयमै उपचार पाउँदा ज्यान बच्छ । भोक–तिर्खा मेटाउन, जाडोबाट बच्न एक घण्टा ढिलो हुँदा सेवा प्राप्त गर्न १२ घण्टा ढिलो हुनसक्छ । आजको काम भोलि गर्नुपर्ने अवस्था आउन सक्छ ।

यस्तो अवस्थामा तारम्तार भीआईपीहरूको प्रभावित क्षेत्रमा भ्रमण केका लागि गरिन्छ ? उद्धार कार्यमा सहयोग पुगोस् भन्नका लागि कि आफ्नो प्रचार गर्नका लागि ? यति कुरा सबैले बुझेका छन् ।

भीआईपीहरूको स्थलगत भ्रमणले स्थानीय पीडितको सहयोगमा जुटेको सरकारी जनशक्ति भीआईपीको सुरक्षार्थ र औपचारिकतामा खट्नुपर्ने हुन्छ ।

अर्कोतर्फ उद्धार, राहतको काम कसरी भइरहेको छ भनेर चिन्ता लिनेले स्थलगत भ्रमणमा नै पुग्नुपर्छ भन्ने छैन । काठमाडौं वा स्थानीय सदरमुकाममा बसेर नै प्रत्यक्ष जानकारी लिन र आवश्यक व्यवस्था मिलाउन वा निर्देशन दिन सकिन्छ ।

तर प्रचारका भोकालाई आफ्नो प्रचार हुँदैन कि, रेडियो टिभीमा नाम र फोटो आउँदैन कि भन्ने चिन्ता हुनेगर्छ । त्यसैले प्रचार गराउन नै जम्बो टोली लिएर प्रभावित क्षेत्रमा जाने र काममा अवरोध पुर्‍याउने गर्छन् ।

नेताहरूलाई प्रचारमा आउने लोभ यतिमा मात्रै सीमित छैन । कुनै चर्चित र धेरै जनताको सरोकार भएको योजनाको निर्माण कार्यको स्थलगत अवलोकन गर्न जाने गर्छन् । यो पनि त्यति सान्दर्भिक हो जस्तो लाग्दैन ।

त्यहाँ के भइरहेको छ, कति काम भयो, ढिलो भएको भए किन भयो, फिल्डमा काम कति भयो, कस्तो भयो ? यो जानकारी लिन फिल्डमा नै पुग्नुपर्छ भन्ने छैन । यो पनि प्रचार गराउनकै लागि गरिन्छ भन्ने मेरो बुझाइ हो ।

नेताहरू जिल्ला जाँदा एयरपोर्टमै भीड लगाउने, गाडीको ताँती लगाउने, कार्यक्रमभरि मानिसको भीडभाड गराएर आफू शक्तिशाली भएको प्रभाव पार्ने नेताको इच्छा र नेताको सधैं वरिपरि घुमेर आफू नेताको साँच्चै भक्त भएको छाप पार्न कार्यकर्ता उद्यत भएको पाइन्छ । यो सामन्ती चिन्तन र सामन्ती संस्कार बाहेक केही होइन ।

भीआईपीको सुरक्षाका लागि भन्ने हो भने त बरु यस्तो सुरक्षाकर्मीले नचिन्ने भीडको कारण नै भीआईपीको असुरक्षा बढ्ने गरेको पाइन्छ ।

नेताको अघिपछि लाग्ने छोटे नेता र कार्यकर्ताले उत्पादन, सेवा र श्रमको काम त गर्दैनन् तर खर्चिलो जीवनशैली उहाँहरूकै हुन्छ । होटलमा हुने खानपान र आवासमा हुने खर्च नेताले व्यहोर्ने हो वा तिनले आफैं तिर्छन् त्यो भन्न सकिंदैन ।

उत्पादन, सेवा र श्रमको काम गरेर आम्दानी नगर्नेहरूले गर्ने भनेको दलाली हो । दलालीबाट प्राप्त हुने भनेको अवैध कमिसन वा घुस मात्रै हो । राजनीतिक शक्ति केन्द्र र सत्ताको वरिपरि घुम्ने नेता एवं पार्टी कार्यकर्ताको आम्दानी र खर्च घुस तथा कमिसनको पैसाबाट चल्ने गर्छ । यो सजिलो कमाइ हो ।

विकास र अनुदानका नाममा राज्यबाट निकासा हुने प्रायः रकममा कमिसनको खेल र झेल हुने गरेको ‘ओपन सेक्रेट’ जस्तै छ । यस्तो खेल र झेलमा लागेका प्रायः सबै मानिसलाई आफ्नो नाम, निष्ठाको राजनीति गर्ने वा समाजसेवी हुँ भनेर चिनाउनु परेको छ ।

चिनाउन, प्रचारमा आउन यस्ता फण्डा रच्ने गरिन्छ । नेताको नजिकमा अघिपछि लागेर आफ्नो महत्त्व बढाउने अवसर सिर्जना गर्न पनि यस्ता भ्रमणको आयोजना गरिन्छ ।

शहरबजार र गाउँमा पनि नाम प्रचारको लोभ कम छैन । पुराणमा पचास रुपैयाँ दान गर्नेको नाम माइकमा ठूलो स्वरले पढिन्छ । आफ्नो नाम सबैले सुन्दा दान गर्ने मख्ख पर्छन् ।

त्यसपछि सुरु हुन्छ-पुराणमा दान गर्ने र माइकबाट आफ्नो नाम अरूलाई सुनाउने । धेरै ठाउँमा दान गर्ने, धेरै दान गर्नेलाई दानवीर र समाजसेवी भनेर ठूलो स्वरले पुकारिन्छ । यस्ता कतिपय दानवीर र समाजसेवीको नाम स्थानीय व्यवसायीको खातामा उधारो नतिर्नेमा वर्षौंदेखि लेखिएको हुन्छ ।

उत्पादन र सेवामा अर्थात् व्यवसायमा असफल भएका धेरै मानिस राजनीतिमा लागेका छन् । यो समाजको असफलता, राजनीतिको असफलता हो । यसको मुख्य कारण प्रतिकूल नीति, प्रतिकूल व्यावसायिक वातावरण र स्वयंको व्यावसायिक सीप एवं दक्षताको न्यूनता हो ।

लामो समय राजनीतिमा सक्रिय भएका मानिसको व्यावसायिक क्षमता वा दक्षता धेरै कमजोर हुन्छ । त्यस्ता मानिस व्यवसायमा सफल हुनु भनेको सानोतिनो चमत्कार नै हो । पुस्तौंदेखि व्यवसायमा लागेका मानिसले समुदाय प्रतिकूल व्यावसायिक वातावरणमा कहाँ निहुरिने, कहाँ झुक्ने, कहाँ खर्च गर्ने, कसको फेर समाउने बुझेका हुन्छन् र फाइदाको व्यवसाय गर्छन् ।

कार्यकर्तालाई ‘अवैध’ धन दिएर ‘फलानो नेता जस्तो महान् कोही छैन’ भनेर उत्पादनमा होइन कमिसनमा, काममा होइन प्रचारमा रमाउने नेता हुँदासम्म दिगो विकास र यो आर्थिक संकटको अन्त्य पनि हुँदैन । त्यसैले कि चेत फेरौं कि नेता !

 

राजनीति गर्दागर्दै राजकीय जिम्मेवारी वा विभिन्न तहका सरकारमा पुगेका मानिसहरूमा समाज र अर्थतन्त्रका आयामलाई बुझ्ने क्षमता एकदमै न्यून हुनुका कारण आफ्नो काममा राम्रो नतिजा निकाल्न सकेका छैनन् । तिनले दोहोर्‍याएर जिम्मेवारी प्राप्त गर्ने वा फेरि चुनाव जित्ने सम्भावना निकै कम हुन्छ ।

यस्ता मानिसले काम गरेर आफ्नो प्रभाव विस्तार गर्ने, प्रगतिको तथ्याङ्क प्रस्तुत गर्ने र मतदाताको मन जित्ने अवस्था निकै कम हुन्छ । त्यसैले यस्ता मानिस आफ्नो प्रचार काममा होइन सस्तो लोकप्रियतामा खोज्ने र सानातिना देखिने खालका काम गरेर जस लिने अर्थात् अपजसबाट बच्ने उपाय निकाल्छन् । अहिले भइरहेको त्यही हो ।

जिम्मेवारीले देशको, सबै जनताको नेता हुनुपर्ने मान्छे पार्टीगत संकीर्णताका कारण पार्टी र पार्टीभित्रको पनि कुनै गुटको नेतामा सीमित हुन पुगेको देखिन्छ ।

यसको पछिल्लो उदाहरण जाजरकोट, रुकुमपश्चिम लगायत जिल्लामा भूकम्प पीडित जनता कुन पार्टीलाई भोट हाल्छन् भनेर छुट्याउने र आफ्नालाई राहत दिने अरू भए बेवास्ता गर्ने गरेको गुनासो सुनिंदैछ ।

सबैलाई समान व्यवहार गर्दा विपक्षीलाई मतदान गर्ने जनताको पनि मन जित्न सकिने अवसर हुन्थ्यो । तर सोच संकीर्ण भएपछि विपत्मा परेका जनतामा पनि भेद गरिंदैछ । राहतका सामान बोकेर गन्तव्यमा हिंडेको ट्रक पूर्व अर्थमन्त्री जनार्दन शर्माको दबाबमा बाटैबाट गन्तव्य फेरियो भनेर समाचारमा सुन्नु परेको छ ।

विपत्मा समेत पीडित जनतालाई राजनीतिक आस्थाका आधारमा विभेद गरेर ‘हाम्रो नेता थिएर पो हामीले राहत पायौं’ भनेर जनताबाट सस्तो लोकप्रियता खोज्ने चेतका कारण व्यवस्था र नेताप्रति जनताको आक्रोश चुलिंदैछ ।

राज्यको ढुकुटीबाट दिएको राहत, सहयोग र विकास नेताले आफ्नो गोजीबाट दिएको ठान्ने र प्रचार गर्ने गर्छन् । तिनका अघिपछि लाग्ने पार्टीका कार्यकर्ता पाल्न राज्यकोषबाट रकम निकासा गराउँदा नै प्रतिशत कबोलेर आफ्नो कब्जामा लिने गर्छन् ।

यसरी कार्यकर्तालाई काम दिएर, कामको ज्ञान र आय आर्जनको बाटो देखाएर होइन ‘अवैध’ धन दिएर ‘फलानो नेता जस्तो महान् कोही छैनन्’ भनेर प्रचार गराउँछन् । यी सबै सस्तो लोकप्रियताका आधार हुन् । नेताको यस्तो चेत र पार्टीका स्वार्थी कार्यकर्ताका कारण समाजले दिगो विकासको बाटो समाउन सकेन ।

उत्पादनमा होइन कमिसनमा रमाउने बुझक्कड, काममा होइन प्रचारमा रमाउने नेता हुँदासम्म दिगो विकास र आर्थिक संकटको अन्त्य हुँदैन । त्यसैले कि चेत फेरौं कि नेता फेरौं !

लेखकको बारेमा
रामचन्द्र उप्रेती

उप्रेती सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?