+

जाडोयाममा स्ट्रोकको जोखिम किन बढी हुन्छ ?

२०८० मंसिर  १ गते १२:३३ २०८० मंसिर १ गते १२:३३
जाडोयाममा स्ट्रोकको जोखिम किन बढी हुन्छ ?

जाडो महिनामा मस्तिष्कघात (स्ट्रोक)का बिरामीको संख्या बढ्छ । जापानमा गरिएको जनरल अफ न्युरोलोजी रिसर्च अनुसार गर्मीयामको तुलनामा जाडोमा तीन गुणा बढी स्ट्रोकको जोखिम हुन्छ ।

स्ट्रोक दुई कारणले हुन्छ, एक रक्तनलीमा ब्लक भएर (इस्केमिक स्ट्रोक) र दोस्रो रगतनली चुहिएर वा फुटेर (हेमोरेजिक स्ट्रोक) । यसमा ८५ प्रतिशत रक्तनली ब्लक भएर स्ट्रोक हुन्छ ।

स्ट्रोकको समस्या जाडोयाममै बढी किन ?

जाडोयाममा चिसोका कारण वृद्धवृद्धालाई मुटुको चालमा गडबडी हुन्छ, यसले रगतको गाढापन बढ्ने गर्छ । यसले पनि रक्तनली ब्लक हुने गर्छ । अर्को मुख्य कारण वायु प्रदूषण हो । जसले छाती तथा मुटुको स्थिति बिग्रिने गर्छ । रगत गाढा भएर नसा साँघुरिएर रक्तनली ब्लक हुन्छ । साथै जाडोयाममा कम पानी पिउने कारण शरीरमा डिहाइड्रेसन भएर हुने गर्छ । जाडोयाममा चिसोका कारण मान्छेहरुले कम पानी पिउँछन् ।

लक्षण

शरीरको कुनै एक भाग लुलो हुनु वा नचल्नु नै स्ट्रोकको प्रमुख लक्षण मानिन्छ । यसैगरी शरीरको कुन भागमा स्ट्रोक भएको छ, त्यही अनुसार लक्षण देखापर्छ ।

स्ट्रोक भएमा बिरामीको शरीरको कुनै एक भाग नचल्ने, हात वा खुट्टा नचल्ने, बोल्न समस्या हुनुका साथै उनीहरुको सुन्ने क्षमता समेत कम हुने, मुख बांगिने र आँखा धमिलो हुनेसमेत समस्या हुन्छ । जुन स्ट्रोकको सामान्य लक्षणमा पर्छ ।

कसलाई हुन सक्छ स्ट्रोक ?

मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी समस्या, कोलेस्टोरोल भएका र क्यान्सरका बिरामीलाई स्ट्रोकको जोखिम धेरै हुन्छ । साथै, गर्भनिरोधक चक्कीको सेवन गर्ने महिलामा पनि यसको जोखिम उच्च हुने गर्छ । त्यसैगरी ५० वर्ष नाघेका, वृद्धवृद्धालाई र व्यायाम कम गर्ने खतरा हुन्छ । व्यक्तिलाई जुनसुकै उमेरमा पनि स्ट्रोकको खतरा बढी हुने गर्छ ।

स्ट्रोक भएमा के गर्ने ?

पहिलो त स्ट्रोकको शंका लाग्ने बित्तिकै न्युरोलोजिस्ट, न्युरोसर्जन वा नजिक अस्पतालमा जहाँ २४ सै घण्टा सिटी स्क्यान तथा एमआरआई सेवा उपलब्ध अस्पतालमा परीक्षण गराइहाल्नुपर्छ । किनकि सुरुवाती अवस्था (केही घण्टाभित्र) उपचार गरेको खण्डमा बिरामीको ज्यान समेत बचाउन सकिन्छ ।

स्ट्रोक भएको साढे चार घण्टाभित्र बिरामीको अस्पताल पुर्‍याएर उपचार गर्न सके समान्य अवस्था फर्काउन सकिन्छ । यस्ता बिरामीलाई २४ घण्टाभित्र उपचार गर्न सकिन्छ ।

बच्ने उपाय ?

न्यानो लुगा लगाउने, पर्याप्त मात्रामा तातोपानी, चिया वा झोलिलो खानेकुराका साथै पर्याप्त मात्रामा पानी पिउनुपर्छ । मद्यपान र धुम्रपानबाट टाढा रहनुपर्छ । यसैगरी जाडोयाममा स्ट्रोकको जोखिम भएका बिरामी वा दीर्घरोगी र स्ट्रोक भइसकेका बिरामीले सकेसम्म बिहान र बेलुका मर्निङ वाक नगर्ने । किनकि यसबेला प्रदूषणस्तर बढी हुने र स्ट्रोक हुने सम्भावना बढी हुन्छ । त्यस्तै गर्ने परेमा मास्क लगाएर मात्र गर्न सकिन्छ ।

(न्युरो सर्जन डा. शाह भक्तपुर दधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल र काठमाडौंको नर्भिक अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

जाडोयाम मस्तिष्कघात स्ट्रोक स्वास्थ्य
डा. राजीव शाह
लेखक
डा. राजीव शाह
ब्रेन तथा स्पाइनल सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ८५३९ अध्ययन : एमबीबीएस, एमएस (न्युरो सर्जन) हाल भक्तपुर क्यान्सर अस्पताल, काठमाडौंस्थित नर्भिक इन्टरनेसनल अस्पताल र आरोग्य मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय