+
+

जसले पटिहानीमा अम्ब्रेला स्ट्रिट स्थापित गरे

११० मिटर लामो सडकमा ९० मिटरसम्म ४०० भन्दा बढी कलात्मक रंगीचंगी छाता राखिएका छन् । स्ट्रिटलाई तीन खण्डमा बाँडिएको छ । ९० मिटरसम्म फाइवरका अम्ब्रेला राखिएका छन्, त्यसपछिको ठाउँमा वाटर फाउन्टेन र बाँकी दुई स्टेपमा निकुञ्ज तथा राप्ती नदी हेर्ने भ्यू पोइन्ट बनाइएको छ ।

सुवास पण्डित सुवास पण्डित
२०८० मंसिर २ गते १८:०२

२ मंसिर, चितवन । चितवन पटिहानीका भुवन न्यौपाने पाँच वर्षपछि अष्ट्रेलियाबाट यसपटकको दशैं मान्न नेपाल आए । विदेश जाँदाको पटिहानी र अहिलेको पटिहानीमा आकाश जमिनको फरक पाएको सुनाए । उनले बाल्यकाल बिताएको पटिहानीमा पहिला पर्यटकीय पूर्वाधार निकै कम थिए । सडक थिए, तर कालोपत्रे थिएन ।

सानोमा फोहोर फाल्ने ठाउँका रुपमा रहेको घड्गाइ नजिकै उनी अष्ट्रेलिया जाँदा अम्ब्रेला स्ट्रिट बनाउने काम भर्खरै सुरु हुँदैथियो । अहिले आउँदा त्यहाँ मान्छेको भीड खचाखच देखेर उनी दंग परे । भरतपुर महानगरपालिका वडा नं. २२ मा पर्ने पटिहानीमा बनेको अम्ब्रेला स्ट्रिट अहिले चितवनकै पर्यटकीय गन्तव्य बनेको छ ।

पटिहानी नचिन्ने तर अम्ब्रेला स्ट्रिट चिन्ने पनि धेरै छन् । अम्ब्रेला स्ट्रिटको परिकल्पनाकार अरु नभएर सोही वडाका वडाध्यक्ष पर्यटन व्यवसायी समेत रहेका विष्णुराज महतो हुन् । महतो २०७४ र २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा दुईपटक सोही वडाबाट निर्वाचित भएका जनप्रतिनिधि हुन् ।

उनी २०७४ अगाडि नै मौरिसस् भन्ने देशको भ्रमणमा जाँदा समुद्र किनारमा छाताहरूले ढाकिएको सडक देखेका थिए । नेपालमा पनि यस्तै गर्न सकिने सोच बनाएका महतोले आफू वडाध्यक्ष भएपछि त्यही सपनालाई साकार रुप दिए ।

‘मैले मौरिससमा देखेपछि पटिहानीमा पनि कतै यस्तै बनाउन सकिने सोच आयो, वडाध्यक्ष निर्वाचित भएलगत्तै विगतमा फोहोर फाल्ने गरिएको डम्पिङ साइट क्षेत्रमा अम्ब्रेला स्ट्रिट बनाउने योजना बनाएँ’ वडाध्यक्ष महतो भन्छन्, ‘सुरुमा त यो कुरा बुझाउन धेरै गाह्रो भयो, बजेटकै पनि अभाव थियो ।’

डम्पिङ साइट भए पनि राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जको सुन्दर दृश्य देखिने स्थान भएकाले अम्ब्रेला स्ट्रिटका लागि यसै ठाउँलाई छानिएको वडाध्यक्ष महतो बताउँछन् ।

तत्कालीन सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेकै बेला वडाध्यक्ष महतोले पटिहानीलाई १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश गराउन सफल भए ।

पर्यटन मन्त्रालयको १ करोड र वडा कार्यालयको २५ लाख रुपैयाँको लागतमा सुरु भएको अम्ब्रेला स्ट्रिट बनाउन पछि भरतपुर महानगरपालिकाले ७५ लाख रुपैयाँ दिएको थियो । २ करोड रुपैयाँको लागतमा दुई वर्षभित्र निर्माण सकिएको अम्ब्रेला स्ट्रिट २०७६ फागुन १ गतेबाट सञ्चालनमा ल्याइएको हो ।

सञ्चालनमा आएको तीन वर्षमा नै ४ करोड रुपैयाँ भन्दा बढी राजश्व यसै क्षेत्रबाट महानगरपालिकाले उठाइसकेको छ । ‘लागत रकम समेत उठाएर यो प्रोजेक्ट नाफामा गइसकेको छ’ वडाध्यक्ष महतोले भने, ‘पटिहानीको परिचय नै बदलेको छ, पटिहानी भनेर नचिन्ने मान्छेले पनि अम्ब्रेला स्ट्रिट भनेपछि चिन्छन् ।’

११० मिटर लामो सडकमा ९० मिटरसम्म ४०० भन्दा बढी कलात्मक रंगीचंगी छाता राखिएका छन् । स्ट्रिटलाई तीन खण्डमा बाँडिएको छ । ९० मिटरसम्म फाइवरका अम्ब्रेला राखिएका छन्, त्यसपछिको ठाउँमा वाटर फाउन्टेन र बाँकी दुई स्टेपमा निकुञ्ज तथा राप्ती नदी हेर्ने भ्यू पोइन्ट बनाइएको छ ।

दुईवटा फुडकोर्ट, भ्यू पोइन्ट, रेष्टुरेन्ट, सेल्फीगेट पनि छन् । यहाँबाट राप्ती नदी किनारमा चर्न आएका विश्वकै दुर्लभ एक सिङ्गे गैंडा, गोही, विभिन्न प्रजातिका चराचुरुङ्गी, हरिण, मृग र सूर्यास्तको दृश्यसमेत देख्न सकिन्छ ।

साँझपख यहाँ आएर रमाउने, फोटो खिच्नेहरुको भीड लाग्ने वडाध्यक्ष महतोले बताए । स्ट्रिट बिहान ६ बजेदेखि राति ८ बजेसम्म खुल्छ । रातिको समय ८ बजेलाई बढाएर १० बजेसम्म बनाउने पहल पनि भइरहेको छ । हिंडेर अम्ब्रेला स्ट्रिटभित्र जानुपर्ने भएकाले यसभित्र कुनै सवारी साधन गुडाउन पाइँदैन ।

अम्ब्रेला स्ट्रिटका हरेक पोलमा चितवनमा पाइने जीव जनावर र आदिवासी जनजातिहरुका प्राचीन सामग्रीका तस्वीर डिजिटल लाइट भित्र राखिएका छन् । भित्तामा आकर्षक पेन्टिङ कुँदिएका छन् ।

वडाध्यक्ष महतोका अनुसार अम्ब्रेला स्ट्रिटमा जानका लागि स्थानीयलाई शुल्क लाग्दैन भने अन्य स्वदेशी पर्यटकलाई २५ रुपैयाँ, सार्क क्षेत्रका पर्यटकलाई ८० र तेस्रो देशका नागरिकलाई २०० रुपैयाँ शुल्क लाग्छ ।

२०७७ को नयाँ वर्षको दिन ९ हजार ६०० जनाले टिकट काटेर अम्ब्रेला स्ट्रिटको अवलोकन गरेका थिए । अहिले दैनिक १ हजार जनाले यो ठाउँको अवलोकन गर्दै आएका छन् ।

यहाँको अम्ब्रेला स्ट्रिटमा १५ जनाले रोजगारी पाएका छन् । व्यावसायिक फोटो खिच्ने मात्रै ८ जना छन् । यसको रेखदेख र टुटफुट हुँदा मर्मतको काम वडा कार्यालय मार्फत हुँदै आएको छ ।

स्ट्रिटको दायाँतर्फ विगतमा माछा मार्ने, ज्याला मजदुरी गर्ने स्थानीय लोपोन्मुख बोटे समुदायले १८ वटा साना साना स्वरोजगारमूलक रेष्टुरेन्ट तथा अन्य व्यवसाय गरेका छन् । विशेषतः शनिबार र सार्वजनिक बिदाका दिनमा आन्तरिक पर्यटकहरु बढी आउँछन् ।

यहाँ आएका पर्यटकले चिचर, घोंगी लगायतका थारु परिकारको स्वाद लिन सक्छन् । बाहिरका साना साना रेष्टुरेन्टमा हाँसका परिकार खान पाइन्छ । पहिला बैंकबाट ऋण नपाउने बोटे समुदायले अहिले बैंक तथा सहकारीबाट ऋण लिएर स्वरोजगार बन्ने अवसर पाएका वडाध्यक्ष महतोले बताए ।

अम्ब्रेला स्ट्रिटभन्दा बाहिर पनि थुप्रै किराना पसल तथा व्यवसाय सञ्चालन भएका छन् । भरतपुरको चौबीसकोठीबाट २० किलोमिटर दक्षिणमा रहेको यो स्ट्रिटलाई महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ का लागि प्रमुख गन्तव्यको सूचीमा राखेको छ ।

जाडोको समयमा घाम ताप्ने गोही र तिर्खाएर राप्ती नदीमा पानी खान आउने गैंडा र मृगको दृश्य बाक्लो गरी देखिने वडाध्यक्ष महतोले बताए । पटिहानी क्षेत्रका होटलमा बस्ने पर्यटकहरु समेत अधिकांशले स्ट्रिटको भ्रमण गर्ने गरेको उनको भनाइ छ ।

‘पर्यटकका लागि नयाँ प्रोडक्ट थपिएको महसुस भएको छ, सुरुमा आलोचना गर्नेहरू पनि राम्रो नतिजा आएपछि खुसी भएको पाएको छु’ वडाध्यक्ष महतो भन्छन्, ‘जनप्रतिनिधिले आलोचना पनि सहनुपर्छ, तर हाम्रो काम अँध्यारोबाट उज्यालो देखाउने हो, उज्यालो देखेपछि अँध्यारो छ भनेर त कसैले भन्न सक्दैन नि !’

वडाध्यक्ष महतोका अनुसार स्ट्रिटको नजिकै चिल्डेन पार्क, सनसेट भ्यू देखिने संरचना साढे २ करोडको लागतमा निर्माण हुँदैछ । यस्तै, स्टोन पार्कको कन्सेप्ट पनि अगाडि बढेको छ । ऐतिहासिक कमलपोखरीमा साढे चार करोडको लागतमा नयाँ संरचनाहरू तयार गर्ने काम भइरहेको वडाध्यक्ष महतोले जानकारी दिए ।

तस्वीरहरु : अम्ब्रेला स्ट्रिट चितवनको फेसबुक पेजबाट

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?