
३ मंसिर, काठमाडौं । नयाँ कप्तान इन्दु बर्मा र नयाँ प्रशिक्षक मनोज कटुवालको साथमा चार देशीय शृंखला खेल्न हङकङ गएको नेपाल तेस्रो भयो ।
प्रतियोगितामा नेपालले एउटा मात्र टिम जापानलाई २ पटक हरायो । जापानसँग समूह चरणको खेल ६७ रनले जितेको नेपालले तेस्रो स्थानका लागि भएको खेल ४५ रनले जित्यो ।
नेपाल समूह चरणमा तान्जानियासँग २७ रन र घरेलु टिम हङकङसँग ९ विकेटले पराजित भयो । पहिलो खेलमा नेपाल तान्जानियासँग १६.५ ओभरमा ८८ रनमा अलआउट भयो ।
दोस्रो खेलमा हङकङसँग १८ ओभरमा ५६ रनमा अलआउट भयो । पहिलो खेलमा सीताले ४३ रन र इन्दुले १५ रनको पारी खेले । दोस्रो खेलमा रुबिनाले २५ रनको पारी खेलिन् अन्य कुनैले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
तेस्रो खेलमा जापानसँग नेपालले ६७ रनको जित हात पार्यो । जसमा रुबिनाले ३८ रनको सर्वाधिक पारी खेलिन् । त्यसबाहेक कप्तान इन्दुले २७, पूजा महतोले १३ र काजल श्रेष्ठले १५ रनको पारी खेले ।
यस खेलमा कमब्याक गरेकी रोमा थापाले तेस्रो स्थानका लागि जापानसँग भएको खेलमा २२ रन बनाइन् ।
हङकङको चार देशीय शृंखलाले ब्याटिङमा पुराना तीन खेलाडी पूर्वकप्तान रुबीना क्षेत्री, सीता राना मगर र कप्तान इन्दु बर्माबाहेक ब्याटिङमा कसैको पनि खास प्रदर्शन देखिएन । टिममा नयाँ खेलाडी धेरै भएको र नयाँ खेलाडी ब्याटिङमा चल्न नसक्दा पराजित हुनु परेको कप्तान इन्दु बर्माले बताइन् ।
तेस्रो स्थानका लागि भएको खेलमा नयाँ खेलाडी पुजा महतोले ४३ रनको पारी खेलिन् । ‘पुजा नेपालको लागि राम्रो अलराउन्डर हुन सक्छ । उनी राम्रो खेलाडी हुन्’, महिला टिमका पूर्व प्रशिक्षक सामसन जंग थापाले भने ।
‘नयाँ पुस्तालाई अफसिजनमा अभ्यास गराउनु पर्यो, यी ३ खेलाडीले मात्रै नेपाली महिला टिमको ब्याटिङ कति धान्नु ?,’ प्रशिक्षक थापा प्रश्न गर्छन, ‘यी खेलाडीले धेरै खेले ३/४ वर्ष खेल्छन् । त्यसपछि के गर्ने ?’
३० वर्ष टेक्नै लागेकी पूर्व कप्तान रुबिनाले आफ्नो सन्यासको समय नजिक आइपुगेको बताउने गरेकी छिन् ।
उनले युवा पुस्तालाई एक्सपोजर दिई टिमको जिम्मेवारी धान्न लायक बनाउन आग्रह गरेकी छिन् ।
सीता राना मगर पहिलो ब्याचकी खेलाडी हुन् । त्यसका साथै उनी नेपाली महिला टिमकी बलियो पिल्लर हुन् । उनले केही समयअघि सन्यास लिनलाई पनि आफ्नो स्थान परिपूर्ति गर्ने युवा खेलाडीको खाँचो रहेको बताएकी थिइन् । ‘सन्यास लिने छोड्ने भन्दा पनि हालसम्म मलाई रिप्लेस गर्ने युवा खेलाडी आएकै छैन’, केही समय अघि उनले अनलाइनखबरसँग भनेकी थिइन् ।
दीर्घकालीन योजनाको कमीले कमजोर
सअघिका ३ वटा शृंखलामा प्रशिक्षक रहेका सामसन जंग थापा र विश्वकप छनोटका लागि ब्याटिङ प्रशिक्षक बनेकी भारतकी देवीका पाल्शिकरले टिममा केही रणनीतिक परिवर्तन देखाएका थिए । त्यसका बाबजुद पनि नेपाल विश्वकपमा छनोट हुन सकेन । विश्वकप छनोटमा नेपाल सेमिफाइनलमा थाइल्याण्डसँग ४६ रनले पराजित भएको थियो ।
सन् २०१० देखि महिला टिमलाई नजिकबाट नियालिरहेका प्रशिक्षक सामसन जंग थापा महिला क्रिकेटको कल्चर विकास नभएकाले महिला क्रिकेटको पनि विकास हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘नेपाली महिला टिमलाई दिगो योजनाको जरुरत छ । त्यो भन्दा पनि महिला क्रिकेट कल्चर विकास हुुनु जरुरी छ ।’
यस पटकको सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले नयाँ प्रशिक्षक कटुवाल सहित नयाँ कप्तानको रुपमा बर्मालाई जिम्मेवारी दिएको थियो ।
महिला टिमका पूर्ण खेलाडी समेत नचिनेका प्रशिक्षक कटुवालका लागि यो सिरिज चुनौतीपूर्ण थियो । उनी आफैंले प्रतियोगिताअघि आफ्नो लागि यो प्रतियोगिता चुनौती र अवसर रहेको बताएका थिए । ‘मेरो लागि यो प्रतियोगिता अवसर र चुनौती दुवै हो ।’
महिला क्रिकेटको प्रशिक्षण नगरेका कटुवालका लागि महिला खेलाडीको क्षमता चिनेर प्रशिक्षण दिनु उनका लागि सहज थिएन ।
सुरुवाती अवस्थामा नेपाली महिला क्रिकेटले राम्रो प्रगति गरेको थियो, त्यतिबेला श्रीलंका, बंगलादेशसँग पनि प्रतिस्पर्धा गर्ने नेपाली टिम अहिले मलेसियासँग खेल्दा हम्मेहम्मेको अवस्थामा पुग्छ ।
महिला टिमका लागि घरेलु क्रिकेटमा नीति तथा प्रतियोगिताको अभाव नै हाल महिला टिम पिछडिनुको कारण रहेको प्रशिक्षक थापा बताउँछन् । थापाले भने, ‘महिला क्रिकेटलाई विकास गर्ने हो भने घरेलुमा खेल खेलाइरहनु पर्छ । खेलको अनुभव नहुँदासम्म खेलाडीलाई अन्तर्राष्ट्रियमा खेल्न गाह्रो हुन्छ ।’
महिला क्रिकेटको अवस्था नेपालमा दयनीय रहेको थापाले खुलाए । ‘अहिले राजधानीमा ११ जना खेलाडीको टिम पुर्याउन गाह्रो छ ।’
विभिन्न विद्यालय तथा ग्रेट हिमालयन क्रिकेट एकेडेमीका प्रशिक्षकका रुपमा कार्यरत थापा राष्ट्रिय खेलकुद परिषदका क्रिकेट प्रशिक्षक हुन् । ‘घरेलुमा रहेका २२÷२५ जना खेलाडी छनोट गरि उनीहरुबाट उत्कृष्ट रहेकालाई बन्द प्रशिक्षणमा राख्नुपर्छ ।’
खेलको अनुभव र प्रतिस्पर्धाको कमीले महिला क्रिकेट पछि परेको थापा बताउँछन् ।
अझै पनि अभिभावकीय संस्था क्यानले महिला क्रिकेटमा लगानी नगर्ने हो भने यो भन्दा पनि खराब अवस्था आउन सक्ने भय थापालाई छ । ‘अबको दिनमा पनि महिला क्रिकेटको बारेमा क्यानले दीर्घकालीन नीति नबनाउने हो भने हामी मलेसियासँग पनि छिट्टै पछि पर्छौ ।’
प्रतिक्रिया 4