+

आईसीयूका बिरामीलाई पोषणको कमी त भइरहेको छैन ?

२०८० मंसिर  ६ गते १६:४७ २०८० मंसिर ६ गते १६:४७
आईसीयूका बिरामीलाई पोषणको कमी त भइरहेको छैन ?

काठमाडौं । धरानका ३० वर्षीय निरज कार्की एक्कासि बेहोस भएर ढले । उनलाई इमरजेन्सीमा अस्पताल पुर्‍याइयो । अस्पताल पुगेपछि पत्ता लाग्यो उनलाई स्ट्रोक भएको रहेछ । तत्काल शल्यक्रिया गर्नुपर्ने भयो ।

शल्यक्रिया सफल भयो । शल्यक्रियापछि लामो समय अस्पतालमा बस्नुपर्ने भयो । अस्पतालको बसाइमा उनको तौल एकदमै घट्यो । तौल एकदमै कम भएपछि विराटनगरको एक सरकारी अस्पतालमा केही समय उपचार गराइरहेका उनलाई काठमाडौंस्थित वीरेन्द्र प्रहरी अस्पताल ल्याइयो । प्रहरी अस्पतालमा भर्ना हुँदा उनको शरीरमा मांसपेशी थिएन छाला र हड्डी मात्र थियो ।

पहिले उनको वजन ७० केजी थियो । उपचारको क्रममा उनी ३७ केजीका भएका थिए । तौल एकदमै कम भएपछि अस्पतालमा पोषणविद्को रेखदेखमा राखियो । पोषणविद्ले उनलाई कति पोषण आवश्यक पर्छ, त्यही अनुसार खाना दिए । ६ महिनापछि नीरज पहिलेकै वजनमा फर्किन सफल भए ।

भैरहवाकी २७ वर्षीया रीना चौलागाईंलाई मेनिन्जाइटिस (दिमागसम्बन्धी समस्या) देखा पर्‍यो । यही समस्याका कारण उनी कोमामा पुगिन् । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा राखेर दुई महिना उपचार गरियो । अस्पताल भर्ना हुँदा उनी ६५ केजी थिइन् । दुई महिनाको अस्पताल बसाइपछि उनको तौल स्वाट्टै घट्यो ।

६५ केजीकी रीनाको तौल घटेर ३६ केजी भयो । उनको तौल एकदमै कम भएपछि लुम्बिनी प्रादेशिक अस्पतालले उनलाई काठमाडौं रिफर गर्‍यो । काठमाडौंको एक अस्पतालमा उपचारको क्रममा पाँच दिनपछि उनको मृत्यु भयो ।

यदि आईसीयूमा भएका बिरामीले राम्रो पोषण पाए भने उनीहरूको अस्पताल बसाइ छोटिन्छ । आईसीयूमा राम्रो पोषण नपाएका बिरामीको अवस्था पाँच दिनमा सुधार हुन्छ भने राम्रो पोषण पाएको बिरामीको अवस्था तीन दिनमा नै सुधार हुने द अमेरिकन सोसाइटी फर प्यारेन्टरल र इन्टरल न्युट्रिसनको अध्ययनले देखाएको छ ।

एउटा व्यक्तिलाई दैनिक न्यूनतम १४ सय क्यालोरीको आवश्यकता पर्छ । व्यक्तिको उचाइ, रोगको प्रकृतिअनुसार आवश्यकता बढ्न सक्छ । नेपालका अधिकांश अस्पतालको आईसीयूका बिरामीहरूमा यो आवश्यकता पूरा नभएको पोषणविद् भुपाल बानियाँ बताउँछन् ।

‘आईसीयूमा भएका बिरामीलाई प्राय: दालको झोल, कालो चिया, सुप खुवाएको पाइन्छ । कालो चिया भनेको ४० क्यालोरी, दालको झोल ५० क्यालोरी सुप त्यस्तै दिनभरिको खानाको क्यालोरी जोड्दा पनि ६०० क्यालोरी पुग्ला,’ उनी भन्छन्, ‘यस्तोमा दैनिक बिरामीलाई लगभग ८०० क्यालोरी कमी हुन पुग्छ । धेरै लामो समय आईसीयूमा बस्नुपर्दा  बिरामीमा पोषणको कमी बढ्दै जान्छ । विभिन्न न्युट्रियन्टहरुको कमी हुँदै जान्छ ।’

पोषणविद् भूपाल बानियाँ

अस्पतालमा बिरामीलाई निको पार्न औषधि प्राथमिकतामा पर्छ खाना पर्दैन । औषधिले रोग निको त पार्छ, तर मानव शरीरमा हुने आवश्यक तत्त्वको कमीलाई कहिल्यै पनि पूरा गर्दैन र बिरामीमा ‘माल न्युट्रिसन’को समस्या देखा पर्ने बानियाँ बताउँछन् । मानव शरीरमा हुने आवश्यक तत्त्वको कमीलाई चिकित्सकीय भाषामा ‘माल न्युट्रिसन’ भन्ने गरिन्छ ।

माल न्युट्रिसनका कारणले मानव शरीरमा भिन्नाभिन्नै किसिमका ‘न्युट्रिसनल डिफिसिएन्सीहरू’ पैदा हुन्छन् । वास्तवमा यही न्युट्रिसनल डिफिसिएन्सीहरू कतिपय रोगको मूल कारण पनि हुन सक्छ । मानव शरीरमा हुने यस्ता न्युट्रिसनल डिफिसिएन्सीहरूलाई हटाउने हो भने कसैलाई पनि रोग नै नलाग्ने पोषणविद् बानियाँ बताउँछन् ।

मानव शरीरमा हुने यस्ता न्युट्रिसनल डिफिसिएन्सीहरूलाई कसरी हटाउने त ?

यो गम्भीर प्रश्नको सजिलो जवाफ हो, सन्तुलित आहारको सेवन गर्नु अर्थात् हाम्रो शरीरलाई चाहिने न्युट्रिएंट्सहरू जस्तै भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन, मिनरल्सहरूको सेवनबाट न्युट्रिसनल डिफिसिएन्सीहरूलाई हटाउन सकिने बानियाँ बताउँछन् ।

‘नेपालका हरेक अस्पतालमा आईसीयूमा भएका बिरामीहरूलाई पोषणविद्को आवश्यकता पर्छ । जसको सहयोगबाट बिरामीलाई माल न्युट्रिसनबाट जोगाउन सकिन्छ । बानिया भन्छन्, ‘विश्वमा नै आईसीयूका बिरामीहरूलाई माल न्युट्रिसनको चुनौती छ । नेपालमा त झन् यो एकदमै ठूलो समस्या हो ।’

त्रिवि शिक्षण अस्पतालमा जम्मा एक जना पोषणविद्

त्रिवि शिक्षण अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले सेवा लिन्छन् । जहाँ २२ वटा आईसीयू छ, जसमा प्राय: बिरामीहरू भरिभराउ हुन्छन् । तर अस्पतालको आईसीयू सेटिङमा एक जना पनि पोषणविद् छैनन् ।

त्रिवि शिक्षण अस्पतालभरिमा आफू एक जना मात्र पोषणविद् भएको अस्पतालकी पोषणविद् रेणु यादव बताउँछिन् । उनी भन्छिन्, ‘बिरामीको संख्या एकदमै धेरै हुने भएकोले चिकित्सकले सिफारिस गरेका  बिरामीहरूलाई मात्र हेर्न भ्याइन्छ ।’

एउटा बिरामीलाई ३० देखि ४५ मिनेट समय दिएर डाइट प्लान दिनुपर्छ । तर अस्पतालमा बिरामीको संख्या धेरै र अरू डाइटिसियन नभएकाले एउटा बिरामीलाई १० देखि १५ मिनेट भन्दा बढी समय दिन नभ्याइने यादव बताउँछिन् ।

‘ओपीडीमा बिरामीहरूको चाप नै धेरै हुने भएकाले चिकित्सकको सिफारिस बिना आईसीयूको बिरामीलाई समय दिन भ्याइँदैन । आईसीयूका २२ जना बिरामीको खानपानको हेरचाह गर्न सम्भव हुँदैन । जसले गर्दा आईसीयूका बिरामीमा माल न्युट्रिसनको समस्या देखिने सम्भावना हुन्छ,’ यादव भन्छिन् ।

वीर अस्पताल र गंगालाल हृदय केन्द्रमा पनि पर्याप्त छैनन् पोषणविद्

त्रिवि शिक्षण अस्पताल मात्र होइन, वीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगायतका अस्पतालमा पनि पर्याप्त मात्रामा पोषणविद् छैनन् । यी दुवै अस्पतालमा एक-एक जना पोषणविद् मात्र छन् ।

‘बिरामीलाई रोगले यसै गालेको हुन्छ यस्तोमा झन् शरीरमा पोषणको कमी हुँदा उसको समस्या अझै बढ्न सक्छ । यस्तोमा बिरामीले पोषणविद्को सहयोग लिएर सन्तुलित आहारको पालना गर्न सके, उनीहरूमा माल न्युट्रिसनको समस्या देखिने सम्भावना कम हुन्छ,’ बानियाँ भन्छन् ।

राम्रो खानाले रोग, एलर्जी र संक्रमणको जोखिम कम गर्न मद्दत गर्छ र मेटाबोलिज्म सुधार गर्छ । राम्रो पोषणले रोगप्रतिरोधात्मक क्षमता बढाउन र उचाइअनुसारको तौल कायम गर्न मदत गर्ने भएकाले अस्पतालहरूले आईसीयू सेटिङमा पर्याप्त मात्रामा पोषणविद्को व्यवस्था गर्नुपर्ने बानियाँ बताउँछन् ।

पाटन अस्पतालबाट अरू अस्पतालले सिक्ने कि ?

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल जस्ता अस्पतालमा एक-एक जना पोषणविद् भएको अवस्थामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने चार जना पोषणविद् छन् । मंसिरबाट थप तीन जना पोषणविद्को दरबन्दी थप हुँदैछ ।

चार जना पोषणविद् भएको अस्पतालमा बिरामीले पर्याप्त मात्रामा पोषणको सल्लाह पाएका छैनन् भने एक जना पोषणविद् भएको ठाउँमा त झनै बिरामीले पोषणबारे सल्लाह पाउन गाह्रो हुन सक्ने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पोषणविद् अशेष न्यौपाने बताउँछन् ।

पोषणविद् अशेष न्यौपाने

लगभग ७०० बेडको अस्पतालमा चार जना पोषणविद्ले सबै वार्डमा सेवा दिन सक्दैनन् । ओपीडीमा नै  दुईदेखि तीन जना पोषणविद् आवश्यक पर्छ । ओपीडीमा ३ जना पोषणविद्, आईसीयू सेटिङकै लागि कम्तीमा पनि २ जना, सर्जरी आईसीयूमा १ जना, न्युरो आईसीयूमा १ जना, सर्जिकल वार्डमा १ जना, मेडिसिन वार्डमा १ जना गर्दा पनि कम्तीमा १० जना पोषणविद् पाटन अस्पताल जस्तो सरकारी अस्पतालमा आवश्यक पर्ने न्यौपाने बताउँछन् ।

‘एक जना पोषणविद्ले एक जना बिरामीलाई ३० देखि ४५ मिनेट समय दिनुपर्ने हुन्छ । आठ घण्टामा एउटा पोषणविद्ले १५ जना बिरामी हेर्न भ्याउँछन् । यो हिसाबले पनि कम्तीमा १० जना पोषणविद् वीर, टिचिङ जस्ता अस्पतालमा आवश्यक हुन्छन्,’ उनी भन्छन् ।

बिरामीका आफन्त पनि सचेत हुनुपर्छ

अस्पतालमा बिरामीको कुरुवा बस्न पुगेका आफन्तले औषधिसँगै मेरो बिरामीलाई पोषण पुगेको छ कि छैन भन्ने कुरामा सचेत हुनुपर्ने पोषणविद् बानियाँ बताउँछन् । ‘बिरामीलाई चिकित्सकले राम्ररी उपचार गरेका छन् कि छैनन्, नर्सले राम्ररी हेरचाह गरेका छन् कि छैनन् भनेर त हामी सचेत हुन्छौं,’ उनी भन्छन्, ‘मेरो बिरामीले पर्याप्त मात्रामा पोषण पाएको छ कि छैन भनेर पनि जिज्ञासु भएर सोधखोज गर्नुपर्छ ।’

आईसीयू पोषण स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय