+
+

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालविरुद्ध दुई वटा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १५:५२

८ मंसिर, काठमाडौं । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ ।

एउटा उजुुरीमा उनले सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा आफ्नी छोरीलाई पढाएको आरोप लगाइएको छ भने अर्कोमा उनको नैतिकतामाथि प्रश्न उठाइएको छ ।

पौड्यालको संसदीय सुनुवाइ आगामी आइतबार दिउँसो १ बजे गर्ने निर्णय समितिले गरेको छ । त्यस अगाडि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । उजुरीकर्ताको उजुरी र उसको दाबी समेतलाई ख्याल गर्दै संसदीय सुनुवाइ समितिले पौड्यालको सुनुवाइ गर्नेछ ।

गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्रीसरह हैसियत र सुविधा पाउने गरी पौड्याललाई राजदूत सिफारिस गरेको हो ।

सरकारको सिफारिस प्राप्त भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक १५ गते क्यानडाका लागि प्रस्तावित राजदुत पौड्यालविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसक्रममा दुई वटा उजुरी परेका हुन् ।

आफ्नो छोरीलाई सरकारी कर्मचारीका लागि प्राप्त छात्रवृत्तिमा पढाएको गम्भीर आरोप लगाउँदै उनी राजदूतका लागि योग्य नरहेको दाबी उजुरीमा गरिएको छ ।

‘नेपाल सरकारबाट आउने स्वीट्जरल्याण्डको ‘मास्टर्स अफ एड्भान्स स्टडिज युरोपिएन एण्ड इन्टरनेशनल गभर्नेन्स स्कलरसिप’ कर्मचारीलाई नदिएर आफ्नो छोरी पल्लभी पौड्याललाई दिलाए । निजको छोरी कर्मचारी नभएर विदेशमा पढ्ने विद्यार्थी हुन्’, उजुरीमा उल्लेख छ ।

उजुरीकर्ताको दाबी अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिमहिना ६ लाख प्राप्त हुन्छ र छात्रवृत्तिको अवधि दुई वर्षको छ । उजुरीकताले उजुरीमा लेखेका छन्, ‘नेपाल सरकारका कर्मचारीले छात्रवृत्ति पछि फर्केर देशको सेवा गर्न महत्वपूर्ण यो कोर्स दुरुपयोग गरेर यिन(प्रस्तावित राजदुत)ले राष्ट्रघात गरेका छन् ।’

साथै, परराष्ट्र सेवाबाट राजदूत सिफारिस गर्दा सेवा अवधि बाँकी रहेकाहरुलाई अवसर दिइनुपर्नेमा सेवा निवृत्त हुन लागेका व्यक्तिलाई पठाउन खोजिएकाले यसलाई रोक्नुपर्ने अर्को उजुरी छ । पौड्याल २० मंसिरमा सेवानिवृत्त हुँदै थिए ।

सेवानिवृत्त हुनु अगाडि उनको नाम राजदूतका लागि सिफारिस भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?