+
+

व्यापारी दुर्गा प्रसाईंलाई ओलीले यसरी बनाएका थिए नेता

ओलीलाई सिंगो एमालेभन्दा प्रिय थियो दुर्गा प्रसाईँ

व्यक्तिगत/व्यापारिक स्वार्थ पूरा गर्न एकपछि अर्को पार्टीको साहारा लिई हिड्ने दुर्गा प्रसाईँलाई एमालेको नेता बनाउन अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला कमिटीदेखि केन्द्रीय पदाधिकारीको समेत कुरा लत्याएका थिए ।

सइन्द्र राई सइन्द्र राई
२०८० मंसिर ८ गते २२:०५

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार तीनकुनेमा युवा–विद्यार्थीले गरेको प्रदर्शन झलक मात्र भएको बताएका छन् । राष्ट्रिय युवा नेपालको पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले अब ठूलो आन्दोलन गर्ने बताए ।

‘प्रतिक्रियावादीहरुले चुनावमा भेट हुने भन्छन्, भने भटौं । सडकको मैदानमा भेट हुने भन्छन् भने ठिक छ, सडकमै भेटौं’, ओलीको चेतावनी थियो । गत बुधबारको केन्द्रीय कमिटी बैठकमा पनि ओलीले राजावादी–हिन्दूवादी शक्तिहरुविरुद्ध सशक्त आन्दोलनको तयारीमा पार्टी जानुपर्ने बताएका थिए । त्यही बैठकले दुर्गा प्रसाईँ समूहको प्रदर्शनलाई प्रतिवादन गर्न युवा–विद्यार्थीले बिहीबार तिनकुनेमा गरेको प्रदर्शनको अपनत्व लिने निर्णय गरेको छ ।

राजतन्त्र फर्काउने भनेर काठमाडौंका सडकमा मान्छे उतारेका प्रसाईँले पनि ओली र एमालेविरुद्ध चर्को अभिव्यक्ति दिइरहेका छन् । कतिसम्म भने ओलीलाई ‘हत्या आरोपमा जेल बसेको व्यक्ति भन्नेदेखि विदेशमा लगानी गरेको’ जस्तो तथानाम आरोप सार्वजनिक रुपमै लगाइरहेका छन् । प्रसाईँका गतिविधिविरुद्ध सरकारभन्दा अगाडि बढेर निर्णय लिइरहेका ओलीले पनि सिंगो पार्टीपंक्ति सडकमा उतार्ने तयारी गरिरहेका छन् । आमसाधरणमा एमाले भर्सेस दुर्गा प्रसाईँको संघर्ष भन्ने बुझाइ निर्माण हुन पुगेको छ ।

जबकी नौ महिना अगाडिसम्म उनै दुर्गा प्रसाईँ, एमाले अध्यक्ष ओलीका प्रिय पात्र थिए । एउटा सामान्य व्यापारी दुर्गा प्रसाईँलाई राजनीतिक ‘हैसियत’ दिन ओलीले एमालेका केन्द्रीय पदाधिकारीदेखि झापा जिल्ला कमिटीका नेताहरुको आग्रह समेत लत्याएका थिए । ‘दुर्गा प्रसाईँलाई पार्टीको भूमिका दिन हुन्न भन्ने हाम्रो सुझाव सुनेको भए आज यस्तो स्थिति आउने थिएन’ एक पदाधिकारी भन्छन्, ‘तर केपी कमरेडले कसैको कुरा सुन्न भएन । आज त्यसको मूल्य चुकाउनु परिरहेको छ ।’

ती पदाधिकारीको बुझाइमा, एमालेको केन्द्रीय सदस्य बनेपछि नै प्रसाईँले राजनीतिक स्पेश पाएका हुन् । ‘हाम्रो पार्टीको केन्द्रीय सदस्य हुनु भन्दा अगाडि एउटा व्यापारी थिए, तर केन्द्रीय सदस्य भएपछि नेता दुर्गा प्रसाई भए । (पूर्वराजा) ज्ञानेन्द्र शाहले उसैलाई उपयोग गरेको देखियो’, उनी भन्छन् ।

कमिटी भर्सेस प्रसाईँ

नेताहरुसँगको उठबसबाट चिनिएका ब्यापारी दुर्गा प्रसाईँलाई राजनीतिक रंगमा भने १५–१९ असोज २०७८ मा ललितपुरको गोदावरीमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनमा देखिएको थियो । कार्ड भिरेर प्रतिनिधि बनेको देखेपछि झापाका एमाले नेताहरू सशंकित बनेका थिए । किनकि प्रसाईँले लेखेको ठेगाना झापाबाट उनी प्रतिनिधि थिएनन् ।

तर, प्रतिनिधि बनेर विधान अधिवेशनमा देखेपछि झापा जिल्लाका नेताहरुले नेतृत्वसँग आवश्यक जानकारी लिने प्रयास गर्‍यो । ‘एमालेमा कुनै योगदान नभएको र जिल्लामा खासै राम्रो पृष्ठभूमि नभएका दुर्गा प्रसाईँलाई हाम्रो पार्टीको प्रतिनिधि भएर हिँडिरहेको देखेपछि हामीले जिल्ला इन्चार्ज रबीन कोइरालालाई नेतृत्वसँग बुझ्न भन्यौं’, झापाका एक नेता भन्छन् ।

त्यसैअनुसार, रवीन कोइरालाले अध्यक्ष ओली, तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङसँग भेटेर कुरा गरे । तर कसैले पनि कोइरालालाई चित्तबुझ्दो जवाफ दिएका थिएनन् । ‘केपी ओलीले त्यो (दुर्गा प्रसाईँ) बाठो छ, आफैं कार्ड बनाए होलान् भनेर जवाफ दिनुभएको थियो । बिष्णु पौडेलले कुनै हालतमा प्रतिनिधि होइन भनेका थिए’, झापाका ती नेता भन्छन् । उनका अनुसार, सुवास नेम्वाङले भने कुनै जवाफ दिएका थिएनन् । यसपछि ओलीकै जवाफलाई सामान्यकरण गर्दै दुर्गा प्रसाईँले आफै प्रतिनिधि कार्ड छापेर विधान अधिवेशनमा हिडिरहेको प्रचार भयो ।

तर यसको दुई महिनाभित्रै चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा दुर्गा प्रसाईँ वैधानिक रूपमै प्रतिनिधि भए । झापाको कुनै कमिटीले प्रतिनिधि बन्न नदिएपछि अध्यक्ष ओलीसम्म पुगेका प्रसाईँलाई केन्द्रीय कमिटीबाटै मनोनीत गरियो ।

मनोनीत प्रतिनिधि हुनासाथ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु भन्दै फारम भरेर महाधिवेशनस्थल परिसरमा हिँडिरहँदा प्रसाईँले दिएका कतिपय अभिव्यक्ति मजाककै विषय बन्यो । किनकि उनीसँग राजनीतिक संगठन र लोकतान्त्रिक प्रक्रियाबारे चेतनाको अभाव देखिन्थ्यो । प्रसाईँलाई ओलीले केन्द्रीय सदस्यको सूचीमा राखेनन् ।

तर काठमाडौं फर्किएलगत्तै दश दिनभित्रै ओलीले प्रसाईँलाई केन्द्रीय सदस्य मनोनीत गरिदिए । एक पदाधिकारीका अनुसार, प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने निर्णय पनि छापामार शैलीमा भएको थियो । ‘केन्द्रीय सदस्य मनोनीत गर्ने नामहरु बैठकमा प्रस्तुत गर्दा उनको नाम थिएन । त्यहाँ जति नाम भनियो, उनीहरु केन्द्रीय सदस्य बन्न योग्य नै थिए । तर पछि छापामार शैलीमा दुर्गा प्रसाईँ केन्द्रीय सदस्य मनोनीत भनेर प्रचार गरियो, अपानिमा त्यसरी नै पठाइयो’, ती पदाधिकारी भन्छन् ।

प्रसाईँ केन्द्रीय सदस्य मनोनीत गरिएकोमा अधिकांश पदाधिकारी सन्तुष्ट थिएनन् । तर कसैले पार्टी बैठकमा प्रतिकार गर्न सकेनन् । ‘त्यसबेला केपी ओलीको अगाडि कसैले सानो असन्तुष्टि पनि राख्न सक्ने अवस्था थिएन । तर गलत निर्णय भयो भन्ने अनौपचारिक छलफल धेरै भयो’, अर्का एक पदाधिकारी भन्छन् ।

सार्वजनिक रुपमा चाहिँ दुर्गा प्रसाईँलाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट ओलीको चर्को आलोचना भएको थियो । हुनपनि नरेश खरेल, टंक कार्की, धर्मराज निरौला, गोमा देवकोटा जस्ता नेताहरुप्रति अनुदार देखिएका ओलीले प्रसाईँलाई उनकै चाहना अनुसार पद दिएका थिए । जबकी पञ्चायती शासकबाट ऋषि देवकोटा आजदको हत्या भएपछि निरन्तर राजनीतिमा रहेकी गोमा देवकोटाले केन्द्रीय सदस्य बस्छु भन्दै महाधिवेशन हलबाटै अनुनय गरेकी थिइन् ।

झापा विद्रोहपछि ओली भन्दा धेरै (ओली १४ वर्षमा जेलमुक्त भए, तर नरेश खरेल १७ वर्ष बसे) जेल जीवन बिताएका नरेश खरेल, पञ्चायत विरोधी विद्यार्थी आन्दोलनका नेता टंक कार्कीहरुको नाम त केन्द्रीय सदस्यमा मत हाल्न नमिल्ने सूचीमै राखेर प्रचार गराइएको थियो ।

तर प्रसाईँप्रति ओलीको माया यतिमै टुंगिएन । २ पुस २०७८ मा बसेको केन्द्रीय कमिटी बैठकबाट प्रसाईँ एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुख बने । उक्त विभागका सदस्यहरुसँग पनि प्रसाईँको खासै राम्रो सम्बन्ध थिएन । ‘दुर्गा प्रसाईँको स्वभाव केपी ओली बाहेक अरुलाई नगन्ने थियो, हामी पनि उनलाई गन्नुपर्ने थिएन’, उक्त विभागका एक नेता भन्छन् ।

यसरी रातारात एमालेमा राजनीतिक हैसियत बनाइरहेका दुर्गा प्रसाईँ संघीय सांसद बन्नेतिर लागे । प्रसाईँको चाहना झापा–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बन्ने थियो । यो क्षेत्रमा एमालेसँग प्रतिस्पर्धी मत रहेको र आफ्नो धार्मिक–सामाजिक मत थपिँदा जितिने दुर्गा प्रसाईँको हिसाब थियो ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा वडाध्यक्षमा एमालेका उम्मेदवारहरुले २०,९९४ मत पाएका थिए भने कांग्रेससँग २५,१७९ र राप्रपासँग २१,४६६ मत थियो । कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, बिर्तामोड नगरपालिकाको वडा नम्बर १० र भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्मको २८ वडा रहेको यो क्षेत्रमा दुर्गा प्रसाईँले चुनाव लक्षित गतिविधि समेत गर्न थालेका थिए । आफू नजिक रहेका मानिसहरू ओलीबाटै एमाले प्रवेश गराएका थिए ।
तर झापा–५ राप्रपाको मत लिन यो क्षेत्र राजेन्द्र लिङदेनलाई छोड्नुपर्ने ओलीको बाध्यता र झापाका नेताहरुले पनि प्रसाईँलाई उम्मेदवार बनाउन नमानेपछि उनको चाहना पुरा भएन ।

यद्यपि झापा–३ बाट दुर्गा प्रसाईँको नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस पनि भयो । तर प्रसाईँले खोजेस्तो एक्लो उम्मेदवारको सिफारिस हुन सकेनन् । मोहन रेग्मी, बसन्त बानियाँ, हरि राजवंशीहरुको नाम अघिल्लो पंक्तिमा राखेर दुर्गा प्रसाईको नाम सातौं नम्बरमा सिफारिस गरिएको थियो ।

क्षेत्रीय कमिटीको यस्तो निर्णयप्रति असन्तुष्ट प्रसाईँले जिल्ला कमिटी बैठकमा चर्को आक्रोश पोखेका थिए । उक्त बैठकमा सहभागी एक नेताका अनुसार, त्यसबेला प्रसाईँले भनेका थिए, ‘मैले हजारौं सिरक बाँडिसके, हजारौं घर बनाए । तर नाम सातौ नम्बरमा छ, अब मलाई चाहिएन ।’

केन्द्रीय मनोनीत हुँदैमा प्रसाईँ सांसद पदको सर्वसहमत उम्मेदवार झापा–३ बाट सिफारिस हुने संभावना पनि थिएन । किनकि संविधानसभाको सदस्य भइसकेका हरि राजवंशीदेखि स्थानीय कमिटीमा झिजेका बसन्त बानियाँहरु त्यो क्षेत्रमा छँदैथिए ।

झापा–३ मा नमिलेपछि प्रसाईँले अर्को क्षेत्र (झापा–२) भए पनि उम्मेदवार बन्न चाहे । तर त्यहाँ देबराज घिमिरेको (अहिलेका सभामुख) बलियो दाबी थियो । जीन्दगीभर साथ दिने घिमिरेको दाबी हुँदा अग्नि खरेलले (झापा–१) समेत क्षेत्र फेर्नुपरेको थियो । दुर्गा प्रसाईँको दाबी छ कि ओलीले १ मा पनि जान भनेका थिए । एमाले नेताहरु भन्छन्, रवीन कोइरालालाई रोक्न चाहेका ओलीले भने पनि होलान् । तर क्षेत्र नम्बर २ मा देवराजलाई टिकट दिएपछि अग्नि खरेल १ मा गए, ४ मा एलपी साँवा भए । कतैपनि उम्मेदवार बन्न नपाएर रुस्ट प्रसाईँले आमचुनावको तीन महिनाभित्रै (१ फागुन २०७९ मा) पूर्वराजा ज्ञानेन्द्रसहित उनको परिवार सहभागी गराएर सार्वजनिक कार्यक्रमकै आयोजना गरे । यसको १२ दिनपछि एमाले केन्द्रीय कमिटीले केन्द्रीय सदस्यबाट हटायो । एमालेले हटाएपछि हिन्दूवादी संघसंस्था र वित्तीय संस्थाको चर्को ब्याजमा परेका ऋणिहरुलाई लिएर प्रसाईँ राजा फर्काउने भन्दै हिँडिरहेका छन् ।

प्रसाईँको चौथो प्रयोग

दुर्गा प्रसाईँलाई नजिकबाट चिन्ने झापालीहरुका भनाइमा, उनी अहिले राजावादी–हिन्दूवादीहरुको चौथो कार्ड प्रयोग गरिरहेका छन् । आफ्नो व्यक्तिगत÷व्यापारिक स्वार्थ पूरा गर्न एमाले भन्दा अगाडि प्रसाईँ कांग्रेस र माओवादी बनेका थिए ।

पार्टीहरुलाई उपयोग गरेरै प्रसाईँ अहिलेको हैसियतमा आइपुगेको उनको लामै सम्बन्ध गरेका एक स्थानीय बताउँछन् । ती स्थानीयका अनुसार, दुर्गा प्रसाईँका बुवा कृष्णप्रसाद तेह्रथुमबाट झापा झरेका थिए, कृष्णप्रसाद धनाढ्य थिएनन् । ‘दुई÷चार बिगा जमिन ठूलो कुरा होइन । भलै अहिले मूल्य केही बढ्यो होला । तर त्यसैलाई धनाढ्य भन्न सकिदैन’, ती स्थानीय भन्छन् ।

उनका अनुसार, प्रसाईँले अहिले आफ्नो भनेर प्रचार गरिरहेको सम्पत्तिको जग ससुरालीतर्फबाट प्राप्त भएको हो । ससुरालीको सम्पत्ति पनि प्रसाईले मुद्दा मामिलाबाट पकडमा लिएका थिए । ससुरा भगवान गिरीका श्रीमतीहरू मध्ये चन्द्रमाया तर्फका कान्छी छोरी दुर्गा प्रसाईँले विहे गरेका छन् । विहेपछि प्रसाईँले सालो रामबाबु गिरी र जेठी सासू इन्दिरा गिरीलाई समेत लिएर अंश मुद्दा लडे ।

त्यो मुद्दा आफ्नो पकडमा पार्न प्रसाईँ माओवादी समर्थक भए । त्यसअघि गिरी कांग्रेस समर्थक थिए । तर सशस्त्र विद्रोह गरिहेको माओवादी समर्थक भएपछि अंश मुद्दा प्रभावित तुल्याउन सफल भए । अंश मुद्दाका विपक्षी प्रेम गिरी र नवीन गिरीलाई त्रसित बनाउन माओवादीबाट कुटपिट भयो । द्वन्द्वकै बेला नवीनलाई उनकै पेट्रोल पम्पमा खुकुरी प्रहार भएको थियो । माओवादी समर्थक बनेर मुद्दा लडिरहेका प्रसार्ईँकै पक्षमा अदालतबाट पनि अंश मुद्दाको फैसला भयो । त्यसपछि देश छोडेका प्रेम र नविन आजभोलि अस्ट्रेलिया बस्छन् ।

अंश मुद्दा जितेपछि सासु–ससुराको नामबाट बीएण्डसी (भगवान गिरी र चन्द्रमाया गिरी) अस्पताल चलाउनतिर लागे । तर त्यसैबेला डा.गोविन्द केसीले लगातार अनशन बसेका कारण बीएण्डसीले सम्बन्धन पाउन सकेन । त्यो अस्पताललाई सम्बन्धन दिलाउन अनेक प्रयत्न गरिरहेका दुर्गा प्रसाईँको राजनीतिक भेटघाट मुख्य दलका शीर्ष नेतृत्वसम्म पुग्यो । विशेषगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसम्मै उनी पुगे ।

०७४ को चुनाव अगाडि आफ्नै निवासमा ओली र प्रचण्डलाई सँगै राखेर खाना खाएको तस्वीर सार्वजनिक भएपछि दुर्गा प्रसाईँ आमवृत्तमा चिनिए । त्यो चुनावपछि एमाले र माओवादीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ओली–प्रचण्डको ब्यापारिक साँठगाँठको चर्चा चल्दा प्रसाईँलाई धेरैले चिने । तर नेकपाको एकता ७ पुस २०७७ मा पुगेर टुंगियो । त्यही बेला प्रसाईँले प्रचण्ड छोडेर प्रधानमन्त्री रहेका ओली रोजे । ‘हजुरबा’ सम्बोधन गर्दै त्यसबेला प्रसाईँले ओलीलाई महेन्द्रपछिको नेता भनेर समेत प्रशंसा गर्थे ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?