+
+

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारका लागि सविता उप्रेती छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते १२:४६

९ मंसिर, काठमाडौं । अटिजम भएका बालबालिकाका लागि काम गरेकी सामाजिक अभियान्ता सविता उप्रेती भारतीय मानव अधिकार परिषदबाट अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट भएकी छन् ।

उक्त पुरस्कार आगामी डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा भारतको नयाँदिल्लीमा आयोजना हुने १३ औँ अन्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा प्रदान गरिने छ ।

उप्रेतीले मानव अधिकार, शान्ति, करुणाका साथै बहुआयामिक मानवीय सेवामा अथक र निस्वार्थ रूपमा काम गरेको, युवा पुस्तालाई सामाजिक सेवामा प्रेरित गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

ठूलो व्यक्तिगत जोखिम उठाएर र त्याग गरेर शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला, सशक्तिकरण तथा बालबालिकाको सेवामा काम गर्ने विश्वभरका महिला यो पुरस्कारका लागि योग्य मानिन्छन् । यो पुरस्कार मानव अधिकार परिषद्को सबैभन्दा प्रतिष्ठित मानव अधिकार पुरस्कार हो ।

सबिता उप्रेतीले १३ वर्षदेखि बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) स्थापना गरी अटिजम बालबालिकाहरुको सेवामा काम गर्दै आएकी छन् । हाल यस संस्थाको काठमाडौंको नरेफाँट, गोठाटार र भक्तपुरको ताथलीमा शाखा छ । ती तीन ठाउँमा गरी ६० जना बालबालिका र किशोरकिशोरीलाई विशेष शिक्षा र थेरापी सेवा प्रदा नगर्ने गरिन्छ ।

जागिरको क्रममा फिल्डमा जाँदा अटिजम भएका बालबालिकाहरुलाई घरमा साङ्लो र डोरीले बाधेर राखेको नाजुक अवस्था देखेर सविताले त्यस्ता बालबालिकाको सेवामा काम गर्ने प्रेरणा पाएकी थिइन् । उप्रेतीले नेपाल सरकारबाट जनसेवा श्री पदक (समाज सेवामा) र युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कार (समाजसेवा र शिक्षा) पनि पाइसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?