+
+

नागरिकलाई मोदीको आग्रह- विदेशमा विवाह नगर, स्वदेशी उत्पादन मात्र किन

रासस रासस
२०८० मंसिर ११ गते ८:२५

११ मंसिर, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको ‘भोकल फर लोकल’ अभियानलाई अगाडि बढाउँदै आइतबार नागरिकहरूलाई विदेशमा विवाह समारोह आयोजना नगर्न आग्रह गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मासिक रेडियो कुराकानी ‘मन की बात’को पछिल्लो संस्करणमा देशवासीलाई सम्बोधन गर्दै विवाहका लागि किनमेल गर्दा भारतमा बनेका मात्र उत्पादनलाई महत्व दिन आग्रह गरेका छन् ।

उनले भने, ‘विवाहको मौसम पनि सुरु भइसकेको छ । केही व्यापारिक सङ्गठनहरूले अनुमान गरेअनुसार यो विवाहको मौसममा लगभग पाँच लाख करोड भारतीय रूपैयाँको व्यापार हुन्छ ।’

स्वदेशमै विवाहको व्यवस्था गर्न सके गरिब जनताले केही न केही सेवा गर्ने अवसर पाउने उनको भनाइ थियो । ‘विवाहका लागि किनमेल गर्दा तपाईंहरू सबैले भारतमा बनेका उत्पादनलाई मात्र महत्व दिनुपर्छ,’ उनले भने ।

पछिल्लो समय केही केही परिवारले विदेश गएर विवाह गर्न नयाँ परिवेश सिर्जना गरिरहेका उल्लेख गर्दै उनले प्रश्न गरे, ‘के यो आवश्यक छ ? यदि हामीले भारतीय भूमि वा स्वदेशी जनको बीचमा विवाहको उत्सव मनायौं देशको पैसा देशमै रहनेछ । देशका मानिसहरूले तपाईंको विवाहमा कुनै न कुनै सेवा प्रदान गर्ने अवसर पाउनेछन् । के तपाईं ‘भोकल फर लोकल’ को यो अभियानको सकारात्मक प्रभाव अनुमान गर्न सक्नुहुन्छ ? हामीले आफ्नै देशमा किन यस्तो विवाह समारोह गर्दैनौं ?’

सन् २०२३ मा लगातार दोस्रो वर्ष दीपावलीको अवसरमा नगद भुक्तानीमार्फत केही सामान किन्ने प्रचलन क्रमशः घट्दै गएको प्रधानमन्त्री मोदीको भनाइ थियो । ‘यसको अर्थ, मानिसहरूले अहिले धेरै भन्दा धेरै डिजिटल भुक्तानी गरिरहेका छन्,’ उनले भने ।

मुम्बईमा भएको २६/११ को आतङ्कवादी हमलाको १५ औं वर्षगाँठको अवसरमा प्रधानमन्त्री मोदीले भने, ‘हामी २६ नोभेम्बरको घटनालाई कहिल्यै भुल्न सक्दैनौं । यही दिन देश सबैभन्दा नृशंस आतङ्ककारी आक्रमणको चपेटामा परेको थियो । ‘आतङ्ककारीहरू’ले मुम्बईमा मात्र होइन, देशभरि नै आतङ्क फैलाएका थिए । तथापि, हाम्रो संयुक्त धैर्य र लचिलोपनले हामीलाई आतङ्ककारीहरूले दिएको अग्निपरीक्षाबाट फेरि उठ्न र पूर्ण शक्ति र सङ्कल्पका साथ आतङ्कलाई परास्त बनायो ।’

संविधान दिवसका अवसरमा देशवासीलाई बधाई दिँदै उनले संविधानको पहिलो संशोधनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले भने, ‘देशको बदलिँदो समय, परिस्थिति र आवश्यकतालाई ध्यानमा राख्दै, पूर्ववर्ती सरकारहरूले (केन्द्रमा) विभिन्न समयमा (संविधानमा) संशोधनहरू गरे । संविधानको पहिलो संशोधन वाक् तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने सँग सम्बन्धित थियो र यो हाम्रो दुर्भाग्य हो ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?