+
+

निक्सन-माओ भेट गराउन किसिन्जरका गुप्त १७ घण्टा

१०० वर्षको उमेरमा आज बिहीबार बितेका हेनरी किसिन्जरप्रति श्रद्धाञ्जलीसँगै संसारैभरि सकारात्मक र नकारात्मक दुवै कोणबाट बहस भइरहेको छ । उनलाई संसारको सामू चिनाउने ठूलो परिघटना निक्सन-माओ भेटबारे यो सामग्री :

एजेन्सी एजेन्सी
२०८० मंसिर १४ गते १८:३१
माओ त्सेतुङ र हेनरी किसिन्जर

एजेन्सी । अमेरिकी कूटनीतिज्ञ जोन हन्ट्सम्यानका पिता ह्वाइटहाउसमा काम गर्थे । पिता २४ घण्टा त्यहीं काम गर्ने भएकाले उनी बिदाको समयमा पितालाई भेट्न पुग्ने गर्थे । ठूलो भएपछि उनी रूस र चीनको राजदूत भएर ह्वाइटहाउसमा रिपोर्टिङ गर्न गए । सानामा उनी सोडाको चुस्की लगाउन पुग्थे ।

१९७१ अप्रिलमा हन्ट्सम्यान ह्वाइटहाउस पुगेका थिए । तिनै हन्ट्सम्यानले ११ वर्षको उमेरमै हेनरी किसिन्जर गुप्त रूपमा चीन जान लागेको थाहा पाएका थिए । उनलाई यसबारे किसिन्जरले नै बताएका थिए । त्यसबखत किसिन्जर राष्ट्रपति रिचर्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए ।

त्यस बखतको स्मृतिमा हन्ट्सम्यानले भनेका छन्, ‘म हेनरी किसिन्जरको कार्यालयमा पुग्दा उनी निकै व्यस्त थिए । त्यहाँ प्याक गरेका झोलाहरू थिए । ए भाइ, तिमी मेरो झोलाहरू सडकसम्म पुर्‍याइदिन सहयोग गर्छौं’, हेनरीले हन्ट्सम्यानलाई प्रश्न गरेका थिए ।

हेनरीको झोला बोकेर हन्ट्सम्यानले सडक नजिक झारिदिए । किसिन्जरको कार नजिकै पुग्नेवित्तिकै हन्ट्सम्यानले उनी जान लागेको गन्तव्यबारे जिज्ञासा राखेका थिए । उनको जिज्ञासामा किसिन्जरले भनेका थिए, ‘म चीन जाँदैछु । यो निकै गोप्य छ कसैलाई पनि नभन्नू।’

११ वर्षको उमेरमा हन्ट्सम्यानले किसिन्जरको भ्रमणको महत्व थाहा पाउने कुरै भएन । चिनियाँ कम्युनिस्ट पार्टीले शासन सत्ता हातमा लिएपछि चीन पुग्ने पहिलो उच्चपदस्थ अमेरिकी अधिकारी किसिन्जर नै थिए ।

किसिन्जरलाई अमेरिकाले नै गुप्त रूपमा चीन पुर्‍याउन चाहेको थियो । यसका निम्ति उसलाई मित्रराष्ट्रको खाँचो थियो । त्यसैले उसले पहिले किसिन्जरलाई पाकिस्तान उतार्‍यो । पाकिस्तानको चीन र अमेरिका दुवैसँग राम्रै सम्बन्ध थियो ।

किसिन्जरलाई चीन पुर्‍याउनुअघिसम्म बेइजिङ वासिंगटन सम्बन्ध एकदमै चिसिएको थियो । चीन र अमेरिका दुवैले एकअर्काका गतिविधि र घटनाक्रमबारे पाकिस्तान मार्फत नै सन्देश पठाउँथे ।

चीन र अमेरिकाको सम्बन्धलाई बृहत् बनाउनका निम्ति विशेष प्रतिनिधि नपठाएसम्म सम्बन्ध थप अर्थपूर्ण नहुने आकलन गर्दै निक्सनले किसिन्जरलाई चीन उतारेका थिए ।

सन् १९७१ मा निक्सन निकै अधीर थिए । ‘हामीले अहिले ठूलो जुवा खेल्न लागेका छौं । यसका निम्ति हामीसँग निकै कम समय छ । अलमलका लागि कत्ति पनि बेला छैन’, निक्सनले किसिन्जरलाई भनेका थिए ।

सन् १९७१ मा पाकिस्तान मार्फत चीनले अमेरिकामा एक सन्देश पुर्‍यायो । चीनले बेइजिङमा अमेरिकी प्रतिनिधिको स्वागत गर्न आफू तयार रहेको सन्देश पठाएको थियो । त्यही सन्देशले किसिन्जरको बेइजिङ यात्रा सम्भव पारेको थियो ।

अमेरिकन प्रतिनिधिको चिनियाँ भ्रमणबारे बाहिरका मान्छेले भेउ नै नपाउन् भन्ने रिचर्ड निक्सनको मनसाय थियो । किसिन्जर चिनियाँ मामिला जानकार त थिएनन् तर उनैले अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र माओ त्सेतुङबीच भेट गराएका थिए ।

डिक क्याभेटसँगको टेलिभिजन अन्तर्वार्तामा किसिन्जरले भनेका थिए–’मलाई चीन मामिलाबारे केही पनि जानकारी थिएन । गुप्त मिसनका लागि मसँग कुनै विशेष योग्यता थिएन । चीन मामिलाबारे म अनभिज्ञ रहेको कुरा सत्य हो ।’

पाकिस्तानहुँदै चीन जानका निम्ति उनले जोसेफ एस फर्लाण्डको सहायता लिएका थिए । एफबीआईका पूर्व एजेन्ट रहेका उनी पाकिस्तानका लागि राजदूत समेत भएका थिए । किसिन्जरले फर्लाण्डलाई पाकिस्तानबाट लस एन्जलस आउन निर्देशन दिए र फर्लाण्ड त्यहाँ पुगेपछि किसिन्जरले उनलाई त्यहाँ रहेको निजी विमान मार्फत पाम स्प्रिङ आउन भने ।

जासुसी संयन्त्रका एजेन्ट फर्लाण्डले किसिन्जरले व्यवस्था मिलाएको निजी विमानबारे जानकारी लिन खोजे पनि उनले कुनै मेसो पाएनन् । पाम स्प्रिङ पुग्ने वित्तिकै किसिन्जरले फर्लाण्डलाई स्वागत गरे ।

पाकिस्तानबाट लस एन्जलस पुगेका हेनरी फर्लाण्डलाई किसिन्जरले भने ‘पृथ्वीको आधा चक्कर लगाएर म यहाँ आइपुगें । तर किन मलाई बोलाइयो भन्ने विषयमा म अझै पनि जानकार छैन’, किसिन्जरसँगको त्यस क्षणको स्मरणमा उनले भने ।

फर्लाण्डको जिज्ञासापछि उनले भने, ‘तिमीले मलाई चीन पुर्‍याउनुपर्‍यो ।’

आश्चर्य मानेर फर्लाण्डले भने, ‘के मजाक गरेको यस्तो ?’

किसिन्जरले फर्लाण्डलाई भनेका थिए, ‘मजाक हैन । म गम्भीर छु ।’

किसिन्जरको अनुरोधपछि फर्लाण्डले कसैले सुइँको नपाउने गरी उनलाई चीन पुर्‍याए । यसरी पाकिस्तानहुँदै किसिन्जर चीन पुगेका थिए । हेनरी किसिन्जरलाई कसैले नचिनुन् भन्नका निम्ति फर्लाण्डले उनको हुलिया बदलिदिएका थिए ।

किसिन्जरले फर्लाण्डलाई आफ्नो चीन भ्रमणबारे फर्लाण्डका हाकिम अमेरिकी विदेश मन्त्रीलाई समेत जानकारी नदिन स्पष्ट निर्देशन दिएका थिए । ‘यो मिसन यति गुप्त थियो कि मलाई लाग्छ ह्वाइटहाउसका उच्चपदस्थसँग किसिन्जर केही फुत्किने डरले निकै लामो समय बोलचाल नै गरेनन्’, फर्लाण्ड भन्छन् ।

कसैलाई सुइँको नदिने गरी भ्रमण गर्ने भने पनि किसिन्जर चीन जानु ठीक अघि भने अमेरिकामा सनसनी मच्चाउने एक प्रतिवेदनको खुलासा भयो । त्यस प्रतिवेदनमा भियतनाम युद्धमा अमेरिकी संलग्नताको जिकिर गरिएको थियो । पूर्व प्रशासनले वर्तमान प्रशासनलाई अप्ठेरोमा पार्ने अभिप्रायले यो प्रकरण बाहिर ल्याएको थियो ।

प्रकरण बाहिर आउने वित्तिकै कार्यालयमा किसिन्जरले टेबल बजारेका थिए । निक्सन पनि यो प्रकरण बाहिरिएपछि निकै आवेशमा आएका थिए । यही प्रकरणपछि सरकारी कुनै संयन्त्रमा वा सहकर्मीमाथि निक्सनको भरोसा टुटेको थियो ।

आफूले आफ्ना आन्तरिक संयन्त्रलाई विश्वास नगरे झैं चीनले पनि आफूलाई पनि अविश्वास गर्ने त्रासमा अमेरिका थियो ।

भियतनाम प्रकरण सार्वजनिक भएको कैयौं सातापछि किसिन्जरलाई चीन पठाउने निधोमा रिचर्ड निक्सन पुगेका थिए । १९७१ अप्रिलमा किसिन्जर अमेरिका उत्रिए । उनले आफू बिरामी  परेको बहाना गरे । त्यसबेलासम्म उनले चीन पुर्‍याउने सेटिङ मिलाइसकेका थिए ।

१९७१ अप्रिलमा बिहान ३.३० बजे पाकिस्तानी कूटनीतिज्ञले किसिन्जरलाई विमानस्थल पुर्‍याएका थिए । किसिन्जरले आफ्नै नियोगका ड्राइभरलाई समेत विश्वास गरेका थिएनन् ।

किसिन्जर प्लेनमा पुग्ने वित्तिकै उनले क्याबिनमा चार जना चिनियाँ देखे । विमानमा चिनियाँ किन थिए र उनीहरू कहाँ जाँदैछन् भन्ने भेउ कसैले पाएका थिएनन् । ‘वयस्क हुँदा समेत बालापनको केही गुण अनुभव गरेझैं भयो । सबै कुरा नयाँ थियो र मैले ती कुरा त्यहाँ पुग्नुअघि अनुभव नै गरेको थिइनँ’, भ्रमणको स्मरणमा टेलिभिजन अन्तर्वार्तामा किसिन्जरले भनेका छन् ।

किसिन्जरलाई चीनले ६०० वर्ष पुरानो दरबार र गोलो बगैंचामा पुर्‍याएको थियो । पहिले त चिनियाँ पनि किसिन्जरको भ्रमण गोप्य राख्ने चुनौतीका कारण दबाबमा थिए । के चीन आउँदा अमेरिकी लज्जित भएर गोप्य राख्न खोजेको त होइन भन्ने त्रासमा चिनियाँ पक्ष रहेको किसिन्जरले बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री चाउ एनलाइसँगको भेट स्मरण गर्दै किसिन्जरले भनेका थिए, ‘हामीले दुई दशकसम्म उनलाई वैचारिक शत्रु ठानिरह्यौं तर उनी निकै बौद्धिक र मिजासिलो पाएँ । मैले भेटेको बुद्धिमानी मानिसमध्ये उनी पनि थिए ।’

त्यो भ्रमण निकै सफल भएको किसिन्जरले बताएका थिए । किसिन्जरले त्यसबखत चीनसँग ताइवान मामिलाबारे छलफल गर्न चाहेका थिए । तर ताइवान मामिलाबारे प्रधानमन्त्री चाउले कुनै संवाद नै गरेनन् । किसिन्जरले त्यहाँ भियतनाम युद्धबारे पनि छलफल गरे । तर किसिन्जरले भियतनाम युद्धमा अमेरिकालाई चीनले नसघाउने स्पष्ट जवाफ पाए ।

१७ घण्टाको वाद-प्रतिवादपछि त्यहाँ दुई पक्षीय समझदारी भयो । ‘लामो रस्साकस्सीपछि हामी एउटा सहमतिमा पुग्यौं माओ र निक्सनलाई भेट गराउने’, उनले भनेका थिए ।

त्यसपछि विमानबाटै उनले अमेरिका सन्देश पठाए- ‘युरेका ।’

यो सन्देशले सबै खुशी हुनेवाला पक्कै थिएनन् । चीनसँगको नवीन सम्बन्धबारे रक्षा मन्त्रालय सशंकित थियो । किनभने रक्षा मन्त्रालयलाई किसिन्जर र निक्सनले कुनै सुइँको नै दिएका थिएनन् ।

किसिन्जर भ्रमणबाट फर्किएलगत्तै प्रशासनिक काम गर्ने एक कर्मचारीले उनको ब्रिफकेसबाट डायरी चोरे । चोरीबारे जानकारी पाएलगत्तै उनले बैठक बोलाएर भने, ‘एक सामान्य कर्मचारीलाई मेरो गोप्य डायरी चोर्ने साहस कसैको ढाडस विना कसरी सम्भव हुनसक्छ ?’

पेन्टागनले यो काम गराए पनि उनको डायरीको विषयवस्तु भने लिक भएन । त्यहाँ उनले चीनसँग रहेको मतभिन्नताबारे कसरी संवाद गर्ने भनेर उल्लेख गरेका थिए ।

किसिन्जर फर्किएलगत्तै रिचर्ड निक्सनले टेलिभिजन वार्तामा अर्को महिना आफू चीन जान लागेको खुलासा गरे । असमझदारी बढिरहेका बखत चीनका प्रमुखसँग वार्ता निक्सनका लागि निकै ठूलो उपलब्धि थियो । किसिन्जरको ११ वर्षमा भएको भेटको स्मरणमा त्यसको पाँच दशकपछि हन्ट्सम्यानले भनेका थिए, ‘५० वर्षअघि नै नेपोलियनले चीनका बारेमा वास्ता नगर्न दिएको सल्लाहलाई निक्सनले चुनौती दिए’, उनले भने ।

माओ त्सेतुङसँग भेट गर्दै अमेरिकी राष्ट्रपति रिचर्ड निक्शन

रिचर्डले टेलिभिजन वार्तामा खुलासा गरेको महिनौंसम्म पनि चीनले उनलाई बोलाएन । सन् १९७१ अप्रिलमा अर्को महिना चीन जाने खुलासा गरेका रिचर्डलाई चीनले करिब एक वर्ष कुरायो ।

माओ र रिचर्डको भेट सन् १९७२ फेब्रुअरीमा भएको थियो । फेब्रुअरी २१ मा बेइजिङ पुगेका निक्सन  एक सातासम्म बसेका थिए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?