+
+

तुलसी सहकारीका अध्यक्ष शर्मालाई प्रहरीले विराटनगर ल्यायो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १६:३२

१५ मंसिर, विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले विराटनगर ल्याएको छ ।

जिल्ला अदालत मोरङमा रहेकोे सहकारी ठगी मुद्दाका प्रतिवदी रहेका शर्मालाई बिहीबार राति विराटनगर ल्याएर शुक्रबार अदालतमा बुझाएको हो । अदालतले तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष शर्मालाई कारागार चलानको आदेश दिएको छ ।

‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ मुद्दामा फरार रहेका शर्मालाई शुक्रबार प्रहरी अदालतमा उपस्थीत गराएपछि अदालतले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालले थुनामा पठाउने आदेश दिएका हुन् । अदालतले थुनामा पठाउने आदेश दिएपनि शर्मालाई कैलाली जिल्ला अदालत धनगढी पठाउने तयारी गरेको छ । कैलालीमा अर्काे मद्दा भएका कारण त्यहाँ पठाउन लागेको हो । कैलालीपछि दाङ लैजाने तयारी छ । दाङमा पनि ठगीको मुद्दा छ ।

सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेको सहकारी १ फागुन २०७९ देखि बन्द छ । ठगी मुद्दामा गत २४ चैतमा जिल्ला अदालत मोरङले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सहकारी सचिव न्यौपाने अध्यक्ष शर्माकी पूर्व श्रीमती हुन् । सहकारी संकटमा परेपछि उनीहरुको सम्बन्ध विच्छेद भएको थियो ।

२०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालनको जिम्मा २०७२ सालमा केदारनाथ शर्माले लिएका थिए । विराटनगरको विराट नर्सिङहोम चोकमा कार्यालय खोलेर उनले झापाको दमक, उदयपुरको गार्इघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय खोलेका थिए । मोरङको लेटाङमा शाखा कार्यालय खोल्ने तयारी थियो ।

मुख्य कार्यालय विराटनगर र तीन वटा शाखा कार्यालयमा २१ हजार १ सय ५४ जना बचतकर्ताले एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत संकलन गरी सञ्चालक फरार भएका थिए । फरार भएका अध्यक्ष शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको थियो ।

सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार १ सय ७८ वटा निक्षेप खाता छन् । दमक शाखामा ६ हजार ९६८, गाइघाट शाखामा ३ हजार ३ सय ३४, गोलबजार शाखामा ६७४ सहित २१ हजार १५४ वटा खाता छ ।

तुलसी सहकारीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखामा ६० करोड ७२ लाख ९३ हजार, गाइघाट शाखामा २३ करोड ६६ लाख ९६ हजार र गोलबजारशाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन गरेको थियो । सहकारी संस्थामा सर्बसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्माले अनाधिकृत रुपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरेका थिए ।

सर्वसाधारणको एक अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ अध्यक्ष शर्माको ६ वटा कम्पनीलाई ऋण लगानी गरेको देखिन्छ ।

सहकारीको कुलपूजी एक अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँ छ । जसमध्ये एक अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ खर्चको हिसाब प्रहरीले अनुसन्धानका क्रममा भेटेको थिएन् ।

सहकारी संकट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?