+
+

साताको सेयर बजार : होटलका लगानीकर्ताले धेरै कमाए, बैंकिङ क्षेत्रकाले गुमाए

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १७:५६

१५ मंसिर, काठमाडौं । यो साताको सेयर बजार एक दिन बढ्दा चार दिन घट्यो । पहिलो दिन आइतबार ४७ अंक बढेर १९०७ विन्दुमा पुगेको नेप्से बाँकी ४ दिन घट्यो । सोमबार ११, मंगलबार २ तथा बुधबार र बिहीबार समान १८ अंकले घटेसँगै नेप्सेले १८५८ विन्दुमा झरेर यो सातालाई बिदा गरेको छ ।

गत साता १८६० विन्दुमा रहेको नेप्से यो साता थप २ अंकले घट्न पुग्यो । समग्र साताभर नेप्सेको प्रदर्शन सन्तोषजनक हुन सकेन भने कारोबार रकममा सुधार देखिएको छ । साताभरका ५ कारोबार दिनमा कुल ७ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो । गत साता ४ कारोबार दिनमा ४ अर्ब ४६ करोडको कारोबार भएको थियो ।

यो साता बैंकिङ क्षेत्रका सेयरधनीलाई मूल्यमा थप नोक्सान पुगेको छ भने होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन् । यो साता होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.७२ प्रतिशतले बढेको छ भने वाणिज्य बैंक समूह सबैभन्दा धेरै १.१९ प्रतिशत घटेको छ ।

होटलमा किन बढ्यो आकर्षण ?

होटल समूहमा जम्मा ६ कम्पनी मात्रै सूचीकृत छन् । सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल, चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटल यस समूहका कम्पनी हुन् । यो साता यी कुनै पनि कम्पनीको मूल्य घटेन । तारागाउँ रिजेन्सीको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो ।

यो वर्षको पहिलो त्रैमासमा अधिकांश होटलहरुको व्यवसाय र नाफा गत वर्षको सोही अवधिको तुलनामा बढेको छ । अर्कोतर्फ अक्टोबर महिनामा सबैभन्दा धेरै १ लाख १७ हजार विदेशी पर्यटक नेपाल आएको अध्यागमन विभागको तथ्यांक छ । नोभेम्बरमा पनि १ लाखभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् भने डिसेम्बर महिना पनि सिजन भएकाले होटल क्षेत्रका लगानीकर्तालाई बिजनेस बढ्ने विश्वास देखिन्छ । त्यसको प्रभाव सेयर मूल्यमा परेको देखिन्छ ।

होटलहरुको बिजनेस बढ्ने आशा भएकाले अरुको तुलनामा होटल क्षेत्र राम्रो देखिएको जय शम्भो इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अजयसिंह थापा बताउँछन् । ‘भोलिको आश, विश्वास र भरोसा नै आजको सेयर बजारमा देखिने हो,’ उनले भने ।

यसको विपरीत वित्तीय क्षेत्रमा उत्साहजनक वातावरण छैन । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा उठाउन नसक्दा निष्क्रिय कर्जा बढ्न गएको छ । यी क्षेत्रका कम्पनीहरुको पहिलो त्रैमासिक वित्तीय विवरणबाट सेयर लगानीकर्ता सशंकित भएका छन् । त्यसो हुँदा होटल तथा पर्यटन क्षेत्रमा आकर्षण बढेको उनको भनाइ छ । ‘बैंकहरुले दिने लाभांश घट्दै गएको छ, यो वर्ष ५/६ वटा बैंकले लाभांश दिन नसक्ने स्थिति छ,’ उनले भने, ‘जसले गर्दा यो क्षेत्रले राम्रो लय समाउन सकेन, तर कोरोना महामारीका बेला संकटमा पुगेका होटलको स्थिति अहिले बलियो बन्दै गइरहेको छ, बिजनेस अझै बढ्ने आशले सेयर मूल्यमा असर परेको हो ।’

बैंकिङ तथा जलविद्युतमा जस्तो होटल तथा पर्यटन समूहको सेयर आपूर्ति उच्च छैन । नेप्सेमा सूचीकृत होटलको संख्या थोरै रहेको र तिनको सेयस आपूर्ति पनि सीमित भएकाले माग बढ्न जाँदा राम्रो मूल्य तय भएको लगानीकर्ताहरु बताउँछन् ।

‘मुख्यतः सेयर संख्याको आपूर्तिले पनि असर पार्छ, अहिले थुप्रै कम्पनीका सेयर बजारमा थपिए तर आपूर्ति थेग्नेगरी माग बढ्न सकेन, यसले गर्दा पनि मूल्य घट्न गएको हो,’ अर्का लगानीकर्ता पिताम्बर खकुरेलले भने । समग्र सेयर बजार नै उच्च आपूर्तिको मारमा परेको उनको भनाइ छ ।

मौद्रिक नीति समीक्षाको पर्खाइमा लगानीकर्ता

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज सेजनको कार्यक्रममा उपस्थित भएका गभर्नर महाप्रसाद अधिकारीले थप केही डेटा संकलन गर्नुपर्ने भएकाले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न ढिलाइ भएको बताए । मौद्रिक नीतिले खासगरी सेयर धितोमा दिइने ऋणको सीमाका बारेमा व्यवस्था गर्ने हुँदा त्यसले सेयर बजारलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने गरेको छ ।

हाल सेयर धितो राखेर लगानीका लागि लिइने कर्जाको अधिकतम सीमा व्यक्तिलाई १५ करोड कायम गरिएको छ भने संस्थाहरुलाई २० करोडको सीमा छ । त्यस्तै सेयर कर्जाको जोखिमभार ५० लाखसम्मलाई १०० प्रतिशत र त्यसमाथिका लागि १५० प्रतिशत कायम गरिएको छ । सेयर धितो मूल्यांकनमा पछिल्लो ६ महिनाको औसत मूल्य कायम गरी ७० प्रतिशतसम्म कर्जा दिन सक्ने व्यवस्था छ । यी व्यवस्थालाई मौद्रिक नीतिको समीक्षाले नै फेरबदल गर्नसक्छ । हालका यी व्यवस्थामाथि परिवर्तन हुन गएमा सेयर बजार प्रत्येक्ष प्रभावित हुनेछ ।

सेयर कर्जामा १५ करोडको सीमा हटाउने र सबै आकारको ऋणमा जोखिम भारलाई १०० प्रतिशत कायम गरी लगानीकर्ताको मनोबल बढाउनुपर्ने थापा बताउँछन् । ‘बजार यति धेरै घटिसकेकाले सेयर कर्जाको जोखिमभार १५० प्रतिशत राख्नुपर्दैन, बजार बढेर जोखिम भएका बेला बढाइएको जोखिमभार अहिले पनि उत्ति नै राख्नु सान्दर्भिक होइन,’ थापाले भने, ‘अर्कोतर्फ अहिले तरलता पर्याप्त भएर अन्तरबैंक दर नै २ प्रतिशतभन्दा तल झरेका बेला सेयर कर्जाको सीमा १५ करोडमा बाँधिरहनुपर्दैन ।’ यी दुई विषयलाई सम्बोधन गर्नेबित्तिकै लगानीकर्ताको सम्पत्ति पनि सुरक्षित हुने र अर्थतन्त्र चलायमान हुन पनि सघाउ पुग्ने उनको भनाइ छ ।

अर्कोतर्फ ब्याजदरले सेयर बजारलाई असर पार्ने भएकाले मौद्रिक नीतिको समीक्षा ब्याजदर घटाउन केन्द्रित हुने आशमा लगानीकर्ता छन् । हाल बैंकिङ प्रणालीमा अधिक तरलता भएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दरहरु घटाउने अपेक्षा लगानीकर्ताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?