+
+

४ महिनामा बैंकहरुको नाफा करिब २३ अर्ब, निष्क्रिय कर्जासँगै प्रोभिजन बढ्दा नाफा घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १९:०५

२ पुस, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २२ अर्ब ६२ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले उक्त नाफा आर्जन गरेका हुन् ।

गत आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाले कुल २७ अर्ब ५९ करोड नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा चालु आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको नाफामा उल्लेख्य गिरावट भएको देखिन्छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकहरुको ब्याज आम्दानीसँगै ब्याज खर्च पनि वृद्धि भएको छ । साथै सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजन रकममा पनि वृद्धि हुँदा बैंक तथा वित्तीय संस्थाको नाफा घटेको हो । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल २ खर्ब २२ अर्ब ६९ करोड ब्याज आम्दानी गर्दा ब्याज खर्च १ खर्ब ५० अर्ब ३१ करोड रहेको थियो ।

कुल ब्याज आम्दानीमा ब्याज खर्च कटाएर आउने खुद ब्याज आम्दानी ७२ अर्ब ३८ करोड रहेको थियो । तर, चालु आर्थिक वर्षमा भने ब्याज आम्दानी सँगै खर्च पनि बढ्दा खुद ब्याज आम्दानी भने खासै बढ्न सकेको देखिंदैन । चालु आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले बैंकको स्रोत परिचालन गरेर २ खर्ब ३५ अर्ब ९२ करोड ब्याज आम्दानी गर्दा निक्षेप लगायत स्रोत संकलनमा १ खर्ब ६३ अर्ब ४३ करोड ब्याज खर्च गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । यसबाट बैंकहरुकको खुद ब्याज आम्दनानी ७२ अर्ब ४९ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ११ करोड मात्रै बढी हो । खुद ब्याज आम्दानी बढ्न नसक्नु र सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन उल्लेख्य रुपमा बढ्दा बैंकहरुको नाफा नै प्रभावित बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको भारित औसत अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशतमा घटाउने निर्णय गरेको थियो । जसअनुसारका २०७९ पुससम्म औसत ४.४ प्रतिशत कायम गर्न पाउने स्प्रेड दर चैतमा ४.२ प्रतिशत र असारमा ४ प्रतिशत कायम भएको छ । गत वर्षको तुलनामा स्प्रेड दर ०.४ प्रतिशत विन्दुले घटाउनु पर्दा बैंकहरुको ब्याज आम्दानी प्रभावित बन्न पुग्यो । अर्कोतर्फ निष्क्रिय कर्जा अनुपात बढेसँगै बैंकहरुको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभजिन रकम पनि बढेको छ । यसले नाफा घटाएको हो । गत आवको कात्तिकसम्म सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १६ अर्ब ५० करोड मात्रै रहेकोमा चालु आवको सोही अवधिमा आउँदा ३१ अर्ब ६३ करोड पुगेको छ ।

२०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात १.९८ प्रतिशत र कुल कर्जामा सम्भाविक कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन २.६३ प्रतिशत थियो । २०८० कात्तिकमा आउँदा निष्क्रिय कर्जा अनुपात बढेर ३.६६ प्रतिशत र कुल कर्जामा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन बढेर ३.८४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले असल वर्गमा वर्गीकरण भएको कजामा १.२५ प्रतिशत, सूक्ष्म निगरानीमा रहेको कर्जामा ५ प्रतिशत, कमसल वर्गमा वर्गीकरण भएको कर्जामा २५ प्रतिशत, शंकास्पदमा वर्गीकरण भएको कर्जामा ५० प्रतिशत र खराब कर्जामा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । भाखा नाघेको १ महिनादेखि ३ महिनासम्मको कर्जालाई सूक्ष्म निगरानीमा राख्नुपर्ने हुन्छ । यस्तै ३ महिनादेखि ६ महिनासम्मको कर्जालाई ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल ६ महिनादेखि १ वर्षसम्मको भाखा नाघेको कर्जालाई शंकास्पद र भाखा नाघेको १ वर्ष भन्दा बढी भएपछि निष्क्रिय वर्गमा वर्गीकरण गर्नुपर्ने हुन्छ । बैंकहरुले वित्तीय विवरण प्रकाशित गर्दा ३ महिना भन्दा सबै भाखा नाघेको कर्जालाई निष्क्रिय कर्जा अनुपातमा लेखाङ्‍कन गर्नुपर्ने हुन्छ ।

कुल २२ अर्ब ६६ करोड नाफा आर्जन गर्न बैंकहरुको ७ खर्ब ५१ ऋण ८४ करोड पूँजीकोष परिचालन भएको छ । कात्तिक समान्तमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी ४ खर्ब ३२ अर्ब १९ करोड जगेडा कोषमा १ खर्ब ४८ अर्ब ४१ करोड, सञ्चित मुनाफा १२ अर्ब ९५ करोड र अन्य रिजर्भ १ खर्ब ५८ अर्ब २९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंकहरुको नाफा २० अर्ब ७३ करोड हुँदा विकास बैंकहरुको १ अर्ब ६२ करोड र वित्त कम्पनीहरुको २६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुको कुल पूँजीकोष ६ खर्ब ७३ अर्ब ८० करोड रहेको छ । जसमध्ये चुक्ता पूँजी ३ खर्ब ७४ अर्ब ५८ करोड, जगेडा कोष १ खर्ब ३५ अर्ब ६६ करोड सञ्चित मुनाफा १५ अर्ब ६७ करोड र अन्य जगेडा कोषमा १ खर्ब ४५ अर्ब ५८ करोड रहेको छ ।

वाणिज्य बैंकमा कृषि विकास बैंकले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गर्दा १९ वटा बैंक भने नाफामा रहेको छन् । नबिल बैंकले करिब २ अर्ब १७ करोड मुनाफा आर्जन गर्दा, ग्लोबल आईएमई बैंकको १ अर्ब ९५ करोड, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८७ करोड नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ । यस्तै प्राइम कमर्सियल बैंकको १ अर्ब ५३ करोड, हिमालयन बैंकले १ अर्ब ५१ करोड र एनआईसी एशिया बैंकले १ अर्ब ३८ करोड नाफा आर्जन गरेको हो ।
यता कृषि विकास बैंक भने २७ करोड ८८ लाख घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । सिद्धार्थ बैैंकको नाफा ३३ करोड ३९ लाख, लक्ष्मी सनराइज बैंकले ५१ करोड ६० लाख नाफा आर्जन गरेका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?