+
+
Shares

सेयर बजारमा ‘सेक्टर रोटेसन’ : उत्पादन समूहमा छलाङ, बैंकिङ कछुवा गतिमा

कमल नेपाल कमल नेपाल
२०८० पुष ५ गते १८:२८

५ पुस, काठमाडौं । यो साताको पहिलो दिन आइतबार हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.५ प्रतिशत बढ्यो । तर सोमबार अन्य सबै समूह बढ्दा हाइड्रोपावर समूह नै ऋणात्मक रह्यो । सोमबार माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ५.५ प्रतिशत नै बढ्यो भने मंगलबार होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो । बुधबार फेरि होटल तथा पर्यटन समूह १.८९ प्रतिशत घट्यो भने उत्पादन समूह सबैभन्दा धेरै ७.१ प्रतिशत र लगानी समूह ६.९ प्रतिशत बढ्यो । बिहीबार समग्र बजार घट्दा पनि उत्पादन समूह नै २.३ प्रतिशत बढ्यो ।

यी ५ दिन मात्रै होइन, अघिल्ला दुई सातामा पनि सेयर बजारमा यस्तै प्रवृत्ति देखिएको थियो । बजारमा यस्तो प्रवृत्ति देखिनुको मुख्य कारण हो : ठूला कारोबारीले एउटा समूहलाई बढाएर नाफा बुक गर्ने र नाफासहितको आम्दानी पुनः अर्को समूहका कम्पनीमा लगानी गर्ने । विगत दुई सातादेखि बजारमा यो प्रवृत्तिले निरन्तरता पाइरहेको छ । सेयर बजारका विश्लेषक मुक्ति अर्याल ठूला कारोबारीले निश्चित समूहलाई बढाएर नाफा बुक गरी अर्को समूहमा लाग्दा एकरुपता नदेखिएको बताए ।

‘एउटा सेक्टर माथि पुर्‍याएर सेयर बेच्दा आउने नाफासहितको रकम पुनः अर्को सेक्टरमा लगानी हुँदा यस्तो देखिएको हो,’ अर्यालले भने ।

विश्वका अन्य बजारहरुमा पनि कुनै समूह अलि धेरै बढ्ने गरेका र कुनै घट्ने गरेका छन् । यसलाई स्वभाविक रुपमा लिनुपर्ने केही लगानीकर्ताको बुझाइ छ । सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले सबै क्षेत्रका सूचक एउटै दरमा बढ्ने स्थिति कुनै पनि देशका स्टक मार्केटमा नहुने बताए । उनका अनुसार एकै दिन कुनै क्षेत्रका सूचक धेरै बढ्ने त कुनै क्षेत्रका सूचक घट्नु सामान्य नै हो ।

बजार न्यूनतम् विन्दुमा आएपछि अरु सैद्धान्तिक पक्षले साथ दिएर बढ्ने अवस्था देखिएमा कारोबारी नै हाबी हुने गरेको उनी बताउँछन् । ‘अहिले सेक्टर रोटेसनमा कारोबारीको मुख्य भूमिका छ, आज किनेकोभन्दा केही दिनपछि १०/१२ प्रतिशत नाफा लिएर बेच्ने, त्यसपछि न्यूनतम मूल्यमा भएका अरु कम्पनीतिर लगानी गर्ने र फेरि मूल्य बढाएर नाफा लिने, यो कारोबार गर्नेहरुको लक्ष्य हो,’ उनले भने । सेयर बजार बढ्नमा कारोबारीकै भूमिका प्रमुख हुने उनको भनाइ छ ।

किन तीव्र गतिमा बढ्यो उत्पादन समूह ?

समग्र क्षेत्रगत सूचकको वृद्धिमा उत्पादनमूलक समूह सबैभन्दा अगाडि देखिएको छ । विगत दुई सातामा समग्र नेप्से परिसूचक ८.२ प्रतिशत बढ्दा यो समूहको सूचक करिब २४ प्रतिशत बढेको छ । उत्पादन समूहमा ८ वटा कम्पनी पर्दछन् । बोटलर्स नेपाल (बालाजु), नेपाल ल्युब आयल, बोटलर्स नेपाल (तराई), युनिलिभर नेपाल, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, घोराही सिमेन्ट र सोनापुर सिमेन्ट यस समूहका कम्पनी हुन् । यी सबै कम्पनीको मूल्य बढ्दा समूह प्रभावित भएको हो ।

दुई साताअघि बोटलर्स नेपालको मूल्य नै प्रतिसेयर नेटवर्थभन्दा तल रहेको थियो । जसले गर्दा सस्तोमा सेयर बिक्री गर्नेहरु प्रायः नभएपछि कम्पनीको मूल्य बढ्दै गएको छ । मंसिर २५ मा कम्पनीको मूल्य प्रतिकित्ता २६९८ रुपैयाँ थियो, जबकि कम्पनीको प्रतिसेयर नेटवर्थ नै ३ हजार २२४ रुपैयाँ छ । दुई सातादेखि नै यो कम्पनीको मूल्य १० प्रतिशतले बढ्दै गएको छ । उच्च प्रतिसेयर नेटवर्थले गर्दा यो कम्पनीको मूल्य वृद्धिलाई धेरैले स्वाभाविक रुपमा लिएका छन् । नेपाल ल्युब आयलको कारोबार नै भएको छैन ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशत कायम गरेसँगै बैंकहरुबाट यसमा जाने कर्जा बढेको र यसले सिमेन्ट उद्योगहरुको बिजनेस बढ्ने अनुमानले सिमेन्ट कम्पनीहरुको मूल्य बढेको हुन सक्ने लगानीकर्ताको भनाइ छ ।

‘घर निर्माणको सिजन सुरु भएको छ, पूर्वाधार निर्माणको कार्यले पनि अब गति लिन्छ, यसले सिमेन्ट कम्पनीहरुको बिजनेस पक्कै बढ्छ,’ फुल्लेलले भने, ‘अर्कोतर्फ यी सबै कम्पनीले प्रिमियममा आईपीओ जारी गरेकाले प्रिमियम रकमबाट बोनस सेयर समेत दिन सक्ने आश लगानीकर्तामा छ ।’ जसमध्ये शिवम् सिमेन्टले १४.२५ प्रतिशत बोनस सेयर घोषणा गरिसकेको छ । जसले गर्दा समग्र उत्पादनमूलक क्षेत्रमा उच्च वृद्धि देखिएको छ ।

कछुवा गतिमा बैंकिङ

दुई सातासम्म सबै समूह पालैपालो बढ्दा पनि वाणिज्य बैंकहरु रहेको ‘बैंकिङ’ समूहको वृद्धि भने सबैभन्दा सुस्त देखिएको छ । दुई सातामा नेप्से ८.२ प्रतिशत बढ्दा बैंकिङ समूह जम्मा ३.१ प्रतिशत मात्रै बढ्यो । यसको मुख्य कारण बैंकहरुको सेयर आपूर्ति धेरै हुनु र एउटा निश्चित समूहले यो क्षेत्र चलाउन नसक्नु हो ।

यद्यपि बैंकिङको पनि पालो आउने लगानीकर्ताको बुझाइ छ । ‘अरु समूह धेरै बढिसकेपछि कारोबारी पनि बैंकमै लाग्छन्, जब बैंकहरुकै सेयर मूल्य बढ्न थाल्छ र कारोबारबाट पूँजीगत लाभ हुने अवस्था आउँछ, त्यसपछि यो सेक्टर पनि बढ्छ,’ उनले भने ।

सेक्टर रोटेसन भइरहँदा लगानीकर्ताले के गर्ने ?

पूँजी र सेयर आपूर्ति न्यून भएका, कम्पनीको वित्तीय स्थिति कमजोर भएका, बजार मूल्य कम भएका र सकेसम्म थोरै रकमबाट कम्पनीको मूल्य नियन्त्रण गर्नसक्ने अवस्था देखिएका कम्पनीमा ठूला कारोबारी आकर्षित हुने गरेका छन् । जसले गर्दा अहिले वित्तीय स्थिति नाजुक भएका कतिपय कम्पनीको मूल्य दैनिक १० प्रतिशत बढिरहेको छ ।

एउटै सेक्टरमा पनि केही कम्पनी राम्रा र केही खराब हुने भएकाले लगानीका लागि सचेत हुनुपर्ने फुल्लेलको भनाइ छ । ‘खराब कम्पनीमा पनि कारोबार गरेर पूँजीगत लाभ राम्रो हुन सक्छ, तर त्यस्ता कम्पनीबाट बेलैमा बाहिरिन नसक्ने हो भने जोखिम पनि भारी पर्न सक्छ,’ उनले भने, ‘यतिबेला कतिपय कमजोर स्तरका कम्पनीको मूल्य दिनदिनै बढिरहेको छ, कारोबार गर्नेका लागि ती कम्पनी सहज हुन सक्छन्, तर दीर्घकालीन लगानीकर्ताका लागि त्यस्ता कम्पनी उपयुक्त नहुन सक्छन् ।’

सेयर कारोबारीले राम्रा र खराब कम्पनी नछुट्याउने, उनीहरुले निश्चित रकमबाट त्यो कम्पनीलाई चलाउन सक्ने क्षमता मात्रै मूल्यांकन गर्ने गरेका छन् । सेयर किन्नुअघि कारोबार वा लगानी के का लागि हो भन्नेमा स्पष्ट भएर सोअनुसारका कम्पनी खरिद गर्नुपर्ने लगानीकर्ताको सुझाव छ ।

‘१० प्रतिशत मूल्य बढेका खराब कम्पनीमा लगानी गर्न खोजियो भने ट्रयापमा फस्न सकिन्छ, बजार अरु केही दिन घट्यो भने तिनै कम्पनीको सेयर बेच्नै नसक्ने अवस्था आउँछ’ लगानीकर्ता पिताम्बर खकुरेलले भने ‘त्यसकारण कारोबार गर्ने भए पनि राम्रै कम्पनीमा गरौं न ।’ राम्रा स्तरका कम्पनीमा पनि कारोबार गर्न सकिने उनको भनाइ छ ।

‘सैद्धान्तिक रुपमा वित्तीय विवरण राम्रो भएका, लाभांश पनि दिइरहेका र मूल्य पनि बढ्न सक्ने कम्पनीहरु प्रशस्त छन्, त्यस्ता कम्पनीमा लगानी गर्दा भोलि मूल्य धेरै आयो भने पूँजीगत लाभको संभावना पनि हुन्छ, घट्दा पनि धेरै घट्दैन, लाभांश पनि खान पाइन्छ’ उनले भने । बजार बढेका बेला नयाँ लगानीकर्ता पनि प्रवेश गर्ने भएकाले उनीहरु सचेत हुनुपर्ने खकुरेलको भनाइ छ ।

कारोबार गर्नकै लागि किनिएको हो भने घाटा सहने क्षमता पनि राख्नुपर्ने उनले सुझाव दिए । ‘आज १० प्रतिशत मूल्य बढेको कम्पनी कसैले किन्यो भने, त्यो सेयर डिम्याट खातामा आउन ३/४ दिन लाग्छ, अनि मात्रै बेच्न पाइन्छ,’ उनले भने, ‘खातामा सेयर आउँदासम्म मूल्य दैनिक १० प्रतिशतका दरले घट्यो भने पनि जोखिम लिन तयार भएर मात्रै किन्नुपर्छ, समग्र बजार बढ्दा नराम्रा कम्पनीको मूल्य पनि त्यत्तिकै बढेको हुन्छ ।’

राम्रा र मजबुत कम्पनीहरुको मूल्य अझै पनि बढ्न नसकेको सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष फुल्लेलको भनाइ छ । बजार न्यूनतम विन्दुमा आएर बढ्ने क्रममा रहेकाले अहिले कुनै सेक्टर बढ्यो भन्दैमा ती सेक्टर नै जोखिम भन्न मिल्दैन ।

‘सेक्टर नै असुक्षित त होइन, केही कम्पनीको मूल्य सुहाउँदो नहुन सक्छ,’ उनले भने, ‘लगानीकर्ताले मूल्य धेरै नबढेका र वित्तीय स्थिति सबल रहेका कम्पनी छनोट गर्न सकिन्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?