+
+
राजमार्गको दुर्दशा–७ :

पाँच वर्षदेखि निस्सासिएका सर्वसाधारण

सडक अलपत्र पार्ने सरकार, मूल्य चुकाउँदै जनता

रवीन्द्र घिमिरे आभास बुढाथोकी रवीन्द्र घिमिरे, आभास बुढाथोकी
२०८० पुष १६ गते २०:३५

१६ पुस, बुटवल । नारायणगढबाट बुटवलतिर यात्रा गर्दा राजमार्ग छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । जस्तापाताको छानोभरि धुलैधुलो छ, रंगरोगन गरिएका पक्की घर पनि रंगहीन देखिन्छन् । यसको वास्तविक पीडा देख्नेलाई भन्दा भोग्नेलाई धेरै बढी छ ।

पूर्वपश्चिम राजमार्गलाई दुई लेनबाट विस्तार गरेर बस्ती क्षेत्रमा चार लेन र वनजंगल क्षेत्रमा २ लेन फराकिलो बनाउने काम सुरु भएको पाँच वर्षयता नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटरको अधिकांश भागमा यो समस्या छ ।

खाल्डै खाल्डा भएको सडकमा गाडी गुड्दा धुलोको मुस्लो निस्किन्छ । सडक वरपरका रुख विरुवाका पातहरु समेत धुलाम्ये छन् । सडक फराकिलो बनाउन कतै पहाड खनिएको छ भने कतै माटो भरिएको छ । खाल्डा छल्न कतिपय गाडी सडकको छेउबाट गुड्छन् भने कतिपय कुनातिरबाट । त्यसैले गाडी गुड्दा सडक वरपरको वातावरण कुहिरीमण्डल हुन्छ ।

यो सडकमा ५ वर्षसम्म आधा पनि काम नसकिँदा राजमार्ग वरपरका बासिन्दा निसास्सिएका छन्, अझै कति वर्ष यस्तै उकुसमुकुसमा बिताउनुपर्ने हो भनेर ।

नारायणगढ बुटवल खण्डको लामो भाग नवलपरासी पूर्व र नवलपरासी पश्चिममा पर्छ, जहाँ बाक्लो बसोबास छ । त्यसैले त्यहाँ सडकको धुलो हिलोको प्रभाव पनि उस्तै बढ्ता छ ।

धुलाम्य सडक भएर किसानहरु आफ्ना बस्तुभाउलाई खुवाउन दाना, ढुटो, चोकरको भारी बोकेर हिँडिरहेका र जंगलबाट घाँस लोड गरेको साइकल डोहोर्‍याइरहेका हुन्छन् । मास्क लगाएर विद्यालयतिर गइरहेका विद्यार्थीको लाइन देखिन्छ ।

घरको कोठाभित्र धुलो छेक्न झ्यालमा प्लाष्टिक राखिएका छन् । आँगनमा बिस्कुन सुकाउँदा पनि प्लाष्टिकले ढाकिएको हुन्छ । यी सबै दृश्यले भन्छन् सडकको दुरवस्थाले स्थानीय बासिन्दा हायलकायल छन् ।

राजमार्ग विस्तारका क्रममा सडकको उचाइ मिलाउँदा गैंडाकोट नगरपालिका–१० का रामचन्द्र सदाशंकरको घर सडक भन्दा गहिररोमा परेको छ । वर्षायामभरि सडकबाट बगेको लेदो उनको आँगनमा आयो । अहिलेसम्म नाला समेत नहाल्दा आफू हैरान भएको रामचन्द्र बताउँछन् ।

रामचन्द्र सदाशंकर

सडकको धुलो र माटो सामान्य हावाले पनि घर भित्र पुर्‍याउने गरेको भन्दै सदाशंकरले कामदारसँग कुरा गर्दा माथि गुनासो गर भन्ने जवाफ पाउने गरेका छन् । एकपटक इन्जिनियरलाई भेटेर नाला हालिदिन भनेपछि ‘हुन्छ’ भन्ने जवाफ पाएका थिए, तर काम भएन । ‘बाटो बन्न थालेदेखि घरमा बस्न मन नलाग्ने भइसक्यो, राती पानी परेपछि भल कता जान्छ हेर्न जागै बस्नुपर्छ’, उनी भन्छन्, ‘हामी झुपडीमा बसेकालाई त धेरै सास्ती भो ।’

सडक विस्तारको काममा स्थानीयको समस्यालाई पुरै बेवास्ता गरिएको मध्यविन्दु नगरपालिका डण्डाका सीताराम चालिसे बताउँछन् । ‘पोल गाड्दा मनपरी छ, कसैको घर जाने बाटोमै गाडिदिन्छन्’, उनी भन्छन्, ‘समस्या प¥यो निकाल भन्दा छिमेकीलाई देखाएर झगडा लगाइदिन्छन् ।’

घरबाहिर निस्किनै सास्ती

गैंडाकोटकै हर्कपुर चोकका सुलोचना रेग्मीलाई विहान झिसमिसेमै धुलो छल्दै क्याम्पस पुग्नुपर्ने बाध्यता छ । ‘स्कुटर धुलोको मुस्लोभित्र परेपछि अगाडि केही देखिंदैन’, उनले भनिन्,‘चिसो मौसममा २ पटक खाल्डामा परेर लडिसकेँ । कुन दिन गाडीले किच्ला भन्ने पीर हुन्छ ।’

अमरापुरीकी शान्ता बोटेको म साँझमा छोराहरु विद्यालयबाट नफर्किंदासम्म शान्त हुँदैन । सामुदायिक विद्यालयमा पढ्ने आाफ्ना २ छोराहरु विद्यालयबाट आउने समयमा उनी बाटोतिर निस्किएर हेरिरहन्छिन् ।

‘बाटो ज्यादै खराब छ, धुलो मार्न हालेको पानीले गर्दा गाडी र मोटरसाइकल कहाँ कतिबेला चिप्लिने हो पत्तो हुन्न, एक–दुईपटक यही रोडमा बच्चालाई गाडीले हानिसक्यो’, उनी भन्छिन्, ‘सडक किनारमा हिँड्न पनि डर मर्नु छ ।’

चोरमाराको एक दाना उद्योगमा काम गर्ने शिवनगर बजारका आदित्य चौधरी २ वर्षअघिसम्म साइकल लिएर जान्थे । तर, सडकको अवस्था खराब भएपछि उनी साइकल घरमै छाडेर बसमा आउने जाने गर्न थालेका छन् । ‘भनेका बेला बस पनि पाइँदैन’, उनी भन्छन्,‘ट्रक, टिपर र तरकारी बोक्ने गाडी जे भेटेपनि रोकेर जानुपर्छ ।’

उराठ खेतबारी र रित्ता गोठ

सडक निर्माणको काम लम्बिँदाको प्रत्यक्ष असर स्थानीयको जनजीविका र उत्पादनसम्म नै पर्न थालेको छ । सडक विस्तारको कामले बालीनालीमा प्रत्यक्ष असर पारेको छ भने स्थानीयहरुलाई पुशपालन गर्न समेत सकस पर्न थालिसकेको छ ।

गैंडाकोटकै झारही खोलाका सत्यदेव तामाङले आफ्नो फलफूलको बगैंचामा नयाँ विरुवा लगाउन छाडेका छन् । वर्षायाममा सडकबाट बगेको भल बगैंचामा जम्ने भएकाले विरुवा लगाउन नपाएको उनी बताउँछन् । उनका अनुसार केरा त मासिनै लागिसक्यो, वर्षाभरि पानी जम्ने भएकाले नयाँ विरुवा राम्ररी हुर्किन पाउँदैनन् । ३ वर्षदेखि आँप र लिची पनि राम्रोसँग फुल्न नपाएको भन्दै उनले धुलोकै कारण यस्तो भएको अनुमान सुनाए । ‘मान्छेहरु धुलोले फलफूलको फूल खेल्न दिँदैन भन्छन्, हुन पनि त्यही भइरहेको छ’, उनी भन्छन्, ‘फलफूलबाट हुने आम्दानी सबै बाटोले खायो ।’

दुम्कौलीकी सोविता श्रेष्ठ धुलोका कारण अन्न उत्पादन घटेको बताउँछिन् । सडक छेउको आफ्नो खेतमा हिँउदे बालीका रुपमा लगाइएको तोरी सप्रिन नै नसकेको उनको गुनासो छ । ‘बालीमा धुलोले ढाकेपछि उत्पादन घट्ने रहेछ’, उनी भन्छिन्, ‘भित्र्याएको अन्न बाली पनि एकपटक धोएर सुकाएपछि मात्रै चलाउन मिल्छ ।’

देवचुली नगरपालिका–१५ हुमाकुमारी श्रेष्ठ धुलोकै कारण करेसाबारी रित्तिन लागेको बताउँछिन् । ‘सागपात र हिउँदे तरकारी त फल्नै छोडे, तरकारी फल्न नपाउँदै सुकेर मर्छन्’, उनी भन्छिन्, ‘बल्लतल्ल हुर्काएको साग टिपेर खान्छु भन्दा १० पटक नपखाली सुख छैन ।’

धुलो बढेपछि आफूले बाख्रा समेत पाल्न छाडेको श्रेष्ठ बताउँछिन् । ‘धुलोले घाँसपात पनि उम्रन पाउँदैनन्, उम्रिएकाहरु हुर्किन पाउँदैनन्, धुलैधुलो हुन्छ’ उनी भन्छिन्, ‘अनि बाख्रालाई के खुवाएर पाल्ने, सबै बेचिदिएँ ।’

पूर्वी नवलपरासीको बौलाह खोलाका सन्तबहादुर माझी पनि सडकमा धुलो बढेपछि बाख्राका पाठा सप्रिन छाडेको बताउँछन् । ‘हिँउदमा सडक छेउछाउमा लामो डोरी लगाएर बाँधिदिन्थ्यौं, त्यतै चर्थे, अघाउँथे’, उनी भन्छन्, ‘अहिले धुलोबाहेक केही भेटंँदैन, बाख्राका पाठा पहिलेजस्तो सर्लक्क हुर्किदैनन् ।’

देवचुलीको धवलागिरी चोककी रञ्जु बर्तौला गाईवस्तुको लागि नजिकै जंगलमा घाँस स्याउला पाउनै छाडेको बताउँछिन् । ‘सडक वरपरको जंगलका घाँसमा माटो नै माटो हुन्छ, त्यो ल्याएपनि गाईवस्तुले खाँदैनन्’, उनी भन्छिन्,‘पखालेर खुवाउन पनि नमिल्ने गरी माटो बसेको हुन्छ ।’ सडकदेखि धेरै टाढाको जंगलमा पुगेर ल्याएको घाँस पनि पहिलेजस्तो सफा नहुने बर्तौला बताउँछिन् । यही कारण गाईभैंसीको दूध घटेको उनको भनाइ छ ।

बिथोलियो दैनिकी र अर्थतन्त्र

धुलो बढेका कारण घर र मान्छेको सरसफाइमा गृहिणीको धेरै समय बितेको छ । कावासोतीको लोकाहाकी संगीता दवाडी भन्छिन्, ‘विहान पुछेर सफा बनाएको घर बेलुका उस्तै हुन्छ, फर्निचरमा टलक्कै टल्किने गरी धुलो बस्छ, हप्तामा एकपटक ओछ्यानको तन्ना नफेरि सुख छैन ।’ झाडुपोछा र लुगा धुने/नुहाउने काममा पहिले भन्दा दोब्बर समय लाग्ने दवाडी बताउँछिन् ।

राजमार्ग आसपासका बस्तीमा लुगा धोएपछि सुकाउन समेत असजिलो छ । पुरानो कावासोतीकी निरुमाया रम्तेल भन्छिन्, ‘धोएको लुगा उठाउँदा धोएको नधोयै हुन्छ, सकेसम्म घरलाई पछाडि पारेर सुकाउनुपर्छ’ उनी भन्छिन्, ‘सकेसम्म सडकमा धुलो मार्न पानी हालेको बेलामा सुकाउँछु ।’ घरभित्र माझेर राखेको भाडाकुँडा र कपडा पनि धुलोले फोहोर बनाइदिएको उनको गुनासो छ ।

दाउन्नेमा होटल चलाइरहेकी अर्पणा तामाङ धुलोकै कारण व्यापार घटेका बेलामा पानीको खपत अत्यधिक बढेको बताउँछिन् । ‘यहाँ २३ रुपैयाँ युनिटको पानी चलाउनुपर्छ, जति सफाइ जति गर्दा पनि उस्तै हुन्छ’, उनी भन्छिन्, ‘फेरि चाहिनेजति पानी पाइन्न, धुलोले होटल चलाउन मन मारिसक्यो ।’ राजमार्गमा खुला व्यापार गरिहेकाहरु झन ठूलो मारमा छन् ।

सडकका कारण स्थानीय व्यवसायीले पनि ठूलो मूल्य चुकाइरहन परेको छ । विशेषगरी राजमार्गका यात्रु र चालकलाई लक्षित गरी खुलेका व्यवसाय संकटमा परेका छन् ।

गैंडाकोटको थुम्सीमा ‘होटल पाल्पाली’ चलाइरहेका अर्जुन खड्का सडक बन्न थालेदेखि नियमित ग्राहक घटेको बताउँछन् । बुटवलदेखि नारायणगढसम्म सडक विस्तारको काम भइरहेकाले बाटोको अवस्था खराब छ । नारायणगढबाट उनको होटल थुम्सी आइपुग्न नै ५ घण्टा लाग्ने भएपछि व्यापार सुकेको उनको गुनासो छ । ‘यसै त ग्राहक आउँदैनन्, हावा बढी चलेका दिनमा त धुलैधुलोका कारण आएकाहरु पनि नखाइ जान्छन्’, उनी भन्छन् ।

२० वर्षदेखि कावासोती–८ नयाँ बजाको सडक किनारमा लामा पानपुरी र चटपटे व्यापार गरिरहेका महेन्द्र केसारी पनि सडकको धुलोले व्यापार सुकाएको गुनासो गर्छन् ।

‘धुलो सिधै नास्तामा पर्छ, धुलो देखेपछि ग्राहक आउन मन गर्दैनन्’, उनी भन्छन्, ‘पहिले जस्तो व्यापार छैन ।’ सडक विस्तारको काम सुरु नहुँदा दिनको पाँच हजार रुपैयाँको ब्यापार हुनेमा अहिले दिनको दुई हजारको मात्र ब्यापार भएको केसारी बताउँछन् ।

सामाजिक मूल्य हिसाब छैन

यो सडकका कारण स्थानीय क्षेत्रमा पारिवारिक तथा सामुदायिक सद्भावमा पनि असर पारेको कतिपयले बताएका छन् ।

सडकले परिवारसँग छुटाएको ठान्ने पूर्वी नवलपरसीको ज्यामिरेकी सानुमैया ठकुरीलाई कहिले बनिसक्ला पीर छ । उनका छोरा र बुहारीहरु व्यापार गर्न पश्चिम नवलपरासीको बर्दघाटमा बस्छन् । यो सडक बन्नुअघि दैनिक घरबाटै आउ–जाउ गर्ने छोरालाई उनले उतै बस्न लगाइन् ।

‘छोरा गएपछि बुहारी उतै गइन्, गाह्रोसाह्रो पर्दा हामी बुढाबुढीलाई खाना पकाएर खुवाउने मान्छे पनि भएनन्’, उनी भन्छिन्, ‘यो बाटो बने छोरा बुहारी यतैबाट आउने–जाने गर्न पाउँथे होलान् ।’

३ वर्षदेखि नाति नातिनासँग राम्रोसँग खेल्न पनि नपाएकोमा समेत उनको मन खिन्न हुन्छ । ‘शनिबार एकछिन झुलुक्क आएर फर्किन्छन्’, ठकुरी भन्छिन् ।

नवलपुरको कावासोतीकी सञ्जु तिवारीले सडकको अवस्था खराब भएपछि श्रीमानसँग मोटसाइकलमा लामो यात्रा गर्न छाडेकी छिन् । बसमा यात्रा गर्दा उनलाई बुटवल सुखानगरको माइतीघर पनि धेरै टाढा भएझैं लाग्न थालेको छ । ‘बाटो सम्झिएरै हिँड्न मन हुँदैन’, उनी भन्छिन्, ‘बुटवल माइती पनि टाढाजस्तो भयो ।’

बर्दघाटकी शोभा तितुङ सडक बन्न थालेपछि पाहुना समेत आउन छाडेको बताउँछिन् । ‘आफन्त आए पनि एकछिनमै दिक्क मान्छन्’, उनी भन्छिन्, ‘घरअगाडि भद्रगोल छ, घरभित्र धुलैधुलो, यस्तो देखेपछि कसलाई बस्न मन लाग्छ र ?’
 
तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

 

राजमार्गको दुर्दशा-१ 

राजमार्गको दुर्दशा-२ 

राजमार्गको दुर्दशा-३

राजमार्गको दुर्दशा-४

राजमार्गको दुर्दशा-५

राजमार्गको दुर्दशा-६

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?