+

अचानक ठूलो चोट लागेमा तुरुन्तै के गर्ने ?

२०८० पुष  १८ गते १२:४५ २०८० पुष १८ गते १२:४५
अचानक ठूलो चोट लागेमा तुरुन्तै के गर्ने ?

कहिले लडेर हातखुट्टा वा शरीरमा ठूलो चोट लाग्न सक्छ । कहिले हातहतियारले काटेर चोट लाग्न सक्छ । कहिले दुर्घटनामा परेर चोट लाग्न सक्छ ।

ठूलो चोट लाग्नासाथ के गर्ने ? धेरै रगत बग्न नदिने उपाय के हुनसक्छ ? कसरी घाइतेलाई सहज र सुरक्षित राख्ने ?

अस्पताल लैजानुअघि केही प्राथमिक उपचार गर्न सकियो भने घाइतेलाई थप जोखिमबाट बचाउन सकिन्छ । चोटपटकका कारण हुनसक्ने सङ्क्रमणको क्षति न्यून गर्न सकिन्छ । भाँचिएको हात, पाखुरा, खुट्टामा बेलैमा काम्रो सहितको प्राथमिक उपचार गर्न सके क्षति एवं दुखाइलाई न्यून गर्न सकिन्छ । साथै, धेरै रगत बग्नबाट पनि रोक्न पनि सकिन्छ ।

के गर्ने, कसरी गर्ने ?

सबैभन्दा पहिले घाइते वा पीडितलाई सजिलोगरी सुताउनुपर्छ । शरीरमा लगाएको लुगा असहज भए फुकालिदिने र सकेसम्म चाँडै विशेष उपचारका लागि पठाउने (रेफर गर्ने ) पहल गर्नुपर्छ ।

घाउचोट वा बिरामीको अवस्थाको राम्रो मूल्यांकन गरी घाउचोटको सफाइ गर्ने, मलमपट्टी गर्ने, मर्केको वा भाँचिएको भएमा सावधानीपूर्वक काम्रो बाँधिदिन सके निकै राम्रो हुन्छ ।

अचेत मान्छेको नाडी छामेर चाल पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा कम चाल वा नाडीको चाल मधुरो भएमा वा हराएमा सीपीआर (कृत्रिम श्वासप्रश्वास)को प्रक्रियामा जानुपर्छ ।

रक्तस्राव रोक्न प्राथमिक उपचार

चोटपटकको कारण रक्तस्राव भएमा प्राथमिक उपचारको सहायताले नियन्त्रण गर्न सकिन्छ । हल्का रक्तस्राव सामान्यतया: आफैं बन्द हुन्छ । तर गम्भीर खालको रक्तस्राव भने रोक्नुपर्ने हुन्छ ।

रगत निकै बगेको अवस्थामा चोट लागेको अंगलाई शरीरको सतहभन्दा माथि पारेर राख्नुपर्छ । औंलाको चापले रक्तस्रावलाई बन्द गर्ने वा पट्टि लगाएर रक्तस्रावको बहाव कम गर्नुपर्छ । चोट लागेको ठाउँमा कपडाले बाँधेर पनि रक्तस्राव रोक्न सकिन्छ । घाउलाई कपडाले छोप्नुपर्छ ।

आगोले पोलेमा

आगो वा तातो झोल पदार्थले पोलेको घाउमा धाराको पानी (वा भाँडोमा संकलन गरेको पानीलाई धारो बनाएर) दुखाइ वा पोलाइ कम नभइन्जेल हालिराख्न पाए थप क्षति हुनबाट जोगाउन सकिन्छ ।

जनावरले टोकेमा

जनावरले टोकेमा र टोकेको ठाउँमा घाउ नै भएमा तुरुन्त साबुन पानीले धुने र अस्पताल लैजानुपर्छ । विभिन्न संक्रमण जस्तै रेबिज लगायत अन्य संक्रमणविरुद्धको खोप पनि स्वास्थ्यकर्मीको सल्लाहमा लगाउनुपर्छ ।

बिरामीलाई कसरी आराम गराउने ?

बिरामीलाई थप वा उपचारका लागि लैजानुभन्दा पहिलो सान्त्वना दिने, बिरामीको भावनाको कदर गर्दै उनीहरूका कुराहरू सुनिदिनुपर्छ । बिरामीको चाहनाअनुसार घरपरिवारलाई खबरहरू गरिदिने, हौसला प्रदान गर्न अनिवार्य छ ।

बिरामीको हातखुट्टा भाँच्चिएको छ भने त्यसलाई अनावश्यक रूपमा चलाइरहनु हुँदैन । घाइतेलाई सजिलो अवस्थामा राख्नुपर्छ । घाइतेलाई छिटोभन्दा छिटो यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्छ ।

घाउचोट डा. मोनिका कार्की
डा. मोनिषा कार्की
लेखक
डा. मोनिषा कार्की
चिकित्सक

डा. कार्की भक्तपुरको सूर्यविनायक नगर अस्पतालकी अस्पताल संयोजक हुन् । उनले एमबीबीएस, पीजीएचसीएम, एमएचसीएम गरेकी छन् । उनको नेपाल मेडिकल काउन्सिल नम्बर ५६८२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय