+
+

पूर्वी तराईमा लोकप्रिय बनेको ‘भाक्का’

रासस रासस
२०८० पुष २७ गते १४:४६

२७ पुस, झापा । पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भाक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भाक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ ।

पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भाक्का बनाउने गर्दछन् । यसको स्वादले पहाडबाट बसाइँ सरेर आएका तराईका अरू समुदायलाई समेत आकर्षित गरेको छ । राजवंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिला पनि भाक्का बनाउँछन् ।

झापाको ग्रामीण बस्तीमा सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भाक्का पकाउने र बेच्ने गर्छन् । सहरका गल्लीमा पनि भाक्का पसल बढ्दै गएका छन् । ठूला तारे होटलदेखि साना चिया पसलमा खाजाका रुपमा भाक्काको बजार दिनानुदिन बढ्दै गएको छ ।

‘भाक्का राजवंशी समुदायको मौलिक परिकार हो”, साहित्यकार पवन राजवंशी भन्छन्, ‘पानीको बाफमा पकाइने र कुनै प्रकारको मिसावट नहुने भएकाले भाक्का खानु स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ ।’

सयौँ वर्षअघि पूर्वी तराईको जङ्गलबीचको उब्जाउ जमिनमा राजवंशी समुदायको बसोबास भएको मानिन्छ । कहिलेदेखि भाक्काको चलन सुरु भयो भन्ने यकिन नभए पनि राजवंशी समुदायको थातथलो विस्तारसँगै रैथाने परिकारका रुपमा भाक्का खाने चलन झापा र मोरङमा सुरु भएको मानिन्छ ।

भाक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भाक्का झनै स्वादिलो हुने स्थानीय आत्माराम राजवंशी बताउँछन् । माछासँग पनि भाक्का खाने गरिएको उनले बताए ।

सात वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भाक्का दिवस मनाउन थालिएको छ । भाक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवद्र्धन गर्न दिवसको अवधारणा अघि सारिएको राजवंशी भाषा विकास समितिका अध्यक्ष अभय राजवंशीले बताए ।

यसपालि भद्रपुरको सिटी गार्डेन र विर्तामोडको डोमालाल रङ्गशालामा भाक्का दिवस कार्यक्रमको आयोजना गरिएको छ । त्यहाँ राजवंशी समुदायको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ ।

विर्तामोडको कार्यक्रममा एक सय ५० राजवंशी महिलाले दुई हजार किलोग्राम चामलको पीठोबाट भाक्का बनाउने भएका छन् । ख्यातिप्राप्त मास्टरसेफ सन्तोष राजवंशीलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको छ ।

यही पुस २९ गते नै भद्रपुरमा राजवंशी समाज विकास समितिले कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष उत्तम राजवंशीले बताए । कार्यक्रममा भारतीय कलाकारको समेत सहभागिता रहने उनले जानकारी दिए ।

राजवंशी समुदायको मौलिक खानेकुरा भएकाले उनीहरु नै भाक्काको प्रचारप्रसारमा जुटेका छन् । भाक्का दिवस पनि राजवंशी समुदायकै अग्रसरतामा मनाउन थालिएको हो ।

झापाको कचनकबल गाउँपालिकाले पुस २९ गते भाक्का दिवसका अवसरमा बिदा दिने निर्णय गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?