+
+

नेपाल टेलिकम : मजबुत वित्तीय अवस्थाका बीच सुस्ताएको बिजनेस

कमल नेपाल कमल नेपाल
२०८० पुष २९ गते १४:१०

२९ पुस, काठमाडौं । बढ्दो सामाजिक सञ्जालको प्रयोग र सहजताले नेपाल टेलिकमको बिजनेसमा सुस्तता देखिएको छ । पछिल्ला ५ वर्षलाई हेर्दा टेलिकमको बिजनेस बढ्न सकेको छैन, बिजनेस नबढ्ने तर सञ्चालन खर्च बढ्दा नाफा समेत खुम्चिने गरेको छ ।

टेलिफोन र इन्टरनेट सेवा शुल्क कम्पनीका लागि मुख्य आम्दानीको स्रोत हो । पछिल्लो समय समाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिफोनको प्रयोग समय घट्दा नाफामा संकुचन आएको विषयलाई कम्पनीले आफ्नो वित्तीय प्रतिवेदनमै चुनौतिका रुपमा औंल्याएको छ ।

कुल १८ अर्ब रुपैयाँ कम्पनीको चुक्ता पूँजी हो । नेपाल स्टक एक्स्चेन्जमा १८ करोड कित्ता सेयर सूचीकृत छ । सो चुक्ता पूँजीमध्ये ९१.४९ प्रतिशत सरकारको सेयर स्वामित्व छ । ८.४८ प्रतिशत सेयर अर्थात् १ करोड ५२ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भएको छ भने बाँकी ०.०३ प्रतिशत नागरिक लगानी कोषको छ ।

कम्पनीको बिजनेसमा सुस्तता देखिए पनि विगतमा कमाएको राम्रो नाफाका कारण कम्पनीको वित्तीय स्थिति निकै मजबुत छ । असोज मसान्तसम्म कम्पनीको जगेडा कोषमा ७८ अर्ब १३ करोड रुपैयाँ छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा कुल आम्दानी १० अर्ब ६४ करोड रुपैयाँ छ, गत वर्षको यस अवधिमा ११ अर्ब ४ करोड रुपैयाँ थियो । पछिल्ला ५ वर्षलाई हेर्दा कम्पनीको कुल आम्दानीको वृद्धिदर न्यून छ । जसले गर्दा खुद नाफा बढ्न सकेको छैन ।

बर्सेनि ४० प्रतिशत माथिको लाभांश :
कम्पनीको नाफा खुम्चिँदा पछिल्ला वर्ष लाभांशको दर घटेको देखिन्छ । यद्यपि हालसम्म कम्पनीले सेयरधनीलाई दिने लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन । कम्पनीको सेयर मूल्य र लाभांशलाई तुलना गर्ने हो भने यसको प्रतिफल अन्यभन्दा राम्रो देखिन्छ । कम्पनीले बर्सेनि नगद लाभांश मात्रै दिँदै आएकोमा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने पहिलो पटक २० प्रतिशत नगदसँगै २० प्रतिशत सेयर बोनस पनि दिएको थियो ।

सेयर बजारमा टेलिकम :
सेयर बजारमा सूचीकृत यो एक मात्रै टेलिकम कम्पनी हो । यसको कुल पुँजीकरण डेढ खर्बभन्दा बढी छ । जसले गर्दा कम्पनीगत रुपमा नेपाल टेलिकमको प्रभाव सेयर बजारमा सबैभन्दा ठूलो हुने गरेको छ । यो कम्पनीको मूल्य उतारचढावले बजारलाई सबैभन्दा ठूलो धक्का दिन्छ । यो कम्पनीलाई अन्य समूहमा राखिएको छ । करिब २ वर्षअघि २०७८ फागुन १० गते नेपाल टेलिकमको सेयर मूल्य १८ सयसम्म पुगेको थियो ।

विगत १ वर्षलाई हेर्दा भने कम्पनीको अधिकतम मूल्य १००० रुपैयाँ र न्यूनतम मूल्य ७५८ रुपैयाँसम्म कायम भएको छ । बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता मूल्य ८९३ रुपैयाँ हाराहारीमा छ । कम्पनीको सबल वित्तीय स्थिति, हरेक वर्ष राम्रो प्रतिफल, सरकारी सेयर हिस्सा बढी भएकाले सेयर आपूर्तिमा नियन्त्रण छ । जसले गर्दा यो कम्पनीमा भएको लगानीले पुँजीगत लाभमा पनि बढी प्रतिफल दिन सक्ने देखिन्छ । तर अन्य कम्पनीहरुको तुलनामा यस कम्पनीको मूल्य बढ्न बढी समय लाग्ने गरेको पाइन्छ । जसले गर्दा पूँजीगत लाभका लागि यस कम्पनी प्रायः कारोबारीको रोजाइमा पर्ने गरेको पाइँदैन ।

पुँजीगत नाफा/ घाटा
जेठ २ गते कम्पनीको सेयर मूल्य ७५८ रुपैयाँमा झरेको थियो, बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य ८९३ रुपैयाँ पुगेको छ । जेठ २ गते सेयर खरिद गर्नेले अहिले १७.८ प्रतिशत पुँजीगत लाभ लिएका छन् भने कम्पनीको नगद लाभांश पनि लिइसकेका छन् ।

जेठ २ गते प्रतिकित्ता ७५८ रुपैयाँका दरले १ सय कित्ता सेयर खरिद गर्नेको कुल लागत ७६ हजार ११६ रुपैयाँ (ब्रोकर कमिसनसहित) पर्न आउँछ । करिब ८ महिनामा बिहीबारको बजार मूल्यअनुसार सो सेयरको कुल मूल्य ८९ हजार ३०० रुपैयाँ हुन आउँछ । ब्रोकर कमिसन र कर समेत कटौती गरेपछि उसको खुद पुँजीगत लाभ रकम ११ हजार ८१३ रुपैयाँ हुन्छ । त्यसबाहेक बीचमा ४ हजार रुपैयाँ नगद लाभांश कम्पनीले दिएको छ । पुँजीगत लाभकर र ब्रोकर कमिसन समेत घटाएपछि  जेठ २ गते कम्पनीको १०० कित्ता सेयर ७६ हजार ११६ रुपैयाँमा खरिद गरेकाले पुँजीगत लाभ र लाभांश समेत गरी १५ हजार ८१३ रुपैयाँ खुद नाफा कमाएको देखिन्छ ।

न्यून मूल्यमा हुँदा खरिद गर्नेहरुले पुँजीगत लाभ लिए पनि उच्चतम मूल्यमा पुगेका बेला खरिद गरेकाहरु भने अहिले पनि नोक्सानीमा छन् । गत पुस ८ गते कम्पनीको मूल्य प्रतिकित्ता १ हजार रुपैयाँसम्म पुग्यो । सो समयमा सेयर खरिद गर्नेहरु भने १०.७ प्रतिशत नोक्सानीमै छन् । यद्यपि प्रतिकित्ता ४० रुपैयाँका दरले उनीहरुले लाभांश बुझेका छन् । यो लाभांश घटाउँदा पनि ६.७ प्रतिशत नोक्सानीमा छन् । अल्पकालीन समयमा कम्पनीका सेयरधनी नोक्सानमा रहे पनि लामो अवधिमा भने राम्रो पुँजीगत लाभ लिएको देखिन्छ ।

प्राविधिक ट्रेन्डलाइनमा टेलिकम :
एमएसीडी लाइनले सिग्नललाइन क्रस गर्न सकेको छैन । एमएसीडी लाइन ४.४ अंकमा रहँदा सिग्नल लाइन ११.७ अंकमा छ । सिग्नल लाइन माथि भएका कारण एमएसीडी लाइनले पर्ख र हेर भन्ने सुझाव दिन्छ । जब एमएसीडी लाइन माथि बढ्ने क्रममा सिग्नल लाइनलाई क्रस गर्छ, त्यसपछि खरिद गर्नुपर्ने सुझाव दिन्छ । त्यस्तै झर्ने क्रममा एमएसीडी लाइनले सिग्नल लाइनलाई क्रस गर्दै गर्दा बेच्न सुझाव दिन्छ ।

टेलिकमको आरएसआई ४६ अंकमा रहेको छ । आरएसआईले कम्पनीको सेयर खरिद गर्न सकिने सुझाव दिन्छ । जब आरएसलाईले ७० को विन्दु नाघ्छ, त्यस्तो अवस्थामा बेच्नुपर्ने सुझाव दिन्छ भने ५० भन्दा तल झरेको अवस्थामा खरिद गर्न सकिने सुझाव दिन्छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?