 
																			२ माघ । लोकसभा निर्वाचन आउन एक महिना बाँकी छँदा भारतीय कंग्रेसका वरिष्ठ नेता राहुल गान्धीले नयाँ यात्रा आरम्भ गरेका छन् ।
एक वर्षअघि भारत जोडो यात्रा गरेका राहुलले यसपटकको यात्रालाई भारत जोडो नयाँ यात्रा र न्यायका निम्ति मार्च भनेका छन् । नयाँ यात्राका क्रममा ६ हजार ७ सय किलोमिटर क्षेत्रमा पुग्नेछन् ।
बस र पैदल गरी पूर्व पश्चिम यात्राको यस दौरानमा राहुलले १५ राज्यका ११० जिल्ला र त्यहाँका १०० वटा निर्वाचन क्षेत्र पुग्ने बताएका छन् । यस यात्राका लागि उनलाई ६६ दिन लाग्नेछ ।
यसपटकको यात्रा उनले जातीय हिंसाबाट आक्रान्त मणिपुरको इम्फाल सहरबाट सुरु गरेका छन् । विगत आठ महिनादेखि हिंसाले आक्रान्त मणिपुरमा राहुलले सम्बोधन गरेका थिए ।
राहुलको भाषण सुन्न हजारौँ महिला उपस्थित थिए । त्यहाँ उनको सम्बोधनबारे बीबीसीले लेखेको छ, ‘मणिपुरको पीडाबारे हामी जानकार छौँ । तपाईंहरुको मूल्यवान सहिष्णु समाजलाई फेरि उस्तै बनाउने वाचा र प्रतिवद्धता हामी गर्छौँ ।’
भारतीय कंग्रेसका समर्थकहरु कश्मिरदेखि कन्याकुमारीसम्मको यात्राले पार्टीलाई पुनर्ताजगी गरेकाले यस यात्राले पनि पार्टीलाई सहयोग पुग्ने विश्वास राखेका छन् । यस यात्राले जनतालाई पनि आर्थिक, समाजिक र राजनीतिक न्यायको पक्षमा आवाज उठाउन प्रेरित गर्ने कंग्रेसको विश्वास छ ।
मणिपुरबाट थालनी भएको र्यालीमा हजारौँ महिलाहरुको सहभागिता थियो । यसले कंग्रेसलाई उत्साही बनाएको छ । यद्यपि यसलाई नियालिरहेका पत्रकार तथा लेखक निर्जा चौधरीले बीबीसीसँग भनेका छन्, ‘राजनीतिक दलका नेताले आफ्नो पीडा बुझेको भाषण गर्दा मानिसहरु निकै उत्साही हुन्छन् । यस्ता र्यालीमा उनीहरुले साथ पनि दिन्छन् । पार्टीलाई चुनावमा फाइदा भने पुग्छ वा पुग्दैन यो निकै बहसको विषय भइरहेको छ ।’
सत्तारुढ भारतीय जनता पार्टीले तेस्रो वर्ष पनि जित निकाल्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार तीन कार्यकाल प्रधानमन्त्री बनाउन खोजिरहेको छ । हालसालैको सर्वेक्षणले पनि मोदीलाई रोक्न कठिन रहेको देखाएको छ ।
कंग्रेसको यो यात्राले राजनीतिक लाभ प्राप्तिमा चुनौती नै रहेको टिप्पणी भइरहेको छ । ‘चुनाव सन्निकटमा रहेको अवस्थामा कंग्रेसले थालनी गरेको यात्राले भाजापालाई खासै असर पर्ने देखिँदैन । भाजपा अझै पनि माथि छ’, विश्लेषक मिलन वैष्णवले भनेका छन् ।
सत्तामा रहको भाजपाले उसैपनि राहुल गान्धी गम्भीर प्रकृतिको नेता नभएको र उनलाई राजनीतिमा वंशाणुगत विरासत प्राप्त भएको भन्दै लामो समयदेखि प्रचार गरिरहेको छ । गत साता भाजापका नेता रवि शंकर प्रसादले भनेका थिए, ‘यो मुलुकमा राहुललाई कसैले पनि गम्भीर रुपमा लिँदैन ।’
कंग्रेसले हिन्दी बहुल तीन राज्यमा हारेसँगै भाजपाले २८ मध्ये १२ राज्यमा एकल शासन गरिरहेको छ भने तीन राज्यमा गठबन्धन सरकार छ । १९४७ मा स्वतन्त्रता प्राप्तिसँगै दशकौँसम्म शासन सत्तामा रहेको कंग्रेसको नेतृत्व ३ राज्यमा मात्रै छ ।
भारतीय कंग्रेसले मोदीको नेतृत्वमा मुलुकको लोकतन्त्र धरासयी भएको, धार्मिक सहिष्णुतामा खलल पुगेको र अल्पसंख्यकहरुमाथि दमन गरेको आरोप लगाएको छ । यस्ता आरोपलाई भाजपाले अस्वीकार गर्दै आइरहेको छ ।
हालै, इन्डिया गठबन्धनका १५० सांसदलाई निलम्बन गरेसँगै सत्तारुढ र प्रतिपक्षी दलको सम्बन्धमा थप बिग्रिएको छ । सत्तारुढ दलले राजनीतिक प्रतिशोध साँध्न थालेसँगै प्रतिपक्षी गठबन्धनले आगामी निर्वाचन गर वा मरको क्षण रहेको बताउन थालेका छन् ।
कंग्रेसका प्रवक्ता सञ्जय झाले भनेका छन्, ‘आगामी निर्वाचन प्रतिपक्षी दलका निम्ति गर वा मरको क्षण हो ।’
प्रधानमन्त्री मोदी नपुगेको मणिपुरबाट न्यायिक यात्रा सुरु गर्नाले जनमत बढ्न सक्ने अपेक्षा कंग्रेसले गरिरहेको छ । मोदी मणिपुरमा नगएको भन्दै कंग्रेसले उनको कडा निन्दा गर्दै आएको छ ।
मोदीले हिंसा रोक्नका निम्ति कुनै पहल नगरेको आरोप कंग्रेसले निरन्तर लगाउँदै आएको छ । कंग्रेसका नेता मणिपुर आउँदैमा सबै समस्या अन्त्य हुने अपेक्षा र्यालीमा सहभागीहरुको थिएन तर यसले केही असर भने पुर्याउने उनीहरुको विश्वा सथियो ।
कंग्रेसका कार्यकर्ता रहेका मणिपुरबासी मइबम सर्दा लीमाले भनेका छन्, ‘जलिरहेको मणिपुरको समस्या राहुल गान्धीले बुझ्नेछन् र सत्तारुढ दललाई थप दबाब दिनेछ्न् भन्ने विश्वास छ ।’
मार्चमा हुने निर्वाचनको पूर्वसन्ध्यामा कंग्रेस २८ सदस्यीय इन्डिया गठबन्धनसँग सम्झौताको पहलमा छ । कतिपय पर्यवेक्षकहरुले भाजपालाई कडा चुनौती दिनेगरी सिट बाँडफाँटको सवालमा इन्डिया गठबन्धनले प्रष्ट उत्तर दिन नसकेको बताइरहेका छन् । मार्चसम्म त्यस गठबन्धनमा विभाजन आउनसक्ने स्थिति समेत छ ।
जनता दल युनाइटेडका नेता केसी त्यागीले चुनावी समीकरणबारे राहुलले छलफल नै गर्न नचाहेको आरोप लगाएका छन् । ‘राहुललाई न्याय र एकताको साँच्चिकै चिन्ता लागेको हो भने जुन जुलाइतिर यात्रामा गए हुन्थ्यो । चुनावको मुखमा यो यात्राको कुनै अर्थ छैन’, उनले भनेका छन् ।
अयोध्यामा राममन्दिर उद्घाटन हुनै लाग्दा कंग्रेस निमन्त्रणा लत्याउँदै यात्रामा निस्किएको हो । राम मन्दिरको उद्घाटनलाई भाजपा राष्ट्रिय उत्सवका रुपमा मनाउँदैछ ।
कंग्रेसले भने यो कदम राजनीतिक परियोजना मात्रै भएको बताएको छ । कतिपय वरिष्ठ शंकराचार्यहरुले समेत विधिको पालना नभएको भन्दै त्यहाँ सहभागितका लागि अस्वीकार गरेका छन् ।
भाजपाले यसैपनि कंग्रेसलाई गैर हिन्दु भन्दै प्रचार गरिरहेको हुन्थ्यो । राम मन्दिरको उद्घाटनमा नगएपछि कंग्रेसविरुद्ध भाजपाका लागि थप मसला उसै तयार भएको छ । यस कार्यक्रमलाई भारतीय मिडियाहरुले प्राथामिकताका साथ निश्चय नै सम्प्रेषण गर्नेछन् । भाजपा र कंग्रेसको आगामी ‘ब्याटल’ निकै रोचक हुनेवाला छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4