+
+

ट्रकलाई देशभर ‘नो पार्किङ’

बसपार्क छन्, ट्रकपार्क खै?

सडक किनारामा रोकिराखिएका ट्रक/टिपरमा अरु सवारी साधन ठोक्किएर हुने दुर्घटनाको संख्या ठूलो छ । सरकारले यसलाई अन्य दुर्घटना सरह नै मानेर रेकर्ड राख्ने गर्छ । ट्रक पार्किङसम्बद्ध समस्याले निम्तिएको दुर्घटनाबारे कुनै पक्ष गम्भीर बनेका छैनन् ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० माघ ४ गते २३:५९

४ माघ, काठमाडौं । सोमबार राति बर्दियाको राजापुर नगरपालिका-५ बदालपुरस्थित सडकमा भे७प ६११ नम्बरको मोटरसाइकल सडक छेउमा रोकिराखेको ना८ख १३८५ नम्बरको ट्रकमा ठोक्कियो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय बिन्द्राप्रसाद चौधरीको मृत्यु भयो । गम्भीर घाइते चौधरीको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएपछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लियो ।

गत ४ पुसमा कपिलवस्तुको बुद्धभूमि-२ गोरुसिंगेमा दाङबाट बुटवलतर्फ जाँदै गरेको ना५ख ९६४१ नम्बरको बस रोकिराखेको ना ८ ख १९९४ नम्बरको ट्रकमा ठोक्किंदा बसमा सवार ४ जना गम्भीर घाइते भए ।

१७ कात्तिकमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी-१७ रानीगञ्जस्थित कालीञ्जोर पुल रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकमा प्रदेश २-०३-००४ प ३५५ नम्बरको मोटरसाइकल ठोक्कियो । घटनामा मोटरसाइकल चालक हरिवन नगरपालिका-११ का २८ वर्षीय मुकेश गुप्ता र मोटरसाइकलको पछाडि बस्ने हरिवन-११ कै सुनिलकुमार गुप्ताको ज्यान गयो ।

२१ भदौमा दाङबाट आउँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा ठोक्किंदा ७ जनाको मृत्यु भयो भने २५ जना घाइते भए ।

यी प्रतिनिधि घटनाहरु मात्रै हुन् । सडक किनारामा रोकिराखिएका ट्रक/टिपरमा अरु सवारी ठोक्किएर हुने दुर्घटनाको संख्या ठूलो छ । सरकारले यसको छुट्टै रेकर्ड राख्दैन भने अन्य दुर्घटना सरह नै बुझ्ने प्रवृत्तिका कारण ट्रक पार्किङसम्बद्ध समस्याले निम्तिएको दुर्घटनाबारे कुनै पक्ष गम्भीर बनेका छैनन् ।

रोकिएका सवारीमा अरु सवारी ठोकिएर हुने दुर्घटना प्रायः राति र बिहानको समयमा हुन्छन् । लगातार भइरहेका यस्ता दुर्घटनाहरुबारे सरकार जानकार छ, तर कारण पत्ता लगाए पनि समाधानको काम गर्न अग्रसर छैन ।

नेपालमा ट्रक र टिपरको संख्या ७५ हजार रहेको अनुमान छ । तर, यी ट्रक र टिपरका लागि कतै पनि व्यवस्थित पार्किङ स्थल बनेको छैन । यसका कारण सडकमै र सडक छेउछाउमा रोकिएका ट्रकहरुमा अरु सवारी साधनहरु ठोकिने क्रम उच्च दरमा बढेको व्यवसायीहरु बताउँछन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ ट्रक सडक किनारमै पार्क गर्नुपर्ने बाध्यताले ठूला दुर्घटना भएर अनाहकमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताउँछन् । ‘राजमार्गमा गाडीहरु आफ्नै गतिमा दौडिन्छन्, ट्रकहरु सडकमै पार्क गर्नु परेपछि दुर्घटना त हुने नै भयो,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यस्ता कयौं घटना हुँदा पनि सरकार गम्भीर भएन ।’

सडक सुरक्षाविज्ञ पदमबहादुर शाही आवश्यक पूर्वाधार नबनाइँदा सवारी साधन जथाभावी रोकिने र त्यसमै अरु ठोकिने गरेको बताउँछन् । गुडिरहेका सवारी साधनले आवश्यक सावधानी नअपनाउने र सरकारले पार्किङ सम्बन्धी समस्या समाधान गर्न पहल नगर्ने हो भने अझै यस्ता घटनाको दर बढ्दै जाने उनको भनाइ छ । ‘यो विषय सरकार, व्यवसायी, ट्राफिक प्रहरी, चालक र यात्रुहरु गम्भीर बन्नुपर्छ,’ उनी भन्छन् ।

देशभर ‘नो पार्किङ’

सडक किनारमा सवारी साधन पार्क गर्न सरकारले निषेध गरेको छ । तर, अनुगमन ट्राफिक प्रहरीहरु परिचालित भएको क्षेत्रमा मात्रै हुन्छ । कतिपय स्थानमा प्रहरीले अवैध असुल गरेर पनि जोखिमपूर्ण रुपमा सडक किनारमा ट्रक रोक्न दिने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

अहिलेसम्म ट्रकका लागि सरकारले कतै पनि पार्किङस्थल तोक्न र बसपार्कजस्तै गरी व्यवस्थित ट्रक पार्क बनाउन नीतिसम्म बनाएको छैन । पूर्वाधार नभएपछि ट्रक पार्किङमा मनमौजी शैली छ ।

ट्रकहरु ट्राफिक प्रहरीले आपत्ति नजाउने क्षेत्रहरुमा पार्क गर्ने प्रचलन नै बसेको छ । सडक छेउछाउमा असुरक्षित तवरले पार्किङ गर्नु बाध्यता बनिरहँदा समस्या समाधानका लागि कुनै पक्ष गम्भीर बनेका छैनन् । ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ देशभर एक मिटर पनि सार्वजनिक ट्रक पार्किङ स्थल नभएको बताउँछन् ।

‘निजी क्षेत्रले पार्किङ पूर्वाधारमा लगानी गरेर सम्भव हुँदैन,’ उनी भन्छन्, ‘भयावह बन्दै गएको दुर्घटनालाई हेरेर मात्रै भए पनि सरकारले कदम चाले हुने थियो ।’

सरकारले देशभरका राजमार्गमा मात्रै हैन, काठमाडौं उपत्यकाको नाका क्षेत्र र उपत्यकाभित्र कतै पनि ट्रक पार्किङका लागि ठाउँ समेत तोकेको छैन । सरकारले चोभारको सुख्खा बन्दरगाहमा ट्रकलाई सशुल्क पार्किङको सुविधा दिन खोज्दा अपायक भएपछि व्यवसायी र चालकले रुची देखाएनन् । चालकहरुलाई विभिन्न कारण आइपर्दा सडककै छेउमा ट्रक रोक्नुपर्ने बाध्यात्मक अवस्था छ ।

ट्रक व्यवसायी महासंघका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठ कतिपयले सडक छेउमा गर्ने ट्रक पार्किङलाई असावधानी भन्ने गरे पनि यो बाध्यात्मक अवस्था भएको बताउँछन् । यसरी हुने पार्किङले गुडिरहेका अन्य सवारी र रोकिएका सवारीमाथि जोखिम उच्च बन्दै गएको उनको स्वीकारोक्ति छ ।

ट्रक व्यवसायी महासंघका अनुसार देशभर दैनिक करिब ६ देखि ७ हजार मालबाहक ट्रक देशभरका राजमार्ग र सडकहरुमा आवत-जावत गर्छन् । काठमाडौं उपत्यकामा मात्रै दिनमा १ हजारभन्दा बढी ट्रक मालसामान लिएर प्रवेश गर्छन् । क्रसरजन्य सामग्री लिएर छिर्ने टिपरको संख्या जोड्ने हो २५ सय भन्दा बढी उपत्यकाभित्र पस्छन् ।

यस्ता ठूला मालबाहक सवारी काठमाडौंको रिङरोडमा बिहान ८ बजेपछि र राति ८ बजेअघि छिर्न पाउँदैनन् । यसैकारण नाका आसपास आएका मालबाहक ट्रक तथा टिपर राजमार्गकै छेउ-छाउमा रोकिन्छन् ।

रातिमा रिंगरोडभित्र छिरेका पनि मालसामान अनलोड गर्न नभ्याए भोलिपल्ट राति मात्रै उम्किन पाउँछन् । धेरैजसो मालबाहक ट्रकहरु ट्राफिक कम हुने भएकाले रातिमा काठमाडौं नजिकैका राजमार्ग किनारमा आएर रोकिएर बस्छन् ।

तर, उपत्यका छिर्ने कुनै पनि ट्रकले पनि पार्किङका लागि सडक किनाराको विकल्प पाएका छैनन् । यस्तो सास्ती र जोखिम हटाउन राजमार्ग र उपत्यकाभित्रै पनि ट्रकका लागि उचित पार्किङस्थल अत्यावश्यक देखिन्छ ।

व्यवसायीहरु उपत्यका आउने मालसामान खन्याउने गोदाम र सँगै पार्किङ स्थल नाकामै बनाउनु पर्ने पक्षमा छन् । नाकामै सामान लोड-अनलोड गर्दा शहरभित्र छिर्दाको सास्ती, जाम र दुर्घटना पनि घट्ने उनीहरुको तर्क छ ।

१३ वर्षदेखि सरकारसँग एकीकृत गोदामसहित ट्रक पार्किङ बनाइदिन आग्रह गरे पनि चासो नै नदिइएको महासंघले बताएको छ । ट्रक ढुवानी व्यवसायीहरुले काठमाडौंको चोभारमा ट्रक पार्किङ बनाउन सकिने भनेर सुझाव दिए पनि बेवास्ता गरिएको पूर्व अध्यक्ष श्रेष्ठ बताउँछन् ।

राजमार्गका विराटनगर र भैरहवाजस्ता मुख्य शहरमा कम्पनीहरुले नै साना पार्किङ स्थल बनाए पनि त्यसलाई व्यवस्थित गर्न सरकारले सघाएको छैन ।

सार्वजनिक पार्किङ स्थल नतोकिंदा तेल र ग्यास बोक्ने ट्यांकर/बुलेटहरुलाई बढी समस्या हुने गरेको छ । कसैगरी रोकेको ठाउँमा दुर्घटना भए वस्ती क्षेत्रमै विपत् आइपर्न सक्ने सम्भावना समेत छ ।

छैन चालकलाई विकल्प

पार्किङ स्थल मात्रै हैन, राजमार्गमा सवारी पार्क गर्न कुनै पनि स्थानमा सरकारी पक्षले कुनै पनि पूर्वाधार बनाएको छैन ।

राजमार्गका विभिन्न ठाउँमा अत्यावश्यक पर्दा पार्किङ गर्न ठाउँहरु छुट्याइएको छैन ।

चितवनका ट्रक चालक सन्तोष भुजेल मालवाहक अवस्थामा ट्रक बिग्रियो भने सडकमै रोकेर जोखिम मोल्दै मर्मत गर्नुपर्ने बताउँछन् । राजमार्गमा गाडी बिग्रँदा ढुंगा र स्याउला राखेर जोखिमको संकेत गर्ने गरिएको उनले बताए ।

‘कतिपय ठाउँमा त सडकबाट किनारमा लैजाने ठाउँसमेत हुँदैन,’ उनी भन्छन्, ‘साउदी गएर पनि मैले गाडी चलाएँ, त्यहाँ त समस्या पर्दा गाडी रोक्न मिल्ने गरी ठाउँ-ठाउँमा खाली ठाउँ छुट्याइएको हुन्थ्यो ।’

अर्का ट्रक चालक शत्रुधन पराजुली लामो दुरीबाट सामान ओसारपसार गर्दा ज्यानको पर्वाह नगरी सडकमै ट्रक पार्क गरेर बस्नुपर्ने बताउँछन् । बाटोको खराब अवस्थाले सयममै गन्तव्यमा पुग्न कठिन भइरहेका बेला रात बस्नुपर्दा ट्रक अड्याउने ठाउँ नै नभेटिने बताउँछन् । ‘कसैको घर, पसल र होटल अघि रोकेर बस्न मिल्दैन, धपाइहाल्छन्,’ उनी भन्छन्, ‘बजारतिर त प्रहरी र ट्राफिक प्रहरीले एकछिन रोकिन पनि दिँदैनन्, जरिवाना पनि तिराउन तम्सिन्छन् ।’ प्रायः जंगलमा रोकेर बस्ने गरे पनि रातमा प्रहरीको गस्तीले खानतलासी लिएर दुःख दिने गरेको उनको गुनासो छ ।

काठमाडौं ट्रक चालक सरोज मगर शहर र सडकमा ट्रक पार्क गर्ने ठाउँ नहुँदा भित्री सडकतिर लगेर पार्क गर्नु परिरहेको बताउँछन् । ‘भित्री सडकमा पार्क गरेको ठाउँमा पनि गाडी सुरक्षित हुँदैन,’ उनी भन्छन्, ‘साना ट्रकहरु त पार्किङ गरेको नरुचाउने मान्छेले धकेल्दिने जोखिम हुन्छ ।’

मकवानपुरको पालुङका ट्रक चालक राजन कार्की गाडी चलाउँदा ज्यान आफ्नो हातमा हुने भएपनि कतै रोकेर बस्नु पर्दा भगवान पुकार्नुपर्ने अवस्था आएको बताउँछन् । ‘रोकेर बसेका बेला कुन गाडी कताबाट बत्तिएर आएर ठोकिदिन्छ भन्ने पत्तो हुँदैन,’ उनी भन्छन् ।

उनका अनुसार राजमार्ग छेउमा गाडी छोडेर हिँड्न पनि नमिल्ने भएकाले गाडीभित्रै सुस्ताउनुपर्ने बाध्यता पर्छ । ‘राति निदाउन सकिन्न,’ कार्की भन्छन्, ‘ठाउँ-ठाउँमा ट्रक पार्किङ गर्ने स्थान बनाएर पैसा तिरेरै खाने, बस्ने ठाउँ बनाए हुने थियो ।’

कमजोर पूर्वाधार र मापदण्ड

सडक सुरक्षाका विज्ञहरु सार्वजनिक सवारीलाई पार्किङको उचित प्रबन्ध नगर्दा बढेको जोखिमलाई घटाउन काम सुरु गरिहाल्नुपर्ने बताउँछन् । पूर्वाधारसहित आवश्यक मापदण्डहरु पनि बनाउनुपर्ने उनीहरुको भनाइ छ ।

सडक सुरक्षाका विज्ञ पदमबहादुर शाही नेपालको सडक मापदण्डमा सवारी रोक्नुपर्दा सुरक्षाका लागि के-के पूर्वाधार बनाउने भन्ने विषय नै समावेश नभएको बताउँछन् । ‘सवारी चालकलाई पिसाब लाग्न सक्छ, राजमार्गमा त्यसका लागि कतै सरकारले शौचालयसहित पार्किङ बनाएको छ त ?’ उनी भन्छन्, ‘सवारीमा समस्या आएमा आए-नआएको परीक्षण गर्नका लागि पार्क गर्न कतै छुट्टै ठाउँ दिइएको पनि छैन ।’

बसमा यात्रुबाट थोरै भए पनि व्यापार हुने लोभमा होटलवालाहरुले रोक्न दिने भए पनि ट्रकमा यात्रु नहुने भएकाले रोक्नै नदिने गरेको उनले बताए । यसले गर्दा चालक र यात्रुले पिसाब फेर्न पनि जोखिम मोल्नुपर्ने अवस्था रहेकाले सरकारले राजमार्गमा सुरक्षा र चालक तथा यात्रु सेवाको पूर्वाधार बनाउने ध्यान दिनुपर्ने उनको मत छ ।

राजमार्गहरुमा निजी क्षेत्रलाई प्रोत्साहित गरेरै भए पनि सबै खालका सवारीलाई लक्षित गरेर रिफ्रेसमेन्ट सेन्टरहरु बनाउन सकिने विज्ञहरुको मत छ । चालकहरुलाई सडक छेउमा सवारी रोक्दा हुने जोखिम र त्यसबाट बच्ने उपायबारे सचेतना जगाउन पनि आवश्यक रहेको विज्ञ शाहीले बताए ।

विज्ञ शाही अत्यावश्यक परेर सडक छेउमा गाडी रोक्दा चालक-सहचालकले के-के गर्नुपर्ने भनेर पनि मापदण्ड नै बनाउनुपर्ने बताउँछन् । गाडी रोकिएको भागभन्दा १०-२० मिटर पर संकेत चिह्नहरु राख्न सकिने भन्दै सवारीले त्यस्ता चिह्न जनाउने वस्तु लिएर हिँड्नुपर्ने नियम बनाउनुपर्ने उनको विचार छ ।

गाडी मर्मतका क्रममा रोकिएको संकेत दिने गरी बत्ती पनि सवारीमा राख्न र बाल्न सकिने उनको भनाइ छ । ‘५० लाखको गाडीमा २-४ हजार थप लगानी भए रोकिएको सवारीमा अर्को सवारी ठोकिएर हुने दुर्घटना घटाउन सकिन्छ,’ उनले भने, ‘सवारीको मापदण्डमा पनि पुनरावलोकन गर्न समेत सरकार तयार हुनुपर्छ ।’

सहजीकरण गर्न यातायात विभाग तयार

पूर्वाधार अभावमा यातायात व्यवस्था विभाग ट्रक र टिपरको पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको स्वीकार्छ ।

विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु रातिमा काठमाडौं छिर्ने ट्रक र टिपरको पार्किङ व्यवस्थापनलाई सहज बनाउन खोज्दा समेत गृह मन्त्रालय, यातायात विभाग र ट्राफिक प्रहरीका निर्णयहरुले समस्या परेको बताउँछन् ।

व्यवस्थित पार्किङ स्थल बनाउनुपर्ने भए पनि त्यसका लागि अहिलेसम्म ठोस काम नभएको उनको भनाइ छ । ‘नयाँ संविधान जारी भएपछि ट्रक पार्क बनाउने जिम्मा सम्बन्धित स्थानीय तहहरुकै हो, त्यसमा विभाग सहजीकरण गर्न तयार नै छ,’ उनले भने, ‘तर अहिलेसम्म ट्रक पार्किङ समस्या समाधान हुने गरी काम भएको देखिँदैन ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?