+
+

अन्तरमनको रमणमा मदन माझी

उक्त दिन कोपिला रेस्टुरेन्टमा पुग्नासाथ भनिन्, ‘दाइ ! मदन माझीलाई प्रहरीले लगेछ । माझी गाउँ नै आतङ्कित छ । हिंड्नु न चौकी हजुर बोलिदिए हुन्थ्यो कि !’

शम्भु अर्याल शम्भु अर्याल
२०८० माघ ६ गते १८:४७

वालिङ बजारको छेउमा सुम्दी रह माथिपट्टि झुरुप्प परेको गाउँ छ । यो बस्ती माझी समुदायको हो । जब म सानै थिएँ माझी समुदायले आँधीखोलामा डुङ्गा खियाउने र माछा मार्ने काम गर्थे । यिनीहरूलाई बोटे पनि भनिन्थ्यो । आँधीपारिका मान्छे वारपार गर्ने पुल नै डुङ्गा थियो ।

यिनीहरूको वासस्थानसुरक्षित थिएन । बर्खायाममा झरी लाग्योभने बगिजाने प्रकृतिको भिरालो पाखो । बारीका सुर्कामाथि बाँसको झाँज लगाएर बनेको भित्तो र खरको छाना नै उनीहरूको ओत लाग्ने झुप्रो थियो । २०७२ सालको भूकम्पपछि भने झुप्राहरूमा टीनको पत्र लागेको छ ।

जब आँधीखोलामा मोटरेवल पुलहरू तीव्र गतिमा बन्दैगए, उनीहरू आफ्नो पेशाबाट वञ्चित हुँदैगए । जब नगरपालिकाले आँधीको ढुङ्गा र बालुवामा अनियन्त्रित दोहन गर्दैगयो खोलामा माछा पनि पातलिन थाले । अहिले त माझी समुदायको पेशा मात्रै होइन, गोत्र पनि सङ्कटमा परिसकेको छ ।

आजकल उनीहरू नजिकैको वालिङ बजारमा झरेर मिस्त्री काम गर्छन् । साँझ परेपछि परिवारको नुनतेलको जोहो गरेर घर फर्किन्छन् । उनीहरूको सम्पत्तिको नाउँमा त्यही बस्ती वरिपरि रहेको दुईहाते बारीका सुर्काहरू छन् ।

आँखै अगाडि देखिने अग्ला–अग्ला टावरमा उनीहरूको कुनै अधिकार छैन । दावी पनि उनीहरूले कहिल्यै गरेनन् । बेंसीका फराकिला सुनजस्तै धानका बाला झुल्ने फाँटमा त उनीहरू बर्खायामसँगै अतिरिक्त काम गर्न काँधमा हरिस र जुवा बोकेर झर्ने गर्दछन् र हल चलाउने गर्दछन् ।

फाँट उनीहरूले सम्याउँछन्; कब्जा अरू कसैले गरिरहेका हुन्छन् । पङ्क उनीहरूले हिल्याउँछन्; धान अरू कसैले उब्जाइरहेका हुन्छन् । आजकल ट्याक्टर मार्फत जोताइको काम हुनलागेपछि उनीहरूको अतिरिक्त पेशा पनि एकादेशको कथा बन्न पुगिसकेको छ । कुनै जमानामा अहिलेका डोजर र ट्याक्टर जस्तै थिए उनीहरू । त्यो पनि समयले उनीहरूलाई लोककथा बनाइसकेको छ ।

मेरो आफ्नै होटलमा हाउसकिपिङको काम गर्छे कोपिला माझी । ऊ त्यही माझी गाउँकी लता हो । दश कक्षासम्म पढेकी कोपिला यो गाउँकी चमेली हो । अरूभन्दा टाठीबाठी कोपिला माझी गाउँकै सरिता हो । गाउँमा चौकी, अड्डा, अदालतमा काम पर्‍यो भने उसलाई नै यो समुदायले खोज्छ ।

स्थानीय निर्वाचनमा वडामा जनप्रतिनिधिको विजयको लागि यही गाउँ नै निर्णायक मत रहने गर्दछ । शायद यो नगरपालिकामा पनि अनुरक्त हुनसक्छ ।

प्रत्येक निर्वाचनमा दलीय भीड यही गाउँमा हुन्छ ।उनीहरू दलीय आश्वासनले एकापसमा मोर्चा कस्छन् र जिताउँछन् आश्वासनले आफ्नो मन जितेको दलीय उम्मेदवारलाई । उनीहरूको मनले चाहेकै परिणाम आउँछ ।

निर्वाचन सकिएपछि आश्वासन छेपारोको रङजस्तै फेरिन्छ । न त आश्वासनले सार्थकता पाउँछ न त निर्वाचित जनप्रतिनिधिले नै उनीहरूको अनुहार चिन्छन् । निर्वाचित जनप्रतिनिधिको अनुहार उनीहरूले पनि चिन्दैनन् ।

उनीहरू कहिलेदेखि यस्तो बने त्यो त इतिहास जानोस् । तर प्रजातन्त्र प्राप्त गरेको यतिका वर्ष उनीहरू यसरी झुक्किइरहेका छन् जसरी झुल्किन्छ तिर्खाले आकुलव्याकुल भएको जीवनको दृष्टि मृगतृष्णाको पछाडि । उनीहरूले पनि जति दगुरेपनि भेट्टाउनै सक्दैनन् आश्वासनको कुवा ।

नेपाली शब्दकोश पढेर वालिङ नगरपालिकामा आफ्नै स्थान ओगटिरहेका जिम्मेवार व्यक्तित्वहरूले सिद्ध गरिरहेका हुन्थे कि माझी समुदायको शब्दकोशमा आश्वासनको पर्यायवाची शब्द मृगतृष्णा हो भनेर ।

विश्वास उनीहरूको लागि मृगमरीचिका हो । पानी पनि हुन्छ । मृगमरीचिका पनि हुन्छ । यति कुरा उनीहरूले न त कहिल्यै पढे । न त कसैले बुझाए । बुझ्नैपर्छ भनेर लगाम लगाएपनि उनीहरूले यस्ता कुरा बुझ्दैनन् ।

उनीहरूको एउटै प्रश्न छ– मदन माझी यो देशको नागरिक हो कि होइन ? मदन माझीले पुष्पा माझीलाई विवाह गरेको हो कि जबर्जस्ती करणी ? मदन माझीलाई राज्यले विवाह गराएको हो कि ऊ आफैंले फकाएर विवाह गरेको हो ? के मदन माझीको राज्यमा कुनै अधिकार छैन ? के नेपाल सरकारको जनप्रतिनिधि, प्रहरी अधिकृत, जिल्ला न्यायाधीश र सर्वोच्च अदालतले मदन माझी माथि न्याय गरिरहेको छ ?

उनीहरूलाई यति कुरा पढाउनपर्दैन । सिकाउन पनि पर्दैन । रीतिरिवाजमा अभ्यस्त हुँदैजाँदा उमेरको प्रवाहसँगै उनीहरूको जीवनचर्याले मुखाग्र बनाइसकेको हुन्छ–माछा मार्ने काम वंश–परम्परा हो । डुङ्गा खियाउने काम पुस्तैनी पेशा हो ।

जब उनीहरू पढेर निस्कन्छन् प्रकृतिका अल्पसङ्ख्यक उनीहरूको सुविधा बहुसङ्ख्यक अर्को शक्तिले खोसिसकेको हुन्छ । त्यही माझी गाउँको तन्नेरी हो– मदन माझी । बा दमको रोगले अवसान भएपछि स्कुल जाने उमेरमा भुम्रे बजारमा निर्माणको काम गर्छ मदन माझी ।

भिरकोट नगरपालिकाको जगतपुर गाउँमा भिरकोट दरबार छ । जगतपुरमा पनि केही घरमा माझी समुदायको बस्ती छ । दरबारमुनि कुनै जमानामा सुब्बा चलाएकी सुब्बेनी आमा बस्छिन् । यही माझी समुदायकी पुष्पा माझी उनको घरमा बाख्रा चराउने काम गर्छिन् । पुष्पा टुहुरी केटी हो जो सौतेनी आमाको स्याहारमा हुर्किई र सुब्बेनी आमाको संरक्षणमा बढिरहेकी छ ।

जगतपुरको माझी गाउँ र वालिङको माझीगाउँ बीच अन्योन्याश्रित सम्बन्ध रहन्छ । मदन माझीको फुपूको घर जगतपुरको माझी गाउँमा पर्दछ । बाउको अवसानपछि सहाराविहीन बनेको मदन माझीलाई पुष्पा माझीसँग विवाह गरिदिए मदन माझीको उद्धार हुने अभिप्रायले मदनकी फुपूले पुष्पाकी सौतेनी आमासँग विवाहको प्रस्ताव राखिन् । विषयसन्दर्भ उचित लाग्यो । दुवै पक्षका अभिभावक मिलेर माझी परम्परा अनुसार मदन माझी र पुष्पा माझीको विवाह सम्पन्न भयो ।

विवाह गरेको एकहप्ता पछि पुष्पा माझी माइत फर्किइन् । सुब्बेनी आमालाई भेटिन् ।सुब्बेनी आमाले भनिन्,‘मैले हुक्र्याउने । मलाई नसोधी विवाह गरिछस् त नानी !’पुष्पा माझीले भनिन्,‘आमाले विवाह गराइदिइन् ।’

अनि पुष्पा माझीलाई वडा प्रहरी कार्यालय लिएर गइन् । बालविवाह र जबर्जस्ती करणीको२०७६ आँधीखोला–२ परिवर्तित नामबाट मुद्दा दर्ता गरिदिइन् ।

उक्तदिन कोपिला रेस्टुरेन्टमा पुग्नासाथ भनिन्,‘दाइ ! मदन माझीलाई प्रहरीले लगेछ । माझी गाउँ नै आतङ्कित छ । हिंड्नु न चौकी हजुर बोलिदिए हुन्थ्यो कि !’

म कोपिलालाई लिएर वडा प्रहरी कार्यालय गएँ । इन्स्पेक्टर हुनुहुन्थ्यो शङ्करप्रसाद आचार्य । अनुरोध गरें, ‘सर यो मुद्दा जबर्जस्ती करणी होइन । सर म जगतपुर गएर सुब्बेनी आमालाई लिएर आउँछु । छलफल गरेर घटनाको वास्तविकता पहिचान गरौं ।’

एकछिन मुद्दा दर्ता नगरिदिन अनुरोध गरें । मेरो अनुरोधलाई उहाँले अस्वीकार गर्नुभयो । जबर्जस्ती करणीको मुद्दा मिलाउन आउनेलाई पनि सजाय हुने कानुनी व्यवस्था मलाई अथ्र्याउनुभयो । म प्रहरीकार्यालयबाट सीधै नगरप्रमुखको कार्यकक्षमा पुगें । घटनाको वास्तविकता अवगत गराएँ । मेरा सबै अनुरोध निरर्थक बन्नपुग्यो ।

अब राज्यको कानुन नै घटनाको निर्णायक थियो । जिल्ला अदालत गएँ । मुद्दाको प्रतिलिपि उतारें । आर्थिक खर्च भइसकेको थियो । पटक–पटक आउनु–जानुको शारीरिक परिश्रम त छँदैथियो ।

न्यायाधीश हुनुहुन्थ्यो श्रीमान् सूर्यबहादुर थापा । म उहाँको इजलासमा पसें र भनें,‘श्रीमान् मदन माझीको सन्दर्भ जबर्जस्ती करणी होइन । न त उसले पुष्पा माझीलाई फकाएर विवाह गरेको हो । यो मुद्दाको सन्दर्भमा उसका आफ्नै अभिभावकले मागी विवाह गरिदिएका हुन् । श्रीमान् हजुरले न्याय गरिदिनुपर्‍यो ।’

म पनि साक्षी थिएँ । उहाँले भन्नुभयो,‘तपाईंले बकपत्र प्रस्तुत गर्नुहोस् । यो मुद्दामा बकपत्र गर्न बुझेको मान्छे पनि भेटिएन ।’

म अदालतको कठघरामा उभिएर मुद्दाको वास्तविक बकपत्र पेश गरें,‘यो परिवारका अभिभावकले गराइदिएको विवाह हो । बालविवाह पनि होइन । जबर्जस्ती करणी पनि होइन । पुष्पा माझीको जन्मदर्ता पनि थिएन । नागरिकता पनि थिएन । मुद्दा दर्ता गरेर सुब्बेनी आमाले उमेर कम गरेर पुष्पाको नागरिकता बनाएकी हुन् ।’

तत्कालीन जिल्ला न्यायाधीश श्रीमान् सूर्यबहादुर थापाको इजलासले मदन माझीलाई १८ वर्षको जेल सजाय तोक्यो ।

राज्यभित्र मदन माझीजस्ता अबोध दीनहीनहरू पनि बसोबास गर्ने गर्दछन् । राज्यभित्र भिरकोट जगतपुर गाउँकी सुब्बेनी आमा जस्ता हुन्छन् नै ।सूर्यबहादुर थापा जस्ता कानुनका वायुपङ्खीहरू पनि राज्यकै नागरिक हुन् ।

मदन माझीलाई हत्कडी लगाउने सुरक्षाको लागि खटिइरहेका इन्स्पेक्टर पनि यही राज्यका नागरिक हुन् । जब सत्य र निष्ठा कमजोर हुन्छ राज्य विचारले कलुषित बन्नपुग्छ । राज्यका जिम्मेवार व्यक्तिहरूको अदूरदृष्टि;अकर्मण्यताले राज्य अपवित्र बन्नपुग्छ र निर्दोष निमुखाहरू अनाहकमा सजायको भागीदार बन्नपुग्छन् ।

मदन माझी जेल परेपछि मदनकी बुढी आमा एक्लै परिन् । वरिपरि भिराला सुर्काहरूमा समुदाय त थियो । आफ्नो परिवारको भोक मेटेर संरक्षण गरिसकेपछिको अतिरिक्त समय मात्र मान्छेले अरूको ख्याल गर्नसक्छ । यो समुदायको साझा सन्दर्भ हो ।

मदन माझी नै नरहेपछि उसकी बुढी आमाको स्याहार वरिपरि रहेको समाजले अतिरिक्त समयमा मात्रै गर्‍यो । मान्छे आफैंशक्त हुँदा सहयोग चाहिंदैन तर अशक्त हुँदा मान्छेलाई अर्काको सहयोग चाहिन्छ ।

बुढो शरीर समयमा सुत्न, उठ्न, लुगाफाटो धुन र अन्नको जोहो गर्न समाजले गरेको सहयोग बुढो शरीरलाई पूर्ण कसरी पो हुनसक्थ्यो । उनी वृद्ध मात्रै थिइनन् । एकमात्र निर्दोष छोरो कारागार पर्नुमा विक्षिप्त र शोकाकुल पनि थिइन् ।

विस्तारै बुढो शरीर बोधो बनेन राज्यको बुढी मझीनीले अवसान प्राप्त गरिन् । यो पनि समाजमा न त कसैले देख्यो, न त राज्यले नै । मान्छेले मृत्युको मुखमा छोराको हातबाट दुई आचमनी पानीको इच्छा राख्दछ । त्यो पनि यही राज्यले उनको लागि खोस्यो ।

असारको महिना थियो । म आफ्नै लाइब्रेरीमा अन्तर्मनको यात्रामा रमण गरिरहेको थिएँ । डल्ले दमाइको फोन आयो । ‘सर ! झट्टै घर आइदिनु त ! हामी काममा गएका थियौं । घर फर्किंदा त घरभित्र बुहारीले बाँसको दलिनमा नै पासो लगाइछ । प्रहरीले हामी बुढाबुढीलाई नै चौकी हिंड् भनेको छ ।’

आफ्नै व्यावसायिक निवासको माथिपट्टि थुम्कोमा पुग्नको लागि बाइक पनि लगिनँ । पछाडिपट्टिको ढोका खोलें र ठडिएँ । घर पुग्दा तल–माथिका सुर्काहरूमा मान्छेको भीडले घेरिरहेका थिए । भीडलाई पन्छाएँ र तल्लो सुर्कोमा कान्लाको बिटनेर उभिएँ । माथिल्लो सुर्कामा बाँसको झाँजले बारेको झुप्रोको ढोकाभित्र बाँसको दलिनमा महिला झुण्डिइरहेकी थिई ।

घोरिएर हेरिरहें । उही पुष्पा माझी थिई । एकछिन स्तब्ध रहें । मनमस्तिष्क हल्लियो । सोझो मदन माझी कारागार पर्दाका दिनहरू सिनेमाको पर्दामा जस्तै एकपछि अर्को गरेर आइरह्यो । उसलाई कारागार पठाउने उसका आफन्तहरू, अफिसरहरू, समाज र जनप्रतिनिधिहरू सिनेमाको कथा जस्तै थिए । फरक यत्ति थियो सिनेमामा उदार चरित्र नायकको हुन्छ, जीवनभर न्यायको लागि लडिरहन्छ र सत्यको जित हुन्छ । मदनमाझीको सन्दर्भमा समाजका सबै नायक पात्रहरू बहादुर थिए । झुटको लागि लडिरहेका थिए । जित झुटको भइरहेको थियो ।

झुप्रोको छानोमुनि परिवारको माया, प्रेम, खुशीभन्दा बढी करुणा, नैराश्य र दुःख व्याप्त थियो । शनैश्चर अधोगतिमा चलिरहेको अतिरिक्त मानवीय मूल्य स्थापित थियो मदन माझीको झुप्रो मुनि ।

माझी समुदायले यही राज्यको लागि जीवनभर परिश्रम ग¥यो; परिश्रम गरेजस्तो भएन । विवाह गराउनेहरू पढेका थिएनन् । विवाह गर्नेहरू पनि पढेका थिएनन् । न त उनीहरू यस्ता कुरामा कहिल्यै परेका थिए ।

राज्य चलाउने संयन्त्रमा सबै पढेका थिए । सुब्बेनी आमा पढेकी थिइन् । उसलाई हत्कडी लगाउने सिपाहीहरू पनि धेरैथोरै पढेका थिए । हत्कडी लगाउन आदेश दिने इन्स्पेक्टर पढेका थिए । सिडिओ पढेका थिए । कारागार पठाउने सरकारी वकिल, जिल्ला न्यायाधीश, कानुन पढेर निमुखा र निर्धाहरूको वकालत गर्न बसेका थिए ।

राज्यभित्र जनप्रतिनिधिहरूले त कमसेकम जान्नुपथ्र्यो आफ्नो ठाउँमा के भइरहेको छ भनेर । यिनीहरूमध्ये कसैले देखेनन्, देख्न चाहेनन् । बोलेनन्, बोल्न चाहेनन् । यो मेरो प्रश्न होइन जनताको प्रश्न हो । यो मेरो आवाज होइन जनताको आवाज हो ।

म राज्यसँग प्रश्न गर्न चाहन्छु, मदन माझीले जबर्जस्ती करणी गरेको देखेको अदालतले उसलाई विवाह गराइदिनेहरूलाई किन देखेन ? पुष्पा माझीलाई नाबालक देखेको अदालतले तुरून्तै अर्को ठाउँमा गरेको विवाह किन देखेन ? के राज्यले जनताको भोक देख्नसक्छ ? के राज्यले लोपोन्मुख मान्छेको पहिचान गर्नसक्छ ? के राज्यले जनतामाथि न्याय गर्नसक्छ ? के राज्यले बालविवाह र जबर्जस्ती करणीको वास्तविकता पहिचान गर्नसक्यो ? के मान्छेले पढेर न्याय गर्नसक्छ ? के राज्यभित्र जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनसक्छन् ? के मुलुकी ऐनले जनतालाई न्याय गर्‍यो?

वालिङ– ६, स्याङ्जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?