+

खराब सपना देखिरहनु कुनै समस्या हो ?

२०८० माघ  ७ गते १३:०९ २०८० माघ ७ गते १३:०९
खराब सपना देखिरहनु कुनै समस्या हो ?

सामान्य शब्दमा भन्नुपर्दा सपना दुई प्रकारका हुन्छन्, नराम्रो सपना र राम्रो सपना । कहिले राम्रो त कहिले नराम्रो सपना देख्नु सामान्य हो । तर कसैकसैमा भने बारम्बार खराब सपना देख्ने समस्या  हुन्छ । खराब सपनाको कारण निद्रामा कठिनाइ, डर, तनाव जस्ता समस्याको सामना गर्नुपर्छ । यस्तोमा खराब सपनाको आउनुको कारण के हो त ?

के मान्यता छ भने सपना अवचेतन मनको उपज हो । दिनभर देखेको, भोगेकै कुरा नै पुनरावृत्तिको रूपमा सपनामा देखा पर्छ । सपनाले पछि हुने घटना–दुर्घटनाबारे समेत संकेत गर्छ । त्यसैले डरलाग्दो वा खराब सपना देखेपछि त्यसले हामीमा चिन्ता पैदा गर्छ ।

खराब सपना देख्नुको कारण

खराब सपनाको सबैभन्दा सामान्य कारण गहिरो निद्रा लाग्न नसक्नु हो । निद्राको कमीले मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ । जसका कारण डरलाग्दो सपना देख्न सकिन्छ ।

सपनालाई व्यक्तिको शारीरिक वा मानसिक अवस्थाले प्रभाव पार्छ । कहिलेकाहीं सपनामा एकदमै भिरालो ठाउँमा पुगेको देख्छौं । त्यहाँबाट भाग्न खोज्दा सकिंदैन । यो हतास वा त्रसित दिमाग भएको अवस्थामा देखिने सपना हो ।

यदि कोही व्यक्ति नकारात्मक सोच्छ वा नकारात्मक कुराहरूमा आकर्षित हुन्छ भने उसले नराम्रो सपना देख्छ । राति सुत्नुअघि डरलाग्दो फिल्म वा काल्पनिक कुरा हेर्दा पनि खराब सपना देखिन्छ । यदि कुनै व्यक्तिको जीवनमा कुनै अप्रिय घटना घटेको छ भने त्यसको बारेमा बारम्बार सोच्दा पनि खराब सपना देख्न सकिन्छ ।

खराब सपनामा केही सन्देश लुकेको हुन्छ । उदाहरणका लागि यदि कसैले स्कुल वा काममा बारम्बार ढिला गएको सपना देख्छ भने समयको व्यवस्थापनमा त्यो व्यक्तिको पर्याप्त तयारी कहिल्यै हुँदैन । त्यसैको तनावका कारण उसले नराम्रो सपना देख्छ ।

एन्जाइटी (चिन्ता) र डिप्रेसन (अवसाद) जस्ता मानसिक समस्या पनि बारम्बार नराम्रो सपनाको कारण हुन सक्छ । राति नराम्रो सपना देखेपछि दिनभर त्यसले चिन्तित बनाइरहन्छ । धेरै तनाव लिनु पनि खराब सपनाका कारण हुनसक्छ । धेरै तनावले अनिद्रा निम्त्याउँछ र खराब सपना देख्न सकिन्छ ।

सामाजिक कठिनाइ र आफूलाई अरूको तुलनामा कमजोर ठान्ने व्यक्तिगत मनोवृत्तिका कारण पनि त्यस्ता सपना देखिने हुन्छ ।

मानिसले जीवनमा धेरै नकारात्मक अनुभवसमेत बटुलेका हुन्छन् । त्यसलाई हाम्रो अवचेतन मनले सँगालेर राखेको हुन्छ । बारम्बार त्यसलाई उत्सर्जन गर्छ । यो पीडादायी ऊर्जा डरलाग्दो सपनाका रूपमा बाहिर निस्किन्छ । कुनै विषयमा डरलाग्दो सपना देखिरहनुको अर्थ हुन्छ कि त्यस विषयमा हाम्रो मस्तिष्कमा डर, चिन्ता तथा पीडा सञ्चित छ र वास्तविक जीवनमा त्यसलाई सम्बोधन गर्नु आवश्यक हुन्छ ।

कुनै दर्दनाक घटना वा दुर्घटनाको कारण तनाव विकारपछि खराब सपना आउन थाल्छ । जस्तो प्राकृतिक प्रकोप, प्रियजनको मृत्यु, सम्बन्ध टुट्नु लगायतका अकल्पनीय घटनाले ‘पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर’बाट  आक्रान्त भयो भने नराम्रा सपना देखिन थाल्छ ।

नराम्रो सपनाबाट बच्ने उपाय

मनलाई तनावमुक्त राखेर नराम्रो सपनाबाट बच्न सकिन्छ । यदि दिनभर तनावमुक्त रहियो भने खराब सपनाबाट बच्न सकिन्छ । आफूलाई तनावमुक्त बनाउन आफूलाई मनपर्ने किताब पढ्ने गीत सुन्ने गर्न सकिन्छ ।

कुनै दर्दनाक घटना वा दुर्घटनाको कारण नराम्रो  सपना आउने भएकाले त्यस्ता घटनालाई बिस्तारै बिर्सेर यस्ता सपनाबाट बच्न सकिन्छ ।

स्वस्थ निद्रा र सुखद् दिनचर्या अपनाउन आवश्यक छ । त्यसको पहिलो चरण भनेको सुत्ने र उठ्ने समय तय गर्नु हो । सुत्ने कोठा अँध्यारो चिसो छ भने त्यसलाई परिवर्तन गरेर पनि नराम्रो सपनाबाट बच्न सकिन्छ ।

नराम्रो सपनाले तनाव सिर्जना गर्ने वा दु:खी बनाउँदा अन्य काममा समेत असर पुर्‍याउन सक्छ । त्यसैले लामो समयसम्म नराम्रो सपना देखिन्छ भने यस्तो अवस्थामा मनोचिकित्सकको परामर्श लिनुपर्छ ।

खराब सपना गृष्मा पनेरु मानसिक स्वास्थ्य
गृष्मा पनेरु
लेखक
गृष्मा पनेरु
मनोपरामर्शदाता

पनेरु मनोपरामर्शदाता हुन् । उनी हाल काठमाडौंस्थित सर्वमाया हेल्थ केयर र सारथी फाउन्डेसन नेपालमा कार्यरत छिन् । उनले साइकोलोजीमा एमए गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय