+

किन हुन्छ बालबालिकामा पिसाब चुहिने समस्या ?

२०८० माघ  १२ गते १३:३० २०८० माघ १२ गते १३:३०
Shares
किन हुन्छ बालबालिकामा पिसाब चुहिने समस्या ?

सुतिरहेको समयमा शिशुले जुनसुकै समयमा पनि पिसाब गर्न सक्छन् । कारण,  उनीहरुमा पिसाब नियन्त्रण गर्ने शक्ति हुँदैन । पिसाबले भिजेपछि उनीहरु रुने, कराउने गरेपछि मात्र पिसाब गरेको आमाबाबुलाई थाहा हुन्छ ।

चार वर्ष पुगेपछि भने सामान्यतया उनीहरु पिसाब नियन्त्रण गर्न सक्ने भइसक्छन् । तर चारदेखि पाँच प्रतिशत बालबालिकामा भने पिसाब नियन्त्रण गर्ने उमेर भइसक्दा पनि पिसाब चुहिने समस्या भइराख्छ । यो समस्या सामान्य मान्न सकिंदैन ।

यो कस्तो समस्या हो ?

उमेर पुगेपछि पनि पिसाबमा स्वनियन्त्रण नहुनुलाई चिकित्सकीय भाषामा ‘पिसाबको अस्थिरता वा इनुरेसिस’ भनिन्छ । प्राय: राति ओछ्यानमा सुत्दा पिसाब गर्ने हुँदा यसलाई बेड वेट पनि भनिन्छ । यसलाई दुई भागमा विभाजन गरिन्छ, प्राइमरी बेड वेटिङ र सेकेन्डरी बेड वेटिङ ।

यदि ६ महिना वा सोभन्दा बढी समय लगातार ओछयानमा पिसाब फेर्छन् भने त्यसलाई प्राइमरी बेड वेटिङ भनिन्छ । पिसाब चुहिने समस्या ६ महिनापछि पुन: बल्झियो भने त्यसलाई सेकेन्डरी बेड वेटिङ भनिन्छ ।

कारण

वंशाणुगत : यदि बाबुमा बाल्यकालमा यस्तो समस्या थियो भने बच्चामा पनि यो समस्या हुनसक्छ ।

सानो थैली : यदि बच्चाको पिसाबको थैली राम्रोसँग विकास नहुँदा पिसाबलाई राति नियन्त्रण गर्न कठिन हुन्छ ।

थैली सुस्त हुनु : पिसाब थैली नियन्त्रण गर्ने स्नायुप्रणालीले सुस्त काम गरिरहेको छ भने थैली भरिन्छ । तर बच्चा ब्युझिंदैनन् वा पिसाब आएको चाल पाउँदैनन् ।

हार्मोन असन्तुलन : केही बालबालिकामा एन्टिडियुरेटिक (एडीच) हार्मोन उत्पादन हुँदैन । जसले गर्दा पिसाब नियन्त्रण हुँदैन ।

त्यस्तै पिसाब नियन्त्रण गर्ने भासोपेरेसन हार्मोनको स्तर कुनै कारणवश घटेको छ भने पिसाब आइरहने हुन्छ ।

युरिन ट्रयाक इन्फेक्सन (यटीआई ) : पिसाबमा संक्रमण अर्थात् युरिन ट्रयाक इन्फेक्सनले पनि बच्चामा पिसाब नियन्त्रण गर्ने क्षमता कम हुन्छ । सुतेको समयमा ओछयान भिज्नुका साथै पिसाब रातो र गुलाबी हुनु र पिसाब गर्दा पोल्नु जस्ता समस्या पिसाबमा संक्रमणको लक्षण हुन् ।

मधुमेह : रातमा ओछ्यानमा पिसाब फेर्नु मधुमेह भएको पहिलो संकेतको रुपमा देखिन्छ । यस्तोमा एकपटकमै औसतभन्दा बढी पिसाब हुनसक्छ ।

कब्जियत : कब्जियतको समस्याले सताइराख्ने बालबालिकाको आन्द्राले राम्रोसँग काम गर्न सक्दैन । कब्जियत लामो समयसम्म रहयो भने दिसा र पिसाब गराउने मांसपेशी कमजोर हुन्छ । यस्तोमा पनि पिसाब नियन्त्रण हुन कठिन हुन्छ ।

ढाडको नसामा समस्या : ढाडको नसामा समस्या भएमा पनि पिसाब नियन्त्रण हुँदैन ।

मानसिक असर

यदि बच्चामा पिसाब छुहिने समस्या छ भने उनीहरु आफूलाई लज्जित महसुस गर्छन् । जसले बिस्तारै बच्चामा मानसिक समस्या हुनसक्छ । एक त ठूलो भए पनि ओछ्यानमा पिसाब गर्ने बानीले उनीहरुमा हीनतावोध गराइराख्छ । जसकारण उनीहरु टाढा घुम्न जान पनि सक्दैनन् । बिस्तारै उनीहरु डिप्रेसनको सिकार हुन्छन् ।

कुन उमेरसम्म देखिन्छ ?

-यो समस्या पाँच वर्षसम्मको बालबालिकामा प्रत्येक ६ जनामा एकलाई हुनसक्छ ।

-६ वर्षका बालबालिकामा प्रत्येक ८ जनामा एकलाई हुन्छ ।

-७ वर्षका बालबालिकामा प्रत्येक १० जनामध्ये एकलाई हुन्छ ।

– १५ वर्षसम्मको किशोरकिशोरीमा ०.५ प्रतिशतलाई हुनसक्छ ।

लक्षण

पिसाब चुहिने समस्या आफैंमा एउटा रोग हो । यद्यपि अन्य रोगको संकेत पनि हुनसक्छ । यदि पिसाब चुहिनेबाहेक केही अन्य लक्षण छैन भने त्यसलाई मोनोसिन्टम्याटिक वेड वेटिङ भनिन्छ ।

त्यस्तै, पिसाब चुहिनेसँगै अन्य समस्या पिसाबको धारा सानो आउने, पोल्ने, छिटोछिटो लाग्ने, रोक्न नसक्ने जस्ता लक्षणलाई नन् मानो सिन्टम्याटिक वेड वेटिङ भनिन्छ ।

पहिचान

यसको उपचार गर्नुभन्दा अघि बच्चाको घरको वातावरण सोधपुछ गरिन्छ । त्यसपछि लक्षणअनुसारको पिसाबथैली, ढाड र पेटको जाँच गरिन्छ । त्यस्तै पिसाबको संक्रमणको पनि जाँच गरिन्छ ।

अर्को भनेको ब्ल्याडर डायरी मेन्टेन गरिन्छ । २४ घण्टाको अवधिमा कति तरल पदार्थ पिएको छ ?  कति पिसाब फेरेको छ ? त्यो हेरेर समस्या पत्ता लगाइन्छ ।

समाधान

यदि राति पिसाब गर्नेबाहेक अन्य लक्षण छैन भने बच्चाको व्यवहारमा केही परिवर्तन ल्याउन सुझाइन्छ । कतिपय केसमा यो उपचार गर्नुपूर्व आमाबाबुलाई उमेर बढ्दै गएपछि बिस्तारै नियन्त्रण हुनसक्छ भन्ने कुरामा विश्वस्त पारिन्छ ।

अलार्म राखेर बच्चालाई राति एकपटक पिसाब फेर्न उठाउन सिकाइन्छ । यसले पनि रोकथाम हुनसक्छ । राति सुत्नुअघि झोलिलो पदार्थ खान दिनु हुँदैन । अन्य लक्षण भएमा लक्षणअनुसारको उपचार गरेपछि ओछ्यानमा पिसाब फेर्ने समस्या कम हुन्छ ।

डा. अनिलपुकार साह पिसाब बालबालिका
डा. अनिलपुकार साह
लेखक
डा. अनिलपुकार साह
कन्सल्टेन्ट युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : १६१५१ एमबीबीएस (गोल्ड मेडलिस्ट), एफसीपीएस हाल वीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

फेरि आफ्नै खुट्टामा उभिएर देशका लागि योगदान दिन चाहन्छु

पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

पढेलेखेकै व्यक्तिहरू पनि मोटोपनलाई ‘खानदानी हुनु’ सम्झन्छन्

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

बाथ रोगबारे डाक्टरलाई ६ प्रश्न र सजिलो उत्तर

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश

अहिलेकै अवस्थामा चिकित्सक संघको निर्वाचन नगर्न अदालतको आदेश