+
+
किताब : ४ :

प्रेम, जो बुझिएन

खगेन्द्र संग्रौला खगेन्द्र संग्रौला
२०८० माघ १३ गते १९:५०

खुद्रामसिना बिमारले गर्दा केही समययता मेरो पठन सुस्त भएको छ । पढेको पछिल्लो उपन्यास प्रवीण अधिकारीले अनुवाद गरेको दक्षिण कोरियाली लेखक हान काङको ‘भेजिटेरिएन’ हो । त्यसपछि हात लाग्यो विष्णु सापकोटाको यो ‘अडिएका पाइला’ ।

विष्णु मेरा लागि भला मानुष हुन्, माइडियर टाइपका । अखबार र अनलाइनहरूमा भेटिने उनका दार्शनिक र राजनीतिक विश्लेषण तथा टिप्पणीहरूको उत्साही पाठक हुँ म । निम्ता आयो र म ‘अडिएका पाइला’को विमोचनमा गएँ । अनि पुस्तक किनेर विष्णुको बाहुली निसानी लिएँ ।

अचेल म बेलुका ९ बजेसम्म यसो समाचार र गीत-गजल सुन्छु । त्यसपछि किताब पढ्छु । यो पढाइको आफ्नै व्यथा छ । एकाध महिनाअघि भाइरल ज्वरोले मलाई थला पार्‍यो । र मेरो निद्रा नराम्ररी खल्बलियो । छरिएको चित्तलाई एकाग्र तुल्याएर निद्रालाई फकाउन सुत्नुअघि म किताब पढ्छु ।

यही मेसोमा मैले ‘अडिएका पाइला’ पढ्न थालें । यसमा एकतमासको प्रेम रहेछ । हामीले पढेको प्रेम र गरेको प्रेमभन्दा एकदम बेग्लै । अस्वाभाविक, अयथार्थ र असामान्य प्रेम । हो त्यही प्रेमबाट मेरो पठन कछुवा गतिमा अघि बढ्यो ।

उपन्यासमा दुई पट्ठापट्ठी बीच प्रेम शुरू भयो । अनि प्रेमको शुरूका केही घटनामै अल्झिएर प्रेमिकाको प्रेम अड्क्यो । अनि प्रेमको थालनीकालकी प्रेमिकामा प्रेमीको प्रेम अड्क्यो । यी दुई अड्काइसँगै समयको गति अड्क्यो । प्रेमिका प्रेमीको हाई-हेलोको जवाफ दिन छाडिन् । प्रेमी हाई-हेलोको जवाफ नपाएर अत्यास मान्दै हाई-हेलो गर्‍यागर्‍यै भए ।

प्रेमिकाको यो नित्य मौनता र प्रेमीको यो नित्य हाई-हेलोले मेरो मथिङ्गल खलबल्यायो । प्रेममा एकातिर मौनताको जिद्दी छ, अर्कातिर हाई-हेलोको हत्ते छ । अनि मलाई केको निद्रा लागोस् ! आ.. भोलि त यो यत्रो पनि पढ्दिनँ भनेर छट्पटाउँदै सुत्यो । भोलि यही पढूँ-पढूँ लाग्छ ।

तै प्रेमिकाको मौनता तोडियो कि ? तै प्रेमीले हाई-हेलोको जवाफ पायो कि ? तै प्रेम र समयले गति लिए कि ? पढ्यो, भोलिपल्ट पनि हालत उही भो । उता एउटीको उही उच्चाटलाग्दो मौनता र अर्काको उही अत्यासलाग्दो हाई-हेलो । अनि यता मलाई अनिद्रामाथि अनिद्राको हुर्मत । यसरी पढ्दिनँ-पढ्दिनँ भन्दाभन्दै ५-६ दिनमा मैले ‘अडिएका पाइला’ पढिसकें ।

‘अडिएका पाइला’को मूल परिवेश वा थलो कीर्तिपुर विश्वविद्यालयको अंग्रेजी विभाग हो । विश्वविद्यालयका मणि सर विश्वविद्यालयका एक ज्ञानसम्पन्न र सम्मानित प्राध्यापक हुन् । घर हो उनको कालिकास्थान । मन्दिरा उनकी पत्नी हुन्, अनसूया छोरी । यो अनसूयाले एसएलसी दिने वर्ष हो । एमएका पोखरेली विद्यार्थी अस्तित्व मणि सरको मार्गदर्शनमा थेसिस लेख्दैछन् । यही थेसिसको पछि लागेर मणि सरकहाँ जाँदा अस्तित्व र अनसूयाको देखादेख हुन्छ ।

पहिले देखादेखमै ती एकअर्काका मनमा प्रवेश गर्छन् । र तिनका अन्तरमा प्रेम टुसाउन थाल्छ । एक दिन अस्तित्व आउँदा घरमा अनसूया एक्लै हुन्छिन् । र तिनको बातचित हुन्छ । अनि प्रेमले जरा हाल्छ । प्रेमको रुमानी मूडमा अस्तित्व र अनसूया हात समातेर शिवपुरीको उकालो चढ्छन् । अनि उही रुमानी मूडमा दक्षिणकाली वनमाथि घुमफिर गर्छन् । ती एकअर्कालाई प्रेमिल हातले स्पर्श गर्छन् । रुमानी मूडमा अङ्गमाल गर्छन् । यस्तो लाग्छ मानौं प्रेमको रुमानी लयमा ती एकको हंस अर्कोमा सञ्चार हुन्छ । ती सशरीर एकाकार त हुँदैनन्, तर तिनका आत्मा भने एकाकार भएझैं लाग्छ ।

प्रेमबाट शुरु भई मनोरोगमा पुगेर उपन्यास टुङ्गिन्छ । अस्तित्वमा आत्मपीडक चरित्रको लक्षण छ । अनसूयामा आत्मपीडक र परपीडक दुवै चरित्रको लक्षण छ

अस्तित्वले कर गरेर अनसूयाले एक दिन आमाबासँग आफ्नो प्रेमको सङ्केत दिंदै भनिन्- हामी साथी हौं है । त्यो सुनेर आमाबा, मणि-मन्दिरा, न प्रसन्न भए न खिन्न । तिनले त्यो प्रेम ओके छ पनि भनेनन्, न-न पनि भनेनन् । लामो, उच्चाटलाग्दो सन्नाटापछि गाह्रो मान्दै मणि सरले- तिमी आफैं जिम्मेवार छ्यौ, यसमा हामी के भनूँ टाइपको केही भने । अस्तित्वको अमेरिकामा पीएचडी गर्ने रहर थियो । त्यो रहर अनसूयालाई सुनाएर उनले तिनको सम्मति लिएका थिए । यहाँसम्म सबै कुरा ठिकठाक थियो ।

एकाध वर्षपछि प्रेमको अर्को अध्याय शुरु भयो, निसासलाग्दो अध्याय । एउटीको एकोहोरो जिद्दीमय मौनताको अध्याय र अर्काको एकोहोरो हाई-हेलोको हत्तेहालाइको अध्याय । अनसूया एकाएक अस्तित्वसँग बोल्न छाडिन् । उनले न अस्तित्वको म्यासेजको जवाफ दिइन् न फोन उठाइन् । उनी प्रेमका शुरुका घटनासँगको प्रेममा लटि्ठएर त्यसैमा हराइन्, त्यसैमा विलाइन् ।

उनले अस्तित्वको हाई-हेलोको जवाफ किन नदिएको हो उनलाई थाहा भएन । अनसूयाले आफूलाई जवाफ किन नदिएकी हुन् अस्तित्वलाई थाहा भएन । यो यतै थाहा नहुनु र उतै थाहा नहुनुको अत्यासलाग्दो नाटकीयताले अनसूया र अस्तित्व दुवैलाई रन्थन्यायो । र तिनको प्रेम आफैंले रचेको यातनाको सन्तापकारी मुहान बन्यो ।

अस्तित्वले अमेरिकाको सिकागोस्थित युनिभर्सिटी अफ नोट्रेडाममा पीएचडी गर्ने मौका पाए । जानुअघि जसरी हुन्छ एक पटक अनसूयालाई किन नभेटौं, घायल अस्तित्वको मनमा अदम्य इच्छा जागेर आयो । तर भेट्ने कसरी ? अनसूयाले जवाफ दिए पो ! आखिरमा अस्तित्व खुला खाममा चिट्ठी बोकेर अनसूयाको घरमा पुगे । अनसूयालाई भेटे कुरा गरुँला, नभेटे चिट्ठी छाडूँला भनेर । घरमा आमा मन्दिरा भेटिइन् । उनकै हातमा चिट्ठी छाडेर सुस्केरा हाल्दै अस्तित्व फर्के ।

मन्दिरा र मणिले चिट्ठीबाट अस्तित्वसँग अनसूयाको बोलचाल बन्द भएको थाहा पाए । र छोरीलाई सोधे- किन ? के भयो ? अनसूयाले ‘लिभ मि एलोन’ टाइपको मूडमा झर्को मान्दै बा मणिसँग झगडा गरिन् । अनि आमाबासँग पनि उनको दूरी र मौनता बढ्दै गयो । किन ? जानिने र बुझिने कारण केही थिएन । टिचिङमा एमबीबीएस पढ्दै गरेकी अनसूया लाजिम्पाटमा डेरा सरिन् । किन ? कारण केही थिएन । पढ्नलाई घरैमा अनुकूल वातावरण थियो । आमाबाको अपार माया थियो, व्यवधान केहीको थिएन । तैपनि लाजिम्पाट किन ?

अनसूयाबाट चिट्ठीको जवाफ आउला भन्ने अस्तित्वको कत्रो आश थियो, आएन । अनसूया एयरपोर्टमा बाईबाई भन्न आउलिन् भन्ने उनको झन् कत्रो आश थियो, आइनन् । र सुस्केरा हाल्दै अस्तित्व अमेरिका उडे ।

‘अडिएका पाइला’मा अस्तित्वको वैकल्पिक प्रेम पनि छ, वन्दनासँग । वन्दना विश्वविद्यालयमा अस्तित्वकी मेधावी विद्यार्थी हुन् । सशस्त्र द्वन्द्वकालमा वन्दनाका बा जुम्लाका सिडिओ थिए । माओवादीको धावामा उनी मारिए । द्वन्द्वपीडित वन्दनाको अस्तित्व सरसँग थेसिस लेख्ने रहर छ । त्यसो त अस्तित्वसँग उनका समानान्तर रहर दुइटा छन् । एउटा प्रेम गर्ने, अर्को थेसिस लेख्ने रहर । वन्दना थेसिसको निहुँमा अस्तित्वलाई भेटेर उनलाई एउटा नोटबुक दिन्छिन् । प्रेमपत्र लेखिएको नोटबुक ।

नोटबुकमा हो कि होइनको धारमा पारेर प्रेमपत्र लेखिएको छ । अस्तित्व त्यही नोटबुकका प्रेम हो कि होइनको धारमा पारेर जवाफ दिन्छन् । दुवैलाई थाहा छ, तिनको प्रेम छ । उपन्यासको पाठक थाहा पाउँछ, तिनको प्रेम छ । तर प्वाक्क मुख फोरेर ती भन्दैनन् । कक्षामा एक विद्यार्थी छन्, सप्तरीका मोहन । मोहन र वन्दनाको रुमानी काइदाको नाता छ । उपन्यासमा त्रिकोणीय प्रेम वा त्रिकोणीय सम्बन्ध छ । अस्तित्व-अनसूया-वन्दना प्रेमको एउटा त्रिकोण वा त्रिकोणीय सम्बन्ध हो । अस्तित्व-वन्दना-मोहन प्रेमको अर्को त्रिकोण वा त्रिकोणीय सम्बन्ध हो ।

वन्दना अस्तित्वलाई विदा गर्न एयरपोर्ट जान्छिन् । र अर्को नोटबुकमा हरफहरूको बीचमा प्रेमलाई लुकाएर लेखिएको प्रेमपत्र अस्तित्वलाई दिन्छिन् ।

उपन्यासमा देश र कालको झलक दिने एकाध दृश्य पनि छन् । ती पादटिप्पणी खालका झलक हुन् । ती झलक केवल सङ्केतमा छन्, विस्तारमा छैनन् । यस्तै एउटा झलक हो विश्वविद्यालयको अंग्रेजी विभागको ।

हुनलाई अंग्रेजी विभागमा धनाढ्यदेखि सामान्य घरानाका विद्यार्थी पनि अवश्यै हुँदा हुन् । तर उपन्यासमा सामान्य घरानाका विद्यार्थी छैनन् । जो छन् ती केवल धनाढ्य परिवारका छन्, जसमध्ये धेरैजसो आफूमाझ र आफ्नै घरमा पनि शायद नेपालीभन्दा अंग्रेजी बोल्न सहज मान्छन् ।

विश्वविद्यालयमा भ्रष्ट सत्ता राजनीतिको अतिक्रमणका केही विकृत सङ्केतहरू छन् । जब सरकार फेरिन्छ, प्रायःजसो प्राध्यापकहरू लाभदायक अवसर ताक्दै, घुटुक्क थुक निल्दै, सत्तातिर मुन्टा उठाउँछन् ।

विभागीय प्रमुख झा सर राजदूत पद ताक्छन् । राजावादी मैनाली म्याडम पनि कतै केही पाइएला कि भनी सत्तातिर यसोक्क मुन्टो उठाउँछिन् । आफ्नै सहकर्मीहरूमाझ निम्नकोटिका कवि भनी परोक्ष रूपले गिज्याइने प्रहृलाद सर प्रज्ञा प्रतिष्ठानतिर घिच्रो तन्काउँछन् । अनि जसले पीएचडी डाक्टरी गर्न पाएका छैनन् तिनले अमेरिका ताक्छन् । खासमा प्राज्ञिक कर्मप्रति निष्ठावान् भई विश्वविद्यालय ताक्नेचाहिं अपवाद बाहेक कोही छैन ।

करारमा मास्टर भर्ती गर्ने भ्रष्ट चलनले विश्वविद्यालयमा नातावाद र कृपावाद, चाकरी र पाउलागीको त्यान्द्रो समातेर भित्रिएका अयोग्य सरहरूका कारण विश्वविद्यालयको वातावरण, पठनपाठन र स्तर बर्बाद छ । विश्वविद्यालयप्रति एकाधजन जो निष्ठावान् छन्, तिनैको भनाइ हो यो ।

मधेशवासी विद्यार्थी मोहनका मुखबाट संविधानप्रति मधेशीजनको असन्तुष्टिको आक्रोश पोखिन्छ । अस्तित्वका अमेरिकावासी ‘प्रदीप दाइ’का मुखबाट प्रवासमा नेपाली मनको पीडा बोल्छ । पहिचानको सङ्कटको पीडा, सांस्कृतिक अलगावको पीडा । मानिसहरूको भीडमाझ आफू वरिपरि आफू बाहेक कोही नहुनुको पीडा । ‘प्रदीप दाइ’ले रैथाने नारी एलेक्ससँग बिहे गरेका छन् । तिनको एउटा सन्तान पनि भएको छ । ‘प्रदीप दाइ’ भन्छन्- सन्तानले पाटपुट नेपाली बोलुन्जेल नेपालको न्यास्रो किञ्चित् कम हुनसक्छ ।

जब अस्तित्वको संघर्षमा नेपाली भाषा छाडेर ऊ आङ्ग्ल भाषाको प्रवाहमा बिलाउँछ तब आफू विरानो दूर देशको एकल, फगत एकल, दुःखी मानव भइन्छ । ‘अडिएका पाइला’मा चर्चा गरिएका यी पात्रहरू सबै सामान्य लौकिक वा सांसारिक मानव हुन् । तर अस्तित्व र अनसूया लौकिक वा सांसारिक मानव होइनन् । ती उपन्यासकार विष्णु सापकोटाको उदेकको चिन्तन र तर्क प्रणालीका सन्तति हुन् । र ती हुन् लौकिकता इतरका विल्कुल अस्वाभाविक, अयथार्थ र असामान्य मानव ।

‘अडिएका पाइला’मा सापकोटीय चिन्तन र तर्कको पारा विचित्रको छ । मानिस के हो ? मानिस बाहिर प्रकट हुने कति हो, भित्र अप्रकट रहने कति हो ? कुनै संवाद, घटना, दृश्य, पात्र, सन्दर्भ, धारणा वा सम्बन्धबारे मानिस जिब्राले बाहिर जे भन्छ, त्यो कति उसको आफ्नो हो, कति हजारौं वर्षको सभ्यताद्वारा निर्मित संस्कृति र संस्कारबाट आएको हो ? बाहिर देखिने र भित्र हुने मानिस कति उही हो, कति बेग्लै हो ? मानिस जब केहीप्रति केही प्रतिक्रिया गर्छ, त्यस बखत उसभित्रका हर्मोन र सेलहरूले कसरी काम गरिरहेका हुन्छन् ? म बाहिर आफूलाई मनपर्ने छवि देखाउन भित्रको आफूलाई कति ढाँटिरहेको हुन्छु ? प्रेम के हो ? यो मानिसभित्र रहेको जैविक र मौलिक तत्व हो कि संस्कृति र संस्कारको प्रवाह हुँदै हामीमा भित्रिएको वा थोपरिएको बासी भावना हो ? बस्, यो हो उपन्यासभरि व्याप्त रहेको सापकोटीय चिन्तन र तर्कको पारा ।

घरीघरी, अनेक प्रसङ्गमा औधी उच्चाटलाग्दो गरी यो चिन्तन र तर्क दोहोरिन्छ । अनि घरीघरी, अनेक प्रसङ्गमा म पढिसकेको कुरो फेरि दोहोर्‍याउँदै पो छु कि भनेर पाठक अडिई-अडिई पाता पल्टाएर हेर्न विवश हुन्छ ।

चिन्तन र तर्कको यो सापकोटीय पारा उपन्यासका नायक-नायिका अस्तित्व र अनसूयाको सम्बन्धका माध्यमले प्रकट भएको छ । कुनै सन्दर्भमा ती बाहिर जे सोचिरहेका हुन्छन्, तीभित्र भावनाको अर्कै तरङ्ग समानान्तर रूपमा कुदिरहेको हुन्छ ।

सापकोटीय कथन अनुसार कहिलेकाहीं त भित्र पत्रमाथि पत्र खप्टिएर भावनाका अनेकोली तरङ्गहरूका समानान्तर जञ्जाल कुदिरहेका हुन्छन् । त्यसैले सापकोटाद्वारा कल्पित मूल पात्र-पात्राहरू उत्निखेरै प्रसन्न हुन्छन्, उत्निखेरै खिन्न हुन्छन् । ती उत्निखेरै उमङ्गति हुन्छन्, उत्निखेरै हतास हुन्छन् । ती उत्निखेरै खुशी हुन्छन्, उत्निखेरै झडङ्ग रिसाउँछन् । यी हुन् पात्र-पात्राहरूका माध्यमले प्रकट भएका सापकोटीय चिन्तनका केही झलकहरू ।

जानिएको मनोविज्ञानका आधारमा तिनको हर्ष र बिस्मात्, उमङ्ग र हतासा, अनुराग र क्रोधको पूर्वानुमान गर्न सकिंदैन । यी संवेगहरू क्षण-क्षणमा किन विपरीत तत्वमा फेरिन्छन् त्यो अनुभवकर्ता स्वयंलाई नै थाहा हुँदैन । त्यसैले त अस्तित्वसँग बोलचाल किन बन्द भएको हो ? अनसूयालाई थाहा छैन । अनुसूयाले बोलचाल बन्द गरी आफूलाई पूर्णरूपले उपेक्षा गर्दा पनि अस्तित्व किन उनकै सम्झनाका तड्पिरहेका हुन् ? उनैलाई थाहा छैन ।

वन्दनाप्रति अस्तित्वको भावनात्मक अनुराग प्रगाढ छ । र अस्तित्वप्रति भावनाको भावनात्मक अनुराग झनै प्रगाढ छ । अनुसूयाबाट पूर्ण रूपले तिरस्कृत भएपछि अस्तित्वको चित्त अनसूयालाई बिर्सेर वन्दनातिर किन मोडिंदैन ? अस्तित्वलाई नै थाहा छैन ?

तरुण वयमा गाँसिने विपरीत लिङ्गीबीचको रुमानी प्रेम स्वभावतः यौनतर्फ आकृष्ट हुन्छ । तर अस्तित्व-अनसूयाको प्रेममा यो आकर्षण शून्यप्रायः छ । उपन्यासमा केवल एक ठाउँमा एक प्रसङ्गमा अस्तित्व अनुसूयासँग यस्तो केही भएको भए तिनको मौन व्रतबाट यसरी पीडित हुनुपर्दैनथ्यो कि भनी छिसिक्क कल्पना गर्छन् । त्यो कल्पना पानीको फोको झैं त्यहीं उठ्छ र त्यहीं फुट्छ । सापकोटीय दृष्टिमा प्रेम प्लाटोनिक अर्थात् यौन इतरको घनिष्टता मात्र पो हो कि  !

अनसूयाद्वारा उपेक्षित प्रेममा रातो-दिन तड्पिंदै पीएचडी सिध्याएर अस्तित्व फर्किन्छन् । उनका चित्तमा क्षण-क्षणमा अनसूयाको सम्झना छ, न्यास्रो छ, सन्ताप छ, औडाहा छ । यता अनसूयाले मेडिसिनको डिग्री प्राप्त गरी डब्लुएचओमा जागिर पाएकी छन् । तर अनसूयाको मनोदशा भने ठिक छैन । वन्दना मणि सरसँग थेसिस कर्ममा सहयोग माग्न आउँदा अनसूया र उनको भेट र मित्रता हुन्छ । वन्दनामा सहयोगको भावना प्रचूर छ । एक दिन वन्दनासँग जाभा क्याफेमा भेट हुँदा अनसूयाको दिमाग एकाएक रन्थनिन्छ । उनलाई ऐंठन होला जस्तो हुन्छ । उनी आफू मनोरोगग्रस्त भई मनोचिकित्सककहाँ धाउन थालेको रहस्य खोल्छिन् । र वन्दनाको सहारा लिएर उनी नर्भिक अस्पताल पुग्छिन् ।

उता भर्खर स्वदेश फर्केका अस्तित्वको हाल पनि बेहाल हुन्छ । उनी अनिद्राग्रस्त हुन्छन् । विछोडको पीडाले ऐंठन होला जस्तो लागेर मनोचिकित्सकको शरण पर्न उनी पनि नर्भिक अस्पताल पुग्छन् । अस्तित्व पालो कुरिबस्दा अनसूया भित्रबाट बाहिर निस्केर जान्छिन् । न अनसूया अस्तित्वलाई देख्छिन्, न अस्तित्व अनसूयालाई देख्छन् । यसरी प्रेमबाट शुरु भई मनोरोगमा पुगेर उपन्यास टुङ्गिन्छ । अस्तित्वमा आत्मपीडक चरित्रको लक्षण छ । अनसूयामा आत्मपीडक र परपीडक दुवै चरित्रको लक्षण छ । के उपन्यासका प्रेमी-प्रेमिकाको यो आत्मपीडक र परपीडक चरित्रको मूलमा सापकोटीय चिन्तन र तर्कको प्रभाव पो छ कि ?

उपन्यासको भाषा-शैली खास्सा राम्रो छ । उपन्यासकारसँग अति सूक्ष्म मानवीय संवेदनालाई कलात्मक काइदाले उन्ने र बुन्ने लचिलो र लयात्मक भाषा छ । मेरो सानो विचारमा असल आख्यानकार बन्न खोज्ने लेखकले सिक्न खोजे घाटा नपर्ने भाषा-शैली हो यो ।

र अन्त्यमा, कसैले मलाई सोध्ला- यो उपन्यास किन पढ्ने अथवा यो किन नपढ्ने ? मेरो जवाफ- विचित्रको सापकोटीय चिन्तन र तर्कको बान्की बुझ्न यो पढ्ने ।

‘अडिएका पाइला’का मूल प्रेमी-प्रेमिका अस्वाभाविक, अयथार्थ र असामान्य किन छन्, सापकोटीय चिन्तन र तर्कभित्र उत्तर खोज्न यो पढ्ने ।

उपन्यासमा प्रस्तुत चिन्तन र तर्कको पारा प्रचलित चिन्तन र तर्कद्वारा किन बुझिंदैन, त्यो बुझ्न यो पढ्ने ।

उपन्यासका मूल पात्र-पात्रा कसरी सापकोटीय चिन्तन र तर्कको जालोमा जेलिएर मनोरोगी हुन पुग्छन्, त्यो बुझ्न यो पढ्ने ।
अथवा यी यावत् जटिल कुरा जानेर के नै पो नापिन्छ भन्ने लागे यो नपढ्ने ।

(साहित्य सिर्जनादेखि राजनीतिक स्तम्भसम्म सधैं चर्चामा रहने खगेन्द्र संग्रौलाका लेखन, अनुवाद गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।)

तस्वीर /भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?