+
+

महिला फुटबलमा घरेलु खेल शून्य, दुई वर्षदेखि रोकियो लिग

घरेलु फुटबल नभएपछि अन्तर्राष्ट्रिय खेल जित्न गाह्रो हुन्छ : कप्तान

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० माघ १४ गते १७:२१

१४ माघ, काठमाडौं । सन् २०२३ मा चीनको हान्जाउमा १९औं एसियन गेम्स सहितका धेरै अन्तर्राष्ट्रिय खेल खेलेका नेपाली महिला खेलाडीले देशभित्र भने एउटा प्रतियोगिता पनि  खेल्न पाएनन् ।

एसियन गेम्ससँगै पेरिस ओलम्पिकको क्वालिफायर, साफ च्याम्पियनसिप, भारत, बंगलादेश सहित केही देशसँग मैत्रीपूर्ण खेल गरी ९ वटा अन्तर्राष्ट्रिय खेल खेलेको महिला टिमकी कप्तान रेनुका नगरकोटे नेपालभित्र भने महिला फुटबल नै छैन जस्तो अनुभव भएको बताउँछिन् ।

‘जग नै बलियो नभएपछि घर बलियो हुन्छ भनेर सोच्नुभएन’  उनले अनलाइनखबरसँग भनिन्,  ‘सम्बन्धित निकायले महिला फुटबलको विकासको बारेमा बेलैमा सोच्नुपर्छ ।’

ग्रासरुट र घरेलु फुटबल गतिविधि शून्य भएको महिला फुटबलले अन्तर्राष्ट्रियस्तरमा लगातार खेले पनि सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । राष्ट्रिय टिम निर्माणको आधारको रुपमा रहने घरेलु फुटबल लिग र गतिविधि नै नहुँदा राष्ट्रिय टिममा नयाँ खेलाडी आउन पनि सकेका छैनन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले २०७७ सालमा डबल राउण्ड रोविनको आधारमा राष्ट्रिय महिला लिग सुरु गरेको थियो । डबल लिगमा हुँदा खेल धेरै हुने र खेलाडीले पनि एक्सपोजर पाउने अवसर थियो ।

अर्को वर्ष २०७८ मा एन्फाले राष्ट्रिय महिला लिगलाई उपत्यका बाहिर गर्ने निर्णय गर्दै पहिलो चरणको लिग चितवनको भरतपुरमा गरेको थियो । दोस्रो चरण मोरङको विराटनगरमा गर्ने निर्णय पनि गरिसकेको थियो ।

तर २०७९ असारमा पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फामा नयाँ समिति निर्वाचित भएर आएपछि महिला लिगको दोस्रो चरण हुन सकेन । उल्टै एन्फाले दोस्रो चरण आयोजना नगरी पहिलो चरणमा प्राप्त अंककै आधारमा विजेता घोषणा गर्‍यो । डबल राउण्ड रोबिन लिगले एक वर्षपछि निरन्तरता पाउन सकेन ।

२०७८ चैतमा चितवनमा भएको राष्ट्रिय लिगपछि एन्फाले महिलाको लागि कुनै प्रतियोगिता गर्न सकेको छैन ।

२०७८ पछि रोकिएको महिला लिग कहिले गर्ने टुङ्गो छैन । एन्फा अहिले फिफाको कन्ट्रोल फण्डिङमा भएका कारण महिला लिग गर्न नसकेको महासचिव किरण राईले बताए । ‘डोमेस्टिकमा समस्या छ, नभएको होइन । यसको मुख्य कारण फिफाको कन्ट्रोल फण्डिङ नै हो’, उनले भने ।

एन्फा महिला संघकी अध्यक्ष पेमा डोल्मा लामाले डबल राउण्ड रोविन फर्म्याटमा लिग सुरु गर्दा त्यसले ठूलो उत्साह ल्याएको र नयाँ खेलाडी आउने बाटो बनेको सम्झिन्छिन् । उनले जसरी भए पनि खेल सञ्चालन गर्न ध्यान दिनुपर्ने धारणा राखिन् ।

‘फुटबल खेलाडी उत्पादन हुने र राष्ट्रिय टिमको आधार भनेकै प्रतियोगिता र लिग नै हो । त्यो नै नभएपछि खेलाडी कसरी आउने ? हामीले कसैलाई दोष दिने नदिने भन्दा पनि मुख्य कुरा खेल हुनुपर्छ’, उनी भन्छिन् ।

सन् २०२३ मा खेलेका ९ मध्ये बंगलादेश विरुद्धको खेल भने नेपालले पेनाल्टी सुटआउटमा जितेको थियो । अरु खेलमा भने हार व्यहोरेको थियो । घरेलु फुटबल नियमित नहुँदासम्म अन्तर्राष्ट्रिय फुटबलमा राम्रो नतिजा नआउने कप्तान नगरकोटे बताउँछिन् ।

एन्फा महासचिव किरण राई भने सन् २०२३ मा नेपालले धेरै अन्तर्राष्ट्रिय एक्सपोजर पाएको जिकिर गरे । ‘यो ऐतिहासिक नै हो’, उनले भने ।

कहिले हुन्छ महिला लिग ?

एन्फा महासचिव किरण राई महिला फुटबलको स्थायी संरचना नभएकाले कुन मोडलमा घरेलु प्रतियोगिताहरु गर्ने भन्ने अन्योल भएको बताउँछन् । ‘विभागीय तीन टिमबाहेक अरु क्लब टिमहरु छैनन् । प्रदेश वा नगरपालिकाको नाममा टिम बनाएर खेलाउँदै आएका छौं । एउटै संरचनाको टिम नभएर पनि गाह्रो भएको हो’, उनले भने ।

यसअघि एन्फाले ए डिभिजन क्लबकै महिला टिम बनाउने, महिलाको फ्रेन्चाइज लिग गर्नेसम्मको योजना बनाएको थियो । तर योजना अनुसार काम हुनसकेको छैन ।

ए डिभिजनको महिला टिम बनाउन गाह्रो रहेको र फ्रेञ्चाइज लिगका लागि टेन्डर आह्वान गर्दा जम्मा एउटा मात्र क्लब दर्ता भएको महासचिव राईले बताए । ‘तर सम्झौता गर्न आएन । अब यसमा नयाँ टेन्डर खोल्ने वा के गर्ने भनेर छलफलमा छौं’, उनले भने ।

यद्यपि छिटै महिला लिग सञ्चालन गर्ने तयारीमा रहेको महासचिव राईको भनाइ छ ।

भारतीय जस्तै भइदिए !

नेपालमा महिला लिग हुन छाडेपछि भारतमा दुईवटा भइसक्यो । गत वर्ष भएको इन्डियन वुमन्स लिगमा नेपालका सावित्रा भण्डारी र एन्जिला तुम्बापो सुब्बा सहित ६ खेलाडीले खेलेका थिए ।

जसमा नेपालकी सावित्रा भण्डारी सम्मिलित गोकुलम केरलाले उपाधि जितेको थियो भने सावित्राले सर्वाधिक २९ गोल गरेकी थिइन् ।

यस पटक भारतीय फुटबल संघले ७ टोली सहभागी होम एण्ड अवे फर्म्याटमा महिला लिग सुरु गरिसकेको छ । यस पटक पनि नेपालबाट ६ खेलाडीले खेलिरहेका छन् ।

गत वर्ष भारतमा लिग खेलेका नेपाली खेलाडीहरु ।

एन्जिला लगातार दोस्रो सिजन नै सेथु एफसीबाट खेलिरहेकी छन् । लिगमा एन्जिलाले नै सेथुको कप्तानी समेत गरेकी छन् । सेथुबाटै डिफेण्डर गीता रानाले पनि खेलेकी छन् ।

यस्तै दीपा शाही र प्रीति राई किकस्टार्स, रश्मिकुमारी घिसिङ र अमृता जैसी स्पोर्टस् ओडिशाबाट खेलिरहेका छन् ।

गत सिजनकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी भने इजरायलको लिगमा खेल्न गएका कारण भारतीय लिगमा छैनन् ।

किक स्टार्टसबाट खेलिरहेकी दीपा शाहीलाई नेपालमा पनि यस्तै लिग भइदिए हुन्थ्यो भन्ने लागेको छ ।  ‘नेपालमा पनि फुटबल गतिविधि यस्तै होस् भन्ने लाग्छ, केटीहरुको पनि राइज हुन्थ्यो’उनी भन्छिन्, ‘तर हाम्रो फुटबल शून्यमा छ । अब त फुटबल खेलेर पनि केही हुँदैन जस्तो लाग्न थालिसक्यो ।’

उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म पुगिसकेकी दीपा अहिले राष्ट्रिय टिमकै नियमित सदस्य बनिसकिन् । तर उनले घरेलु लिग खेल्न पाएकी छैनन् ।

वाफमा आमन्त्रण र साफ च्याम्पियनसिप

नेपालको महिला टोलीले फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल फेडेरेसन (वाफ) ले आयोजना गर्ने वाफ वुमन्स च्याम्पियनसिप खेल्दैछ ।

दक्षिण एसियाका देशहरुको साफजस्तै पश्चिम एसियाली देशहरुको संगठन हो वाफ । च्याम्पियनसिपको आठौं संस्करणमा नेपाललाई पनि आमन्त्रण गरेकाले सहभागी हुने निर्णय गरेको एन्फा महासचिव राईले जानकारी दिए । ‘हाम्रो खेलाडीको लागि नयाँ टिमहरुसँग खेल्ने अवसर हुनेछ’, उनले भने ।

२०२४ मै नेपालले साफ महिला च्याम्पियनसिप पनि खेल्नेछ । उक्त प्रतियोगिता नेपालमै आयोजना गर्ने तयारीमा एन्फा लागेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?