+
+

के अमेरिका र बेलायतले मध्यपूर्वमा युद्ध गर्लान् ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १८:२१

१६ माघ, काठमाडौं । जोर्डनमा रहेको अमेरिकी सैन्य इलाकामा हमला हुँदा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो । ह्वाइटहाउसले इरानले आफू समर्थित लडाकुको प्रयोग गरेर अमेरिकामाथि हमला गरेको आरोप लगाएको छ ।

‘टावर ट्वान्टी टू’ मा हमला हुँदा त्यहाँ कार्यरत अन्य ३५ जना घाइते भएका छन् । इरानले गराएको यो आक्रमणको प्रतिवाद गर्नुपर्ने दबाब एकातिर छ भने अर्कोतर्फ मध्यपूर्व यसै पनि युद्धमा रहेकाले थप युद्ध मच्चाउन उचित नहुने मत पनि छ ।

दबाबका बीच बाइडेन प्रशासनले संयमता अपनाइरहेको छ भने अमेरिकी गठबन्धनको प्रमुख सारथी बेलायतले घटनाको निन्दा गर्दै मध्यपूर्वमा शान्ति र स्थायित्वको पक्षमा आफू रहेकाले मामिला सुल्झाउन इरानलाई दबाब दिएको छ ।

इरानले पहल नलिएको अवस्थामा आफूहरु अग्रसर हुनुपर्ने मत दुबै मुलुकको रहेको छ । यस्तो अवस्थामा के अमेरिका र बेलायत मध्यपूर्वमा युद्धमा जालान् त ?

अमेरिका र बेलायत दुबै मध्यपूर्वको युद्धमा सरिक छन् । इरान समर्थित भनिएको हुथी विद्रोही समूहले लाल सागरमा विश्व आपूर्ति श्रृङ्खलामा अवरोधको मनसाय राखेका थिए । त्यसका लागि उनीहरुले मालबाहक जहाजमाथि धमाधम हमला गरे ।

एक साताअघि अमेरिका र बेलायतका फौजले संयुक्त रुपमा हुथी समूहमाथि हमला गरेका थिए । निर्वाध व्यापारका निम्ति आफूहरु हमला गर्न बाध्य रहेको उनीहरुले संयुक्त वक्तव्यमार्फत उल्लेख गरेका थिए ।

संयुक्त वक्तव्य उल्लेख गर्दै बीबीसीले लेखेको छ, ‘हाम्रो उद्देश्य भनेको मध्यपूर्वमा स्थायित्वसँगै लाल सागरमा निर्वाध व्यापारको वातावरण हो । तर त्यसमा यदि अवरोध आउँछ भने हामी कुनैपनि कदम चाल्न पछि हट्दैनौँ भन्ने हाम्रो चेतावनी हुथीको नेतृत्वलाई रहेको छ ।’

११ जनवरी यता, हुथी समूहमाथि अमेरिका र बेलायतले संयुक्तरुपमा दुई पटक हमला गरिसकेका छन् । लाल सागरमा हुथीको अवरोधलाई निष्क्रिय बनाउन अमेरिका र बेलायत हलमा उत्रिए । त्यसैको बदलका निम्ति ‘टावर ट्वान्टी टू’ मा हमला भएको आशंका छ ।

तनावग्रस्त मध्यपूर्वमा अमेरिका र बेलायतले थप तनाव बढाउलान् त ? यो प्रश्नको जवाफमा बीबीसीकी प्रमुख विदेश मामिला संवाददाता लिसे डुसेटले भनेकी छिन्-‘कतिपयले अमेरिका र बेलायत मध्यपूर्वमा पहिलेनै युद्धमा रहेको तर्क गरेका छन् । युद्धले विभिन्न आकार-प्रकार ग्रहण गर्छ ।’

जोर्डनमा रहेको अमेरिकी सैन्य इलाकामा गरिएको आक्रमणको जिम्मेवारी इराकस्थित इस्लामिक प्रतिरोध समूहले लिएको छ । यो समूह सन् २०२३ मा गठन भएको थियो । यस समूहमा इरान समर्थित विभिन्न लडाकु समूह रहेको बताइन्छ । तर इरानले उक्त समूहको कारबाहीको निर्णयमा आफ्नो कुनै संलग्नता नरहेको बताइसकेको छ ।

यद्यपि अमेरिकी सैनिक मारिएपछि राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘अमेरिकाले उपयुक्त समयमा घटनामा जिम्मेवार सबैलाई जवाफदेही बनाउने गरी कदम चाल्ने छ ।’

यता, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै मध्यपूर्वको स्थायित्व आफ्नो प्राथामिकता रहेको तर आफ्नो गठबन्धनमाथिका यस्ता कारबाहीमा मौन रहन नसक्ने चेतावनी दिएका छन् ।

‘मध्यपूर्वको स्थायित्व हाम्रो प्राथामिकताको विषय हो। यस घटनामा बेलायत सहयोगी गठबन्धनसँगै दृढतापूर्वक उभिनेछ’, उनको भनाइ उद्दृत गर्दै बीबीसीले लेखेको छ ।सुनकको यही अभिव्यक्तिकै कारण हुथीमाथिको जवाफी कारबाहीमाझैँ इस्लामिक प्रतिरोध समूहविरुद्धको कारबाही पनि संयुक्त रुपमा हुनसक्ने आँकलन भइरहेको हो ।

अमेरिकासँग के-के छन् विकल्प ?

आफ्नो सैन्य इलाकामा भएको हमलापछि अमेरिकासँग तीन विकल्प रहेका छन् । पहिलो विकल्प हो सशस्त्र समूहमाथि जवाफी कारबाही । दोस्रो विकल्प इरानमाथि हमला र तेस्रो मौनता ।

तीन विकल्पका बाबजुद अमेरिका बिलखबन्दको स्थितिमा रहेको छ । राष्ट्रपति बाइडेनले कडा हमलाको चेतावनी दिएपनि प्रतिरोध र तनावलाई सन्तुलनमा राख्ने चुनौती अमेरिकासामु रहेको छ । अमेरिकाले यदि कमजोरी प्रस्तुत गरेमा सशस्त्र समूहको मनोबल बढ्ने र इरान समर्थिक समूहबाट अमेरिकामाथि थप आक्रमणको सम्भावना बढ्नेछ । यस्तो अवस्थामा अमेरिकासँग रहेको तीन विकल्पमध्ये पहिलो विकल्पको चर्चा गरौँ ।

इरान समर्थित समूहविरुद्ध हमला

अमेरिकाले इरान समर्थित सशस्त्र समूहमाथि हमला गर्नसक्छ । विगतमा पनि उसले यस्तै विकल्प रोजेको थियो । इरान समर्थित सशस्त्र समूहहरु इराक र सिरियाका विभिन्न इलाकामा फैलिएर बसेका छन् ।

उनीहरु इरानको राष्ट्रिय सेनाबाट प्रशिक्षित छन् भने उनीहरुसँग पर्याप्त हतियार पनि छन् । ती सशस्त्र समूह कहाँ र कसरी छन् भन्ने सबै सूचना अमेरिकासँग रहेको छ । अमेरिकाले सहजै ती इलाकामा क्षेप्यास्त्र हमला गर्न सक्छ ।

अक्टोबर ७ देखियता सशस्त्र समूहले अमेरिकी इलाकामा १७० भन्दा बढी हमला गरेपनि अमेरिकाले यो कदम भने चालेको छैन ।

इरानमाथि हमला

अमेरिकासँग रहेको दोस्रो विकल्प हो इरानमाथि हमला । यो हमला अमेरिका निम्ति निकै महंगो पर्नसक्छ भने यसले मध्यपूर्वमा थप तनाव बढाउनेछ ।

यो विकल्पमा अमेरिका तत्कालै नजाने भएपनि यसको सम्भावनालाई नकार्न भने सकिँदैन । यसअघि पनि वासिङ्टन र तेहरान दुबैले एक-अर्काविरुद्ध पूर्ण तबरको यूद्ध नछेड्ने बताइसकेकाले यो विकल्प तत्कालै कार्यान्वयनमा आउनेछैन ।

यदि अमेरिकाले इरानमाथि युद्ध छेडेमा विश्व अर्थतन्त्रका निम्ति यो कदम निकै घातक हुनेछ । विश्वको २० प्रतिशत इन्धन इरानको होर्मुज क्षेत्रबाट आउने भएकाले पनि इरानमाथि अमेरिकी हमलाको अन्य असर थुप्रै छन् । नोभेम्बरमा निर्वाचन हुने भएकाले अमेरिकी जनतालाई पनि महँगीको मारमा पार्ने पक्षमा बाइडेन सायदै हुनेछन् ।

यद्यपि असरका बाबजुद पनि अमेरिकाले इरानमाथि हमला गरेको नजिर भने छ । चार वर्षअघि मात्रै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानी सेनाको कमाण्डर कासिक सुलेमानीको हत्या गरेको थियो । फेरि यस्तै केही कदम अमेरिकाले चालेको खण्डमा इरानले पनि घातक प्रतिरोध गर्ने देखिन्छ । त्यसैले दोस्रो विकल्पमा अमेरिका तत्कालै जाने देखिँदैन ।

तेस्रो, जवाफी कारबाही नै नगर्ने 

मध्यपूर्व अहिलेनै तनावमा रहेकाले त्यहाँ थप युद्ध गर्ननहुने मत वर्तमान प्रशासनभित्र  धेरैले राख्दै आएका छन्। नोभेम्बरमा निर्वाचन रहेकाले तनावग्रस्त क्षेत्रमा थप तनाव बढाउने काम वासिङ्टनका निम्ति गैरजिम्मेवारपूर्ण हुने मत पनि त्यहाँ छ ।

अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको मध्यपूर्व हेर्ने निकाय सेन्टकम हुथीलाई निस्तेज बनाउन केन्द्रित छ । यस्तो अवस्थामा मध्यपूर्वमा थप तनाव नबढाउनका निम्ति अमेरिका माथि सहयोगी गठबन्धनधको पनि दबाब छौं। तर अमेरिका मौन रहेको अवस्थामा प्रतिरोधबारे अमेरिकी नीति असफल भएको भन्दै विरोध हुनसक्ने जटिलता पनि रहेको छ । अमेरिका मौन बस्दा आक्रमणकारीको हौसला बढ्ने स्थिति पनि आउन सक्छ ।

के हो टावर ट्वान्टी टू ?

इस्लामिक प्रतिरोध समूहले आक्रमण गरेको टावर ट्वान्टी टू जोर्डनको उत्तर पूर्वी क्षेत्रमा पर्छ । यो क्षेत्र सिरियाको सीमाना नजिक छ । त्यस इलाकामा ३५० अमेरिकी सैनिक बस्छन् । सेन्टकमसँग सहकार्य गर्दै इस्लामिक सशस्त्र समुहविरुद्ध लड्नु उनीहरुको मुख्य काम हो ।

अमेरिकाले इराक, जोर्डन र सिरियामा दर्जनौँ सैन्य क्याम्प खडा गरेको छ । जोर्डनमा मात्रै अमेरिकी गठबन्धनमा आवद्ध मुलुकका ३ हजार सैनिक रहेका छन् । यस्तै इराकमा २५ सय सैनिक रहेका छन् । यता सिरियामा ९०० संख्यामा अमेरिकी सैनिक छन् ।

इस्लामिक समूह आईएसविरुद्ध लड्न कुर्दिस नेतृत्वलाई साथ दिनका निम्ति अमेरिकी सेना त्यहाँ तैनाथ भएको हो । यस्तै मध्यपूर्वमा अमेरिकी नौसेनाका अड्डा समेत छन् । बहराइनमा त्यसको हेडक्वार्टर रहेको छ । यस्तै गल्फ क्षेत्रका निम्ति तीन प्रमुख हवाइ अड्डासमेत अमेरिकाले तोकेको छ । इस्लामिक समूहको शसस्त्र गतिविधबाट हुने चुनौती रोक्न भन्दै अमेरिकाले मध्यपूर्वमा सैन्य क्याम्प बनाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?