+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

चिसो थेग्न नसकेर चर्किएकै घरमा फर्कंदै जाजरकोटका भूकम्प पीडित

यज्ञ खत्री यज्ञ खत्री
२०८० माघ १९ गते १५:३९

१९ माघ, सुर्खेत । त्रिपालबाट रातभर पानी चुहिरह्यो, ओसिलो जमिनको चिसो उस्तै छ। जाजरकोटको नलगाड नगरपालिका-४, बाउसेखोलाका ४५ वर्षीय मानबहादुर खड्का रातभरि अनिंदो बसे ।

भुइँ र त्रिपालको दोहोरो चिसोले खड्काकी सानी छोरी बिरामी छिन् । खड्काले अनलाइनखबरसँग भने, ‘हिजो (बिहीबार) देखि त झन् हिउँ परिरहेको छ, अत्यधिक चिसो बढ्दा निदाउनै सकिएन, आगो तापेर रात बितायौं ।’

बाउसेखोलामा गत कात्तिक १७ गते राति आएको भूकम्पले दुई जनाको ज्यान लियो । भूकम्पपछि पनि चिसोले थप दुई जना गाउँलेको ज्यान गइसकेको छ ।

बिरामी छोरी सहित मानबहादुरको पाँच सदस्यीय परिवार एउटा त्रिपालभित्र अटेसमटेस गरी बस्दै आएको छ । सानी छोरी चिसोले बिमार परेपछि त उनको चिन्ता थप चुलिएको छ ।

भूकम्प गएको तीन महिना बितिसक्यो, तर अझै धेरै स्थानीयले अस्थायी टहरा पनि बनाउन सकेका छैनन् । बिहीबारदेखि परेको हिमपात र वर्षाले मानबहादुरको झैं जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितको बिचल्ली बढाएको छ ।

भूकम्पपछि त्रिपालमुनि बस्दै आएका पीडितहरूलाई सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिंदा उनीहरू थप मारमा परेका हुन् ।

भत्केको घर हेर्दै त्रिपालमा बसिरहेका स्थानीय चिसोले सताउन थालेपछि थप विचलित बन्न थालेका छन् । झनै हिमपात र वर्षात्का कारण पीडितहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ ।

गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा १५४ जनाको मृत्यु भएको थियो ।

भूकम्पबाट झण्डै ६० हजार घरमा बस्न नमिल्ने गरी क्षति भएको छ । दाताले दिएका त्रिपालले चिसो थेग्न सकिरहेको छैन । वर्षा र हिमपातले बढेको चिसोले बालबालिका, सुत्केरी र ज्येष्ठ नागरिक झनै मारमा परेका नलगाड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बद्री पन्त बताउँछन् ।

‘माथि उच्च पहाडी क्षेत्रमा हिजोदेखि हिमपात भइरहेको छ । अत्यधिक चिसोका कारण त्रिपालमा बस्दै आएका भूकम्पपीडितको थप बिचल्ली भएको छ’ अध्यक्ष पन्तले भने, ‘चिसोले सुत्न नसकेर गाउँलेहरू रातभरि आगो तापेर बसे ।’

नलगाडको खनटाउँरा, भारगाउँ, मंसिरी, ध्यारगाउँ, बानियाँ गाउँ, भूकम्पको इपिसेन्टर बारेकोट गाउँपालिकाको रामीडाँडा, सिर्पाचौर, नायकबाडा, जिरी र कुसे गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा भारी मात्रामा वर्षा भइरहेको वडाध्यक्ष पन्तले जानकारी दिए ।

‘समयमै रकम नआउँदा पीडितले अझै अस्थायी टहरा बनाउन सकिरहेका छैनन्’ उनले भने, ‘त्रिपालमुनि बस्दै आएका पीडितहरूको अवस्था नाजुक छ । हिमपात र वर्षाले स्थिति झनै कष्टकर बन्दै गएको छ ।’

लगातारको वर्षा र हिमपातले भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा आसपासका डाँडामा चिसो अत्यधिक बढेको छ । चिसोले अस्थायी टहरा र त्रिपालमा बसिरहेका पीडितलाई ज्यान जोगाउनै मुस्किल परेको बारेकोट–१, सिर्पाचौरका शिक्षक वीरेन्द्र बस्नेत बताउँछन् ।

‘चिसो मौसममा त्रिपालभित्र यसै पनि अप्ठ्यारो थियो, त्यसमाथि झरी पर्दा त झनै गाह्रो भएको छ’ उनले भने, ‘चिसो अत्यधिक बढ्दा घरबाट बाहिर निस्कन सक्ने स्थिति छैन, पठनपाठन पनि प्रभावित छ ।’

बस्नेतका अनुसार दुई/तीन दिनदेखि घाम नलाग्दा उक्त क्षेत्रमा सोलारबाट चल्ने फोन र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ । ‘कोही बिरामी भइहाल्यो भने पनि सम्पर्क गर्न गाह्रो छ’, उनले भने ।

शिक्षक बस्नेतका अनुसार सरकारले समयमै अस्थायी टहरा निर्माणका लागि बजेट नदिंदा बारेकोटका केही घरपरिवारले अझै अस्थायी टहरा बनाउन सकेका छैनन् ।

नलगाड नगरपालिका-८ का अर्का शिक्षक वीरबहादुर खत्रीका अनुसार त्रिपाल र टिनका टहराभित्र बसिरहेका भूकम्पपीडितलाई असहज भइरहेको छ । ‘दुई दिनदेखि पानी पर्दा चिसो अत्यधिक बढेपछि कतिपय त चर्किएकै घरभित्र फर्किएका छन्’ उनले भने, ‘कतिपय त्रिपालमुनि कष्टकर रात काट्न बाध्य छन् ।’

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापत सरकारबाट प्रति परिवार प्राप्त हुने २५ हजार रुपैयाँ पनि नलगाड र बारेकोटका केही पीडितहरूले अझै पाउन सकिरहेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटका अनुसार ४२ हजार ५२४ लाभग्राही कायम भएकामध्ये हालसम्म १६ हजार ३१८ ले अस्थायी आवासको काम सकेका छन् भने २६ हजार २०६ वटा टहरा बन्न बाँकी छन् ।

त्यस्तै रुकुमपश्चिममा २७ हजार ३६ लाभग्राहीमध्ये १८ हजार ८६६ वटा अस्थायी आवास बनेका छन् भने ८ हजार १७० लाभग्राहीले अस्थायी आवास निर्माण गर्न सकेका छैनन् । जाजरकोट र रुकुमपश्चिमका करिब ३४ हजार बढी भूकम्प प्रभावित परिवार अझै पनि त्रिपालभित्र बस्दै आएको सरकारी तथ्यांकले देखाउँछ ।

चिसोकै कारण अहिलेसम्म जाजरकोट र रुकुमपश्चिममा गरी ३६ जना बढी भूकम्पपीडितको ज्यान गइसकेको छ भने यस्तो बेलामा गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीका अनुसार हिमाली जिल्ला र अन्यत्रका उच्च स्थानहरूमा हिउँ परिरहेको भए पनि हिमपात र वर्षात्ले अप्रिय घटना भने हालसम्म घटेको छैन ।

जुम्ला सदरमुकाम खलंगा, हुम्ला, मुगु, डोल्पाका अधिकांश भूभाग हिउँले ढपक्कै ढाकेको छ । विगतमा भन्दा यस वर्षको हिउँदमा कर्णालीका हिमाली जिल्लामा ढिलो गरी हिउँ परेको स्थानीय बताउँछन् ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?