+
+
कभर स्टोरी :

स्याउले बजार पायो, बदलियो जुम्लीको जीवन

स्याउ बेचेर यो वर्ष मात्रै जुम्लाका किसानले ५० करोड रुपैयाँ माथि आम्दानी गरेका छन् । कर्णाली राजमार्ग बनेपछि मुलुकको बजारसँग जोडिन पाउँदा जुम्लाका स्याउ किसानको सामाजिक र आर्थिक हैसियतमा आएको परिवर्तनको कथा ।

कृष्णमाया उपाध्याय कृष्णमाया उपाध्याय
२०८० माघ १९ गते १६:०९

१९ माघ, जुम्ला । २०५२ सालदेखि जडीबुटी व्यवसाय गर्दै आएका जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ३ का टंकराज गिरी अहिले व्यावसायिक स्याउ खेतीमा लागेका छन् । दुई वर्षदेखि विकसित फुजी जातको स्याउ खेतीमा लागेपछि उनको अनुहारको चमक फेरिएको छ ।

उनी भन्छन्, ‘मेरो बगैंचामा अहिले फल्ने मात्रै १४ हजार बिरुवा छन् । २०७८ सालबाट व्यावसायिक स्याउ खेती गर्न थालेको हुँ । यो वर्ष मात्रै मैले ६५ लाख रुपैयाँ बढीको स्याउ बिक्री गरें । अहिले पनि मेरो स्याउ काठमाडौंमा बिक्री भइरहेको छ ।’

उनका भनाइमा थोरै स्याउ जुम्लामा बिक्री भयो भने बाँकी काठमाडौंमा । बगैँचामा प्रति केजी २०० रुपैयाँमा बिक्री भएको स्याउ काठमाडौंमा ३०० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको छ । काठमाडौंमा जात र गुणस्तरको आधारमा मूल्य पाइने उनको भनाइ छ ।

स्याउ लगाएको १८ महिनापछि मुनाफा लिन पाउँदा उनी खुसी छन् । यस वर्ष उनको बगैँचामा ३६० क्वीन्टल झण्डै ३६ टन स्याउ उत्पादन भएकोमा ७० प्रतिशत बिक्री भइसकेको छ भने ३० प्रतिशत स्याउ अझै पनि कोल्ड स्टोरमा छ ।

गाला जातको स्याउले बजारमा राम्रो मूल्य पाएको उनले सुनाए । ७ करोड रुपैयाँ लगानीमा स्याउ खेती गर्दै आएका गिरीले भने ‘अहिले २२ हेक्टरमा खेती गर्दै आएको छु । भविष्यमा के हुन्छ हेरौं !’

खाली जमिनमा बेरोजगार युवाहरूलाई रोजगारी पनि दिन सकिने र आफ्नै देशमा केही गर्न पनि सकिन्छ भन्ने लागेर व्यावसायिक खेतीमा लागेको उनको भनाइ छ । गिरीको बगैंचामा अहिले १६ जना कर्मचारी करार सेवामा काम गरिरहेका छन् । ‘हिमाली टिएनएन एग्रो फार्म प्रालि’ कम्पनी दर्ता गरेर व्यावसायिक स्याउ खेती गरेको उनले सुनाए ।

उनी भन्छन्, ‘जुम्ला स्याउको राजधानी हो । जुम्लालाई स्याउको राजधानीको नामले चिनाउन पनि म यो व्यवसायमा लागेको हुँ ।’ यस बाहेक कृषि क्षेत्रमा राम्रो गर्न सकिन्छ भनेर समाजमा देखाउन पनि आफूले यो पेशा रोजेको उनको भनाइ छ ।

५५ हजार बिरुवा रोप्ने लक्ष्य छ, उनको । त्यस अनुसार उनको बगैंचामा हरेक वर्ष बिरुवा थपिंदै छन् । यस वर्ष १ हजार र त्यसपछि क्रमशः १० हजारका दरले बगैँचामा बिरुवा विस्तार गर्दै जाने लक्ष्य छ । स्याउ टिप्ने सिजनमा आफ्नै वडाका झण्डै २०० मानिसलाई उनले काम दिंदै आएका छन् ।

गिरीका भनाइमा, सुरुका वर्ष केही गाह्रो भए पनि अहिले काम सहज भइरहेको छ । कृषि उत्पादन भए पनि बजारीकरणमा समस्या छ । सरकारले यतातर्फ ध्यान दिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । त्यस्तै बिरुवामा अनुदानको व्यवस्था गर्नसके यस भेगका किसान स्याउ खेतीमा अझ आकर्षित हुनेथिए ।

बिरुवामा किन अनुदान जरूरी छ भन्ने प्रष्ट्याउँदै उनी भन्छन्, ‘जस्तो कि इटालियन फुजी जातको स्याउ प्रति बिरुवा ८५० रुपैयाँमा खरिद गर्नुपर्छ । जबकि त्यो बिरुवा जुम्ला पुगुन्जेलसम्म त्यसको मूल्य १००० रुपैयाँ माथि पर्छ ।’

रोयल, रेड र गोल्डेन डेलिसेस जातका स्थानीय स्याउका ३०० बिरुवा लगाएका गिरीले फुजी जातको स्याउबाट फाइदा हुने देखेर स्याउ सुपरजोनबाट त्यस्ता ९०० बिरुवा खरीद गरेर रोपेका छन् । यस बाहेक आफ्नै लगानीमा अन्य स्थानीय जातका बिरुवा पनि लगाएका छन् ।

वार्षिक ९ लाख कमाउँछन् कार्की

जुम्लाको चन्दननाथ नगरपालिका ५ का महेन्द्र कार्कीले ‘आँखिइ कृषि फार्म’ खालेर व्यावसायिक स्याउ खेती गर्दै आएका छन् । विदेशबाट आयातित स्याउमा सरकारले १३ प्रतिशत कर लगाएपछि यस वर्ष जुम्लाको गाउँ–गाउँमा व्यापारीहरू पुगेर स्याउ खरिद गर्न थालेपछि किसानहरू उत्साहित भएको कार्की बताउँछन् ।

बच्चामा १ रुपैयाँको १० दाना स्याउ बिक्री गरेको अनुभव सुनाउँदै उनले अहिले पनि स्थानीय जातको स्याउ प्रति केजी बगैंचामा ७० रुपैयाँसम्ममा बिक्री भइरहेको बताए । उनले भने, ‘किसानले के सोच्न जरूरी रहेको छ भने लगानी अनुसारको प्रतिफल लिन गुणस्तरीय बिरुवा लगाउनुपर्छ । १२ महिना खान मिल्ने फलफूलमा स्याउ पर्ने भएको हुनाले हामीले गुणस्तरीय उत्पादनमा जोड दिन जरूरी छ ।

उनका भनाइमा अहिले हाम्रो उत्पादनले बजारमा तीन महिना पनि धान्न कठिन छ । बजारमा माग बढ्दो छ, तर उत्पादन थोरै । त्यसैले थप उत्पादन बढाउन कृषकहरू लाग्नुपर्छ भने बजारको खोजी गर्न सरकारले सहयोग गर्नुपर्छ ।

अहिले स्याउबाट राम्रो फाइदा भएको हुँदा युवाहरूको पनि यसतर्फ आकर्षण बढ्दै गएको कार्कीको भनाइ छ । दुई, तीन वर्ष मिहिनेत गरेपछि जीवनभर स्याउबाट फाइदा लिन सकिने अवस्था युवाहरूले बुझ्दै गएका छन् । कार्की भन्छन्, ‘मैले नै यस वर्ष स्याउ खेतीबाट ९ लाख रुपैयाँ जति आम्दानी गरें ।’

‘किसानले उत्पादनमा ध्यान दिनुपर्छ । स्याउ, ओखर र आलुबाट राम्रो फाइदा लिन सकिने सम्भावना देखिएको छ । स्याउबाट भनेजति फाइदा लिन गे्रडिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ’, कार्कीले भने ।

अहिले स्याउबाट राम्रो फाइदा भएको हुँदा युवाहरूको पनि यसतर्फ आकर्षण बढ्दै गएको कार्कीको भनाइ छ । दुई, तीन वर्ष मिहिनेत गरेपछि जीवनभर स्याउबाट फाइदा लिन सकिने अवस्था युवाहरूले बुझ्दै गएका छन् । कार्की भन्छन्, ‘मैले नै यस वर्ष स्याउ खेतीबाट ९ लाख रुपैयाँ जति आम्दानी गरें ।’

कार्कीका विचारमा स्याउबाट आम्दानी गर्न सकिने सम्भावना देखिएको छ । यसको लागि यहाँका किसानले न्यूनतम ५०० बिरुवा र अधिकतम आफ्नो क्षमता अनुसार लगानी गर्न सके यसले राम्रो रोजगारी दिन्छ । मेरो विचारमा यो काम विदेश जाने परिपाटीको समेत विकल्प बन्न सक्छ ।

‘राम्रो आम्दानी हुने, गाउँघरमै रोजगारी पाइने भएपछि खाडी मुलुकमा भौंतारिनुपर्ने अवस्थाबाट युवालाई रोक्न पनि सकिन्छ’, उनले भने ।

अहिले किसान आफैं व्यापारी पनि बन्नुपर्ने बाध्यता रहेको हुँदा यसमा सरकारले सहयोग गरिदिएहुन्थ्यो भन्ने उनलाई लाग्छ । उनी भन्छन्, ‘यो वर्ष मात्रै हाम्रो स्याउ पूर्वको झापा, इटहरी र विराटनगरसम्म सहकारी मार्फत पुगेको छ । यसमा सरकारले सहयोग गरिदिए झन् सजिलो हुन्थ्यो ।’

५ लाख कमाइ गर्दै निरसा

जुम्लाको चन्दननाथ नगरपालिका ३ की किसान निरसा भण्डारी अर्की सफल स्याउ किसान हुन् । गएको वर्षमा जस्तो व्यापारी खोज्नु परेन । अझ यस वर्ष त व्यापारीहरू नै बगैंचामा स्याउ किन्न पुगेपछि निरसा हर्षित छिन् । उनी भन्छिन्, ‘यस वर्ष आफ्नै बगैंचामै साढे ५ लाख रुपैयाँको स्याउ बेचें ।’

अहिले उनको बगैंचामा ५०० वटा फल्ने बोट छन् । उनी भन्छिन्, ‘स्याउको कमाइले घरायसी खर्च चलेको छ, भाइबहिनीलाई पढाइ–लेखाइ गर्न सहज भएको छ । अब त हामी पनि बचत गर्न सक्ने भएका छौं ।’

बाली विज्ञान विषयकी विद्यार्थी समेत रहेकी भण्डारी आफ्नो बुबाले सुरु गरेको स्याउ बगैंचामा काम गर्दै आएकी छन् । स्याउ बेचेको पैसाले भाइलाई इन्जिनियर पढाइरहेकी उनी गएका वर्षहरूमा लगानी अनुसारको मुनाफा नआए पनि यस वर्ष राम्रो फाइदा भएको बताउँछिन् ।

नेपालमा केही गर्न सकिन्छ भन्ने देखाउन पनि पढाइ सकेर आफ्नै कृषि फार्ममा काम गर्न थालेको उनले बताइन् । आफ्नो बगैंचाको स्याउ यो वर्ष दाङ, धनगढी र काठमाडौंमा बिक्री भएको उनले सुनाइन् ।

बाली विज्ञान विषयकी विद्यार्थी समेत रहेकी भण्डारी आफ्नो बुबाले सुरु गरेको स्याउ बगैंचामा काम गर्दै आएकी छन् । स्याउ बेचेको पैसाले भाइलाई इन्जिनियर पढाइरहेकी उनी गएका वर्षहरूमा लगानी अनुसारको मुनाफा नआए पनि यस वर्ष राम्रो फाइदा भएको बताउँछिन् ।

अन्य किसानले विकसित फुजी जातको स्याउ लगाएको भए पनि अहिलेसम्म आफूहरूले स्थानीय रेड, रोयल र गोल्डेन डेलिसियस जातको स्याउ खेती गर्दै आएको भण्डारी बताउँछिन् । विकसित जातको स्याउले जतिकै मूल्य पाउन स्थानीय जातको स्याउको गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘राम्रोसँग परिपक्व भइसकेपछि मात्रै स्याउ टिप्ने र त्यही अनुसारको ग्रेडिङ र प्याकेजिङमा ध्यान दिन सके स्यानीय जातको स्याउबाट पनि राम्रो प्रतिफल पाउन सकिन्छ । यो हाम्रै अनुभवले पनि सिकाएको कुरा हो ।’

स्याउ फार्ममा कोसेबालीको रूपमा सिमी लगाएपछि दोहोरो फाइदा लिन सकिने उनको भनाइ छ । बजारमा स्याउ र सिमीले राम्रो मूल्य पाएको हुनाले स्याउ सँगसँगै सिमी खेतीलाई पनि आफूहरूले प्राथमिकता दिन थालेको उनी बताउँछिन् । भन्छिन्, ‘अब कमाइको लागि अन्यत्र भौंतारिनु नपर्ने रहेछ भन्ने मलाई लाग्न थालेको छ ।’

‘सन्तान जसरी हुर्काएका बिरुवाले दिए फल’

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ४ नुवाकोट गाउँकी ७८ वर्षीय किसान मगी चौलागाइँले यस वर्ष स्याउ बेचेर ७० हजार रुपैयाँ कमाइन् । उनले भनिन्, ‘घरमै आएका व्यापारीलाई किलोको ५० रुपैयाँमा स्याउ बेच्न पाएँ । पहिले यस्तो थिएन ।’

मगीले आफ्नो स्याउ खेतीको बेलिबिस्तार लगाइन् । मैले स्याउ लगाएको २० वर्ष भयो । यस वर्ष राम्रो पैसा पाउँदा खुसी लागेको छ । उनले भनिन्, ‘स्याउको बिरुवालाई सन्तानलाई जस्तै माया गरेर हुर्काएँ, अहिले बल्ल सुखले यसको फल खान पाएकी छु ।’

मगीका भनाइमा, पहिला धेरै स्याउ बगैंचामै कुहिन्थ्यो, गाईवस्तुलाई खुवाउनुपथ्र्यो तर यस वर्ष त्यस्तो हुन पाएन । राम्रो पैसा पाइयो । उनले भनिन्, ‘मैले मात्रै होइन मेरा छरछिमेकी सबैले स्याउबाट भने जस्तो पैसा कमाएका छन् । आउँदा वर्षमा यस्तै बजार भाउ पाइने हो भने स्याउ खेती गरेका किसानले पैसा कमाउन टाढा जानै पर्दैन ।’

पहिला स्याउ घरसम्म ल्याउन मान्छे लगाउनुपथ्र्यो, अहिले बगैंचासम्मै बाटोे पुगेपछि व्यापारी घरै आउँछन् । यसले गर्दा स्याउ टिप्दा हुने क्षति पनि कम भएको उनले सुनाइन् । स्याउ बेचेर आएको पैसाले के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘नुन–तेलको खर्च जुटाउन र नयाँ घर बनाएको ऋण तिर्न यो पैसा काम लाग्छ ।’

जन्माएको सन्तानले जस्तै माया गरेर स्याउको बिरुवाको हेरचाह गर्न सक्यौं भने यसबाट पनि उत्तिकै सुख लिन सक्छौं भन्ने उनलाई लाग्छ । उनी भन्छिन्, ‘बरू सन्तानले छोडेर जालान् तर स्याउको बगैंचाले त छाड्दैन ।’

मगीको बगैंचा वरिपरि अरू किसानको पनि स्याउ बगैंचा छ । तर उनीहरूलाई सिंचाइको अभाव छ । उनले भनिन्, ‘एक घण्टा पैदल हिंडेर, पानी बोकेर बगैंचामा सिंचाइ गर्नुपर्ने बाध्यता छ । यसमा सरकारले सहयोग गरिदिए हुनेथियो ।’

स्याउ खेतीबाट राम्रै कमाइ हुन थालेपछि गाउँघरका मानिसले आफूलाई गर्ने व्यवहार पनि फरक भएको अनुभव उनले सुनाइन् । उनले भनिन्, ‘पहिला नुन–तेल उधारो नपत्याउने पसलेहरूले अहिले पत्याउन थालेका छन् ।’

‘अचेल त पहिला जस्तो दुःख छैन, ढुक्क भएर दिन चलाइरहेकी छु’ उनले भनिन्, ‘पहिला चामल, नुन र तेल किन्ने पैसा नहुँदा कठिन हुन्थ्यो । अहिले त्यो अवस्था छैन ।’

यो कथा मगीको मात्रै होइन, अहिले उनको गाउँमा घरमा २० देखि माथि १ हजार बिरुवा नलगाएका स्याउ किसान नै छैनन् भने पनि हुन्छ । अरू खेती छोडेर भए पनि स्याउ खेतीलाई प्राथमिकता दिने चलन नै बसेको छ । मगीले भनिन्, ‘अहिले मेरा नै १५० बिरुवा फलिरहेका छन् ।’

मगीको बुझाइमा जति राम्रो स्याहार गर्‍यो त्यति फाइदा छ । जन्माएको सन्तानले जस्तै माया गरेर स्याउको बिरुवाको हेरचाह गर्न सक्यौं भने यसबाट पनि उत्तिकै सुख लिन सक्छौं भन्ने उनलाई लाग्छ । उनी भन्छिन्, ‘बरू सन्तानले छोडेर जालान् तर स्याउको बगैंचाले त छाड्दैन ।’

स्याउ बेचेर किसानले कमाए ५० करोड

स्याउ सुपरजोन जुम्लाका निमित्त प्रमुख वरिष्ठ कृषि अधिकृत खेमराज शाहीका भनाइमा, जुम्लामा यो वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन भएकोमा १० हजार मेट्रिक टन निर्यात भएको र जुम्लालाई यस वर्ष मात्रै ५० करोड रुपैयाँ आम्दानी भएको छ । ५ हजार मेट्रिक टन स्याउ स्थानीय रूपमा उपभोग भएर, यत्तिकै खेर गएर अनि टिप्ने क्रममा क्षति पुगेर सकिएको छ ।

नेपाल सरकार फलफूल विकास निर्देशनालयको सहजीकरणमा जुम्लामा २०२४ सालमा भारतको काश्मिरबाट स्याउको बिरुवा ल्याएर परीक्षण गर्दा सम्भव भएपछि स्याउ खेतीको सुरुवात भएको मानिंदै आएको स्याउ सुपरजोन जुम्लाका प्रमुख समेत रहेका वरिष्ठ कृषि अधिकृत शाही बताउँछन् ।

उनले भने, ‘अहिले जुम्लामा ४ हजार २९९ हेक्टरमा स्याउ खेती भइरहेको छ । जसमा ४ हजार २५० हेक्टर जमिनमा स्थानीय रोयल डेलिसेस, रेड डेलिसेस र गोल्डेन डेलिसेस जातको स्याउको बगैंचा छ । बाँकी ४९ हेक्टरमा इटालियन फुजी र गाला गरेर विकसित जातको स्याउका बिरुवा विस्तार भइरहेको छ ।’

शाहीका भनाइमा जुम्लामा अझै पनि १२ हजार हेक्टर क्षेत्रफलमा स्याउको बिरुवा विस्तार गर्न सकिने सम्भावना छ । सरकारले यतातर्फ ध्यान दिनु आवश्यक छ ।

यस वर्ष जुम्लामा स्याउ कम उत्पादन भए पनि भारतको स्याउ ढिलो आएको हुँदा यहाँका किसानले राम्रो मूल्य पाएको शाहीले बताए । स्याउ सुपरजोन जुम्लाका अनुसार, स्थानीय उत्पादनमध्ये ७० प्रतिशत स्याउ जुम्ला बाहिर निर्यात भएको छ ।

पहिला–पहिला स्याउ बिक्री नहुँदा गाईवस्तुलाई खुवाउँदै आएका किसानले यस वर्ष ६० देखि ७० रुपैयाँ प्रति किलो बगैंचामै स्याउ बिक्री गर्न पाएका छन् । चीन र भारतबाट स्याउ ढिलो आउनु तथा यसरी आएको कृषि वस्तुमा सरकारले कर लगाएपछि जुम्लाको स्याउले बजारमा राम्रो मूल्य पाएको वरिष्ठ कृषि विकास अधिकृत शाही बताउँछन् ।

जुम्लामा यो वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन भएकोमा १० हजार मेट्रिक टन निर्यात भएको र जुम्लालाई यस वर्ष मात्रै ५० करोड रुपैयाँ आम्दानी भएको छ ।

जुम्लामा स्याउको लागि राम्रो वातावरण भएको हुनाले किसानले भने जस्तो आम्दानी गरिरहेको उनको भनाइ छ । ‘सम्भावना राम्रो तर लगानी गर्न बजेट अभाव छ । उत्पादनलाई बढावा दिनुका साथै राज्यले बजारीकरणको जिम्मा लिनुपर्छ’, शाहीले भने ।

उनका विचारमा राज्यले बैंकबाट सस्तो ब्याजमा अनुदान दिएर उत्पादन बढाउन सक्ने हो भने भारतको हिमाञ्चलले जस्तै जुम्लाले पनि स्याउ उत्पादन गर्न सक्ने सम्भावना रहेको छ ।

यस्तै यस पटक जुम्लाका कृषकले राम्रो मूल्य पाउनुको अर्को कारण यहाँका ग्रामीण कृषि सडकहरू पनि हुन् । अहिले गाउँ–गाउँ पुगेका कृषि सडकले कृषकलाई आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन र व्यापारीलाई कृषकको घरसम्म पुग्न सहज भएको छ । शाहीका भनाइमा ‘किसानको स्याउको बगैंचामा गाडी पुगेर सुरक्षित रूपमा लोड गरेर बजारमा लैजान पाएपछि किसानले कम क्षति बेहोर्नु परेको छ ।’

उनका भनाइमा पहिला कुहिने र सड्ने, गल्ने, दाग लाग्ने जस्ता समस्या हुन्थ्यो भने अहिले स्याउको बगैंचामै ‘गे्रडिङ’ र ‘प्याकेजिङ’ हुने हुँदा क्षति कम हुन थालेको छ । फार्ममै गे्रड अनुसार किसानले आफ्नो उत्पादनको मूल्य पाइरहेका छन् ।

जुम्लाका कृषकका भनाइमा, अझै पनि सरकारी लगानीमा सुविधासम्पन्न कोल्ड स्टोर र त्यहाँसम्म बिजुलीको व्यवस्था हुनु जरूरी छ । जुम्लाको पानसय, असी, सिंजा र चौथबिस दरा गरेर चार ठाउँमा सुविधासम्पन्न कोल्ड स्टोर बनाएर उत्पादित स्याउ भण्डारण गर्ने र माग अनुसार मात्रै बजारमा स्याउ लैजान सके भारत र चीनको स्याउसँग जुम्लाको स्याउले प्रतिस्पर्धा गर्न सक्ने विज्ञहरूको धारणा छ ।

सरकारले गर्न नसकेको काम

सरकारले गुणस्तरीय स्याउ फलाउन किसानलाई बगैंचा व्यवस्थापनमा तालिम दिंदै आएको छ । मल र बिरुवामा ५० प्रतिशत अनुदान दिंदै आएको छ । क्षति कम होस् भनेर स्याउको बीमा गर्न किसानलाई प्रोत्साहित पनि गरिरहेको छ । विकसित जातका स्याउको विषयमा अनुसन्धान हुँदै आएको छ ।

जुम्लामा रहेको बागवानी अनुसन्धान केन्द्र राजिकोट, कृषि विकास कार्यालय र स्याउ सुपरजोन जुम्लाले यहाँका प्रत्येक स्थानीय तहसँग समन्वय गरेर काम गर्दै आएको छ । स्याउ खेतीमा राम्रो ज्ञान, सीप हासिल गर्न अनुभव आदान–प्रदान जस्ता कार्यक्रमहरू हुँदै आएका छन् ।

स्याउ खेतीमा राज्यको लगानी पुगेकै छैन । जुम्लाको स्याउ खेती प्रायःजसो पाखो जमिनमा छ, यहाँ सिंचाइको समस्या छ । पानीलाई लिफ्ट मार्फत सिंचाइको व्यवस्था गर्न किसानलाई प्रेरित गर्नुपर्दछ । स्थानीय किसानका भनाइमा, ‘रोग, कीराको व्यवस्थापनमा पनि समस्या छ ।’

तर, सरकारले गर्न नसकेका काम पनि उत्तिकै छन् । गुणस्तरीय उत्पादनमा कृषकलाई जोड दिन सकिएको छैन । स्याउको ग्रेडिङ र प्याकेजिङमा अझै सबैतिर राम्रो ध्यान दिन सकिएको छैन । नेपालको जुम्ला, मनाङ र मुस्ताङको उत्पादनले अहिले बजारको ८ देखि १० प्रतिशत मात्रै माग धानिरहेको छ । बाँकी अझै पनि विदेशको स्याउले बजार ओगटेको छ । सरकारले स्थानीय उत्पादनको बजारीकरणमा जोड दिनुपर्छ ।

स्याउ खेतीमा राज्यको लगानी पुगेकै छैन । जुम्लाको स्याउ खेती प्रायःजसो पाखो जमिनमा छ, यहाँ सिंचाइको समस्या छ । पानीलाई लिफ्ट मार्फत सिंचाइको व्यवस्था गर्न किसानलाई प्रेरित गर्नुपर्दछ । स्थानीय किसानका भनाइमा, ‘रोग, कीराको व्यवस्थापनमा पनि समस्या छ ।’

जुम्लालाई सरकारले अर्गानिक जिल्ला घोषणा गरेको तर त्यस अनुसारको मल र विषादीको लागि व्यवस्थित कामहरू भएका छैनन् । विशेषज्ञहरूका भनाइमा, सरकारले त्यस अनुसारको कारखाना खोल्न आवश्यक छ । सुगम र दुर्गमलाई हेरेर बजेटको व्यवस्था गर्नुपर्छ । उत्पादन, भण्डारण र बजारीकरणमा विशेष ध्यान दिनुपर्दछ ।

यस बाहेक सरकारले गर्न सक्ने अर्को काम भनेको विद्युत्मा लगानी गरेर बोट–बिरुवामा लिफ्ट मार्फत सिंचाइमा सहयोग पुर्‍याउन सक्छ । बिजुलीमा सहुलियत दिन सक्छ । जुम्ला बहुमुखी क्याम्पसका प्राध्यापक प्रकाशचन्द खत्री भन्छन्, ‘यति गर्ने हो भने जुम्लाको उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छ ।’

 

 

 

कभर स्टोरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?