+
+

नेपालमा पर्यटकको दैनिक खर्च ४ डलर बढ्यो

२०७९ पुससम्म प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५० डलरमात्र थियो । गत २०८० मंसिरमा आइपुग्दा पर्यटकले नेपालमा गर्ने खर्च ३.९ डलरले बढेर ४४ डलर भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० माघ २४ गते १८:४२

२४ माघ, काठमाडौं । नेपालमा प्रतिपर्यटक प्रतिदिन औसत खर्च झन्डै ४ अमेरिकी डलरले वृद्धि भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार २०८० मंसिर मसान्तसम्म एक पर्यटकले प्रतिदिन औसत ४४.५० डलर खर्च गरेको देखिन्छ ।

२०७९ पुससम्म प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५० डलरमात्र थियो । यस आधारमा एक वर्षमा पर्यटकले नेपालमा गर्ने खर्च ३.९ डलरले बढेको देखिन्छ ।

यस अवधिमा पर्यटक आगमन र पर्यटकले नेपालमा गर्ने खर्च दुवै बढेको मन्त्रालयको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ । पर्यटक आगमन बढ्दा खर्चसमेत बढ्दो क्रममा रहेको देखिएको छ । सन् २०२३ मा नेपालले १० लाख १४ हजार ८ सय ७१ पर्यटकलाई स्वागत गरेको छ ।

कोभिड महामारीका बेला कम पर्यटक आगमन भएको आर्थिक वर्ष (आव) २०७८/७९ (सन् २०२१) मा प्रतिदिन प्रतिपर्यटक खर्च ४८ डलर थियो ।

त्यसबेला पर्वतारोहण र पदयात्रामा आउने पर्यटक संख्या धेरै हुँदा खर्च र बसाइ अवधि समेत धेरै देखिएको थियो । उक्त वर्ष प्रतिपर्यटक औसत बसाइ १५.५ दिन थियो । पर्यटक आगमन बढ्न थालेपछि भने बसाइ अवधि र खर्च दुवै औसतमा कम देखिन्छ ।

प्रतिपर्यटक प्रतिदिन खर्च (डलर)

  • सन् २०२१ : ४८
  • सन् २०२२ : ४०.५
  • सन् २०२३ : ४४.४०

बसाइ अवधिमा छैन उल्लेख्य सुधार

एक वर्षको तथ्यांक तुलना गर्दा पर्यटकको बसाइ अवधिमा भने उल्लेख्य सुधार देखिएको छैन । मन्त्रालयको तथ्यांक अनुसार यो वर्ष मंसिर मसान्तसम्म विदेशी पर्यटकको औसत बसाइ अवधि १३.४ दिन देखिन्छ । एक वर्ष अगाडिको तथ्यांकमा विदेशी पर्यटकको औसत बसाइ अवधि १३.१ दिन थियो ।

प्रतिपर्यटक औसत बसाइ (दिन)

  • सन् २०२१ : १५.५
  • सन् २०२२ : १३.१
  • सन् २०२३ : १३.४

पर्यटकबाट हुने आयमा उल्लेख्य सुधार

नेपाल राष्ट्र बैंकका अनुसार पर्यटक आगमनमा भएको सुधारसँगै पर्यटनबाट हुने आयमा समेत उल्लेख्य वृद्धि देखिन्छ । चालु आव २०८०/८१ को पहिलो ६ महिनामा पर्यटकबाट हुने आम्दानी ३९ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा ४४.४ प्रतिशत धेरै हो । २०७९/८० को पुस मसान्तसम्म भ्रमण आय २७ अर्ब ४० करोड रुपैयाँ थियो ।

भ्रमण आयमा उल्लेख्य सुधार भए पनि नेपालबाट शिक्षाका लागि विदेशिने रकम धेरै हुँदा सेवा खाता घाटामा देखिन्छ । शिक्षाबाहेक नेपालबाट विदेश घुमफिरमा जाने नेपालीले समेत ठूलो रकम विदेश लगेको तथ्यांकमा देखिन्छ ।

चालु आर्थिक वर्ष पहिलो ६ महिनामा मात्र ३३ अर्ब ९२ करोड रुपैयाँ घुमफिरमा विदेश जानेसँगै विदेशिएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।

अध्यागमन विभागको तथ्यांक अनुसार २०२३ मा पर्यटकका रूपमा कुल २ लाख ४ हजार ५ सय १८ नेपाली घुमफिरमा निस्किएका थिए । तीमध्ये भारतमा मात्र ७१ हजार ६ सय ९८ नेपाली घुमफिर र पर्यटन प्रयोजनमा गएका थिए ।

मन्त्रालयको पूँजीगत खर्च भने कमजोर

चालु आव पहिलो ६ महिनामा पर्यटन मन्त्रालयको पूँजीगत खर्च भने कमजोर देखिन्छ । मन्त्रालयले कुल विनियोजनको २७.७७ प्रतिशत बजेट खर्च ६ महिनामा गरेको छ ।

त्यसमध्ये पूँजीगत खर्च लक्ष्यको १६.५७ प्रतिशत र चालु खर्च लक्ष्यको ४७.७८ प्रतिशत भएको देखिन्छ । मन्त्रालयले यस वर्ष ५ अर्ब ३२ करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । जसमध्ये १ अर्ब ४७ करोड रुपैयाँमात्र खर्च भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?