+
+

नासु मदन गुप्ता आधा दर्जन मुद्दामा ‘भ्रष्टाचारी’

साढे तीन दशकको जागिरे जीवनमा तराईका चार मालपोत कार्यालयमा रजाइँ गरेका एक नासुको भ्रष्टाचारको नालीबेली ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८० माघ २९ गते १८:२६

२९ माघ, काठमाडौं । नाम– मदन गुप्ता । पद– नासु । जेठ २०७६ मा भ्रष्टाचार मुद्दा लाग्ने बेलासम्म उनी निजामती सेवामा रहेको २९ वर्ष भइसकेको थियो । तीन दशकको अवधिमा २८ लाखको हाराहारीमा तलब बुझेका उनले १९ करोडको सम्पत्ति जोडेको भेटियो । अहिलेसम्म सातवटा भ्रष्टाचार मुद्दा खेपेका उनी ६ वटामा दोषी ठहर भए, एउटामा सफाइ पाए ।

अख्तियारको आरोपपत्र र विशेष अदालतको फैसलाहरू हेर्ने हो भने नासु गुप्ताले विभिन्न मालपोत कार्यालयहरूमा हुँदा अनेक धन्दा गरेर सरकारी राजस्व हिनामिना गरेको देखिन्छ । उनले मालपोत र बैंकको नक्कली रसिद प्याड छपाउँथे । त्यही कागजात पेश गरेर राजस्व दाखिला भएको भनी जग्गा कारोबार गराउँथे । राजस्व खातामा भुक्तानी गर्नुपर्ने रकम उनको समूहले लिन्थ्यो ।

अख्तियारले उनीमाथि परेको उजुरी छानबिन गर्दै जाँदा एकपछि अर्को अनियमितता खुलेको थियो । विभिन्न मालपोत कार्यालयमा बसेर भ्रष्टाचार गरेको आरोपमा उनीमाथि पाँच वटा राजस्व हिनामिनाको, एउटा सरकारी कागजात नष्ट गरेको अभियोग लाग्यो ।

पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनी विरुद्ध पाँचौंं मुद्दा चल्यो । सबै मुद्दा चलेपछि उनले राजस्व चुहावट गरेको थप दुई घटना भेटिए । उनी विरुद्धको छैटौं र सातौं मुद्दा राजस्व चुहावट सम्बन्धी हो । एउटा मुद्दामा सफाइ पाएका उनी अरू सबै अभियोगमा दोषी ठहर भएका छन् ।

एकपछि अर्को मुद्दा

१ जेठ, २०७६ मा अख्तियारले नासु मदन गुप्ता विरुद्ध पहिलो भ्रष्टाचार मुद्दा दायर गर्यो । २ करोड ५० लाख राजस्व हिनामिना गरेको आरोप लागेका उनी दोषी ठहर भए । २०६९ सालमा भएको घटनामा विशेष अदालतले ६९ लाख बिगो र १ करोड ३८ लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको विशेष अदालतले उनलाई ६ वर्ष कैद सजाय तोक्यो ।

त्यही दिन उनी विरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा चलेको थियो । सरकारी कागजात मासेको र नष्ट गरेको आरोप लागेका उनी लगायतको समूहमाथि थप ९ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला भयो ।

३ जेठ, २०७६ मा नासु गुप्ता विरुद्ध तेस्रो मुद्दा दायर भयो । उनी बाराको सिमरास्थित मालपोत कार्यालयमा नासु हुँदा ४ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको आरोप सहित मुद्दा दायर भएको थियो । तेस्रो मुद्दामा उनले सफाइ पाए । उनले मासेको भनेको रकम खातामा नै रहेको, अनि बेरुजु देखिएको रकम फिर्ता हुनसक्ने भन्दै विशेष अदालतले त्यो मुद्दामा भ्रष्टाचार ठहर गरेन, गुप्ताले सफाइ पाए ।

गुप्ताको योजनामा मतियार बनेको आरोपमा अख्तियारले मालपोत मात्रै नभई जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय र लेखापरीक्षण गर्ने कर्मचारी विरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सिमरा मालपोत कार्यालयमा हुँदा उनीमाथि ४ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो । जुन आरोपबाट भने उनले सफाइ पाए ।

२ मंसीर, २०७६ मा गुप्ता विरुद्ध चौथो मुद्दा दर्ता भयो । मालपोत कार्यालय, पर्सामा हुँदा रकम हिनामिना गरेको आरोपमा उनीमाथि ७७ लाख ८६ हजार रुपैयाँ राज्यकोषबाट नोक्सान गराएको आरोप लाग्यो । विशेष अदालतले उनलाई त्यो मुद्दामा १ करोड ५५ हजार रुपैयाँ जरिवाना तोक्यो, ६ वर्ष कैद सजाय हुने ठहर भयो ।

११ मंसीर, २०७६ मा मदन गुप्ता विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा पाँचौं मुद्दा चल्यो । एकपछि अर्को राजस्व चुहावटको घटनामा मुछिएको भेटिएपछि अख्तियारले उनी विरुद्ध १४ करोड ८१ लाख रुपैयाँ बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा चलायो ।

विशेष अदालतले उनको ठूलो आम्दानीलाई वैध ठहर गर्यो । अवैध दावी गरिएको मध्ये १० करोड ८७ लाख रुपैयाँ वैध रहेको भन्दै विशेष अदालतले २ करोड ८९ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको ठहर सहित विशेष अदालतले उनीबाट त्यति नै थप जरिवाना भराउन आदेश गर्यो, अनि एक वर्ष कैद सजाय तोक्यो ।

७ असोज, २०७९ मा अख्तियारले गुप्तामाथि १२ लाख ३७ हजार हिनामिना गरेको आरोप लगायो । उनी विरुद्धको छैटौं मुद्दामा विशेष अदालतले ६ लाख १८ हजार बिगो र त्यसको दोब्बर १२ लाख ३७ हजार जरिवाना तोक्यो । उनी सहित दुई जनालाई डेढ वर्ष कैद सजायको फैसला भयो ।

२९ चैत, २०७९ मा गुप्ता विरुद्ध सातौं भ्रष्टाचार मुद्दा चलेको थियो । ९५ लाख रुपैयाँ बिगो मागदाबी भएको मुद्दामा ९ माघमा विशेष अदालतले उनीबाट ४७ लाख ५४ हजार रुपैयाँ बिगो र त्यसको दोब्बर अर्थात् ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश गर्यो । गुप्तालाई ५ वर्ष कैद सजाय गर्ने तीन साताअघिको फैसलाको पूर्णपाठ तयार भइसकेको छैन ।

अनेक धन्दा…

विशेष अदालतमा पेश भएका विभिन्न अभियोगपत्र अनुसार, नासु गुप्ता लगायतको समूहले नक्कली बैंक भौचर र रसिद फाइलमा राखेर जग्गाको कारोबार गराउँथे । अनि बिचौलिया मार्फत सेवाग्राहीबाट संकलन भएको राजस्वको रकम खल्तीमा हाल्थे । जग्गाको कारोबार गर्नुअघि राजस्व तिर्नुपर्छ, बेच्नेलाई नाफा भए पूँजीगत लाभकर समेत बुझाउनुपर्छ । तर गुप्ताको समूहले रकम बुझाउनुको साटो नक्कली रसिद फाइलमा पेश गरी जग्गा किनबेचको काम गराउँथे । एक वर्षको अवधिमा छानबिन गर्दा नै उनी सहितको टोलीले करिब ५/७ करोड हिनामिना गरेको भेटिएको थियो ।

जागिर सुरु गरेको दुई दशक अर्थात् २०६७ सालसम्म उनले दुई लाख पनि जोड्न सकेका थिएनन् । त्यसपछिका वर्षहरूमा उनले आफ्नो कमाइ घरजग्गामा लगानी गरेको देखाउन थाले । नासु हुनासाथ कमाइ बढाउन थालेका उनले २०७१ सालमा करिब तीन करोड रुपैयाँ जोडिसकेका थिए ।

करिब एक दशकअघि मुलुकमा घरजग्गाको कारोबार मौलाउँदै गर्दा गुप्ताको धन्दा पनि उत्कर्षमा पुग्दै गरेको अनुसन्धानहरूले देखाउँछ । १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये उनले १ लाख ६२ हजार रुपैयाँ मात्रै लेखा शाखामा बुझाइ अरू रकम हिनामिना गरेका थिए ।

उनी सहित अरू कर्मचारीमाथि दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट वा हेरफेर गरेर भ्रष्टाचार गरेको आरोप थियो । आफूमाथि भ्रष्टाचारको छानबिन हुन थालेपछि उनको टोलीले बाराको कलैयास्थित मालपोत कार्यालयबाट महत्वपूर्ण कागजात नै लुकायो ।

त्यो कागजात उनका निजी सवारी चालक सुनिलकुमार पटेलको डेराबाट बरामद भएको थियो । राजस्व चुहावटकै क्रियाकलापका कारण एकपछि अर्को घटनामा मुछिएका उनी लगालग दोषी ठहर भएका हुन् ।

अख्तियारले विशेष अदालतमा पेश गरेको सम्पत्ति विवरण अनुसार, गुप्ताको काठमाडौंको सुन्धारा र कलंकी अनि वीरगञ्जमा दुईवटा र सर्लाहीमा गरी पाँचवटा घर थिए । सर्लाही लगायत ठाउँमा उनको अरू सम्पत्ति पनि भेटिएको थियो ।

नासु गुप्ताले कार्यालय सहयोगी श्याम तिमिल्सिनाकी सासू इन्दिरादेवी काफ्लेको नाममा पर्साको चार ठाउँमा जग्गा किनिदिएको भेटियो । भदाहा राजेशकुमार गुप्ताको नाममा जग्गा जोडेको खुल्यो । अनि उनीहरूले प्रयोग गर्ने गाडी भदैनी कविता कुमारीका पति निरजकुमार गुप्ताको नाममा किनेका थिए ।

मदनप्रसादले सुन्धारामा किनेको घर छोरा विक्की, कार्यालय सहयोगी जुगुलीप्रसाद र अर्को व्यक्ति जगतनारायणको नाममा थियो । पछि बयानमा उनीहरूले उक्त घर मदनप्रसादको रहेको भनी प्रमाण समेत दिए । वीरगञ्जमा रहेको घर श्रीमती र कार्यालय सहायककी पत्नी कविताको नाममा राखेको भेटिएको थियो ।

अनुसन्धानका दौरान अख्तियारले मालपोत कार्यालय पर्साका कार्यालय सहयोगी श्यामप्रसाद तिमिल्सिनाको कोठा खानतलासी गर्दा ३३ लाख रुपैयाँको रसिद भेटिएको थियो । अर्का व्यक्ति वृजलाल प्रसाद रौनियारको खातामा रकम लुकाएको खुल्यो । अर्को सहायक निरजको नाममा गाडी र पेट्रोल पम्पमा लगानी गरेको पनि खुल्यो ।

२७ असार, २०४७ मा खरिदार भएर मालपोत कार्यालय, मुस्ताङमा पोस्टिङ भएका गुप्ता २० महिना मात्रै त्यहाँ बसे । २०४८ फागुनदेखि २०६३ भदौसम्म १५ वर्ष उनी मालपोत कार्यालय, सर्लाहीमा रहे । त्यसपछि मालपोत कार्यालय, पर्सामा बसे ।

२०६४ सालमा नासुमा बढुवा भएपछि पनि उनी अन्यत्र जानु परेन, २०७४ साल कात्तिकसम्म उनी मालपोत कार्यालय पर्सामा बसेका थिए । त्यसपछि मालपोत कार्यालय, कलैया पुगे अनि केही समय सिमरास्थित मालपोत कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा रहे ।

जागिर सुरु गरेको दुई दशक अर्थात् २०६७ सालसम्म उनले दुई लाख पनि जोड्न सकेका थिएनन् । त्यसपछिका वर्षहरूमा उनले आफ्नो कमाइ घरजग्गामा लगानी गरेको देखाउन थाले । नासु हुनासाथ कमाइ बढाउन थालेका उनले २०७१ सालमा करिब तीन करोड रुपैयाँ जोडिसकेका थिए । त्यसपछि उनको सम्पत्तिको ग्राफ बढ्दै थियो । मुद्दा दायर गर्दाको मितिसम्म उनको अवैध आम्दानी १४ करोड ८१ लाख पुगेको अख्तियारको दाबी थियो ।

अख्तियारको अनुसन्धान अनुसार, २९ वर्षको जागिरे अवधिमा उनले वैध/अवैध गरी कुल १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ । ४ करोड ५४ लाख रुपैयाँ बाहेक सबै भ्रष्टाचारबाट कमाएको अख्तियारको दाबी थियो । उनले जागिर खाएको अवधिमा २७ लाख ९२ हजार रुपैयाँ मात्रै तलब बुझेका थिए ।

मापदण्ड अनुसार गणना गर्दा त्यो तलबबाट १९ लाख ५५ हजार रुपैयाँ मात्रै बचत गर्न सम्भव हुन्छ । सर्वोच्च अदालतले सार्वजनिक पदमा रहेका व्यक्तिको कुल तलब र सुविधाको ७० प्रतिशत रकम मात्रै बचत गर्न सम्भव हुने मापदण्ड बनाएको छ । साढे १९ लाख रुपैयाँ बचत गरेका गुप्ताले १९ करोड जोडेको भन्दै अख्तियारले प्रश्न उठाएको थियो ।

अख्तियारको दाबी अनुसार, उनका कारण मात्रै करिब ८ करोड रुपैयाँको राजस्व छली भएको छ । उनको सम्पत्ति लुकाएको आरोपमा कार्यालय सहयोगीका सासू विरुद्ध समेत भ्रष्टाचार मुद्दा चलेको थियो । उनले भ्रष्टाचारको रकम जम्मा गर्न लेखाका कर्मचारी युगलकिशोर ठाकुरसँग मिलेर छुट्टै संयुक्त खाता खोलेको भेटिएको थियो ।

विशेष अदालतले भने निलम्बित नासु गुप्तालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी त ठहर गर्यो, तर अख्तियारले दाबी गरेजस्तो उनले १४ करोड ८१ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्ने दाबी स्वीकार गरेन ।

अख्तियारले मदनमाथि १९ करोड ३६ लाख रुपैयाँ कमाएको दाबी गरेको थियो । विशेष अदालतले त्यसको परीक्षण गरी उनले जम्मा १३ करोड ७६ लाख रुपैयाँ मात्रै कमाएको देखिएको ठहर्यायो । साथै ४ करोड ५४ लाख रुपैयाँ मात्रै उनको वैध आम्दानी हुने भन्ने अख्तियारको दाबी विशेष अदालतले खण्डन गर्यो ।

विशेष अदालतले नासु गुप्ताले १० करोड ८७ लाख रुपैयाँ वैध रूपमा कमाएको देखिएको भनी व्याख्या गर्यो । अख्तियारको दाबीको हिसाबकिताब फेरबदल भएपछि नासु गुप्ताले २ करोड ८९ लाख रुपैयाँ मात्रै भ्रष्टाचार गरेर गैरकानुनी कमाएको फैसला सुनायो । पछिल्लो मुद्दा बाहेक सबैजसो मुद्दा पुनरावेदनका क्रममा सर्वोच्च अदालत पुगेका छन् ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?