+
+

सी डिभिजन लिग सर्ने, चैत अन्तिमदेखि गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १६:३९

१ फागुन, काठमाडौं । फागुन १५ देखि सुरु गर्ने भनिएको शहीद स्मारक सी डिभिजन लिग एक महिना पछि सर्ने पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंसिरमा सी डिभजन क्लबहरुसँग छलफल गर्दै १५ फागुनदेखि सी डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको थियो ।

तर आयोजक एन्फा अहिले त्यो निर्णयबाट आफैँ पछि हटेको छ । एन्फाले सी डिभिजन क्लबहरुसँग पछिल्लो पटक छलफल गरेपछि प्रतियोगिताको मिति सर्ने पक्का भएको छ ।

सी डिभिजन लिगका क्लबहरुसँग पछिल्लो छलफल पछि एन्फाले चैतको २२ गतेदेखि सी डिभिजन लिग गर्ने तयारी गरिरहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

‘सी डिभिजन क्लबहरुसँग सबै विषयमा छलफल गरेपछि उहाँहरुको प्रस्ताव अनुसार नै चैत २२ गतेदेखि गर्न उपयुक्त हुने देखियो’, प्रवक्ता शाहले भने, ‘मिति सर्ने पक्का हो तर निर्णय हुन बाँकी छ । अहिलेलाई यो मिति प्रस्तावित हो । यो प्रस्ताव कार्यसमिति बैठकबाट पास भएपछि नयाँ मितिबारे निर्णय हुन्छ ।’

प्रवक्ता शाहले एन्फा पछि हटेको भन्दा पनि क्लबहरुको तयारीको समय र आर्थिक विषयहरुले गर्दा दुई पक्ष नै मिति सार्न तयार भएको बताए । ‘क्लबहरुले पनि तयारीका लागि समय कम हुने भनेपछि सबै विषयमा छलफल गरेर मिति सार्न लागिएको हो’, शाहले भने ।

एन्फाले यसअघि मंसिरमै सी डिभिजन लिगको लागि मिति तय गरेको थियो । तीन महिनाअघि नै मिति तय गरे पनि फेरि तयारीको समय पुगेन भनर लिग सार्न लागिएको हो ।

एन्फाले सी डिभिजन लिग उपत्यका बाहिर गर्नका लागि पनि क्लबहरुसँग छलफल पनि गरेको थियो । तर अब काठमाडौंमा र उपत्यका बाहिर हुने भन्ने विषयमा एन्फाले केही भनेको छैन ।

एन्फाले गत वर्ष ए डिभिजन लिग आयोजना गरे पनि बी र सी डिभिजन लिग आयोजना गर्न सकेको थिएन । पछिल्लो पटक सी डिभिजन लिग २०७९ जेठमा भएको थियो । जसमा झापा एफसी च्याम्पियन बनेको थियो । झापासँगै प्लानिङ ब्वाइज सी बाट बी डिभिजनमा बढुवा भएका थिए । हाल सी डिभिजनमा १४ क्लब छन् ।

यसवर्ष एन्फाले कुनै पनि डिभिजन लिग आयोजना गर्न सकेको छैन । सी डिभिजन लिग नै वर्षको अन्तिममा हुने भएपछि अब अन्य डिभिजनको लिग यो वर्ष नहुने पक्का छ ।

एन्फाले बी डिभिजन लिगका क्लबहरुसँग पनि छलफल गर्दै आए पनि लिगको मिति तय गर्न सकेको छैन । प्रवक्ता शाहले फेरि बी डिभिजन क्लबहरुसँग छलफल गरेर मिति तय गरिने जानकारी दिए ।

एन्फाको अब बस्ने कार्यसमिति बैठकमा विभिन्न प्रतियोगिताहरु र क्यालेन्डरको बारेमा छलफल हुने पनि शाहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?