५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले बलियो टोली नेदरल्याण्ड्समाथि ९ विकेटको सहज जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेको एशोसिएसट टिम नेदरल्याण्ड्सलाई १३७ रनमै अल आउट गरेको घरेलु टोली नेपालले मात्र १५.२ ओभरमा एक विकेट गुमाएर १३८ रनको लक्ष्य भेट्टायो ।
शनिबार नेपालले जसरी अपेक्षाभन्दा निकै सहजसँग नेदरल्याण्ड्सलाई हरायो, बिहीबार यसरी नै अनपेक्षित रुपमा नेपाली टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो ।
दुबै खेलमा एउटा समानता थियो, टस ।
बिहीबार नामिबियाले टस जित्यो, खेल पनि जित्यो । शनिबार नेपालले टस जित्यो, खेल पनि जित्यो ।

कुनै पनि टोलीले खेल जित्न उत्कृष्ट क्रिकेट खेल्नैपर्छ । तर कतिपय मैदानहरु यस्ता हुन्छन्, जहाँ टस पनि कारक बन्ने गर्छ । नेपालको त्रिवि क्रिकेट मैदान (टीयू ग्राउण्ड) मा पनि एकदिवसीय खेलमा टसको प्रमुख भूमिका देखिएको छ ।
विहानको समयमा शीत परेर मैदान ओसिलो हुने भएकाले बलमा स्वीङ र टर्न बढी आउनसक्छ, ब्याटरलाई बल बुझ्न कठिन हुन्छ । पहिलो इनिङपछि विकेट फ्ल्याट (ब्याटिङ सहयोगी) हुँदै जान्छ, दोस्रो इनिङमा ब्याटरले खुलेर रन बनाउन सक्छ ।
त्रिवि क्रिकेट मैदानको यो अवस्थालाई राम्ररी बुझेको नामिबियाले बिहीबार टस जितेर फिल्डिङ रोज्यो । उसका बलरहरुले पनि उत्कृष्ट बलिङ गरेपछि हेभी ब्याटिङ लाइनअपका बाबजुद नेपाल १३२ रनमै अलआउट भयो ।
तर नामिवियाका तीव्र गतिका बलर रुवेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले उत्कृष्ट सुरुवात दिलाउँदै २–२ विकेट लिए । त्यसपछि पार्टटाइम स्पिनर जेराल्ड इरास्मसले एक्लै पाँच विकेट लिएपछि नेपाल ४१.१ ओभरमा अलआउट भएको थियो ।
शनिबार नेपालले टस जित्यो, कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिए । नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भयो ।
सोमपाल कामीले तेस्रो बलमै थर्डम्यानमा माइकल लेभिटलाई देव खनालबाट शून्यमा क्याच गराए । छैटौं ओभरको अन्तिम बलमा म्याक्स ओडाउड १० रनमा रन आउट भएपछि नेदरल्यान्ड्स १८–२ को अवस्थामा पुगेको थियो ।
तेस्रो विकेटका लागि बास डि लिडे र साइब्रान्ड एंगेलब्रेटले ३४ रनको साझेदारी गर्दा नेदरल्यान्ड्स ५६–२ को अवस्थामा थियो । तर स्पिनर ललित राजवंशीको बलमा फस्ट स्लिपमा अनिलकुमार साहबाट एंगेलब्रेट २३ रनमा क्याच आउट भएपछि नेदरल्यान्ड्सले एकपछि अर्को विकेट गुमाउन पुग्यो ।

नेपालका पार्टटाइम लेग स्पिनर कुशल भुर्तेलले ४ र ललितले २ विकेट लिए ।
१३८ रनको लक्ष्य पछ्याएको नेपालले टी–२० शैलीमा १५.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
ओपनर कुशल भुर्तेलले ११ बलमा २ चौका र ३ छक्कासहित २८ रनको आक्रामक सुुरुवात दिलाएर आउट भए । त्यसपछि अविजित १०५ रनको साझेदारी गरेका अनिल साह ३६ बलमा ६ चौका र ४ छक्कासहित ५७ तथा आसिफ शेख ४५ बलमा ८ चौका र १ छक्कासहित ५४ रनमा नट आउट रहे ।
‘हामीले जति पनि खेल टीयूमा खेलेका छौं, त्यसमा टसले एकदमै म्याटर गर्दछ । किनकी विहानको कन्डिसन (अवस्था) अलिकति चुनौतीपूर्ण हुन्छ’, आसिफले खेलपछि भने, ‘सेकेन्ड इनिङमा ब्याटिङ एकदमै फ्ल्याट हुन्छ । त्यसमाथि १३८ रन त्यति ठूलो लक्ष्य थिएन । त्यसैले हाम्रो योजना पावर प्लेको सदुपयोग गर्ने । सुरुवात पाइसकेपछि त्यसलाई अन्त्य गरेर आउने थियो ।’

लिग–२ मा नेपालले अब वुधबार नामिबिया र अर्को हप्ता आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । दुबै खेल विहान ९ः३० नै सुरु हुनेछन् । र, दुबै खेलमा नेपालले टस जित्छ भन्ने अनुमान गर्न सकिन्न ।
टस हारेर पहिला ब्याटिङ गर्नुपरेमा भन्ने प्रश्नमा आसिफ सुरुवातमा ब्याटिङ वा बलिङ दुबैमा तयार रहेको बताउँछन् । उनले अघि भने, ‘टसमा मात्रै भर परेर भएन, जे पनि आउन सक्छ, त्यसका लागि तयार हुनुपर्छ ।’
नेदरल्याण्ड्सका कप्तान स्कोट एडवार्डले पनि पावर प्लेभन्दा पनि मध्यक्रममा आफ्नो टिमले लय गुमाएको बताए । खेलपछि उनले भनेका छन्, ‘विहान अलि चुनौतीपूर्ण त छ, तर १३० आसपार रन बनाउँदा यसो भन्ने छुट छैन ।’
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर
 
                    










 २०८० फागुन  ५ गते २०:२४
                        २०८० फागुन  ५ गते २०:२४                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4