+

परिवार नियोजनको सबैभन्दा उत्तम तरिका के हो ?

२०८० फागुन  ६ गते १३:४५ २०८० फागुन ६ गते १३:४५
परिवार नियोजनको सबैभन्दा उत्तम तरिका के हो ?

परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी दुई किसिमका हुन्छन् । स्थायी परिवार नियोजनको साधन बन्ध्याकरण हो, जुन पुरुष र महिला दुवै गर्ने सक्छन् ।

परिवार नियोजनको अस्थायी साधनका धेरै विकल्प छन् । कण्डम, पिल्स, डिपोप्रोभेरा (तीनमहिने सुई), इम्प्लान्ट, आईयूसीडी (कपरटी) आदि परिवार नियोजनका अस्थायी साधन हुन् ।

परिवार नियोजनको अस्थायी साधनका आ–आफ्नै फाइदा र बेफाइदा छन् ।

ण्डम  

कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सक्छन् । परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो । यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर कम हुन्छ । साथै यौनजन्य रोगबाट पनि बचाउँछ । कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने सम्भावना हुन्छ ।

पिल्स

पिल्स चक्कीलाई दैनिक सेवन गर्नुपर्छ, छुट्टाउन मिल्दैन । यसको प्रमुख फाइदा भनेको गर्भधारणबाट बचाउने हो । साथै नियमित पिल्स खाएमा महिनावारी पनि नियमित हुन्छ ।

यदि महिलाले नियमित रूपमा पिल्स खाएमा ‘फेलिएर’ हुने दर सबैभन्दा कम हुन्छ । तर महिलाले उक्त चक्की ठीक समयमा नै खानुपर्छ । राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । यदि औषधि खान छुटाइयो भने महिनावारीपछि पनि रगत बग्ने समस्या हुन सक्छ ।

पिल्सको साइड इफेक्ट भनेको शरीरको वजन घटबढ हुने, चायाँ पोतो आउने हुनसक्छ । साथै सुरुमा वाकवाकी लाग्ने, रिंगटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । उच्च रक्तचापमा पिल्स खानु हुँदैन ।

डिपोप्रोभेरा

डिपोप्रोभेरा तीन-तीन महिनामा दिने इन्जेक्सन हो, त्यसैले यसलाई नेपालमा तीनमहिने सुई भनेर पनि चिनिन्छ । जसमा प्रोजेस्टोरन हार्मोन हुन्छ र त्यसले गर्भधारणलाई रोक्छ । यसको असफलताको दर भने पिल्समा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने फेल हुने सम्भावना हुन्छ ।

यसको फाइदा भनेको बच्चा बस्न नदिने हो । डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी गडबड हुने, महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ ।

इम्प्लान्ट

इम्प्लान्ट पाँच वर्षका लागि पाखुरामा राखिन्छ । यसमा पनि प्रोजेस्टोरन हार्मोन हुन्छ र त्यसले गर्भधारणलाई रोक्छ । यसमा प्रयोग हुने हार्मोन डिपोप्रोभेरा जस्तै भएकाले फाइदा बेफाइदा पनि उस्तै हुन्छ ।

पाँच वर्षपछि त्यसलाई निकाल्नुपर्छ । तर ८४ केजी भन्दा बढी तौल भएका महिलाले भने यसलाई चार वर्षमा नै निकाल्नुपर्छ । बढी तौल हुँदा पाँच वर्षसम्म यसको प्रभावकारिता कम हुनसक्छ ।

इम्प्लान्ट राख्न तालिमप्राप्त व्यक्ति हुनुपर्छ । यो शरीरभित्र राख्ने भए पनि यसले शारीरिक रूपमा कुनै पनि किसिमको असर गर्दैन ।

आईयूसीडी

आईयूसीडी एक पटक लगाएपछि १२ वर्षसम्मलाई काम गर्छ । यो टी आकारको हुन्छ । यसमा हार्मोन प्रयोग हुँदैन । यसको प्रमुख काम पाठेघरमा बच्चा बस्न नदिने नै हो ।

हार्मोन नभएकाले यसको प्रयोगले तौल गडबड हुने, महिनावारी गडबड हुने जस्तो समस्या देखिंदैन । तर महिनावारीमा बढी रक्तस्राव हुने समस्या भने हुनसक्छ । सुरुमा तल्लो पेट दुख्ने समस्या पनि हुनसक्छ ।

पिल्स चक्की लामो समय प्रयोग गर्दा गर्भधारण नहुने समस्या हुन्छ ?

पिल्स चक्कीको प्रयोग लामो समय गर्दा, प्रयोग गर्न छाडेपछि पनि गर्भधारण नहुने समस्या हुन्छ भनेको सुनिन्छ । तर यो मिथ मात्र हो । यसको प्रयोग गर्न छाडेको केही महिनापछि छैन गर्भधारण हुन्छ ।

पिल्स मात्र होइन, परिवार नियोजनको अन्य अस्थायी साधन प्रयोग गर्दा पनि पछि बच्चा नबस्ने समस्या हुँदैन । विभिन्न अध्ययनले पनि परिवार नियोजनको अस्थायी साधन गर्न छाडेको लगभग एक वर्षमा गर्भमा बच्चा बस्छ भनेको छ ।

बन्ध्याकरण

तराई क्षेत्रमा बन्ध्याकरण गर्ने महिला धेरै हुन्छन् भने पहाडी क्षेत्रमा महिलाको तुलनामा पुरुष बढी हुन्छन् । तर समग्र नेपालमा बन्ध्याकरण गराउने पुरुषको तुलनामा महिला नै धेरै छन् ।

परिवार नियोजनको अस्थायी र स्थायी प्रयोगपछि असफल हुने सम्भावना हुँदैन, यसले शतप्रतिशत गर्भधारण रोक्छ भन्ने पनि हुँदैन । स्थायी उपाय अपनाउँदा पनि एक प्रतिशत फेल हुने सम्भावना हुन्छ । स्थायी उपाय अपनाउँदा पनि गर्भ बसेको शंका लागे तुरुन्त अस्पताल गएर चिकित्सकलाई भेट्नुपर्छ ।

महिलाहरूमा शल्यक्रियापछि खासै समस्या हुँदैन । तर पुरुषले भने शल्यक्रिया गरेको तीन महिनापछि वीर्य जाँच गर्न जानुपर्छ । शल्यक्रिया सफल भयो कि भएन भन्ने कुरा तीन महिनापछि मात्र पत्ता लाग्छ ।

पुरुषको भ्यासेक्टोमी गर्दा बीचको भाग मात्र काटिन्छ, यस्तोमा अगाडिको भागमा शुक्रकीट बाँकी रहन्छ  । बीचमा काटेको हुँदा नयाँ शुक्रकीट आउँदैन । तर  अगाडिको भागमा भएको शुक्रकीट निस्किएर बच्चा बस्नसक्छ । तीन महिना अस्थायी साधन प्रयोग गर्नुपर्छ । तीन महिनापछि वीर्य जाँच गरेपछि शुक्रकीट छैन भने मात्र त्यो शल्यक्रिया सफल भयो भनेर ढुक्क हुनुपर्छ ।

स्थायी परिवार नियोजनपछि यौन जीवनमा कुनै समस्या हुन्छ ?

स्थायी परिवार नियोजनपछि यौन जीवनमा समस्या आउँछ भनेको पनि सुनिन्छ । तर यो कुरामा सत्यता छैन । स्थायी बन्ध्याकरणपछि यौन जीवनमा समस्या हुन्छ भन्ने कुरालाई कुनै अध्ययनले प्रमाणित गरेको छैन । अपवाद हुन सक्ला तर खासै यस्तो समस्या देखा परेको पाइएको छैन ।

ध्यान दिनुपर्ने कुरा

औषधि पसलमा गएर आफूखुसी पिल्स किनेर खाँदा, तीनमहिने सुई लगाउँदा भने त्यसको फाइदा बेफाइदाको बारेमा थाहा हुँदैन । तर परिवार नियोजनको सल्लाह दिने स्वास्थ्य संस्थामा गएर सल्लाहअनुसार अस्थायी साधनको प्रयोग गरियो भने फाइदा वा यसको साइड इफेक्टहरुको बारेमा पनि थाहा हुन्छ । त्यसैले परिवार नियोजनको सल्लाह दिने स्वास्थ्य संस्थाबाट सल्लाह लिएर मात्र अस्थायी साधनको प्रयोग गर्नु राम्रो हुन्छ ।

परिवार नियोजनको विभिन्न उपाय अपनाइरहँदा पनि कण्डमको प्रयोग गरियो भने विभिन्न यौन रोगबाट पनि बच्न सकिन्छ ।

डा. जस्मिन श्रेष्ठ परिवार नियोजन
डा. जस्मिन श्रेष्ठ
लेखक
डा. जस्मिन श्रेष्ठ
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. श्रेष्ठ हाल काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा महिला अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । उनको नेपाल  मेडिकल काउन्सिल दर्ता नम्बर ३०७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय