News Summary
Generated by OK AI. Editorially reviewed.- विल्हेल्म कोनराड रोन्टजेनले सन् १८९५ मा आफ्नी पत्नी अन्ना बर्थाको हातको एक्स-रे तस्बिर खिचेर रेडियोग्राफीको सुरुवात गरेका थिए।
विल्हेल्म कोनराड रोन्टजेन जर्मनका भौतिकशास्त्री हुन् । उनले सन् १८९५ मा खिचेको हातको एक्स-रे तस्बिरलाई संसारकै पहिलो रेडियोग्राफी मानिन्छ । यसमा उनले आफ्नी पत्नी अन्ना बर्था रोन्टजेनको देब्रे हातको तस्बिर खिचेका थिए । औंठीसहितको उक्त एक्स-रे चित्रलाई यस क्षेत्रको गौरवपूर्ण र अमर चिन्हका रूपमा लिइन्छ । यो चित्र रोन्टजेनले प्रयोगशालामा खिचेका थिए ।
उन्नाइसौँ शताब्दीको अन्त्यतिर उनले एक्स-रेको खोज गरेर आधुनिक चिकित्सामा इमेजिङको जग बसाएका थिए । यही कारण सन् १९०१ मा उनले भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार पाए । सम्मान, पुरस्कार र ख्यातिभन्दा पनि उनको जिज्ञासा, समर्पण र ज्ञानप्रतिको अदम्य खोजको प्रतीक हो, जसले आज पनि संसारभरका मानिसहरूलाई प्रेरणा दिइरहेको छ ।
रेडियोलोजीका पिता : विल्हेम रोन्टजेन
रोन्टजेनको विरासत साँच्चै असाधारण छ । उनको योगदानले विषय, पुस्ता र भौगोलिक सीमा पार गरिसकेको छ। रोन्टजेनको जन्म सन् १८४५ मा जर्मनीको सानो शहर लेनिपमा भएको थियो। केही समयपछि उनी नेदरल्याण्ड्सको युट्रेक्ट शहरमा गए, जहाँ उनले विद्यालय तहको अध्ययन गरे । दुर्भाग्यवश, उनको साथमा एक शिक्षकको व्यङ्ग्यचित्र फेला परेपछि उनलाई विद्यालयबाट निकालिएको थियो, जुन चित्र उनले बनाएका थिएनन्।
विद्यालयको प्रमाणपत्रबिनै कलेजमा प्रवेश गर्न कठिनाइ भए पनि, उनले स्विट्जरल्याण्डको ज्युरिखस्थित फेडरल पोलिटेक्निक इन्स्टिच्युटमा मेशिन इन्जिनियरिङ अध्ययन गर्ने अवसर पाए । पछि उनले ज्युरिख विश्वविद्यालयबाट पीएचडी गरे र आफ्नो देश फर्के । पहिले स्ट्रासबर्ग विश्वविद्यालयमा, त्यसपछि गिसेन, वुर्जबर्ग र म्युनिख विश्वविद्यालयमा प्राध्यापकका रूपमा काम गरे।
सन् १८९५ मा वुर्जबर्ग विश्वविद्यालयमा काम गर्दै गर्दा रोन्टजेन विभिन्न प्रकारका भ्याकुम ट्युबहरूमा विद्युत् प्रवाह हुँदा हुने प्रभावहरू अध्ययन गरिरहेका थिए । नोभेम्बरको सुरुतिर, जब उनी ‘लेनार्ड ट्युब’ नामक पातलो काँचको भ्याकुम ट्युब प्रयोग गर्दै थिए उनले देखे कि- केही अदृश्य किरणहरूले एल्युमिनियम सञ्झ्याल नजिक राखिएको ‘बेरियम प्लेटिनोसायनाइड’ ले लेपित कार्डबोर्डमा चमक ल्यायो । यसले उनलाई गहिरो सोचमा पार्यो- के बाक्लो काँच भएको ‘क्रुक्स–हिटोर्फ ट्यूब’ले पनि त्यस्तो प्रभाव उत्पन्न गर्न सक्छ ?
एक्स–रेको खोजको क्षण
८ नोभेम्बर १८९५ को साँझ, रोन्टजेनले उक्त ट्युबलाई इलेक्ट्रोडसँग जोडेर कोठा अँध्यारो बनाए । प्रत्येकपटक उनले ट्युब चलाउँदा नजिकैको कुर्सीको फिका छायाँ देखिन्थ्यो । यसले उनलाई आश्चर्यचकित तुल्यायो । त्यसपछि उनले निरन्तर प्रयोग गर्दै गए र आफूले कुनै नयाँ प्रकारको किरण पत्ता लगाएको निष्कर्ष निकाले ।
उनले त्यसलाई ‘एक्स–रे’ नाम दिए र त्यसैको अध्ययनमा समर्पित भए । यस क्रममा उनले पहिलो एक्स–रे तस्बिर खिचे । आफ्नै हातको अस्थिपञ्जरको धमिलो छायाँ, जुन दुर्भाग्यवश अहिले हराइसकेको छ । करिब छ हप्तापछि उनले फेरि अर्को एक्स–रे खिचे । यसपटक आफ्नी श्रीमती अन्ना बेर्थाको हातको एक्स–रे तस्बिर लिएका थिए । उनले त्यो अस्थिपञ्जरको तस्बिर हेरेर भनेकी थिइन्, मैले आफ्नै मृत्यु देखेँ।’
अन्ना बेर्था र उनको हातको एक्स–रे
रोन्टजेनले १८६६ मा ज्युरिखमा नामक क्याफेमा अन्नालाई भेटेका थिए, त्यो क्याफे अन्नाका बाबुले चलाउँथे । उनीहरू ६ वर्षपछि विवाह बन्धनमा बाँधिए। रोन्टजेनका पिता यो सम्बन्धबाट सन्तुष्ट थिएनन्, किनभने अन्ना साधारण परिवारकी थिइन् र उमेरमा पनि ६ वर्ष जेठी थिइन्। उनीहरूले आफ्नै सन्तान पाएनन्, तर अन्नाका दाजुको मृत्युपछि उनकी छोरी जोसेफिनलाई धर्मपुत्रीको रूपमा राखे। जोसेफिन लामो समय मिर्गौला समस्याबाट ग्रस्त भइन् र ८० वर्षको उमेरमा उनको निधन भयो ।
अन्नाको हातको एक्स–रे तस्बिर, जसमा उनको औंठी स्पष्ट देखिन्छ । यो आज पनि रेडियोलोजीको प्रतीक बनेको छ । हजारौँ चिकित्सक र विद्यार्थीहरूले यो तस्बिर देखेका छन् । यो तस्बिर चिकित्सा इतिहासको पहिलो निर्णायक क्षण हो- जहाँ मानव शरीरको भित्री संरचना पहिलो पटक हेर्न सकियो । अन्नाको यो योगदान विश्व रेडियोलोजी इतिहासमा अमूल्य छ ।
अल्बर्ट भोन कोलिकर
सन् १८१७ मा जन्मेका अल्बर्ट भोन कोलिकर स्विस वैज्ञानिक हुन् । उनी शरीररचना सम्बन्धी विज्ञ थिए, जसले ‘माइटोकन्ड्रिया’ अर्थात् ‘कोशिकाको पावरहाउस’ पत्ता लगाएका व्यक्ति हुन् । मांसपेशी, स-साना नाभीयुक्त कोषहरूबाट बनेका हुन्छन् र स्नायु तन्तुहरू सिधा स्नायु कोषहरूसँग जोडिएका हुन्छन् भन्ने कुरा उनले पहिलो पटक प्रमाणित गरेका थिए । उनको योगदान जीवविज्ञानमा अत्यन्त महत्वपूर्ण थियो । वुर्जबर्ग विश्वविद्यालयमा उनी रोन्टजेनका नजिकका साथी र सहकर्मी थिए।
दोस्रो प्रसिद्ध एक्स–रे
सन् १८९६ जनवरी २३ मा, कोलिकर वुर्जबर्गको फिजिक्स मिडिया सोसाइटीले आयोजना गरिएको रोन्टजेनको ब्रिफिङमा उपस्थित थिए । ब्रिफिङमा रोन्टजेनको एक्स–रे सम्बन्धी पहिलो सार्वजनिक प्रस्तुति थियो । सो अवसरमा रोन्टजेनले कोलिकरलाई मञ्चमा बोलाएर उनको हातको एक्स–रे खिचे ।
कोलिकरले आफ्नो हातको अस्थिपञ्जर देखेपछि अचम्म माने र भने- ‘यी किरणहरूलाई ‘रोन्टजेन किरण’ भनिनुपर्छ ।’ सभामा उपस्थितहरूले उभिएर ताली बजाउँदै सहमति जनाए।
रोन्टजेनले कोलिकरको हातको एक्स–रे खिच्दा, त्यो अन्नाको हातको पहिलो तस्बिरभन्दा अझ स्पष्ट र सुधारिएको थियो । पहिलो तस्बिरपछि केही हप्ताको अन्तरालमा रोन्टजेनले इमेजिङ प्रक्रियामा थुप्रै प्राविधिक परिमार्जन गरेका थिए । एक्सपोजर समय, दूरी र उपकरणको सटिकतामा सुधार गरेका थिए । यसले तस्बिरमा हड्डीका सूक्ष्म विवरणहरू देख्न सम्भव बनायो।
यो तस्बिरले एक्स–रे प्रविधिको चिकित्सकीय सम्भावना स्पष्ट रूपमा देखायो । शरीरका ती भागहरू जसलाई आँखाले कहिल्यै देख्न सकिँदैनथ्यो, एक्स–रेको माध्यमबाट सजिलै देखिन थाले । यसले आधुनिक चिकित्सा इमेजिङको भविष्यको दिशा तय गर्यो ।
खोजको प्रगति
१८९५ मा एक्स-रेको खोजसँगै रोन्टजेनले चिकित्सा जगतलाई पूर्णरूपमा परिवर्तन गरे । पहिलो पटक बिनाशल्यक्रिया शरीरको भित्री भाग देख्न सकिने भयो । यसले रोग पहिचान र उपचारमा क्रान्ति ल्यायो।
उनको योगदानलाई सन् १९०१ मा पहिलो नोबेल पुरस्कार समारोहमा भौतिकशास्त्रको नोबेल पुरस्कारबाट सम्मान गरियो । उनले आफ्नो प्रविधिबारे विश्वभरका अनुसन्धानकर्ताहरूलाई नि:शुल्क प्रयोग र सुधार गर्न प्रोत्साहित गरे । यही कारण एक्स–रे प्रविधि छिट्टै संसारभर फैलियो।
रोन्टजेनको निधन ७७ को उमेरमा सन् १९२३ फेब्रुअरी १० मा म्युनिख, जर्मनीमा भयो ।
उनको मृत्युले वैज्ञानिक समुदायमा ठूलो रिक्तता ल्यायो । उनको विरासत आज पनि जीवित छ- एक्स–रे, सीटी क्यान, एमआरआई वा आधुनिक इमेजिङ प्रविधि उनका नाममा अर्पित जस्तै छन्। उनको वैज्ञानिक उदारता र ज्ञान बाँड्ने भावना आजसम्म अनुसन्धानकर्ताहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
प्रतिक्रिया 4