+
+

दूध बेचेको पैसा नपाउँदा किसान सडकमा, डीडीसीले अझै तिरेन १ अर्ब

कर्पोरेट हाउसहरू दूधको चियाको सट्टा कालो चिया खाइरहेका छन् । हेर्दा सामान्य लागे पनि धेरै उपभोक्ताले दूध कटौती गरिरहेका छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० फागुन १० गते १९:४०
फाइल तस्वीर

१० फागुन, काठमाडौं । चितवनका दूध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै ६ फागुनमा भरतपुर बसपार्क चोकमा सयौं लिटर दूध पोखेर आन्दोलन गरे ।

उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दैं किसानले दूध सडकमै पोखेर विरोध जनाए ।

चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आबद्ध किसानले दूध पोखेका थिए ।

उनीहरूले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाए । त्यसपछि किसान फेरि सडकमा नारा लगाउँदै केन्द्रीय बस टर्मिनल चोक पुगेर दूध पोखेका थिए ।

त्यसा त केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ आह्वानमा देशभरि दूध किसान आन्दोलित नै छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ सञ्चालक कृष्ण सापकोटा यो देशभरि नै गठन भएका जिल्ला संघले अब आन्दोलन थालेको बताए ।

‘किसानहरूको ठूलो उपस्थितिमा हामीले आन्दोलन थाल्ने भएका छौं । अहिले देशभरिका किसान ठूलो मर्कामा छन्,’ उनले भने, ‘एक त अहिले दूध बिक्री नै छैन, भएको पनि रकम भुक्तानी पाएको छैन ।’

उनका अनुसार किसानले सहकारी मार्फत बेचेको दूध सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले किनेको हो । त्यसैको भुक्तानी हुन बाँकी करिब १ अर्ब रुपैयाँ जति किसानले पाएका छैनन् ।

‘डीडीसीले असोजदेखि किसानहरुको दूधको रकम भुक्तानी गरेको छैन । हुँदा हुँदा निजी डेरी उद्योगले पनि दुई महिनादेखि दूधको पैसा दिएका छैनन्,’ सापकोटाले अनलाइनखबरसँग भने, ‘अनि, किसानले यस्तोमा कसरी दूध उत्पादन गरोस् ? त्यही भएर आन्दोलन सुरु भएको हो ।’

राजधानीमा किसान आन्दोलन

सापकोटाका अनुसार बुधबारदेखि सबैतिर दुग्ध सहकारीलाई किसानका समस्याबारे सुसूचित गर्ने, स्थानीय सरकारलाई किसानका समस्याबारे जानकारी गराउने लगायत आन्दोलनका कार्यक्रम तय गरिएको छ ।

शुक्रबारसम्म पनि अटेर गरे त्यसपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर किसानले राजमार्ग अवरुद्ध गराउने केन्द्रीय दुग्ध उत्पादक संघको घोषणा छ ।

‘हामी किसानका लागि यति आन्दोलन गर्छौं, किसानको माग पूरा भएन भने काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छौं,’ उनले भने ।

उनले दूध किसान आन्दोलन दूधको भुक्तानी र उचित बजारको मागका लागि रहेको बताए । सरकारले नै दूधजन्य पदार्थमा किसानको पक्षमा काम नगरेको गुनासो गर्दै सापकोटाले एउटा नीति पनि बनाउन नसकेको बताए ।

सडकमै दूध पोखेर आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष किशोर बगालेको तर्क छ । दूध बेचेको पैसा लामो समयसम्म पनि नपाएपछि किसान समस्यामा परेको उनले बताए ।

किसानहरू ‘मिल्क होलिडे’ को चरम संकटमा परेको बगालेको गुनासो छ । यस्तै अवस्था आए किसान पेसाबाटै विस्थापित हुने खतरा नजिकै आएको उनले बताए । दूधको रकम नपाउँदा गाईलाई खुवाउने चोकर, दाना किन्नसमेत निकै समस्या भएको किसानको भनाइ छ ।

एसोसिएसन भन्छ– कहिल्यै नदेखिएको समस्या देखियो

नेपाल डेरी एसोसिएनले दूध उत्पादन क्षेत्रमा कहिल्यै नदेखिएको र नभोगेको समस्या उत्पन्न भएको जनाएको छ ।

‘दूध उत्पादन र दुग्धजन्य खाद्य पदार्थको स्टक पहिलोचोटि यति ठूलो समस्याका रूपमा देखिएको हो,’ एसोसिएन अध्यक्ष प्रह्लाद घिमिरे भन्छन्, ‘हाल ५ अर्बभन्दा धेरैको सामान स्टक रहेका कारण डेरीले किसानलाई पैसा दिन नसकेका हुन् ।’

एसोसिएसनका अनुसार दूध उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दी लगायत कारण छन् । नेपालभन्दा भारतमा दूध सस्तो हुँदा सीमावर्ती नाका भएर दूध भित्रिँदा नेपाली दूधको बजार घटेको हो ।

एसोसिएनले सार्वजनिक कार्यक्रमहरूमा चिसो पेय पदार्थको सट्टा दुग्धजन्य पदार्थ प्रयोग गर्नुपर्ने, खेलाडीको डायटमा अनिवार्य दूध वा दूधबाट बनेका परिकार हुनुपर्ने माग गरेको छ ।

२१ माघमा डेरी एसोसिएसनले खेलाडीको डायटमा दूध अनिवार्य समेट्न माग गरेको थियो । एसोसिएसनले राष्ट्रिय खेलकुद परिषद्‍देखि सबै प्रदेश खेलकुद तथा स्थानीय सरकारको खेलकुद परिषद्लाई पत्राचार गरी खेलाडीको डायटमा दूध अनिवार्य समेट्न आग्रह गरेको थियो ।

एसोसिएनका अनुसार अहिले मुलुकमा दैनिक ३३ लाख लिटर दूध उत्पादन हुन्छ । जसमध्ये  खपत २७ लाख लिटर हुन्छ भने ५ लाख लिटर बढी दूधको दुग्धजन्य पदार्थ उत्पादन गर्नुपर्ने हुन्छ ।

तर, त्यसको पनि खपत नभएपछि डेरी उद्योगहरूले किसानलाई सहकारी मार्फत उठाएको दूधको भुक्तानी गर्न सकेका छैनन् ।

दुग्ध सहकारीले भने डेरी उद्योग र डीडीसीले पनि किसानका पक्षमा लबिङ नगरेको जनाएको छ ।

‘डीडीसी र डेरी उद्योगहरू पनि स्वदेशी दुग्धजन्य पदार्थ बढाऔं नै भन्छन् । फेरि ५ अर्ब बराबरको खपत हुन बाँकी छ भन्दै आएका छन्,’ सञ्चालक नेपाल भन्छन्, ‘सरकारसँग वार्ता गर्द स्टक देखाउनुस्, त्यसलाई धितो मानेर किसानलाई भुक्तानी दिनका निम्ति ऋण प्रदान गर्छौं भन्दा उहाँहरू मान्नुहुन्न । यति छ स्टक भनेर देखाउँदा के हुन्छ ?’

केही समय अगाडि लम्की स्किन रोग महामारीका बेला भारतबाट डीडीसी आफैंले दूध किनेको गुनासो नेपाली किसानको छ ।

‘अहिले भारतबाट अदृश्य रूपमा दूध ल्याइरहेको अवस्था छ । हाम्रोभन्दा भारतको दूध सस्तो पनि हुन्छ । निजी डेरीले किनेका छन् । कोरोनाको बेला र लम्पी स्किन रोग भएका बेला डीडीसीले पनि किने भन्ने सुनिन्छ । उताबाट आउने दूधको पाउडर, घिउ पनि सस्तो हुन्छ,’ उनले भने, ‘दुग्धजन्य पदार्थ भारतबाट आउँदा पनि हाम्रो खपत कम भएको हो । त्यसको असर बजारमा देखिएको हो । लम्पी स्किन र कोरोनाको समयमा बिग्रेको बजार उठ्न लाग्दा थप समस्या भएको छ ।’

उपभोग नै कम हुँदा समस्या

डीडीसी महाप्रबन्धक सञ्जीवकुमार झाका अनुसार बजारमा दूध उपभोक्ता घटेकाले किसानको रकम भुक्तानीमा समस्या रहेको दाबी गर्छन् ।

‘अहिले संसारभरि जस्तै नेपालमा पनि आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति घटेको छ । दैनिक ४ लिटर दूध किन्ने परिवार २ लिटरमा झरेका छन्,’ झाले भने, ‘कर्पोरेट हाउसहरू दूधको चियाको सट्टा कालो चिया खाइरहेका छन् । हेर्दा सामान्य लागे पनि धेरै उपभोक्ताले दूध कटौती गरिरहेका छन् ।’

किसानले आन्दोलन गरिहेको विषयमा पनि बजारमा दुग्धजन्य पदार्थ खपत कम हुनुलाई उनी मान्छन् । ‘डीडीसीको मात्रै करिब १ अर्ब १० करोड मूल्य बराबरको उत्पादन स्टक भएर बसेको छ । हामीले किसानसँग किनेको दूधको परिकार बनाएर बजारमा बिक्री नहुँदा हाम्रो पूँजी त्यहीँ रोकिएको छ,’ महाप्रबन्ध झाले भने, ‘जसका कारण किसानले भुक्तानी नपाएका हुन् । बिस्तारै बजारको सिजन वैशाखदेखि सुरु हुने भएकाले खपतसँग पूँजी आउँदा किसानले भुक्तानी पाउनेछन् ।’

कतिपय निजी डेरी उद्योगले किसानको दूध नकिनिदिँदा त्यसको दबाब पनि डीडीसीलाई परेको उनले बताए । ‘बजारमा उत्पादन भएका पदार्थ खपत नभएपछि स्टोर भरिँदा पाउडर दूध, घिउ उत्पादन हुन छाडेको छ, त्यसको प्रेसर डीडीसीलाई आइरहेको छ,’ उनले भने र

झाका अनुसार नेपालमा दुई सरकारी, एक सहकारी र चार निजी गरी सात पाउडर दूध उद्योग छ । जसमा अर्बौंको उत्पादन गोदाममा थन्किएका छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?