+
+
पेनकिलरको भरमा २३ दिन हिंडेकाहरू :

‘बुढो शरीर र चाउरिएको अनुहार लिएर फेरि काठमाडौं आउन नपरोस् !’

२३ दिन लामो हिंडाइका क्रममा केही लाठी भाँचिए, केही चप्पल फाटे । न्याय मार्चमा हिंडेका सबैका भोगाइ–पीडा उस्तै छन् । शरीरको दुःखाइ त विस्तारै घट्दै जाला तर मिटरब्याजको पीडा कहिलेसम्म रहने हो थाहा छैन ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० फागुन १० गते १९:०१

१० फागुन, काठमाडौं । बुधबार साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आइपुगेपछि रामकली साह (५५) थुचुक्कै बसिन् । २३ दिन लगातार हिंड्दा खुट्टामा उठेका ठेलाहरू फुटिसकेका थिए । पैताला फुटेर चर्चरी रगत बग्छ, शरीर नै सुन्निएको छ ।

त्रिभुवन पार्कमा थुचुक्क भुइँमा बस्न पाउँदा उनका आँखाबाट बरर्र आँसु खसे । बुढ्यौली शरीरमा तागत छैन । घिसार्दै ल्याएको शरीरले काठमाडौं टेकेपछि रामकलीले भावविह्वल हुँदै भनिन्, ‘गाउँमा कसैले न्याय दिएनन् । बारबार महाजनको (साहु) कुटपिट खेप्नुभन्दा हामीलाई एकैपटक मारिदेऊ सरकार !’

महोत्तरीकी रामकलीका श्रीमान्ले ६ वर्ष अगाडि छोरीको विवाहका लागि गाउँकै साहुमहाजन छविलाल यादवसँग तीन लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिने बेलामा नै आफूसँग भएको एक बिघा जग्गाको कागज गरिएको थियो ।

दुई वर्षपछि १ लाख ८० हजार फिर्ता भयो । तर साहुले समयमै रकम चुक्ता नगरेको भन्दै जग्गा आफैंले भोगचलन गर्न थाले । घरमा भएको दुहुनो भैंसी पनि लगे । त्यति मात्रैले पुगेन, परालको कुन्युँ पनि लैजान खोजे । साहले दिन इन्कार गरिन् । रिसले चुर साहुका छोराले रामकलीको हातै भाँचिदिए, घरमा तोडफोड गरे । साहुले अहिले पनि धम्की दिन्छन्, ‘त्यो खेत हाम्रो भइसक्यो । धेरै बोल्यौ भने घरबाट निकाल्दिन्छौं !’

रामकलीको परिवारमा श्रीमान्, चार छोरी र दुई छोरा छन् । दुई छोरी र एक छोराको विवाह भइसक्यो । ‘जहान बढ्दै गएका छन्, घरमा खाने सामल छैन’ रामकलीले प्रश्न गरिन्, ‘हाम्रो पीडा कसले बुझ्छ ? हामीले कहाँ गएर न्याय पाउँछौं ?’

रामकली साह

न्याय माग्न झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट एकैदिन पैदल हिंडेका २०० हाराहारीका मिटरब्याज पीडितहरू बुधबार साँझ काठमाडौं आइपुगेका छन् । २३ दिन लामो हिंडाइका क्रममा केही लाठी भाँचिए, केही चप्पल फाटे । न्याय मार्चमा हिंडेका सबैका भोगाइ–पीडा उस्तै छन् । शरीरको दुःखाइ त विस्तारै घट्दै जाला तर मिटरब्याजको पीडा कहिलेसम्म रहने हो थाहा छैन ।

लाठीको सहारामा काठमाडौं आइपुगेका महोत्तरीको गौशाला–८ की भोगेन्द्र सहनी (७५) को इच्छा छ, ‘मर्नुभन्दा अगाडि सत्यको जित भएको सुन्न पाऊँ !’

‘सरकारलाई आफ्नो पीडा सुनाउँछु । न्याय नपाए काठमाडौंमै देहत्याग गर्छु’ सहनीले टिलपिल आँसु पार्दै भने, ‘नखाएको विष लाग्यो । छोरा–छोरीले पनि छोडे ।’

भोगेन्द्र सहनी

सहनीका अनुसार गाउँका साहु (इन्द्रकान्त महतो)ले झुटो ८ लाखको ऋणमा फसाएका छन् । दुःख, पीडामा परेका छरछिमेकीलाई सहयोग गर्ने उनी कोही कसैलाई पैसाको आवश्यकता पर्दा साहुकहाँ साक्षी पनि बसिदिन्थे । त्यसैको फाइदा उठाउँदै साहुले सहनी र उनका छोरालाई ८/८ लाखको झुटो मुद्दा लगाए । भएको जग्गा–जमिन पनि साहुले नै कब्जा गरेका छन् । सहनीले दुःख पोखे, ‘साहुको झुटो बोली नै कानुन बन्यो । न्याय देऊ सरकार !’

८० वर्षीय मोहम्मद असिमले पाएको प्रताडना झन् अकल्पनीय छ । १५ वर्षअघि छोरीको विवाहका क्रममा गाउँकै साहुसँग ३० हजार रुपैयाँ ऋण मागे । साहुले जमिन राजीनामा गरिदिनुपर्ने शर्त राखे । छोरीको बिहे टार्न उनले सात कट्ठा १० धुर जग्गा रजिष्ट्रेशन पास गरिदिए । पहाडमा गएर लुगाको व्यापार गर्ने उनले ऋण लिएको दुई वर्षपछि १५ हजार रुपैयाँ फिर्ता गरे ।

बाँकी पैसाको जोहो भएपछि रकम लिएर राजीनामा पास गरिदिएको जग्गा फिर्ता गरिदिन माग गर्दै साहुको घरमा पुगे । ‘त्यसबेला साहुले शौचालयमा थुने, कुटपिट गरे, तर जग्गा फिर्ता गरेनन्’ करिब १० वर्ष अगाडि भएको घटना उनले सम्झिए । भएको झुपडी पनि साहुले भत्काइदिए ।

मोहम्मद असिम

छोराहरू आ–आफ्नो बाटो लागे, श्रीमती बितेको वर्षौं भयो । सहारा दिने कोही छैन । अनि साहुले शर्त राखेका छन्, एक कट्ठा बराबर ५ लाख रुपैयाँ दिए मात्रै जग्गा फिर्ता गर्छु ।

सात कट्ठा १० धुर जग्गा फिर्ता गर्न ३५ लाख चाहियो । ‘सरकारले दिएको भत्ताको भरमा बाँचिरहेको छु । गाउँ–घरको पाटी–पौवामा सुतेर रात कटाउँछु’ यही पीडा सरकारलाई सुनाउन आएका मोहम्मद धेरै पटक भक्कानिए, ‘ठूलो पहाडले उठ्नै नसक्ने गरी थिचेको छ हजुर, यो हिंडाइको पीडा त केही होइन ।’

पेनकिलर खाएर पीडा मेटाउँछन्

२३ दिन अगाडि मेची पुलबाट हिंडेकी धनुषाकी रामतोला कुमारी दुवै खुट्टा टेक्न नसक्ने अवस्थामा छिन् । पैतालामा उठेका फोका फुटेर ठेलाको रूप लिइसक्यो ।

बुधबार रातिको खाना खाएपछि उनले अमर यादवसँग समस्या पोखिन्, ‘खुट्टा सारै दुख्यो, कम गर्ने औषधि दिनुहोस् न !’

मिटरब्याज पीडितहरू अमरलाई ‘डाक्टर साब’ भनेर बोलाउँछन् । तर यादव डाक्टर होइनन्; अहेव रहेका उनले न्याय मार्चमा हिंडेकाहरूको स्वास्थ्यबारे ख्याल राख्छन् । बिरामी भएका व्यक्तिलाई लक्षणका आधारमा औषधि दिन्छन् ।

उनका अनुसार यात्राका क्रममा दैनिक ७०–८० भन्दा बढीलाई दुखाइ कम गर्न पेनकिलर दिनु परेको थियो । ‘कोहीको हिंड्दा हिंड्दा खुट्टामा चोट लाग्छ, कोहीलाई ज्वरोले सारै गलाउँछ’ यादवले भने, ‘२३ दिनको दौरानमा बिरामी नभएको कोही छैन ।’

रामतोला कुमारी

बुधबार राति त्रिभुवन पार्कमा रात काट्नुअघि पनि धेरै मिटरब्याज पीडितले दुखाइ कम गर्ने औषधि खाए । ‘यति खाएपछि राति सुत्न सकिन्छ होला नि’ यादवले प्लाष्टिकको थैलोबाट निकालेर पेनकिलर दिएपछि रामतोलाले भनिन्, ‘भोलि त हामी सिंहदरबार पुग्छौं । सरकारले अब समस्या सुन्छ होला नि है डाक्टर साब !’

धनुषाकी ५३ वर्षीया रामतोलाले गाउँका साहुसँग चार वर्ष अगाडि २५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । त्यसक्रममा साहुको माग अनुसार पौने दुई धुर जग्गा राजीनामा पास गरिदिएकी थिइन् । कोरोना महामारीका कारण घरका परिवार बाहिर कमाउन जान पाएनन् । बिहान–बेलुकाको छाक टार्न तिनै साहुसँग २०/५० हजार लिंदै गर्दा तिर्नुपर्ने रकम १ लाख ७५ हजार भयो ।

एक वर्ष अगाडि बैंकबाट ६ लाख रुपैयाँ ऋण लिएर जग्गा फिर्ता गर्न साहुको ढोकामा पुगिन् । तर साहुले जग्गा बेचिसकेका रहेछन्, जहाँ उनले घर बनाएकी थिइन् ।

अहिले साहुले घरबाट समेत निकालेको छ । रामतोलाको परिवार जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका छन् । ‘साहुको धेरै पटक खुट्टा ढोगें’ उनले गुनासो गरिन्, ‘म घरसँगै जग्गा पनि फिर्ता दिन्छु भनेर ढाँटिरहेका छन् ।’

 

धनुषाकै रिना यादव खुट्टाबाट रगत नै बगे पनि न्यायका लागि हिंड्न नछाड्ने बताउँछिन् । बुधबार बेलुका औषधि खाँदै गर्दा भेटिएकी यादवले साहुको अत्याचार, दमन र शोषणले काठमाडौंमा न्याय माग्न आउनुपरेको सुनाइन् । ‘गाउँमा साहुले बस्न दिएनन्, दिनहुँ घरमा आएर कुटपिट गर्छन्’ यादवले अनलाइनखबरसँग भनिन्, ‘जबसम्म काठमाडौंबाट न्याय मिल्दैन, घर जान्नँ ।’

अधिकांश पीडित, संघर्ष समितिले अघि सारेको ६ बुँदे माग सम्बोधन नभएसम्म घर नफर्किने योजनामा छन् । लगातार २३ दिन पैदल हिंडेर आएका उनीहरू भन्छन्, ‘यो बुढो शरीर र चाउरिएको अनुहार लिएर फेरि काठमाडौं आउन नपरोस् !’

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?