+
+

यी हुन् सेयर बजारका १० ठूला कम्पनी, बजार हिस्सा २६ प्रतिशत

१० ठूला कम्पनीको मूल्य ५ प्रतिशत बढ्दा सेयर बजार बढ्छ २६ अंक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ९:०५

११ फागुन, काठमाडौं । सेयर बजारमा १० ठूला कम्पनीको कारोबारले विशेष महत्व राख्छ । यी १० ठूला कम्पनीको मूल्य घटबढले समग्र बजारको परिसूचक नै तलमाथि पार्न सक्छ । पुँजीकृत रकम धेरै भएका कम्पनी नै बजारका ठूला कम्पनी हुन् । पुँजीकृत रकम धेरै भएका कम्पनीहरूले आफ्नो समूहको सूचक र समग्र बजारलाई बढी प्रभाव पार्ने क्षमता राख्छन् ।

कुल सूचीकृत सेयर संख्याको कुल मूल्य नै पुँजीकृत रकम हो । पुँजीकरणका आधारमा सेयर बजारमा सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम हो । कुल पुँजीकरणमा यस कम्पनीको हिस्सा ४.८३ प्रतिशत छ । टेलिकमपछि नबिल बैंक र नागरिक लगानी कोष बजारका ठूला कम्पनी हुन् । यी तीनै कम्पनीको बजार पूँजीकरण १-१ खर्बभन्दा माथि छ । यी ३ कम्पनीको बजार हिस्सा मात्रै १२ प्रतिशत छ ।

नेपाल पुनर्बीमा कम्पनी ग्लोबल आईएमई बैंक हिमालयन रिइन्स्योरेन्स कम्पनी एनआईसी एसिया बैंक एभरेष्ट बैंक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र नेपाल लाइफ इन्स्योरेन्स पनि बजारका ठूला १० कम्पनीभित्र पर्दछन् ।  बजारमा कुल सूचीकृत कम्पनीहरुको संख्या २४९ छ । कुल पुँजीकरणमा १० कम्पनीको बजार हिस्सा मात्रै २६.७ प्रतिशत छ । समग्रमा यी १० कम्पनीले बजार उतारचढावमा बढी असर पार्छन् ।

यी १० कम्पनीले कति असर पार्छ बजारलाई ?

हाल १० कम्पनीको बजार पुँजीकरण मात्रै ८ खर्ब ४१ अर्ब ८८ करोड छ । अरु कम्पनी स्थिर रहेको अवस्थामा यी १० कम्पनीको मूल्य औसत ५ प्रतिशत बढ्दा यिनीहरुको पुँजीकरण ८ खर्ब ८३ अर्ब ९७ करोड हुन्छ ।

हाल सूचीकृत सबै कम्पनीको बजार पुँजीकरण भने ३१ खर्ब ५३ अर्ब छ । अब यी १० कम्पनीको औसत ५ प्रतिशत मूल्य बढ्दा कुल पुँजीकरण रकम ३१ खर्ब ९५ अर्ब हुन जान्छ । अर्थात् कुल पुँजीकरण रकम १.३३ प्रतिशत बढ्छ । नेप्से पनि १.३३ प्रतिशत बढ्छ । हाल नेप्से करिब २ हजार ५ अंक रहेकाले सोको १.३३ प्रतिशत अर्थात् २६ अंक बढ्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?