+
+
पुस्तक समीक्षा :

पार्श्वधुनमा गुञ्जिएको आप्रवासी पीडा

विश्व एउटा देश मान्दै गर्दा मानिसका सांस्कृतिक, आर्थिक र राजनीतिक आयामका जटिलता कसरी बढ्दै गएका छन्, यी आयामको सरल व्याख्या पार्श्वधुनले गरेको छ ।

भानु बोखिम भानु बोखिम
२०८० फागुन १२ गते १८:१२

आप्रवासन आधुनिक समयको रहर र बाध्यता दुवै हो । यसलाई आजको दुनियाँमा मान्छेको बाँच्न पाउने अधिकार, अवसर र समृद्धिसँग जोडिंदै आएको छ । आप्रवासन आफूले चाहेर होस् वा कसैको दबाबमा परेर, यसका आफ्नै दुःखहरू हुन्छन् । सकारात्मकताका जति नै पुलिन्दा लगाइदिऊँ, परदेशिने मुटुसँग आफूभन्दा ठूलो पीडाको पहाड हुन्छ । कृष्ण कुसुमको कथा संग्रह पार्श्वधुन रहर र बाध्यता बीच निस्केका आप्रवासी जीवनका उच्छवासहरू हुन् ।

संग्रहमा १३ वटा कथा छन् । अधिक कथाले परदेशी र आप्रवासनको कथा भन्छन् । त्यसमा ६ वटा कथाको विषय अमेरिकासँग जोडिन पुगेको छ । निश्चय नै अमेरिका धेरैको सपनाको देश हो । स्वतन्त्रता र स्वच्छन्दता अमेरिकी जीवनको पर्यायको रूपमा व्याख्या गरिन्छ । तर त्यही अमेरिका पुगेका कतिको जीवन ग्याँस च्याम्बरमा झैं निस्सासिएको छ । उनीहरूको लागि अमेरिका रहर हैन, बाध्यता हो । जसले अफ्रिकन मूलका बेलायती लेखक तथा कवि वासरन सायरको ‘होम’ शीर्षक कवितांशलाई स्मरण गराउँछ ।

कसैले पनि घर छोड्दैन
जबसम्म घर शार्कको मुखमा हुँदैन
तिमी मात्र सिमानाको लागि दौडन्छौ
जब सिंगो शहर उतै दौडेको देख्छौ

कतिपय अवस्थामा देश छोड्नु बाध्यता हो । किनभने राजनीतिक गतिविधि र षडयन्त्रमा कहिलेकाहीं देश घर हैन, आफंैलाई निल्ने शार्क माछा बनिदिन्छ । लेखकले एउटा अन्त्य शीर्षक कथामा भुटानी शरणार्थीको यस्तै हृदयविदारक वृत्तान्त उतारेका छन् । आफन्तको दाउपेच अनि राजनीतिक निर्णयको कारण भुटानका केही नेपाली भाषी शरणार्थी बन्न पुगे । ती भुटानीहरूले देश फर्किनको लागि धेरै संघर्ष गरे । तर उनीहरूमध्ये अधिकांश अमेरिकामा स्थानान्तरण भएका छन् । थोरै मात्रामा अन्य देश पनि पुगेका छन् । कथाका प्रमुख पात्र गोपाल अंकलले मनमा भुटान बोकेर अमेरिकाको वैभवभित्र निस्सासिएको मानिसको प्रतिनिधित्व गर्छ । उनको लागि भुटान छोड्नु भनेको वासरन सायरको माथि उल्लिखित कवितांश झैं हो । तर देश नभएको मान्छेको एक्लोपन ठूलो शत्रु हो । कथाका प्रमुख पात्रले एक्लोपनसँग जुध्न नसकेर आत्महत्या गर्छन् ।

अमेरिकाको वैभव र तामझामले धेरैको मन लोभ्याउँछ । तर त्यो तामझाम र वैभव प्राप्तिको बाटो उति सजिलो भने छैन । यद्यपि यो तामझाम धेरैको लागि रहर र कतिको लागि अन्तिम विकल्प हुन गएको छ । अंग्रेजीमा एउटा शब्द छ, पानासिया- जसको अर्थ हुन्छ सबै पीडा वा रोगको निदान गर्ने औषधि । हाम्रो सन्दर्भ वा भाषामा त्यसलाई रामबाण भन्न सकिन्छ । अमेरिका अब तेस्रो मुलुकका मानिसले भोग्ने दुःख, पीडा अनि अभावको लागि रामबाण ठान्न थालिएको छ । त्यसैले कथामा ऐस-आरामको सपना देख्ने मात्र हैन, कुनै समय अमेरिकाको पूँजीवादी अर्थ व्यवस्था र आचरणलाई दुत्कार्ने क्रान्तिकारी कम्युनिस्ट क्याडर पनि अमेरिकामै पुगेका छन् । पुग्नको लागि वैध, अवैध बाटो अपनाउने त छन् नै, साथै भर्‍याङ बनाएर षडयन्त्र बुन्नेहरूको पनि कमी छैन ।

अमेरिका मोहसँग मानिसको कहीं कतै मानवता हराउँदै गएको छ । आफ्नो सुख र समृद्धिको लागि आफ्नै आमाबुवालाई नोकरको दर्जा दिन पुगेका छन् । कतिले अमेरिकी जीवनमा लोभिंदै गर्दा, आफ्नो देशको खराब संस्कार र रीतिथिति बिर्सन सकेका छैनन् । समानताको कुरा गर्नेले अमेरिकामा पुगेर पनि जातीय विभेद कायम राखेका छन् । साथै, कतिले आफ्नो संस्कारमा लीन भएर त्यहाँको संस्कार र विधि पालना गर्न सकेका छैनन् । परिणामतः अमेरिकी नियम र विधि उल्लंघन गरेको आरोप खेप्नु परेको छ ।

सबै कथाहरू नेपाली माटोसँग जोडिएका छन् । पात्रहरू नेपालको पृष्ठभूमिबाट माथि उठेका छन् । तर संख्याको हिसाबले पचास प्रतिशत भन्दा बढी कथाले आप्रवासीको कथा भन्छ । ती कथाहरूमा अमेरिकामा नेपालीले भोगेको दैनिकी, संघर्ष र उनीहरूको मनोदशा प्रतिबिम्बित छन् ।

जीवन आफंैमा अन्तरविरोधमा अल्झिएर बाँच्छ । संघर्षको दौरानमा अनेकन् गल्छेडाहरूमा उल्झिंदै सकिन्छ । अमेरिकामा नेपाली जीवन कस्तो अन्तरविरोधमा अल्भिmएको छ, कस्ता संघर्ष, पीडा र मनोदशामा उल्भिmएको छ, यी कुराहरू चियाउनको लागि एउटा आँखीझ्याल हो- पार्श्वधुन ।

अमेरिका बाहिरबाट सोचे जस्तो वा देखे जस्तो सुन्दर छैन । बाहिरबाट वा टाढाबाट नियाल्दा गुलाब सुन्दर देखिन्छ । यो यथार्थ पनि हो । अमेरिका गुलाब जस्तै आफैंमा सुन्दर छ । तर नजिक पुगेर स्पर्श गरेपछि हातमा गुलाब मात्र पर्दैन । गुलाबको बोटभरि फैलिएका काँडासँग पनि औंलाहरू ठोक्किन्छन् । त्यो बेलाको पीडा र आर्तनाद लेखक कुसुमले पार्श्वधुनमा स्पष्टसँग चित्रण गरेका छन् । तसर्थ यो कथा संग्रह अमेरिकामा नेपालीको जीवन मात्र हैन, विश्वबाट आप्रवासीको रूपमा अमेरिका प्रवेश गर्ने सबैको दुःख, पीडा र संघर्षको दस्तावेज पनि हो ।

हरेक कथामा मानवीय भावना, जीवन संघर्ष तथा पात्रको चरित्र चित्रण हुन्छन् नै । त्यो अर्थमा यस कथामा भएका पात्रहरूको चित्रणमा कुनै प्रश्न गर्नुपर्ने ठाउँ छैन । अहिले ग्लोबल भिलेजको अवधारणामा सिंगो विश्व नै एउटा देश मानिन्छ । तर विश्व एउटा देश मान्दै गर्दा मानिसका सांस्कृतिक, आर्थिक र राजनीतिक आयामका जटिलता कसरी बढ्दै गएका छन्, यी आयामको सरल व्याख्या पार्श्वधुनले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?